खबर

खर्चिलो मृत्यु भोज र झन्झटिलो कर्मकाण्ड बिरोधी रामरिझन

विराटनगर । प्राध्यापक, लेखक, राजनीतिकर्मी, पत्रकार आदि अनेक रूपले चिनिने रामरिझन यादव सामाजिक सुधार अभियानमा लागेका छन् । प्रायः काँधमा झोला भिरेर शान्तसँग हिँडिरहने पाको उमेरका रामरिझन यादव मृत्यु संस्कारमा हुने भोज र लामो तथा खर्चिलो कर्मकाण्डको सुधार अभियानमा लागेका हुन् ।

दुई नम्बर प्रदेशको सिरहा जिल्लाको सिरहा नगरपालिकामा पर्ने सनहैठा गाउँमा वि.सं २०१६ सालमा जन्मिएका र हाल स्थायी रूपमा विराटनगरमा बासोवास गरिरहेका अभियन्ता रामरिझनले विचारले मात्र समाज सुधार गरिरहेका छैनन्, आफ्नो व्यवहारले पनि प्रर्दशन गरिरहेका छन् । उनले मधेशमा यादव समुदायले वर्षौंदेखि खुवाउँदै आएको मृत्युपछि हुने खर्चिलो भोज अन्त्य गराउने र १३ दिनसम्म गरिने लामो र खर्चिलो किरियाकर्मलाई छोट्याउनु पर्छ भन्ने सुधार अभियान सञ्चालन गरिरहेका छन् ।

मधेशको मध्यमवर्गीय परिवारमा जन्मेका रामरिझन समाजको सांस्कृतिक विकृतिलाई आफूले राम्रो बुझेकोले समाजिक सुधार अभियानमा लागेको बताउँछन् । उनका अनुसार संस्कृति बचाउनका लागि भन्दै गरिने महंगो मृत्यु भोजले धेरैलाई कङ्गाल र समाजलाई झन् देखावटी बनाइरहेको छ ।

अभियानकर्मी रामरिझन भन्छन्, ‘गरिबहरू भोजकै कारण टाट पल्टिन बाध्य छन् । महिलाहरूले झन साह्रो विभेद सहन बाध्य हुनुपरेको छ । यसैले मधेशमा मृत्युपछि हुने हजारौँ–लाखौँ रुपैयाँको भोज–संस्कृति अन्त्य गर्न सबै लागिपर्नुपर्छ र महंगो तथा झन्झटिलो कर्मकाण्डलाई पनि छोटयाउनुपर्छ ।’

बुबाको मृत्यु हुँदा गाउँमा भोज नगरेको आरोपमा रामरिझनलाई समाजले रीतिथिती बिगारेको आरोपमा सामाजिक बहिष्कार गर्दै ५० हजार दण्ड तोकेको थियो । तर, विद्रोही सुधारक रामरिझनले दण्डको रकम समाजलाई भुक्तानी गर्नुको साटो थप गरेर बुबाको नाममा अक्षय कोष स्थापना गराए । हाल बर्सेनि त्यही अक्षय कोषबाट विद्यार्थीहरूलाई उनी छात्रबृत्ति दिइरहेका छन् । रामरिझनले आफ्नी सानी आमाको काजकिरियामा पनि भोज गरेनन् । बरु ४ दिनमै त्यो काजकिरिया सकाए ।

९ असार २०७६ मा उनकी ९० वर्षीया आमाको मृत्यु भयो । उनले त्यो मृत्यु संस्कार पनि ४ दिनमै सके । तर, आमाले बचन दिएकोले उनको नाममा महिला भोज गर्ने रामरिजनको सुरसार छ । किनभने मृत्यु भोजले महिलाहरूमाथि झन अन्याय थोपरेको छ ।

रामभरिझनका अनुसार मृत्यु भोज महिलाहरूले खान हुँदैन । जुनदिन पुरुषहरू भोज टन्न खाएर आउँछन् त्यो दिन घरमा अन्न पकाउन पाइँदैन । यसैले महिलाहरू फुको चिउरा वा फलाहार खाएर सुत्न बाध्य हुन्छन् । अभियन्ता रामरिझन भन्छन्, ‘यसैले जागरण ल्याउन प्रतिष्ठित महिलाहरूलाई सहभागी गराएर विराटनगरमा आमाको वार्षिकीमा भोज गर्ने सुरसार गरेको हुँ ।’

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा २०४० देखि २०५६ सम्म प्राध्यापन गरेका प्राध्यापक रामरिझनले २०४४ देखि प्राध्यापनसँगै पत्रकारिता पेशामा पनि संलग्न भएर लामो समय पत्रकारिता गरे । आधा दर्जन पुस्तक र पुस्तिका अनि दजनौँ लेख लेखिसकेका अग्रज अनुभवी पत्रकार, लेखक रामरिझनले आफैँले विभिन्न पत्रपत्रिकाहरू प्रकाशन पनि गरेका थिए ।कोशी अनलाइन बिहिबार, भदौ १९, २०७६ मा प्रकाशित

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button