डा गणेश दंगाल
पुरुषको स्तनको आकारमा वृद्धि हुँदा के हुन्छ र कस्ता समस्या देखा पर्छन् भन्ने विषयमा स्त्रीरोग विषेशज्ञ डा गणेश दगालसँग बिन्दु शर्माले गरेको कुराकानी :
पुरुषको स्तनको आकार बढ्नु समस्या हो या सामान्य हो?
यसलाई दुई किसिमले हेर्न सकिन्छ। बच्चादेखि जवान अवस्थामा जाँदै गर्दा वृद्धि विकासको क्रममा हुने प्रक्रिया, जसलाई हामी फिजियोलोजिकल भन्छौँ, जुन सामान्य हो। तर कहिलेकाहीं यो प्याथोलोजिकल अर्थात् रोगको रुपमा पनि पाइन्छ।
गाइनोकोमास्टिया हर्मोनको कारणले पुरुषको स्तन वृद्धि हुने एउटा रोग हो। जब पुरुषमा टेस्टटोरन हार्मोनको मात्रा अत्यधिक र स्त्रीमा हुने स्ट्रोजन हार्मोनको मात्रा कम हुन्छ, एक आपसमा दुई वटा हार्मोनको सन्तुलन भइरहँदा टेस्टटोरनको प्रभुत्व बढी हुँदा समस्या हुँदैन। तर केही गरी टेस्टोरनको कमी भएमा या स्ट्रोजन बढेमा स्तनको आकारमा वृद्धि हुन्छ। यो प्रक्रिया युवा अवस्थामा भएमा यो सामान्य मानिन्छ। तर युवा अवस्थापछि पनि रह्यो भने त्यो असामान्य मानिन्छ।
पुरुषको स्तनको आकार कस्तो हुनुपर्छ?
सामान्यतया पुरुषको स्तनको निप्पल र एरिगोलामा अलिकति रङमा परिवर्तन भएको हुन्छ, जसमा छाला र बोसो हुन्छ। त्यो बाहेक तुलनात्मक रुपले पुरुषमा स्तनको ग्रन्थी विकसित हुँदैन।
गाइनोकोमास्टिया के कारणले गर्दा हुन्छ?
स्तनको आकार वृद्धि हुनुको कारण पहिचानपछि नै स्तन किन बढेको हो भन्ने बुझिन्छ। स्तन बढ्नुमा समान्यतया दुई कारण हुन्छन्। यदि किशोर अवस्थाबाट जवान अवस्थामा आउँदै गर्दा शरीरका अन्य अंग जस्तै स्तनमा पनि वृद्धि विकास सामान्य मानिन्छ। तर स्तनमा आएको वृद्धि ६ महिनादेखि १ वर्ष भित्रमा सामान्य रुपमा हराएर जान्छ। यदि स्तनको साइज ४ देखि ६ सेन्टिमिटर छ भने त्यसलाई असामान्य मानिन्छ। सो भन्दा कम छ भने सामान्य मानिन्छ।
यसरी हुने परिवर्तनलाई पिजियोलोजिकल भनिन्छ। तर कहिलेकाहीं प्याथोलोजिकल कारणका बाबजुद पनि यो समस्या देखिन्छ। प्याथोलोजिकल समस्या जस्तैः कहिलेकाहीं थाइरोड हार्मोनको असन्तुलनको कारण पनि पुरुषमा स्तन वृद्धिको समस्या देखा पर्छ। पिटिउटरी ग्रन्थीमा समस्या हुँदा, पुरुषको अन्डकोषमा ट्युमरहरु भएमा र टेस्टटोरनको उत्पादनमा कमी भएमा पनि स्तनको आकारमा वृद्धि हुन्छ।
बढी मात्रामा अल्कोहल सेवन गर्नेहरुमा पनि पनि गाइनोकोमास्टिया देखिन सक्छ। त्यस्तै कहिलेकाहीं सामान्य रुपमा हामीले चलाउँदै आएको ग्यास्ट्रिकको औषधि, रक्तचापको औषधि, मुटु सम्बन्धीका औषधिहरु, मानसिक समस्या हुँदा चलाइने कतिपय औषधिले पनि गाइनोकोमास्टिया हुने सम्भावना प्रवल देखिन्छ।
त्यो समस्या किन देखिएको हो भनेर पहिचानपछि मात्रै उपाचार सम्भव छ। कहिलेकाहीं कारण पत्ता लगाएर औषधि खुवाएर हुने या शल्यक्रिया गरेर हुने त्यो चेकजाँचपछि मात्र थाहा हुन्छ। कहिलेकाहीं लामो समयदेखि औषधि सेवन गर्नेहरुमा पनि यो समस्या देखिन्छ।
पुरुषमा स्सट्रोजोन हर्मोन बढी हुने अवस्था भनेको जन्मिने बित्तिकै आमाको सालनालबाट बच्चामा सर्ने हुन्छ। यदि छोरा बच्चा जन्मिएको छ भने कहिलेकाहीं स्सट्रोजन हर्मोनको अलि बढी प्रभाव छोरामा पनि पर्ने हुन्छ।
रोकथाम
कहिलेकाहीं थाइराइड हार्मोनको असन्तुलन, पिटिउटरी ग्रन्थीमा समस्या हुँदा, पुरुषको अन्डकोषमा ट्युमरहरु भएमा र टेस्टटोरनको उत्पादनमा कमी हुँदा देखिने यो समस्या देखिन्छ।
तसर्थ नियमित रुपमा स्वास्थ्य जाँच गर्ने बानी बसाल्नुपर्छ।
विषेश गरेर लामो समयसम्म औषधि सेवन गर्ने दीर्घरोगीहरु आफ्नो स्वास्थ्यप्रति बढी नै सजग रहनु जरुरी छ।
जतिलता
कहिलेकाहीं लामो समयसम्म यस्तो समस्या रह्यो भने स्तन क्यान्सरको जोखिम हुन सक्छ।
उपचार विधि
गाइनोकोमास्टिया हुँदा स्तनको आकार बढेर आउने हुनाले कारण पहिचानपछि उपचार हुन्छ। कहिलेकाहीं मोटोपनका कारण पनि स्तनमा बोसो बढी भएर आकारमा परिवर्तन आउने गर्छ। तर गाइनोकोमास्टिया भनेको बोसो वृद्धि नभएर ग्रन्थीको वृद्धि हो।यो सामाग्री हामीले स्वास्थ्य खबरपत्रिकाबाट साभार गरेकाहौँ ।
विस्तृत भिडियोमा :