‘समाचार र विचारको
साझा चौतारी’





एसियाली श्रमिक सम्मेलन नेपालका लागि महत्वपूर्ण अवसर


प्रेमलकुमार खनाल
डब्लूएफटीयू पे्रसिडेन्सियल काउन्सिल सदस्य

विश्वका श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र, विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू) को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी असोज ७ र ८ मा काठमाडौंमा हुँदैछ । यस्तो जमघट नेपालमा दोस्रो पटक हुन लागेको हो, यसअघि २००७ मा यस्तो सम्मेलन भएको थियो । सम्मेलनको तयारी, डब्लूएफटीयूका गतिविधि, नेपालको श्रम आन्दोलनलगायतका विषयमा डब्लूएफटीयूका पे्रसिडेन्सीयल काउन्सिल सदस्य, नेपाल तथा भुटानका संयोजक तथा पेसागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष पे्रमलकुमार खनालसँग गरिएको कुराकानी ।

विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको तयारीमा जुटिरहनु भएको छ, यो महासंघका बारेमा प्रष्ट्याइदिनुस न ।

विश्व ट्रेड यूनियन महासंघ संसारभरका प्रगतिशील एवं समाजवादी बिचार पक्षधर श्रमिकको अन्तर्राष्ट्रीय ट्रेड युनियन केन्द्र हो। यो महासंघको स्थापना दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व श्रमिक आन्दोलनलाई पुनः व्यवस्थित गर्ने क्रममा सन् १९४५ अक्टोबर ३ तारिखमा फ्रान्सको राजधानी पेरिसमा भएको हो। अहिलेसम्म यस महासंघमा १ सय २७ देशका ९ करोड ६० लाख श्रमिक आवद्ध छन्। यस महासंघका १० वटा विषयगत अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र छन्। जसमा सार्वजनिक सेवा, बैंक, बीमा तथा वित्तिय क्षेत्र, रिर्टायर्ड एन्ड पेन्सनर, खानी तथा धातु, निर्माण क्षेत्र, ऊर्जा, शैक्षिक क्षेत्रका प्राध्यापक तथा शिक्षक, कृषि क्षेत्र, होटल तथा पर्यटन, यातायात क्षेत्रमा संलग्न श्रमिकको १० वटा ट्रेड यूनियन इन्टरनेसनल (टीयूआई) आवद्ध छन्।

डब्लूएफटीयूले के कस्ता गतिविधि सञ्चालन गर्दै आएको छ ?

डब्लुएफटीयूले स्थापनाकालमा नै मूलतः साम्राज्यवाद, फाँसीवाद र रंगभेदका विरुद्ध संघर्ष गर्ने, श्रमिकहरूको अधिकारका लागि संघर्ष गर्ने, विश्वमा श्रमजीवी वर्गले सञ्चालन गरेको संघर्ष र आन्दोलनमा सहयोग र ऐक्यवद्वता प्रकट गर्न स्थापना भएको थियो। साथै युद्ध, हत्या, हिंसा आतंकको विरोध गर्दै विश्वमा शान्ति र मानव अधिकारलाई स्थापित गर्न विश्वव्यापी अभियान सञ्चालन गर्ने उद्घोष गरेको थियो।

स्थापनाकालका घोषित उद्देश्य परिपूर्तीका लागि डब्लूएफटीयूले अनवरत संघर्ष र आन्दोलन गर्दै आएको छ। यसक्रममा अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न देशमा सञ्चालन गरेको युद्ध हत्या, हिंसा आतंकको विरोध गर्दै युद्ध, हत्या, हिंसा आतंकमा प्रताडित श्रमिक र तिनका आश्रित परिवारको हित र उत्थानको लागि क्रियाशिल छ। युद्ध र हिंसाको कारण शरणार्थी बनेका मानिसलाई मानवोचित व्यवहार गर्न र उनीहरूले सुरक्षित जीवनव्यतित गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विश्वव्यापीरूपमा अपिल र अभियान सञ्चालन गर्दै आएको छ।

सम्मेलनमा विभिन्न देशमा श्रमिकको स्थिति, संघर्ष आन्दोलनका साथै मूल नाराका बारेमा छलफल गरि काठमाडांै घोषणपत्र जारी हुनेछ । सम्मेलनको तयारीका लागि २ सय ५१ सदस्यीय मूल समिति, प्रचार, प्रकाशन, आर्थिक संकलन, अतिथि सत्कार, जुलुस व्यवस्थापन आदि उपसमिति गठन गर्ने तयारी भइरहेको छ।

श्रमिकको हकहित र अधिकारमा निर्वाह गरेको भूमिका चाहिँ कस्ता छन् ?

डब्लूएफटीयूले मुख्यतः श्रमिकहरूको संगठित हुन पाउने अधिकार र सामूहिक सौदावाजी गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बाट सन् १९४८ र सन् १९४९) मा अभिसन्धि नं. ८७ र ९८ लाई पारित गराउन नेतृत्वकारी भूमिका निर्वाह ग¥यो, यो सबै भन्दा महत्वपूर्ण उपलब्धि हो। आज संसारका श्रमिक आईएलओबाट पारित यही अभिसन्धिमा उल्लेखित अधिकारबमोजिम ट्रेड युनियन गठन गर्ने र सामूहिक सौदावाजीको अधिकारलाई उपयोग गर्दै आएका छन्।

यस्तै डब्लूएफटीयूले युद्ध र हिंसाबाट पीडित श्रमिकको पक्षमा आबाज उठाउँदै हरेक देशका उद्योग र कारखाना सम्म शान्तिको अभियान सञ्चालन गर्दै, श्रमिकहरूलाई युद्ध र हिंसाका विरुद्ध संगठित हुन प्रेरित गर्दै आएको छ। अहिले पूँजीवादी आर्थिक संकटका नाममा विश्वव्यापीरूपमा श्रमिकहरूलाई कामबाट निकाल्ने, रोजगारी असुरक्षित गर्ने, न्यून तलबदिने, पेन्सनलगायतका सुबिधा कटौती गर्ने जुन काम भइरहेको छ। यसका विरुद्ध विश्वव्यापी अभियान सञ्चालन गर्दै हरेक रोजगारीका स्थलमा अन्तर्राष्ट्रिय न्यूनतम श्रममापदण्ड लागू गर्न दबावमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अन्तर्राष्ट्रिय स्तरमा ट्रेड युनियन केन्द्रको स्थिति कस्तो छ ?

अहिले विश्वमा दुईवटा अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र छन्। पहिलो, प्रगतिशील समाजवादी अन्तर्राष्ट्रिय ट्रेड यूनियन केन्द्र, जसको प्रतिनिधित्व विश्व ट्रेड युनियन महासंघले (डब्लूएफटीयू)ले गर्दछ। दोस्रो चाहिँ अन्तर्राष्ट्रिय ट्रेड यूनियन केन्द्र (आईटीयूसी) छ। यसमा पूँजीवाद विचार पक्षधर, जो आफूलाई सोसियल डेमोक्रेट्स पक्षधर भन्छन् उनीहरू यस केन्द्रमा आवद्ध छन्।

नेपालका ट्रेड यूनियनको अन्तर्राष्ट्रिय आवद्धता चाहिँ कस्तो छ ?

नेपालबाट करिब एक दर्जन संघ–संस्था ट्रेड युनियनमा आवद्ध छन्। पेसागत महासंघ नेपाल, राष्ट्रिय कर्मचारी महासंघ, अखिल ट्रेड युनियन महासंघ, क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडरेसन डब्लूएफटीयूमा आवद्ध छन्। त्यसैगरी नेपाल समावेशी ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ डब्लूएफटीयुमा आवद्ध छन्। अन्य चाहिँ आईटीयूसीमा आवद्ध छन्।

अनि नेपाल कम्युनिष्ट पार्टी निकटका चारवटा ट्रेड युनियन महासंघ मध्ये फरक–फरक केन्द्रमा आवद्धता किन ?

अन्तर्राष्ट्रिय सम्बन्ध र आवद्धता विचारका आधार र वैचारिक निकटताका आधारमा हुनुपर्दछ। तर बिडम्बना नेपालमा के भइरहेको छ भने कम्युनिस्ट पार्टी निकटको जन संगठनको रूपमा क्रियाशील हुने तर अन्तर्राष्ट्रिय आवद्धता चाहिँ पुँजीवादी अन्तर्राष्ट्रिय केन्द्रमा भई रहेको छ। मलाई लाग्छ, यसबारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्ट नीति बनाई सोही वैचारिक निकट केन्द्रमा आवद्ध हुने गरी निर्देशन गर्नुपर्छ। यसो नगर्ने हो भने यसले अवसरवाद र अराजकतावादलाई बढाएर लैजान्छ।

ट्रेड युनियन आन्दोलनभित्र विकृती र विसङ्गती बढ्यो भनेर यसको खारेजी गर्ने वा अधिकार कटौती गर्ने कार्य उचित होइन । निश्चय नै ट्रेड युनियन आन्दोलनले संगठित प्रयत्नका आधारमा मुलुकको राजनीतिक आन्दोलनका साथै श्रमिकको पेसागत हकहित, अधिकार प्राप्ति, आर्थिक सुविधा र बृत्तिविकासका लागि धेरै महत्वपूर्ण भूमिकानिर्वाह गरेको छ।

यसको प्रभाव कम्युनिस्ट पार्टीमा पनि पर्ने भएकाले पार्टीमा थप चुनौती खडा हुन्छ। समाजवादको विरोध गर्ने र श्रमिकको हक अधिकारका लागि वर्ग समन्वयवादी लाइन लिने केन्द्रसँग आवद्धता होइन, वर्ग संघर्ष केन्द्रित आन्दोलनको अगुवाई गर्ने केन्द्रसँग भातृत्वपूर्ण सम्बन्ध कायम गरेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाएर जानुपर्दछ।

अहिले पुँजीवादीले श्रम आन्दोलनलाई कमजोर बनाउन ट्रेड युनियनलाई अनेक डलरवाला परियोजना सञ्चालन गर्न दिएर ठूलो धनराशी खर्च गरिरहेका छन्। यसको प्रलोभनमा परेर गलत ठाउँमा सम्बन्ध कायम गर्दा श्रमिक आन्दोलनलाई भूत्ते बनाउने र पूँजीवादलाई बलियो बनाउने काम पुँजीवादीले गर्दै आएका छन् । अतः यस्तो कार्यलाई बन्दगरी प्रगतशील र समाजवादी विचार पक्षधर टे«डयुनियनले सच्चा सर्वहारा श्रमिक वर्गीय श्रम आन्दोलनको विकास गर्ने गरी अन्तर्राष्ट्रिय केन्द्रमा सम्बन्ध र आवद्धता कायम गर्नुपर्छ।

नेपालमा आयोजना हुने एसियाली सम्मलेनको तयारी कस्तो भइरहेको छ ?

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा श्रमिकको अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको आयोजना गर्न पाउनु हाम्रा लागि अत्यन्तै ऐतिहासिक अवसर हो। नेपालमा राजनैतिक क्रान्ति सम्पन्न भएर वामपन्थीले दुई तिहाईको हाराहारीमा विजयी भएर वामपन्थी सरकार गठन भएको ऐतिहासिक परिघटनालाई विश्वव्यापीरूपमा नजिकबाट हेरिएको छ।

डब्लूएफटीयूले युद्ध र हिंसाबाट पीडित श्रमिकको पक्षमा आवाज उठाउँदै हरेक देशका उद्योग र कारखाना सम्म शान्तिको अभियान सञ्चालन गर्दै, श्रमिकहरुलाई युद्ध र हिंसाका विरुद्ध संगठित हुन प्रेरित गर्दै आएको छ ।

यस्तो नयाँ परिघटनाका बीचमा नेपालमा विश्व ट्रेड युनियन महासंघको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन हुन गइरहेको छ। निश्चय नै नेपालका लागि राजनीतिक सन्देश प्रवाह गर्न, आर्थिक एवं पर्यटकीय लाभ हासिल गर्न यो अन्तर्राष्ट्रिय फोरम महत्वपूर्ण अवसर हुने छ। सम्मेलनमा २० भन्दा बढी मुलुकका एकसय भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक खबर आएको छ। नेपालबाट करिब एक सय ५० जना प्रतिनिधि सहभागी हुने छन्। यस सम्मेलनको मूल नारा ‘श्रमिकवर्गको सामाजिक सुरक्षालगायत आधारभूत आवश्यकताका वस्तु र सेवा सुनिश्चित गर’ भन्ने रहेको छ।

सम्मेलनमा विभिन्न देशमा श्रमिकको स्थिति, संघर्ष आन्दोलनका साथै मूल नाराका बारेमा छलफल गरी काठमाडांै घोषणपत्र जारी हुनेछ। सम्मेलनको तयारीका लागि २ सय ५१ सदस्यीय मूल समिति, प्रचार, प्रकाशन, आर्थिक संकलन, अतिथि सत्कार, जुलुस व्यवस्थापन आदि उपसमिति गठन गर्ने तयारी भइरहेको छ। यही सन्दर्भमा हरेक प्रतिष्ठानका कार्यस्थलसम्म पुगेर सम्मेलनको प्रचार प्रसार र अन्य तयारीका लागि बैठक तथा जमघट भइरहेको छ।

केही फरक सन्दर्भ राजनीतिक क्रान्ति पूरा भएकाले नेपालमा ट्रेड युनियन आवश्यक छैन भन्ने चर्चा भइरहेको छ। यसबारेमा तपार्इंको धारणा के छ ?

ट्रेड युनियन देशको आर्थिक सामाजिक क्षेत्रको मुख्य साधक शक्ति हो। यसको भूमिकालाई कमजोर बनाएर वा यसलाई निषेध गरेर अगाडि बढ्ने कुरा कसैले सोच्छ भने त्यो केबल दिवा स्वप्न मात्र हो। नेपालका हरेक राजनीतिक परिवर्तनमा ट्रेड युनियनकर्मीले महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेका छन्। त्यसैगरी अब आर्थिक र सामाजिक रुपान्तरण र सामाजवादी क्रान्तिमा ट्रेड युनियनसँग राज्यले हालेमालो गर्दै अघि बढ्नुपर्छ। श्रमिकको हक हितको साथै उत्पादन र उत्पादत्व अभिवृद्धि गर्ने अभियान, गुणस्तरीय सेवा प्रदान गर्ने स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा अब ट्रेड युनियन आन्दोलन केन्द्रित हुनुपर्छ।

अनि ट्रेड युनियनका नाममा हुने विकृती विसङ्गती बारेमा तपार्इंको भनाइ के छ ?

ट्रेड युनियन आन्दोलनभित्र विकृती र विसंङ्गती बढ्यो भनेर यसको खारेजी गर्ने वा अधिकार कटौती गर्ने कार्य उचित होइन। निश्चय नै ट्रेड युनियन आन्दोलनले संगठित प्रयत्नका आधारमा मुलुकको राजनीतिक आन्दोलनका साथै श्रमिकको पेसागत हकहित, अधिकार प्राप्ति, आर्थिक सुबिधा र वृत्तिविकासका लागि धेरै महत्वपूर्ण भुमिका निर्वाह गरेको छ। तर सँगसँगै यस आन्दोलनमा चुनौती पनि खडा भएका छन्। आन्दोलनभित्र, अवसरवाद, अर्थवाद र अराजकतावाद (३ अ)का चुनौती गम्भीररूपमा देखा पर्दैछन्।

ट्रेड युनियनका नाममा खास गरी नेतृत्वले आफ्नो व्यक्तिगत हितलाई ध्यानदिने, आन्दोलनलाई भुत्ते बनाउने र आत्मकेन्द्रित साेंच बढ्दै गएको छ। प्रमोसन, आर्थिक सुबिधा लाभ अवसरमा नेतृत्व आफैं लिप्त भएर लाग्ने गरेकाले ट्रेड युनियन आन्दोलनमा विकृति, विसंङ्गती बढेका छन्। र गैह्रकानुनी गतिविधि पनि सञ्चालन हुने गरेको पाइएको छ।

ट्रेड युनियनले साामाजिक दायित्वलाई महत्व नदिँदा आन्दोलन अर्थवादको दलदलमामा फस्ने गरी चुनौनी खडा भएका छन्। अब यस्ता चुनौतीका विरुद्ध वैचारिक संघर्ष गरी मर्यादित ट्रेड युनियन आन्दोलनको विकासको लागि स्पष्ट आचारसंहिता बनाएर त्यसलाई सबैले आत्मसात गरेर अगाडि बढ्न सक्नुपर्छ।नेपाल समाचारपत्र अनलाइनबाट साभार ।

प्रतिकृया दिनुहोस्