स्वास्थ्य

परिवार नियोजनाका आधुनिक साधन प्रयोग गर्ने घटे, परम्परागत विधि अपनाउने बढे

आधुनिक विधि अपानाउनेमा कुन प्रदेशका कति?
काठमाडौं- नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। तर, परिवार नियोजनका परम्परागत विधि अपनाउनेको संख्या भने बढीरहेको तथ्यांकले देखाएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले अनुसार नेपालमा आधुनिक विधि प्रयोग गर्ने घटेको र परम्परागत विधि अपनाउने बढ्दै गएको देखाएको हो। स्वास्थ्यमा यो सर्भेक्षण हरेक पाँच वर्षमा हुँदै आइरहेको छ। पछिल्लो पटक सन् २०१६ को सर्भेक्षण प्रतिवेदन सार्वजनिक भएको छ।

नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडिएचएस) २०१६’ले नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष)का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले आधुनिक साधन प्रयोग गर्थे।

परिवार नियोजनका आधुनिक विधिमा महिला र पूरुषले गर्ने शल्यक्रिया सहित कन्डम, सुई, पिल्स, इमप्लान्स र आइयुडी पर्दछन् ।

सन् २००६ मा पनि नेपालका ४४ दशमलव दुई प्रतिशत प्रजनन उमेरका जनताले कुनै न कुनै प्रकारका साधन प्रयोग गर्ने गरेका थिए।

प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेश ३ का नागरिकले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। सबैभन्दा कम भने प्रदेश ४ का नागरिकले प्रयोग गर्छन।

परम्परागत विधि अपनाउने बढे
आधुनिक विधि अपनाउनेको संख्यामा ह्रास आएसँगै नेपालमा परम्परागत विधि अपानउनेको संख्यामा भने वृद्धि भएको छ । परम्परागत विधिमा यौन सम्पर्कका क्रममा वीर्य बाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौन सम्पर्क राख्ने छन् ।

सर्भेक्षण अनुसार प्रजनन उमेरका ९ दशमलव ८ प्रतिशतले यस्ता विधि अपाउने गरेका छन्। जबकी सन् २०११ परम्परागत विधि अपाउने ७ प्रतिशत थिए। सन् २००६ मा ४ प्रतिशत थिए। परम्परागत विधिमध्ये वीर्य बाहिर फाल्ने विधि अपाउने ८ दमलव ७ प्रतिशत छन् भने रजस्वलाको समय हेरेर सम्पर्क गर्ने एक दशमलव एक प्रतिशत र शुन्य दबमलव एक प्रतिशतले भने अन्य विधि अपनाउने गरेका छन्।

कन्डम प्रयोग गर्ने जम्मा ४ दशमलव २ प्रतिशत
आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी कन्डमको चर्चा हुने गर्छ। कन्डमलाई सबैतिर पाइने साधनको रुपमा समेत लिइन्छ। तर सर्भेक्षणमा ४२ दशमलव ८ प्रतिशत आधुनिक साधन प्रयोग गर्नेमा कन्डमको हिस्सा जम्मा ४ दशमलव २ प्रतिशत रहेको छ।

कुन आधुनिक विधि अपाउने कति?
सर्भेक्षण अनुसार परिवार नियोजनका आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी महिलाहरुले स्थायी बन्ध्याकरण गराउने गरेका छन्। स्थायी बन्ध्याकरण गराउने १४ दशमलव ७ प्रतिशत रहेको छ। त्यसपछि क्रमश महिलाहरुलाई लगाईन सुई ८ दशमलव ९, पुरुष स्थायी बन्ध्याकरण ५ दशमलव ५, पिल्स ४ दशमलव ६, पुरुष कन्डम ४ दशमलव २, इम्प्लान्ट ३ दमशलव ३, आइयुडी १ दशमलव ४ र अन्यमा शुन्य दशमलव १ प्रतिशत रहेको छ।

गर्भपतन र बैदेशिक रोजगारीलाई दोष
परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरुको संख्यामा बृद्धि भएकाले हुन सक्ने अनुमान गरिएको छ।

आधुनिक विधि अपानाउनेमा कुन प्रदेशका कति?
प्रदेश १ ४० दशमलव १
प्रदेश २ ४२ दशमलव २
प्रदेश ३ ४९ दशमलव २
गण्डकी ३७ दशमलव ३
प्रदेश ५ ३८ दशमलव ९
कर्णाली ४४ दमलव ५
सुदूरपश्चिम ४८ दशमलव १

स्वास्थ्य खबरपत्रिका

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button