कला

‘कबड्डी कबड्डी कबड्डी’ हेरेपछि सेलिब्रेटीले भने- ‘पैसा असुल फिल्म’

काठमाण्डौ
संविधान दिवसको अवसर पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा उत्रिएको मौलिक कथामा फिल्म बनाउन सिपालु मानिने निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को बिहीबार साँझ राजधानीको जय नेपाल हलमा भव्य प्रिमियर राखिएको थियो । जहाँ पत्रकार र फिल्मकर्मीहरुको घुइँचो लागेको थियो । प्रिमियरमा फिल्ममा अभिनय गर्ने प्रायः सबै कलाकारहरु उपस्थित थिए, अभिनेता कर्माबाहेक ।

प्रिमियरमा यो फिल्मले फिल्मकर्मीबाट मिठो प्रतिक्रिया बटुल्न सफल हुँदा पत्रकारबाट भने मिश्रित प्रतिक्रिया पायो । ‘कबड्डी’ ब्राण्डलाई दुहुनो गाईभन्दा माथि सोच्ने जाँगर नदेखाएको भन्दै पत्रकारले निर्देशक गुरुङको आलोचना गरेका छन् । फिल्मकर्मीले भने फिल्मलाई अर्गानिक भनेका छन् । ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले फिल्मले सिक्वेलको साख जोगाएको भन्दै निर्देशक गुरुङको निर्देशकिय क्षमताको प्रशंसा गरिन् ।

फिल्म हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘फिल्म एकदमै रमाइलो बनेको छ । फिल्मले बाँधेर राख्छ । यत्तिको फिल्म बनाउने हो भने दर्शकले गाली गर्नुहुन्न भन्ने मलाई लाग्छ । फिल्म पूरापुर पैसा असुल छ ।’ उनको छेवैमा रहेका अभिनेता संजोग कोइरालाले पनि फिल्म राम्रो बनेको र दर्शकलाई एकपटक हेर्न आग्रह गरे । उनकी श्रीमति तथा अभिनेत्री वर्षा राउतले आफूलाई फिल्म इन्टरटेनिङ लागेको बताइन् ।

फिल्मको प्रशंसा गर्दै उनले भनिन्, ‘कलाकारको अभिनय एकदमै राम्रो छ । कथा उस्तै बलियो छ । ‘पन्चलाइन’ पनि गजब छ । रामबाबु दाईको निर्देशन प्रशंसायोग्य छ ।’ मोडल एलिशा राईले पनि अभिनेत्री वर्षाकै कुरामा सहमति जनाइन् । यस्तै, हास्यकलाकार सन्दीप क्षेत्रीले धेरैपछि राम्रो फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरे । ‘कबड्डी कबड्डी कबड्डी’ राम्रो मात्र नभएर धेरै राम्रो बनेको बताउँदै उनले निर्देशक गुरुङको मेहनतको प्रशंसा गरे ।

फिल्म ‘पारस’ बाट निर्देशनमा हात हाल्न लागेका ‘लुट’ निर्माता माधव वाग्लेले ‘कबड्डी’ सिरिजकै उत्कृष्ट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रहेको बताए । यो फिल्मले ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई पनि ठूलो सहयोग पुर्‍याउने उनको विश्वास छ । निर्देशक रामबाबु गुरुङसँग टिमअप गरेर फिल्म ‘सेन्टीभाइरस’ निर्माण गरिरहेका हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले फिल्मले दर्शकको अपेक्षालाई पूरा गर्ने बताए ।

‘फिल्म हेरुन्जेल एकदमै रमाइलो छ । ‘कबड्डी’ सिरिजमाथि दर्शकको जुन प्रकारको अपेक्षा हुन्छ र छ त्यसमा फिल्म खरो उत्रिएको मैले अनुभूती गरेको छु । निर्देशक रामबाबु दाईले जसरी हरेक फिल्ममा निर्देशकिय क्षमता प्रस्तुत गर्दै आइरहनुभएको छ त्यो यसमा पनि देखिन्छ’, उनले भने । उनकी श्रीमति तथा हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले फिल्मले मौलिकपन बोकेको बताइन् । दर्शकले धेरैपछि राम्रो फिल्म हेर्न पाउने उनको भनाई छ ।

फिल्मकर्मीहरुको प्रतिक्रिया बुझेपछि दंग देखिएका अभिनेता दयाहाङ राईले आफूहरुले फिल्ममार्फत् भन्न खोजेको कुरा पर्दामा देखिएकोमा खुसी व्यक्त गरे । सोल्टिनी (उपासना सिंह ठकुरी) ले सिद्धान्त डगमगाउने गरि अंगालो हालेको सिनमा फिल्म हेर्दा आफू निकै हाँसेको उनले बताए । ‘कबड्डी ३’ मा फ्रेस रोलमा प्रवेश भएका अभिनेता विल्सन विक्रम राईले आगन्तुक पाहुनाबाट पाएको प्रतिक्रियाले हौसला मिलेको बताए।

फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय छ । निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले फिल्मको कथा तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्ममा कोरियोग्राफी रेनशा वान्तवा राई र सम्पादन सुरेन्द्र पौडेल र निमेष श्रेष्ठको छ ।

तेस्रो पटक ‘वीरकाजी’ को भूमिकामा देखिएका दयाहाङले फिल्ममा प्रशंसनिय काम गरेका छन् । सहायक भूमिकामा रहेका विजय बरालले थुप्रै ठाउँमा संवाद नबोलेरै पनि हाउभाउबाट दर्शक हँसाउँछन् । ‘क्याप्टेन’ बाट डेब्यू गरेकी अभिनेत्री उपासनाको अभिनयमा निखारता देख्न सकिन्छ । भूमिका सानो भए पनि अभिनेता कर्माले जबरजस्त अभिनय गरेका छन् । फिल्मको पहिलो हाफ राम्रो छ । दोस्रो हाफले भने निराश बनाउन सक्छ ।फिल्मीखबर,

तस्वीर : विवेक बस्याल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button