‘धुपौरे’ मा जुवाडे बन्दै अनमोल


वर्तमान परिपेक्षमा नेपाली फिल्ममा सर्वाधिक बढी खोजिने र चासो दिइने अभिनेता हुन्, अनमोल केसी । करिअरको छोटो अवधिमै एकसेएक ब्लकबस्टर फिल्म दिएका उनलाई अहिलेका ‘नम्बर वान नायक’ समेत भन्ने गरिन्छ । उनको नामले नै फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्ने विश्वास मेकरमा छ । त्यसैले त उनले मागे जति पारिश्रमिक दिन फिल्म निर्माता सहर्ष तयार हुन्छन् ।

गएको वर्षको अन्तिममा उनको फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनमा आएको थियो । यो फिल्मले बक्सअफिसमा सानदार व्यापार गर्‍यो । साथै, अनमोलको स्टारडम पनि ठूलो बनायो । ‘कृ’ र ‘क्याप्टेन’ को असफलताले उनको स्टारडममाथि प्रश्न उठेको थियो । ‘ए मेरो हजुर ३’ पछि उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ को तयारीमा जुटेका थिए । तर, यो फिल्म तत्काल निर्माण नहुने भएको छ ।

स्क्रिप्टमा अझै समय लाग्ने भएपछि उनले मंगलबार निर्देशक साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ साइन गरे, करीब ५० लाख पारिश्रमिकमा । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि केही दिनयता अनमोल वर्कसपमा व्यस्त छन् । अहिलेसम्म फिल्ममा आफ्नो चरित्रलाई आत्मसात् गर्न नसकेको आरोप खेप्दै आएका उनले यो फिल्ममा आफ्नो च्यालेन्जिङ रोल रहेको बताएका छन् ।

प्राप्त जानकारी अनुसार, ‘धुपौरे’ मा अनमोल जुवाडेको भूमिकामा देखिँदैछन् । यसअघि लभर ब्वाईको रुपमा प्रस्तुत हुँदै आएका उनले यो फिल्ममा जुवा खेल्न माहिर एक युवकको भूमिका निर्वाहा गर्ने स्रोत बताउँछ । तर, जीवनमा कहिल्यै जुवा नखेलेका कारण उनी अहिले तासको खेल सिकिरहेका छन् । फरक भूमिका निर्वाहा गर्न लागेका कारण यो फिल्मलाई लिएर उनी निकै उत्साहित छन् ।

‘एन्टी हिरो’ को निर्माण केही समयका लागि पोस्टपोन्ड भएपछि ‘धुपौरे’ गर्न राजी भएका अनमोल फिल्मको कथावस्तुले आफूलाई आकर्षित गरेको बताउँछन् । सो फिल्ममा अहिलेसम्म उनी मात्र फाइनल भएका छन् । अब बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम छ । यसमा अनमोलको जोडी नयाँ अभिनेत्रीसँग बाँधिने बताइएको छ । फिल्म यसै वर्षभित्र प्रदर्शनमा आउने सम्भावना छ ।फिल्मीखबर

50% LikesVS
50% Dislikes