टुँडिखेलमा नयाँ पञ्चर्याली


काठमाडौं : दलाल पुँजीवादी व्यवस्थाको मूल कानुन अर्थात् संविधान घोषणा भएको चौथो वर्ष पूरा भएको उपलक्ष्यमा असोज ३ गते काठमाडौँस्थित टुँडिखेलमा जर्जर बनेको राष्ट्रिय ढुकुटी रित्याएर ठूलो तामझाम गरियो । कार्यक्रममा सुरक्षाकर्मी, सरकारी–अर्धसरकारी कर्मचारी, सांसद र नेताहरूको भीडभाड देखिन्थ्यो । त्यो भीडमा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले साथ दिएका थिए । र्यालीमा सर्वसाधारण नागरिकको उपस्थिति देखिएन । काठमाडौँका नेवार समुदायको त उपस्थिति शून्यबराबर थियो । सरकारी उर्दीमा भएको र्यालीको तामझाम हेर्दा पञ्चर्याली बिर्साउने खालको थियो । २०४६ सालमा पञ्चायती व्यवस्था ढल्दै गर्दा बहुदलवादीहरूका विरुद्ध सादा पोसाकका सुरक्षाकर्मी, कर्मचारी र पञ्चहरूले निकाल्ने गरेको जुलुसलाई ‘पञ्चर्याली’ भनिन्थ्यो । पञ्चायतीकालको पञ्चर्याली र नयाँ पञ्चर्यालीको भिन्नता के थियो भने यसपटकको र्यालीमा कमल थापा, पशुपतिशमशेर र मरिचमानहरू नभएर उनीहरूभन्दा विचार, आदर्श, व्यवहार, संस्कृति र अर्थनीतिमा अन्तर नभएका केपी वली–प्रचण्डहरू थिए । आन्दोलनकारीले एक दिन बन्द गर्दा आकासै खसेझैँ कोकोहोलो मच्चाउने शासकहरूले तीन दिन बिदा दिएर देश ठप्प पारे । करोडौँ राजस्व खरानी बनाए । टुँडिखेलमा सिँगारपटारमार्फत मण्डले राष्ट्रवादको दुर्गन्ध प्रवाहित गरेर जनजाति र कम्युनिस्टको हुर्मत लिन खोजियो, त्यो पनि कम्युनिस्ट पार्टीकै नाममा । राष्ट्रिय पदकमार्फत पूर्वपञ्चहरूलाई पुरस्कृत गरेर आन्दोलनका सहिद र घाइतेको हुर्मत लिइयो ।

टुँडिखेलमा राज्यशक्तिको दुरूपयोग गरेर पञ्चर्याली प्रदर्शन गरिरहेको बेला काठमाठौँकै वसन्तपुरमा भने दलित, महिला, जनजाति, थारू, मधेसीलगायत उपेक्षित–उत्पीडित समुदायले दलाल संविधानका विरुद्ध प्रदर्शन गरे । सरकारी धम्की, थुनछेक र पक्राउका बीचमा हजारौँ नागरिकले विरोध प्रदर्शनमा सहभागिता जनाए । प्रदेश नं. २ मा संविधान दिवसलाई प्रदेश सरकारले नै कालो दिवस भन्दै अस्वीकार गर्यो । सरकारमा रहेकै दलहरूले कालो दिवस मनाए । सरकारले उर्दी गरेझैँ दीपावली भएन, बरु ‘ब्ल्याक आउट’ भयो । केन्द्रीय सरकारकै पार्टीको नेतृत्वमा गठन भएका ६ वटा प्रदेश र प्रदेश प्रमुखहरूले नै जनदबाबका कारण संविधान दिवस मनाएनन् । उपप्रधानमन्त्री उपेन्द्र यादव संविधान दिवसप्रति असन्तुष्टि व्यक्त गर्न विदेश भ्रमणमा गए । प्रदेश नं. २ का मुख्यमन्त्री संविधान दिवस मनाउने भनी गरिएको पूर्वनिर्णयबाट जनदबाबको कारण पछि हट्न बाध्य भए । सरकारको नेतृत्व गरिरहेका पार्टीका नेताहरूले राजनीतिक सङ्घर्षको अवधि सकिएको गैरमाक्र्सवादी र हावादारी तर्क गरिरहँदा संविधान दिवसमा भने सरकारी आदेश तामेली गर्न आएका सहभागीहरूको भीडभाडबाहेक कहीँकतै उमङ्ग देखिएन । निजामती कर्मचारीलाई अनिवार्य उपस्थितिको आदेश भएको थियो भने विद्यालयलाई शान्तिक्षेत्र र गैरराजनीतिक क्षेत्रको फलाको गरेर नथाक्नेहरूले नै विद्यार्थीलाई शैक्षिक संस्थाकै पोसाकमा जुलुसमा सहभागी गराउन उर्दी जारी गरेका थिए ।

संविधानले शासक वर्ग, उनीहरूका नातेदार र दलाल पुँजीलाई राहत र मस्ती दिए पनि नागरिकले के पाए ? नेपालमाथि विदेशी हस्तक्षेप र अपमान यथावत् छ । जोताहाले जमिन पाएनन् । युवाहरूले देशमा रोजगार पाएनन् । महँगी आकासियो । भ्रष्टाचार लाजमर्दो भएको छ र सामाजिक असुरक्षा भयावह भएको छ । जनयुद्धको समयको आततायी शासन सम्झाउने गरी दोहोरो भिडन्तका नाममा राजनीतिकर्मीहरू मारिए । आफ्ना कमजोरी ढाकछोप गर्नकै लागि राज्य–प्रायोजित पञ्चर्याली प्रदर्शन गरियो । आज दलाल पुँजीवादको पक्षपोषण गर्ने संविधानका प्रवक्ता प्रमले नै तत्कालीन माओवादीले गणतन्त्र र नयाँ संविधानका पक्षमा जनयुद्ध लडिरहेको बेला राजतन्त्रात्मक संविधानको ‘कमा र पूर्णविराम पनि परिवर्तन गर्न नसकिने’ दाबी गरेकै हुन् । प्रम वली गणतन्त्रको चर्को विरोध गर्दै ‘कुइनाले पहरो धकेल्ने मूर्ख’ भन्थे । उनले गणतन्त्रको यात्रालाई ‘ठेलागाडा चढेर अमेरिका पुगिन्न’ भनेको अझै गुन्जिरहेको छ । गणतन्त्र र नयाँ संविधानका विरोधी, माओवादीले घिसारेर ल्याएका के.पी. वली नै देशको शासनको शीर्षासनमा पुग्नु देशको विडम्बना हो । राजतन्त्र र राजतन्त्रात्मक संविधानको जसरी तावेदारी गरिन्थ्यो, आफ्नो विवेक, ऐतिहासिक भौतिकवादको ज्ञान नभएका र आलोचनात्मक चेत नभएका मारुनी नृत्याङ्गनाहरू विगतमा झैँ कुतर्क गरिरहेका छन् ।

नेपालको चालू संविधान र मधेसका मुद्दाहरूलाई दिल्लीले २०४५ सालकै चस्माले हेरेर आफ्नो आनुकूल बनाउन खोज्दा त्यो कदम दिल्लीकै लागि प्रत्युत्पादक भयो । दिल्लीले यतिबेला काठमाडौँका शासकको प्रशंसा बढाउँदै लग्ने, मधेसबारे मौन बस्ने र कुलीन वर्गको एउटा पङ्क्तिलाई हिन्दु धर्मका नाममा प्रोत्साहित गर्दै लगेर जनमत बढाउन खोजेको देखिन्छ । त्यही मौका पारेर सरकारले भने संविधान संशोधन नगर्ने भएको छ । टुँडीखेलमा भाषण गर्दै प्रम वलीले पञ्चहरूले झैँ ‘सबै संविधान र व्यवस्थाभित्र आउन धम्की’ दिए जसरी पञ्चर्यालीपछि पञ्चप्रभुहरूले कम्युनिस्ट र बहुदलवादीहरूलाई धम्की दिन्थे ।२०७६, ८ आश्विन बुधबार १०:३८ ई-रातो खबर

50% LikesVS
50% Dislikes