सिस्ने हिमाल र सुखानीलाई एक पटक संझे पनि हुन्छ !


जब हामी कसैको घरमा जान्छौँ भने त्यहाँ ढोका लगाएको रहेछ भने हामीले भित्रका कसैलाई संकेत गरेपछि खिड्की खुल्छ र जब त्यो ढोकाको खिड्की खुस्कन्छ ढोका भनौँ या दैलो खुल्छ वा उघ्रन्छ भने त्यो कोठा भित्रको प्राय सबै दृश्य देखिन्छ । मैले यो लेखको प्रारम्भमानै यो साधारण उदाहरण यसर्थ दिएको हुँ कि कुनै कुरो देखिन वा हेर्नका लागि केही समय लाग्छ र क्रमश त्यसको एउटा चरण पारगरे पछि हेर्न वा देखिनका लागि धेरै थोक भेटिन्छ ।
यो प्रसङ्गमा आज मैले नेपालका कम्युनिष्ट भन्नेहरुको छोटो विगत र वर्तमानको चित्र हेर्न र हेराउन मन लागेको छ । प्राय नेपाली जनता कम्युनिष्ट भन्नेहरु सँग कित त उनीहरुले गाउने गीतले कि त उनीहरुका गुलिया सपनाको खेती गर्ने मुलायम पनि र उग्र भाषण सुनेर कम्युुनिष्ट भन्नेहरुलाई साथ , सहयोग र समर्थन गर्न पुगेका हुन् । केही मान्छेहरु आफुले माक्र्स, लेनिन, माओ, स्टालिन, एन्गेल्स लगायतका शास्त्रको अध्ययन गरेर कम्युनिष्ट बनेको भन्नेहरु पनि छन् तर मलाई त यस्तो लाग्न थालेको छ कि उनीहरुले कस्तो भौतिकवादी समाज, दर्शन र मानवशास्त्रको अध्ययन गरे पत्याउने कि न पत्याउने भएको छ । मलाई लाग्छ कि कम्युनिष्ट दर्शनले जसरी पनि निर्धा , निमुखा, गरीब, किसान, श्रमिक र उत्पीडितहरुको हितमा काम गर भन्छ होला तर हाम्रो देशको कम्युनिष्ट इतिहासलाई केलाउदा लाग्छ नारा, भाषण र भोटमा उनीहरुको थेगोनै गरीब , किसान, उत्पीडित र श्रमिक हुन्छन् त्यसपछि भने ती भुइँमान्छे तलै र नेता एक्कासी महाजनका पनि महाजन बन्न पुग्छन् ।
हिजै जस्तो लाग्छ कम्युनिष्ट भन्नेहरुले ‘ फाटेको जालैले छेकेको , छेके पनि छर्लङ्गै देखेको हेर गाउँले हे, छर्लङ्गै देखेको देशमा के के भो ’ भनेर जनतालाई सुनाउँदै हिडेको तर आज हेर्दा लाग्छ यो गीतले उनीहरुलाईनै गिज्याई रहेको छ । कुनै समय मलाई पनि यस्तो लाग्थ्यो कि यो देशका बहुसंख्यक मान्छेहरु माथिको शोषण, दमन, अन्याय, अत्याचार, विभेद, गरीबी कम्युनिष्टबाट मात्र समाधान हुन्छ किनकी कम्युनिष्ट भनेका न्याय,समानता, स्वतन्त्रताका हिमायती हुन् । जनताका छानो, मानो , मुक्ति र मुस्कान उनीहरुले मात्र ल्याउँछन् भन्ने तर नेपालका कम्युनिष्टहरुको टुट , फुट र एकताको वास्तविक अर्थ र उनीहरुको वर्गीय नारा, न्याय र समानता केवल सत्ता प्राप्तिको सकुनी चाल बाहेक केही होईन र सरकार र कुर्सीनै उनीहरुका लागि सबै भन्दा ठूला र सपना हुन् भन्न मैले कसैको मुख हेरिरहनु पर्दैन ।आज पनि नेपालमा दजर्नको संख्यामा कम्युनिष्टका बोर्ड झुण्डिएका छन् । कतिपयले भनेको सुन्छु नेपालका सबै कम्युनिष्ट मिले कति राम्रो हुन्थ्यो है तर यो हामी जस्ता भुँइ मान्छेको सपना मात्र हो । यहाँका कम्युनिष्टहरु टुट ,फुट अनि एकता विचार र सिद्धान्तको होइन कसैले स्विकारोस या न स्विकारोस यहाँका कम्युनिष्टहरुको बिभाजन र एकता मात्रै जुँगाको लडाईँ र सकुनी खेल मात्र हो भनेर बुझ्न कठिन छैन ।
आजकै कुरा गर्दा नेपालमा कम्युनिष्टको सरकार छ शायद सबै अधिकार यो सरकारसँग छ जसले चाहाने हो भने हिजोका दिन देखि भन्दै आएका आम नेपालीको छानो र मानोको समस्या हल गर्न ठूलो कुरो छैन तर उनीहरुले हिजो बस्ती बस्ती र झुप्रा झुप्रामा बाँड्दै हिडेका सपनाका चाङ्ले ती बस्ती र ती झुप्रा लखतरान परेका छन् तर उनीहरुलाई पुरै बे वास्ता गरिएको छ । वर्ग, विचार , दर्शन , सिद्धान्त त केवल लोगो मात्र जस्ता भएकाछन् ।
हिजोको सानो आज झन् सानो भएको छ, आम जनताको जिवन स्तरमा कुनै परिवर्तन भएको छैन तर सरकार भन्छ बिकास एक्कै चोटी देखिन्छ र ? पर्खन पर्छ यहाँ पहिला बिकास होइन भोको पेटको कुरा छ । तिम्रो बिकास हेर्न पर्खदा लाखौँ मान्छेको भोकका बारेमा के भन्छौ सरकार ? यहाँ तिम्रो बिकासको पखाईमा हजारौँ मान्छे पारा सिटामोलको अभावले चिहान हुन्छन् भने तिमी के लाई आफ्नो प्राथमिकतामा राख्छौ सरकार ? तिमीले त भोकालाई खाना र ओत बिहिन नेपाली जनतालाई छाना भनेर युद्ध नै गरेका थियौँ नि आज कति मान्छेले छानो र मानो पाएका छन् सरकार ? कुनै दिन संसदलाई खशीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो ’ भनेर माओको कथनको मन्त्र जपेर नथाक्ने तिमी आज केको टाउको झुण्ड्याएर के को मासु बेचिरहेका छौ ?
मैले यसो भनि रहँदा कतिपयलाई लाग्न सक्छ सरकारको बिरोध गरेर मात्र केही हुन्न सरकारले गरेका राम्रा काम पनि त छन् । मैले पनि यो अर्थमा सरकारको बिरोध गरेको होइन यो सरकार कम्युनिष्टको सरकार हो र यसले आफु सरकारमा गएपछि कमसेकम निर्धा, निमुखा, विभेदमा परेका, गरीब र सुकुम्बासीको पक्षमा पहिला कामको शुरु गर्ला भनेर आशा गरेको थिएँ यो मेरो आशामा कतै न कतैबाट कम्युनिष्टको वर्ग प्रेमको तत्वले काम गरेको थियो होला । हो , सबैका लागि सबैको चित्त बुझाउने गरि एकै पटक काम गर्न सकिदैन तर आफ्नो विगतको आन्दोलन र युद्धको ईतिहाँसको त्यो पाटो र नेपाली समाज भित्रको मूलभुत समस्या केहो भन्ने अहिले सरकारमा बसेकाहरुलाई थाहा छैन र ?एक रात र एक दिनमा नेपालमा कति मान्छे भोका र कतिले आधा पेट खोले खाएर बाँचेका छन् भनेर अहिले हामीले संझाउनु पर्ने हो र ? हो, माथिको मैले ढोकाको यसकारण उदाहरण दिएको थिएँ कि अब कम्युनिष्ट भनेर सरकारमा गएर बसेका र सरकार चलाउने हरुको नियत बुझ्नका लागि खिड्की खुलेको छ र ढोका पनि खुल्दैछ कि उनीहरुको क्रान्तिकारीता र वर्ग प्रेमको कथित नाटक बुझ्न हामी जस्ता सडकका मान्छेलाई समेत गाहे हुन छाडेको छ । उनीहरु हिजो के भन्दै थिए, के भनेका थिए र के गर्छौँ भन्थे र आज के गर्दैछन्, कस्ता हुदैछन् कता जाँदैछन् यो सम्पूर्ण विवरण क्रमश ढोका पुरा उघ्रे पछि सबैका सामु अझ छर्लङ्ग हुन्छ । मैले यसो भनिरहँदा कुनै अमुक नेता वा वर्तमानको सरकारको बिरोध गरेको होइन मैले त्यो मात्र स्मरण गरेको हुँ र आफुले बुझेको सत्यता यो हो भनेर नितान्त निजि बुझाईलाई बाहिर ल्याएको मात्र हुँ । यदि यसमा कुनै शंका भए हिजो न्याय, समानता, मुक्ति र स्वतन्त्रताका नाममा जसजसले युद्ध र संर्घषको नेतृत्व गरेका थिए उनीहरुले एक पटक आफ्नो मनलाई नै सोधे हुन्छ के हामी साच्चैका कम्युनिष्ट हौँ भनेर , के हामीले अहिले जे गरिरहेकाछौँ हिजो युद्ध र संघर्षका दौरानमा सुखानी र सिस्ने हिमालसँग वाचा गरे अनुसारकै जस्ता हामी आज भएकाछौँ भनेर एक पटक सिस्ने र सुखानीको स्मरण गर्दा पनि हुन्छ । अनि हिजो युद्ध र संर्घषका कठिन घडीमा आफ्नो पेट काटेर भोलीको सपना साँचेका गरीब किसानका झोपडी र उनीहरुको अनुहार र त्यो दिनलाई संझे पनि पुग्छ ।

50% LikesVS
50% Dislikes