‘समाचार र विचारको
साझा चौतारी’





खबरदार


कविता

– प्रदीप ओली ‘दयालु’

स्कुल पढ्न गएका बहिनीहरूलाई
गोली हानेर रक्ताम्मे बनायो
खेत जोत्न गएका बाबालाई सङ्गीन रोपी मार्यो
म टुहुरो नाबालक टोलाएर बसेको थिएँ ।
तिमी आयौ माक्र्स–लेनिन र माओको पर्चा बोकेर
भन्यौ– हिँड सामन्तीको राज्यसत्ता ढलाउन
म उठेँ, कलम बोक्ने उमेरमा बन्दुक बोकेँ
आमाको काखमा खेल्ने उमेरमा
युद्धको रणभूमिमा खेल्न थालेँ
जुम्ला, डोल्पा हुँदै कालीकोट पिली पनि लडेँ
दैलेख, सुर्खेत हुँदै रुकुम खारा पनि लडेँ
शरीरभरि गोलीका टाटा बोकेर शिविरमा बसेको थिएँ
तिमी आएनौ, अनमिन पठायौ
मलगायत हजारौँ जनसेनालाई अयोग्य बनायौ
हामीले खबर पठायौँ, तिमीले चिन्दिन भन्यौ
हामी फेरि लालझन्डा बोकेर युद्धमा फर्कियौँ
सर्वहारा वर्गको मुक्तिका लागि
जनक्रान्ति र वैज्ञानिक समाजवादका लागि
गरिब, दलित र पिछडिएको वर्गको अधिकारका लागि
बाबा र बहिनीको बदलाका लागि
तिम्रो ढाडमा टेकेर तिम्रै टाउकोमा प्रहार गर्नका लागि
म एउटालाई जेलभित्र थुनेर के गर्छौ
मजस्तै हजारौँ युवाहरू जन्मिसकेका छन् बाहिर
एउटा कुरा कान खोलेर सुन–
तिम्रो चिहान खन्ने मलामी हुँ म
हिजो तिमीले युद्ध गर्दा जनयुद्ध भयो
आज हामीले क्रान्ति गर्दा कसरी लुटेरा भयौँ ?
तिमी पापी हौ, तिमी विश्वासघाती हौ
तिमी स्वार्थी हौ, तिमी अवसरवादी हौ

हाल नख्खु कारागार

२०७६, १० आश्विन शुक्रबार ११:२६ ई-रातो खबर

प्रतिकृया दिनुहोस्