मनोज गजुरेल
कलाकार मनोज गजुरेल नेपाली हास्यब्यङ्ग्य क्षेत्रका एक सुपरिचित कलाकार , उभिएर गरिने एकल हास्यब्यङ्ग्य प्रस्तुति ( स्टेण्ड अप कमेडी) का त उनी शायदनै नेपालका पहिलो हास्य कलाकार पनि हुनुपर्छ । समाजका सबै खाले बिकृति र बिसंगति उपर सन्देश र सचेतनाका हिसाबले समेत आफ्नो कलाकारिता पस्कने गजुरेलका हास्य प्रस्तुतिमा ब्यङ्ग्य मात्र हुदैन सूचना र सचेतनाको सन्देश समेत रहेको हुन्छ । स्वदेश र बिदेशमा सयौँ प्रस्तुतिले दर्शक र श्रोताको मन जित्न सफल भईसकेका स्थापित हास्य कलाकार उनै मनोजसँग गरिएको हास्य शैलीकै संक्षिप्त गफगाफ ।
अहिले के गर्दै हुनुहुन्छ ?
तपाईले के सोध्न आँट्नु भएको छ त्यसको उत्तर दिने तयारीमा छु ।
सोधौ न त है ?
हुन्छ , सोध्न मिल्ने जति सबै थोक सोधे हुन्छ, म भन्न मिल्ने जति बाँकी नराखी भनिदिउँला ।
तपाई आफुलाई कस्तो कोटीको हास्य कलाकार भन्न रुचाउनु हुन्छ ?
मैले आफुलाई म यस्तो र उस्तो भन्ने हो की दर्शक श्रोताले भन्ने हो ? अब भन्नु नै हुन्छ भने दर्शक मेरा भगवान हुन उहाँहरुको आर्शीवादले यो गजुरेल यस्तो टाईपको कलाकार हो भनेर यसको मूल्याङ्न गर्ने र मेरो कलाकारिताको कोटी छनौट गर्ने जिम्मा पनि उनै भगवानहरुकै हो । सामान्यतया मैले मलाईनै हेरेर भन् कि भन् भन्नु हुन्छ भने म एक सामान्य कलाकार हुँ । देश मेरो प्राण हो , सबै नेपाली मेरो ढुकढुकी सबैको हित , सुख र शान्तिका लागि आफुले जानेको कला पस्कन्छु । तपाईले न सोधे पनि म आफै भन्छु मेरो हास्य कलाकारिता फगत हसाउँन मात्र होइन सन्देश र चेतनाका लागि पनि हुनु पर्छ भन्ने कुरामा म होशियार छु ।
अरुलाई हँसाउदा आफुलाई चै कस्तो लाग्छ ?
होइन तपाई मित्रले कस्तो कुरा गरेको यार साथी ? जब म कसैलाई हँसाई रहेको हुन्छु भने म चैँ के रुन्छु होला ? सयौँ दर्शक हाँसी रहेको बेला हँसाउने मान्छे रोएको कतै हुन्छ होला ? कि म रोएको बेला दर्शक हाँसेको कतै तपाईले त्यस्तो शो देख्नु भएको छ ? अब तपाईले न सोधे पनि म भन्छु ,कुरो केहो भने जब म कुनै स्टेजमा आफ्नो कला प्रस्तुत गरिरहेको बेला पक्कै पनि दर्शक हाँसिरहेका हुन्छन् त्यो समयमा एक प्रकारको आनन्द महशुष हुन्छ तर आफु स्वयम्नै त्यहाँको मुख्य भूमिकामा रहने भएकाले सचेततापूवर्क अगाडि बढ्नु पर्ने भएकाले प्राप्त आनन्दको भरपुर उपयोग गर्दै फेरि हँसाउन तर्फनै केन्द्रित हुनु पर्छ ।
कला र जिवनको कस्तो सम्बन्ध हुन्छ होला ?
होला होईन कस्तो हुन्छ भनेर सोध्नु होस्न् , कला कला हो जिवन जिवन हो तर यति भनेर मैले सकियो उत्तर भन्दा तपाई मान्नु होला जस्तो लाग्दैन भनेर पनि म आफै भन्छु । अब हेर्नुहोस है यो कला र जिवन भन्ने शब्द नि यहाँ हाम्रो गफ भईरहँदा जति छोटो छ जस्तो लाग्छ नि यसको भाव, परिभाषा र अर्थ निक्कै नै बृहत छ । अब तपाईको प्रश्नको मैले नै उत्तर दिने हो भने कुरा केहो भनेर भन्दा म हामीले हाम्रो समाजमा हाम्रो जिवन चलिरहेको बखत भोगेका विषयहरुलाईनै टपक्क टिपेर जिवन भोगाईका हाम्रा दैनिकी कथाहरुलाईनै हाँस्य शैलीमा उतार्न प्रयासरत रहेको हुन्छु । मेरा प्रस्तुति त तपाईले पनि हेर्नु भएको होला नि यदि हेर्नु भएको छैन भने हेर्नुहोस मनोजले हामीले नै भोगेका जिवन भोगाईको कथालाई हास्य शैलीमा प्रस्तुत गर्दो रहेछ भन्ने थाहा पाउनु हुनेछ । कलासँग जिवन र जिवनसँग कलाको सम्बन्ध अन्यान्योश्रित हुन्छ । किनकी जिवन भोगाईको पीडाले कसैले रुनु पनि त त्यहाँ पीडा र कलाको कतै न कतै मिलन भएको देखिन्छ नि होइन र ? रुनु पीडा हो तर रुवाईको भाका त एक प्रकारको कला पनि त हो नि ।
धेरै जसो तपाईको ब्यङ्ग्य प्रहार राजनीतिमा हुन्छनी किन होला ?
आबश्यकता अनुसार विविध क्षेत्रमानै हुने गर्छ अलि धेर राजनीतिमा हुन्छ होला भन्दा चैँ ठिक हुन्छ । अँ राजनीतिमा हुन्छ , अलिक बढि हुने नहुने कुरा पनि त्यहाँ हुन्छ कि जस्तो लाग्छ अनि मेरो ब्यङ्ग्य पनि त्यता सोझ्यान मलाई बाध्य पारिन्छ । तपाई जत्तिको सचेत नागरिकलाई थाहानै छ त छैन भने अब थाहा होस् । देश चलाउने भनेको राजनीतिले हो मैले भन्न खोजेको राजनीति गर्ने नेताहरुले हो अब त्यहाँ भित्र हुुने गरेका राम्रा कामको पनि म खुलेर तारिफ गर्ने मान्छे मध्ये म एक नम्बर हो भन्छु तर जब त्यहाँ , त्यहाँ भनेको सरकारमा बस्ने हरुले गर्र्ने भन्दा नगर्ने अनि हुने भन्दा नहुने काम गर्न थाले भने तपाईको मन मान्छ ? तपाईको मन मान्दैन भने गजुरेलको मन मान्छ होला त अनि राजनीतिमा ब्यङ्ग्य हुन्छ । तर, त्यो ब्यङ्ग्य जिस्काउन होइन सचेत गराउन हो भने र सबैले बुझ्नु पर्छ भनेर म अनुरोध गर्न चाहान्छु ।
उसो भए वर्तमानको नेपालको राजनीतिलाई तपाईले कसरी हेर्नु भएको छ त ?
हौ,साथी तपाईले भन्न खोजको केहो ? म नेताको हो की कलाकार हो ? तपाई नेतासँग कुरा गर्दै हुनुहुन्छ कि कलाकारसँग पहिला तपाई पक्का हुनुहोस म कसको अन्तरवार्ता गर्न आएको हुँ भनेर , माफ गर्नु होला है आखिर हामी हास्य शैलीमा कुरा गर्ने सहमतिमा सहमत भएर कुरा गर्दैछौँ ।जहाँ सम्म यो राजनीतिको बारेमा मलाईनै सोध्नु हुन्छ भने मैले अब यसको सत्य तथ्य भनेर हुनेवाला केही छैन । म त यति मात्रै भन्छु जसले राजनीति गरकाछौँ भन्छन् उनीहरले देश र जनताको पक्षमा हित हुुने काम गरुन् । भनाई र गराईमा छलछाम नगरुन, नेपाल आमा र नेपाली जनलाई हँसाउने सत्कर्म गरुन् । जे गर्दा देश र जनताको भलो हुन्छ हो त्यही मात्र गरुन् ।
यो सरकारको बारेमा तपाईलाई केही भन्नु छ ?
सरकारका बारेमा भन्ने त सरकारकै प्रबक्ताले हो , मैले भन्ने होइन तर यति सम्म चैँ मैले पनि भन्न पक्कै पनि विधि सम्मत होला कि सरकारले राम्रो गरोस, निर्धा र निमुखाको भलो गरोस , झोपडीले धक फुकाएर हाँस्न पाउन्, पूर्वदेखि पश्चिम अनि उत्तरदेखि दक्षिण सम्मका प्रत्येक नेपाली नागरिकले यो सरकार हाम्रो हो यो सरकार राम्रो हो भनेर यसको गुण गाउन सकुन् । सबैको भलो होस र सरकारको प्रशंसा हुने काम गरोस ।
अलिक फरक प्रसङ्गमा जाऔँ है ?
कता हो त्यो फरक प्रसङ्ग भनेको जाऔँ जाने भए मलाई पनि एक छिन् त फुर्सदनै छ , कतै तपाईले कुरो मोडौँ भनेको हो भने मोडौँ न त कता घुमाउने हो ।
तपाई एक्लै पनि हाँस्ने र रुने गर्नु हुन्छ ?
होइन तपाई कुरो गर्दा गर्दै हेप्नी ? तपाई के गर्नु हुन्छ एक्लै बस्दा ? मान्छे एक्लै न रोएर के खेताला बोलाएर रुन्छ ? अनि कुनै हास्ने कुरो एक्लै संझेको बेलामा हाँस उठ्न लाग्यो भने फोन गरेर मलाई हाँस उठ्न लाग्यो छिटो आईज भनेर मान्छे बोलाउँ छ ? हेप्नी ? यदि तपाईले मानविय संवेदनाको पक्षको कुरो गर्न खोज्नु भएको भए म मात्रै होइन मित्र हामी सबै एक्लै रुने गरका छौँ र कतिपय सन्दर्भमा एक्लै हाँस्ने पनि गरेकाछौँ ।
जिवन भनेको केहो जस्तो लाग्छ ?
जिवन भनेको तपाईको र मेरो जस्तो हो । यदि यो उत्तरले पुगेन भने यसको अर्थ राजनीतिमा न मिसाई बुझ्ने हो भने संर्घष हो जिवन , जिवन संघर्ष हो जिवनदेखि थाकेर मर्छु नभन ………बाँकी गीत सबै सुन्नु होस सबै थाहा हुन्छ ।
समय दिनु भएकोमा धन्यबाद
मेरो सत् प्रणाम सहित यहाँलाई पनि धन्यबाद, यो रमाईलो वार्ता पढ्नु हुने र न पढ्नु हुने सबैलाई म मनोज गजुरेलको बिजय दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै भन्छु ‘ सबैको जय होस, सबैमा सुख, शान्ति र समृद्धिको मनबाट फेरि पनि शुभ शुभ शुभ शुभकामना ’ । जन संसद दैनिकबाट ।