‘समाचार र विचारको
साझा चौतारी’





पौडीमा बढी पदक जित्ने लक्ष्य


अशोक बज्राचार्य

नेपाली खेलकुदमा लाग्नुभएको पाँच दशकभन्दा बढी भइसकेको छ। विसं २०२५ सालदेखि फुटबलमा होमिनुभएको बज्राचार्य २०२९ सालदेखि २०३६ सालसम्म नेपाली राष्ट्रिय फुटबल टिमको गोलपोस्ट सम्हाल्नुभएको थियो। एनआरटीसँग आबद्ध हुनुभएका उहाँ २०३७ सालमा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी बन्नुभयो। २०३८ सालमा भएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठन गरिएको नेपाल पौडी संघका सहसचिव बनेपछि पौडीसँग उहाँको साइनो गाँसिएको हो। त्यसपछि पौडीमा निरन्तर लाग्नुभएका उहाँले नेपालमा आयोजना भएका ठूला प्रतियोगिताको समारोहदेखि पौडीको प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै न कुनै महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। खेलकुदको हितमा लामो समय बिताउने क्रममा सन् २००९ मा आफ्नो मृगौलासमेत प्रत्यारोपण गराउनुभएको उहाँले खेल क्षेत्रमा लागेर धेरै कुरा पाएको बताउनुहुन्छ। ६८ वर्षको उमेरमा पनि तन्नेरी जतिक्कै जोसिलो देखिनुभएका नेपाल पौडी संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित उपाध्यक्ष तथा दक्षिण एसियाली पौडी महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका बज्राचार्यसँग नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानीको सारसंक्षेप :

कति भयो नेपाल पौडी संघसँग जोडिनुभएको ?

वि.सं २०३८ सालदेखि नेपाल पौडी संघसँग जोडिएको हुं । राष्ट्रिय खेलकुद परिषदमा २०३७ सालमा म जागीरे भएको हुँ । जुनबेला म त्यहाँ रहेको काठमाडौं स्पोर्ट्स क्लब अन्तर्गत रहेका टेनिस कोर्ट, पौडी पोखरीसहितको कम्प्लेक्सको म्यानेजरको रुपमा कार्यरत थिए । २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सिलसिलामा नेपाल पौडी संघको गठन भएपछि मैले सह–सचिवको जिम्मेवारी पाएको थिएँ ।

तपाई फुटबलका अन्तर्राष्ट्रिय खेलाडी, पौडीतिर कसरी लाग्नुभयो?

म फुटबल खेलाडी भएता पनि त्यसबेला स्विमिंग कम्प्लेक्स मेरो मातहतमा रहेकाले पौडीसँग जोडिएको हुँ । त्यो बेला प्रमोद शम्सेर राणा अध्यक्ष तथा प्रदीप शम्सेर राणा महासचिव हुँदा म नेपाल पौडी संघको सह–सचिव बनेको थिएँ ।

राष्ट्रिय फुटबल टिमबाट कहाँ–कहाँ खेल्नुभयो ?

नेपाली राष्ट्रिय टोलीको गोलरक्षकका रुपमा मैले लामो समय नेपाली राष्ट्रिय टिमबाट खेलेको थिए । मैले सन् १९७२ देखि राष्ट्रिय टिमको गोलपोस्ट सम्हालेको थिए । म चीन, वर्मा, थाइल्यान्ड लगायतका थुप्रै देशमा खेल्न गएको थिए।

नेपाली पौडीको विगत र वर्तमानका बारेमा केही बताइदिनुस न ।

नेपालमा पौडी खेलको बिस्तार गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषदले २०३८ सालमा पौडी संघ गठन गरेको हो । त्यअघि बालाजु लगायतका केही मोफसलमा मात्र पौडी पोखरी थियो ।

जहाँ रेडक्रसलगायतका केही संस्थाहरुको तत्वाधानमा वर्षमा केही फाट्टफुट्ट प्रतियोगिताहरु हुने गथ्र्यो । त्यो पनि कहिले हुन्थ्यो कहिले हुँदैनथ्यो । नेपाल पौडी संघ गठन भएपश्चात् भने नियमित रुपमा विधालयस्तरीय, खुल्ला तथा राष्ट्रियस्तरका प्रतियोगिताहरू गर्न थालिएको हो ।

अन्तर्राष्ट्रिय स्तरलाई दाँज्ने हो भने वर्तमान नेपाली पौडीको अवस्था कस्तो छ ?

सन् १९८२ को दिल्ली एसियन गेम्समा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । ओलम्पिकको कुरा गर्दा १९९६ को एट्लान्टा ओलम्पिकमा नेपाली पौडी पहिलो पटक सहभागी भएको थियो ।

त्यतिबेला निष्मा गुरुङ्गले ५० मिटरको दुरी ००.४२ सेकेन्ड्समा पूरा गरेका थिए । तर अहिले हामी झन्डै ००.२७ सेकेन्ड्समा आईसकेका छौं । हामीका १२ महिना नै खेल्नमिल्ने सुविधा भएको भए यो भन्दा राम्रो नतिजा ल्याउन सकिन्छ ।

नेपाली पौडी विकासको लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

कुनैपनि खेल विकासको आधार भनेको नै ग्रासरूट लेभल हो । उमेर समूहबाट तयार पारिने खेलाडी नै भोलीका कर्णधार बन्छन् । त्यसैले विधालयस्तरबाटै प्रतियोगिताहरु हुनु जरुरी छ । हामी अहिले वाषर््िाक कम्तिमा ५ वटा विधालयस्तरका टूर्नामेन्ट गर्छौ ।

विधालयस्तरका कतिपय प्रतिभावान खेलाडीहरु अहिले राष्ट्रिय टिममा पनि समावेश छन् । जसका कारण नै अहिले देशभर पौडी खेलाडीहरुको संख्यामा वृद्धि भईरहेको छ ।

वार्षिक कति वटा घरेलु प्रतियोगिताहरु हुने गरेको छ ?

कम्तिमा पनि १० वटा प्रतियोगिता हुने गरेको छ । भविष्यमा यसलाई अझै बढाउँदै लैजाने योजना छ ।

नेपाली पौडीलाई अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ ?

हिजो हामीले शून्य अवस्थाबाट शुरू गरेका थियौं । अहिले हामीलाई अन्तर्राष्ट्रिय पौडी महासंघबाट केही विकासका योजनाहरु प्राप्त भएका छन् । जसबाट नेपालको बिभिन्न सहरमा पौडीका इन्स्ट्रक्टर कोर्स, लाइफ गार्ड कोर्स, विधालयस्तरको प्रतियोगिताहरुको आयोजना गर्ने कामहरु भइरहेका छन् ।

अन्तर्राष्ट्रिय पौडी महासंघले पौडीको भौतिक संरचना बनाउन सहयोग गर्छ ?

हालसालै सम्पन्न अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) कंग्रेसमा हामीले यो विषयमा कुरा उठाएका थियौं । हामी मात्र होईन, यसमा आबद्ध २ सय ११ राष्ट्रमध्ये पनि हामी जस्तै कतिपय देशले यस विषयमा कुरा राखेका थिए । जसमा फिनाले कुनै देशको पौडी सम्बन्धित भौतिक संरचना निर्माणमा सरकारले पनि सहकार्य गरेमा सहयोग गर्ने बताए ।

भूकप्पले क्षतिग्रस्त दशरथ रंगशालाको पौडी कहिले बन्ला ?

फिनाले नेपाल सरकारसंग सहकार्य गरेमा चाँडै बन्नेछ । अहिले चांिह १३ औं सागका लागि नै युद्धस्तरमा लागेका छौं । त्यसपसछि मात्र हांमी त्यतातिर लाग्छौं ।

फिनाले नेपाली स्विमरहरुलाई कसरी सहयोग गरेको छ ?

फिनाको सहयोगमा रियो ओलम्पिक तयारीका लागि नेपालका शिरीष गुरुङ्ग र सोफिया शाहलाई झन्डै १८ महिना थाइल्याण्डस्थित फुकेटको ट्रेनिंग सेन्टर अभ्यास गराइएको थियो । दक्षिण पूर्वी एसियाको मुख्य ट्रेनिंग हब समेत रहेको उक्त स्थानमा खाने र बस्ने गरी मासिक साढे २ लाखसम्म खर्च फिनाले नै ब्यहोरेका थिए ।

त्यस्तै आगामी वर्ष जापानमा हुने ओलम्पिकका लागि पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दुई जना खेलाडीलाई प्रतिब्यक्ति ५५ हजार रुपैयाँ बराबरको सहयोग गर्नेछ ।

१३औं सागका लागि पौडीको तयारी कसरी चलिरहेको छ ?

हिटिंग स्विमिंग पुलको अभावका कारण हामीले १२ महीना नै अभ्यास गर्न पाएका छैनौ । हिटिंग पुल अति आवश्यक रहे पनि निर्माणकार्य भइरहेकोले ट्रेनिंग अलि सहज हुन सकिरहेको छैन ।

तर निजीस्तरमा बनेका हिटिंग सिस्टम पौडी पोखरी अहिले उपलब्ध भएकोले केही राहत भने मिलेको छ । तथापि गत सातादेखि सातदोबाटोस्थित स्विमिंग पुलमा नै हामीले तयारी थालेका छौ ।

पौडीको अन्तिम छनोट भएको हो ?

तेस्रो चरणको छनोट भइसकेको छ । भाद्र २४ र २५ गते १३औं सागका लागि अन्तिम छनोट भइसकेको छ । जसमा १६ पुरुष र १२ महिला छनोट गरिएको छ । त्यसमध्ये विशेष प्रशिक्षणमा रहेका गौरिका सिंहले लन्डनमा, सईद हम्जाले सिंगापुरमा, डुवाना शेर्पाले बैंकंकमा, सोफिया शाहले फ्लोरिडामा प्रशिक्षण गरिरहेका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनको टाइमिंगको आधारमा उनीहरु १३औं सागका लागि छनोट भईसकेका छन् ।

साग अघि भने खेलाडी एक्सपोजिंगका लागि बेंगलोरमा लैजाने योजना छ । उनीहरु बाहेक एलेक्जेन्डर शाह, अनुभव सुब्बा, सुभम श्रेष्ठ, टिसा शाक्य, अनुशिया तुलाधर, बास्ती महर्जन अहिलेका उदियमान खेलाडी हुन् ।

निर्माणाधीन हिटिंग पुल कहिलेसम्म तयार हुन्छ होला ?

कामहरु धमाधम भइरहेको छ । १३औं सागसम्म तयार हुनेछ । मुख्यतः हिटिंगको लागि आवश्यक सामाग्री चाँडो ल्याउन सक्यौं भने काम समयमा नै सकिनेछ । यसअघिका १२औं संस्करणसम्म २५/५० मिटरको पुलमा खेलाइएका थिए ।

आगामी सागका लागि बनिरहेको पुलको आकार भने २५/२५ मिटरको शर्ट कोर्स हो । यो पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त नै हो । यसको जानकारी हामीले अन्य सार्क राष्ट्रलाई गराइसकेका छौं । अन्तर्राष्ट्रिय पौडी महासंघले पनि वर्षमा एउटा २५/५० मिटरको लङ्ग कोर्स र अर्को २५÷२५ मिटरको शर्ट कोर्स पुलमा प्रतियोगिता गर्ने गर्छन् ।

सानो आकारको पुल बनाउनु कारण के होला ?

२५/५० मिटरको पुल निर्माण गर्दा २५/२५ को भन्दा करीब ६० करोड बढी लागत देखिएको थियो । त्यस्तै पुल संरक्षणको हिसाबले पनि २५/५० मिटर अलि महंगो हुने भएकोले २५/२५ मिटरको पुल बनाइएको हो । २५/२५ को तुलनामा २५/५० मिटरको पोखरी संरक्षण गर्न दैनिक ५० हजार बढी खर्च देखिएको थियो ।

१३औं सागमा पौडीतर्फ कतिवटा इभेन्ट्स खेलाइनेछ ?

३८ वटा इभेन्ट्स हुनेछन् । पुरुषमा १६ र महिलामा १२ जना गरी एउटा राष्ट्रबाट बढीमा २८ जनासम्म सहभागी हुन पाउने छ ।

तयारीले सरकारीस्तरबाट कसरी साथ पाइरहेको छ ?

जति साथ र सहयोग हुनुपर्ने हो त्यति नभएको महसूस हुन्छ । सरकारको प्राथमिकता पर्नुपर्ने विषय हो यो ।

वैदेशिक प्रशिक्षणमा जाने योजना छ ?

हाम्रो चाहना भनेको वैदेशिक प्रशिक्षणभन्दा यहीको स्रोत र साधनमा कम्तिमा पनि ४० जनाले सहजै प्रशिक्षण गर्न पाए हुन्थ्यो भन्ने हो । जसले भोलीका दिनमा राम्रो आधार समेत तयार गर्न मद्दत गर्नेछ । सकभर हामी विदेशी प्रशिक्षक ल्याएर यही नै प्रशिक्षण गराउने सोचमा छौं ।

१३औं सागमा पौडीबाट कस्तो आशा गर्न सकिन्छ ?

बिना भौतिक पूर्वाधार हामीले गत १२औं सागमा एउटा रजत र तीन वटा काश्य पदक जितेका थियौं । जसमा गौरिका सिंह एक्लैले ४ वटा पदक जित्नुभएको थियो । विगतको भन्दा बढी पदक जित्ने लक्ष्य छ ।

नेपालमा नै भौतिक पूर्वाधार निर्माण भएपश्चात् केही वर्षभित्र भारतबाहेक अन्य सार्क राष्ट्रलाई पौडीमा उछिन्न सकिन्छ भन्ने मलाई लाग्छ ।

भारतलाई चाहिं उछिन्न सकिन्न र ?

समग्र अन्तर्राष्ट्रिय पौडी जगतलाई दांज्ने हो भने भारतीय पौडीबाजको स्तर धेरै माथि छ । ब्यक्तिगत एक दुई इभेन्ट्समा हराए पनि औसतमा भारतको स्तरलाई पछि पार्न भने केही समय अवश्य लाग्नेछ ।

कुन खेलाडीबाट बढी आशा गर्न सकिन्छ ?

मुख्यतः गौरिका सिंह नै सबैभन्दा आशालाग्दो खेलाडी हुन् । अहिले गौरिका कै स्तरमा अन्य खेलाडीहरु पनि उदाइरहेका छन् । ब्यक्तिगत भन्दा पनि टिम गेमबाट हामीलाई बढी आशा छ ।

पौडी संघले राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) संग कसरी समन्वय गरेको छ ?

स्विमिंग मात्र होईन, अन्य खेल विकासका लागि कुनै पनि खेल संघले यी दुवै संस्थासँग राम्रो समन्वय गर्नुपर्छ जस्तो मलाई लाग्छ । नेपाली स्विमिंग विकासका लागि राखेप, नेपाल ओलम्पिक कमिटी र नेपाली पौडी संघबीच राम्रो तालमेल छ ।

नेपाल पौडी संघले योजना बनाउँछ । त्यसलाई केही हदसम्म राखेपले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । आवश्यक भौतिक पूर्वाधार तथा खेल सञ्चालन गर्न सम्बन्धित म्यान पावर उपलब्ध गराएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय सहभगितादेखि रेफ्रि–जज रिफ्रेशर कोर्स, स्कलरशिप प्रोग्राम, वैदेशिक प्रशिक्षण लगायतका लागि नेपाल ओलम्पिक कमिटीले पनि राम्रो समन्वय गर्दै आएका छन् ।

एनओसीको निर्वाचन अघि विवाद आउनुको कारण के होला ?

म खेलकुदका थुप्रै घटनाको साक्षी बनेको छु । अहिलेको ओलम्पिक कमिटीले विवाद गर्ने सबैलाई समेट्न खोजेको छ । समग्र नेपाली खेलकुदको विकासका लागि यो एउटा राम्रो अवसर पनि हो ।

२०६७ सालको कुरालाई कोट्याएर अहिले विवाद निकाल्नु भनेको फगतमा बखेडा खडा गर्नु मात्र हो । जो ब्यक्तिले अहिले सर्वोच्चमा रिट हालेका छन् उहाँ खेलकुदका वरिष्ठ र आदरणीय ब्यक्ति हुन् ।

तर उहाँ खेलकुद क्षेत्रबाट टाढिनु भएको धेरै समय भइसकेको छ । अहिले फेरी एक्कासी रिट हाल्नु भनेको खेलकुदलाई डिस्टर्ब गर्ने उदेश्य मात्र हो । यो खाली विवाद निम्त्याउन गरिएको विवाद मात्र हो । अब निर्वाचन भइसकेकाले विवाद टुंगिन्छ भन्ने मलाई आशा छ ।

नेपाल समाचारपत्र अनलाइनबाट ।

प्रतिकृया दिनुहोस्