‘समाचार र विचारको
साझा चौतारी’





सहिद ज्ञामप्रसाद चालिसे ‘आयाम’


जीवनी/संस्मरण

– सरला रेग्मी

क. ज्ञामप्रसाद चालिसे बागलुङ जिल्लाको तत्कालीन अर्जेवा गाउँ विकास समितिको चोखेक गाउँमा भविश्वर उपाध्यायका माइला छोरा छविलाल उपाध्याय र आमा टीकादेवी चालिसेका माहिला छोराका रूपमा २०२७ साल चैत २७ गते जन्मनुभएको थियो । उहाँको जन्म दाजु हेमराजसहित भाइहरू याम, नारायण, हरि र बहिनी धना गरी ६ जना सन्तानले धनी परिवारमा भएको थियो । पहाडको ढुङ्ग्यान पाखोबारी, भिरपाखाको घाँसदाउरा, पशुबस्तु र टाढाको पानीपँधेरो यो सबै भ्याएर परिवार पाल्नु कयौँ परिवारका लागि विकल्परहित बाध्यताले मात्र सम्भव थियो । आजभोलिसमेत कयौँ पहाडी गाउँहरू त्यत्तिकै अलपत्र छाडेर रित्तिन थालेका छन् र पूरै गाउँघर जङ्गलले ढाक्न थालेको छ । कहिलेकहीँ मिठोमसिनो पकाएर आफ्ना सन्तान र परिवारका अरू सबैलाई खुवाएर पिँधमा बाँकी रहेको पुरो खान खोज्दा आमाले मीठो खाई भनेर भएभरका सबै सन्तानले एकैपटक भाँडो घेरेर आमाको गाँससमेत लुछ्दाका दिनहरू कसरी बिताउने ? त्यसैले छविलाल चालिसेको परिवार पनि आफ्ना दाइ र भाइहरू पहिले नै बसाइँसाराइ गरेर आएको बर्दिया जिल्लाको गोला जोथीपुरमा २०४९ मङ्सिरको अन्तिम साता बसाइँसराइ गर्यो ।

ज्ञाम सानैदेखि तेजस्वी स्वभावका हुनुहुन्थ्यो । चोखेकको वरिपरि रहेका सर्कुवा, अर्जेवा र जैदी तीनवटै विद्यालय एकोहोरो एक घन्टाभन्दा बढी दूरीमा पर्दथे । त्यसैले पहाड हुँदासम्म विद्यालय शिक्षा लिनु त्यति सजिलो थिएन । विद्यालय जाँदा र आउँदा जङ्गल पर्ने भएकाले पनि बच्चाहरूलाई डर हुन्थ्यो । तैपनि पढ्नु/पढाउनुपर्छ भन्ने सामान्य चेतना भएकाले विद्यालय जाने काम भने हुन्थ्यो । पढाइ केकस्तो थियो भन्न मुस्किल छ तर तराईतिर बसाइँ सरेर आएपछि लगत्तै पाताभार गाविसमा पर्ने नेपाल राष्ट्रिय नि.मा.वि. जनकनगरमा कक्षा ३ मा भर्ना भएर पढाइ सुरु गर्नुभयो । काममा लागेपछि मेहनत गर्ने र सफल हुने बानी र क्षमता भएकाले होला गाउँघरमा परेका बेला मात्र अघि पर्ने हैन, खेलमा अरूलाई जितेर झोलामा एक मानाभन्दा बढी गुच्चासमेत हुन्थे । ५/६ कक्षामा पढ्ने बेला विद्यालयमा बिहान समयमै पुगे पनि बेलुका फर्केर घर पुग्दा भने साँझ पर्ने गथ्र्यो । राम्रो कुरा कसैले भने तुरुन्त सकारात्मक रूपमा मनन गर्ने बानी भएकाले गुच्चा खेलेर समय खेर फाल्नुभन्दा बरु समय मिले कक्षामा पढ्ने, अरू पनि किताब पढे हुन्छ, ज्ञान बढ्छ भनेर सम्झाएपछि र एउटा चिनियाँ बालसाहित्य पढेपछि उहाँको स्वभावमा एकाएक परिवर्तन आयो । ३ कक्षादेखि नै उहाँ कहिल्यै दोस्रो हुनुभएन बरु विद्यालयभरिमै प्रथम हुने गर्नुहुन्थ्यो । हुनत प्रथम हुनु उहाँका भाइहरूको पनि विशेषता हो । जब जनकनगरको पढाइ पूरा गरेर २०४४ सालमा पाताभारको एकप्रिय मा.वि. मा कक्षा ८ मा भर्ना हुन जानुभयो, त्यसपछि आफूलाई राजनीतिक रूपमा सक्रिय पार्दै सङ्गठित पनि हुनुभयो । जतिबेला उहाँ विद्यार्थी सङ्गठन अ.ने.रा.स्व.वि.यु. (दसौँ को विद्यालय एकाइ समितिको अध्यक्ष हुनुभयो । उहाँको पालामा विद्यार्थी सङ्गठन त्यहाँ निकै राम्रो थियो । उहाँसँगै उहाँको नेतृत्वमा बसेर काम गरेका कतिपय साथीहरू अहिले पनि राजनीतिमा सक्रिय र नेतृत्वदायी भूमिकामै हुनुहुन्छ । २०४६ सालमा उहाँले एस.एल.सी. गर्नुभयो । पढाइ र कक्षामा प्रथम हुनु त उहाँको विशेषता नै थियो जुन पछिसम्मै कायम रह्यो ।

२०४७ मा विद्यार्थी सङ्गठनको एकतापछि अनेरास्ववियू (एकताको बर्दिया जिल्लाको छैँटौँ र सातौँ दुईवटै जिल्ला सम्मेलनबाट जिल्ला समितिको अध्यक्षमा निर्वाचित हुनुभयो । त्यस्तै २०४८ चैतमा सम्पन्न विद्यार्थी सङ्गठनको एकता राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियू (एकताको केन्द्रीय समितिमा निर्वाचित हुनुभयो । उक्त सङ्गठनको २०५२ सालमा कोषाध्यक्ष र २०५४ को चौधौँ राष्ट्रिय सम्मेलनबाट सङ्गठनको केन्द्रीय उपाध्यक्षका रूपमा निर्वाचित भई नेतृत्व गर्नुभयो ।

२०४३ सालमा तत्कालीन ने.क.पा. (मशाल) को पार्टी सदस्य बन्नुभएका क. आयाम २०४७ सालबाट पूर्णकालीन कार्यकर्ता हुनुभएको थियो । उहाँ २०५० सालमा नेकपा (एकताकेन्द्र को जिल्ला समिति सदस्यका रूपमा मनोनीत हुनुभएको थियो । २०४६ सालमा विद्यालयको पढाइ पूरा गरी विद्यार्थी सङ्गठनको जिम्मेवारी समालिरहेकै अवस्थामा सङ्गठनकै निर्णयअनुसार सम्भवतः २०४८ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भई कानुन विषयमा प्रवीणता प्रमाणपत्र र स्नातक तहको पढाइ पूरा गर्नुभयो । दीर्घकालीन जनयुद्धको कार्यदिशाअनुसार २०५२ सालमा ने.क.पा. (माओवादी) ले जनयुद्ध सुरु गर्यो । माउ पार्टीले जनयुद्ध सुरु गरिरहँदा जनवर्गीय सङ्गठनका रूपमा विद्यार्थी सङ्गठन पनि आफ्नो भिन्न भूमिकामा खरो उत्रन पुग्यो । क. आयाम विद्यार्थी नेताका रूपमा मात्र नभई पार्टी नेताका रूपमा पनि हुनुहुन्थ्यो । त्यसैले जनयुद्ध सुरु भएको ठीक ११ दिनका दिन बर्दिया गुलरियास्थित मेघ स्टेसनरीमा पत्रिका पढिरहेको अवस्थामा अर्का विद्यार्थी नेता विष्णुप्रसाद चौधरीसहित उहाँलाई प्रहरीले गिरफ्तार गर्यो । हातहतियार र खरखजाना तथा सार्वजनिक अपराध ऐनजस्तो झुटो अभियोग लगाइएको करिब १० महिनापछि उहाँ जेलबाट धरौटीमा रिहा हुनुभयो ।

जे निर्णय हुन्छ इमानदारीसाथ पालना गर्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ भन्ने उहाँको स्वभाव थियो । अहिले कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज पहिले कोहलपुरमा निर्माण गर्ने भनिए पनि भारतको बोर्डर भवानियापुरमा डीपीआरसहित काम सुरु गरेकोमा पछि उहाँकै विशेष पहलमा कोहलपुरमा स्थापना गराउन सम्भव भएको थियो । जनयुद्धको सुरुआतपछि अन्य जिल्लाबाट पार्टी इन्चार्ज क. पोस्टबहादुर बोगटीलाई भेट्न आउँदा क. आयाम नै नेपालगन्जको मुख्य सम्पर्क माध्यम हुनुहुन्थ्यो । जतिबेला उहाँ गिरफ्तार पर्नुभएको थियो त्यतिबेला नेपालगन्जमा उहाँले नै बनाएका कार्यकर्ता डम्बर रानाभाट र ऋषि घिमिरे दुईजना उहाँको अभावलाई पूरा गर्न तल्लीन हुनुहुन्थ्यो । उहाँहरूको पनि पछि सहादत भयो ।

रिहा भएपछि पुनः उहाँ आफ्नो जिम्मेवारीमा खटिनुभयो । प्रहरी हिरासत र जेलले उहाँलाई झनै स्पातिलो बनायो । बाँके र बर्दियामा बसेर विद्यार्थीको केन्द्रीय भूमिका पूरा गर्न धेरै कठिनाइ थियो तर पनि उहाँले विद्यार्थी सङ्गठन र पार्टी दुवैतिर आफ्नो जिम्मेवारीमा कहिल्यै कमजोरी रहन दिनुभएन । कहिलेकहीँ नेतासँग पनि आफूलाई लागेका कुरा सीधा–सीधा जस्ताको तस्तै राख्नुहुन्थ्यो । त्यसैले त्यतिबेलाको मुख्य नेतृत्वका रूपमा रहेका क. बोगटीका दृष्टिमा उहाँ अलि जिद्दीवाल लाग्नुहुन्थ्यो ।

यसै क्रममा २०५४ असोज मसान्तमा बर्दियाको धोवियागाउँमा क. पोस्टबहादुर बोगटीको प्रमुख आतिथ्यमा जिल्ला पार्टीको बैठक बसिरहेकै बेला क. ज्ञामप्रसाद चालिसे र क. सरला रेग्मीका बीचमा जनवादी विवाह सम्पन्न भयो । त्यति बेला दुवैजना ने.क.पा. (माओवादी) बर्दिया जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । उहाँहरू दुईजनाको विवाहको मुख्य लमीको भूमिका आरसी चौधरीले निर्वाह गर्नुभएको थियो ।

२०५५ साल माघको दोस्रो साता हरियाणामा भएको पश्चिम क्षेत्रीय ब्युरोको बैठकमा उहाँलाई कर्णाली उपब्युरोमा राखेर जिल्ला पार्टी सेक्रेटरी बनाउने वा बाँके/बर्दियामै पार्टीको जिम्मेवारी दिने भन्नेबारेमा छलफल चल्यो । अन्ततः बाँके र बर्दियामा नै जिम्मेवारी दिने भनी क्षेत्रीय ब्युरोले निर्णय गर्यो । पार्टी उपब्युरो र विद्यार्थीको उपाध्यक्ष रहेर बाँके/बर्दियामै जिम्मेवारी समालिरहेको अवस्थामा २०५६ मङ्सिर २४ मा उहाँहरूका छोरा वजनको जन्म भयो । सरलाले सुत्केरी अवस्थामा पार्टी जिल्ला सेक्रेटरीको जिम्मेवारी पूरा गर्न सम्भव थिएन । त्यसैले सरलाले समालेको जिम्मा पार्टी सेक्रेटरीको जिम्मा आयामलाई दिने निर्णय ग¥यो । त्यसैअनुसार २०५६ भदौबाट बाँके र बर्दिया दुवै जिल्लालाई एउटैमा मिलाएर उहाँलाई पार्टीले जिल्ला सेक्रेटरीको जिम्मेवारी प्रदान ग¥यो । आयामले ०५७ भदौसम्म जिल्ला सेक्रेटरीको जिम्मेवारी सशक्त रूपमा पूरा गर्नुभयो र २०५७ भदौबाट ब्युरोको निर्णयअनुसार उहाँलाई क्षेत्रीय ब्युरोमा मनोनीत गर्दै दुवै जिल्लाको सेक्रेटरी अलग–अलग बनाउने निर्णय गर्यो । त्यसपछि उक्त बैठकले नै दुवै जिल्लाको इन्चार्ज आयामलाई बनाउने निर्णय गरेअनुसार उहाँ इन्चार्ज हुनुभयो । त्यही जिल्ला इन्चार्जको जिम्मेवारी र भूमिकामै रहेका बेला २०५८ मङ्सिर २६ गते उहाँ कोहलपुरबाट शाहीसेनाको गिरफ्तारीमा पर्नुभयो ।

२०५८ मङ्सिर २५ गते राती उहाँ कोहलपुर प्रेमनगर राजु कँडेलको घरमा बस्नुभएको थियो । उहाँ बसेको नजिकै चन्द्रकान्त कमरेडको घरतिर राती सेनाले गोली चलायो । २७ गते जिल्ला पार्टीको बैठक कोहलपुरमै बोलाएकोमा २६ गते नै पूर्वतयारी गर्ने भनी केही मुख्य साथीहरू पनि कोहलपुर पुगेर नजिकै बसिराख्नुभएको थियो । राती गोलीको आवाज सुनेपछि उहाँहरू शङ्का लागेर बिहानै पाखा लाग्नुभयो । त्यसको लगत्तै सेना आएको कुरा जनताका बीचमा फैलियो । आयाम पनि २६ गते बिहानै आपुूm बसेको ठाउँबाट क. डिलाराम वली ‘ ज्वाला’ का साथ शौचालय जाने बहानामा हातमा लोटा लिएर पाखोतिर भाग्नुभयो । सेना आएर पनि घेरा हालिसकेको कुरा उहाँलाई थाहा थिएन तर सेना पहिल्यै कम्बलको घुम्टो ओढेर बिरालोले मुसा ढुकेजस्तै गरी ढुकेर बसेको रहेछ । उहाँहरू अगाडि बढ्दा पहिले नै सेनाले उहाँहरूलाई हल्ट ग¥यो । त्यतिबेला डिलाराम वलीलाई सेनाले नसुन्ने गरी अर्कोतिर लाग्न भनेर आयाम सरासर अगाडि बढ्नुभयो । दिसा गर्न जाने बहानामै पहिलो घेरा त पार गर्नुभयो तर जता जानुभएको थियो त्यतै दोस्रो घेरा हालेर सेना बसेको रहेछ । सेनाले उहाँलाई त्यहीँ नियन्त्रणमा लिएर तलासी ग¥यो । उहाँको साथमा अलि धेरै पैसा देखेपछि शङ्का लागेर बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी ब्यारेकमा लग्यो । त्यहीँ उहाँको छिमेकी गाउँको मुक्ति स्वाँरका छोरा कर्णेल रमेश स्वाँर बसेको रहेछ । आयामलाई उसले पहिलेबाटै खोजिरहेको थियो । पटकपटक आयामको घरमा गएर ‘तेरो छोरा खोइ भन, नभए तिमीहरूलाई सिध्याउँछौँ’ भन्दै घरपरिवारसमेतलाई धम्क्याउने गरेको थियो । आयाम र उहाँकी श्रीमतीलाई भेटेमा चिरेर मार्ने भन्दै आयामका बाबुआमालाई सुनाउने गथ्र्योे । उसकै पालामा बर्दिया र बाँकेबाट सबैभन्दा बढी मान्छे बेपत्ता पारिएका छन् । गिरफ्तार गरेर लगेपछि आयामलाई अरू बन्दीहरूभन्दा फरक ठाउँमा राख्यो । महिनौँ सैनिक हिरासतमा राखेर क्रुर यातना दिँदा पनि उहाँबाट केही पाउन नसकेपछि आफ्नो पराजयलाई स्वीकार्न नसकेर उसले क. आयामलाई जिउँदै आगो लगाएर हत्या गरी रेडियोमार्फत बेतहनी भनिने ठाउँमा दोहोरो भिडन्तमा मारिएको गलत समाचार सार्वजनिक गर्यो । आयामको टाउकोमा आगो लगाएर हत्या गरेको क्रूर वास्तविकता सोही समय हिरासतमा रहेका अन्य व्यक्तिहरूमार्फत सार्वजनिक भएको थियो ।

एउटा महान् योद्धाले सैनिक हिरासतमा पनि वीरतापूर्वक युद्ध लड्दै र इन्क्लाबको नारा घन्काउँदै आफ्नो टाउकोमा मशाल बालेर दुनियाँ ब्युँझाउँदै आफ्नो आवाजद्वारा वैरीहरूका फलामे किल्ला तोड्न सफल हुनुभयो । उनीहरूले सोचेका थिए होलान्– आयामको हत्या गरेपछि सबैजना तर्सिनेछन् र उनीहरूको निरङ्कुशताको दासतालाई स्वीकार्नेछन् । इतिहास ठीक त्यसको विपरीत निरङ्कुशताको अन्त्य गरेर सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गर्यो जुन आयामजस्ता योद्धाहरूको तागत र आयाम संस्कृतिको बलमा मात्र सम्भव भएको हो, अन्यथा किमार्थ सम्भव थिएन । अहिले युद्धबाट बाँचेकाहरू र कतिपय नेताहरूलाई पनि लाग्ला, यो देशको महान् भविष्य आफूले रचेको हो तर होइन, यो महान् रचना क. आयामजस्ता हजारौँ सपूतहरूको रगतले निर्माण भएको हो । घाइते, अपाङ्ग र बेपत्ता हजारौँ योद्धा र महान् जनताको त्याग र तपस्याबाट मात्र यो सम्भव भएको हो । त्यो रगतको अपमान भयो भने आज मै हुँ भन्नेहरूलाई भोलि मर्ने बेलामा पनि सजिलै सास फेर्ने सुखद अवसर प्राप्त हुनेछैन ।

अन्तिममा लालसलाम तपाईं एक इमानदार, कर्तव्यनिष्ठ, सभ्य, जिम्मेवारी ठीकठीक तरिकाले पालना गर्न सक्षम र सफल एउटा स्वाधीन र स्वतन्त्र सेनानी, दृढ कर्तव्यनिष्ठ, परिपक्व, विश्वस्त, विश्वसनीय वीर योद्धा क. ज्ञामप्रसाद चालिसे ‘ आयाम’ पुनः हार्दिक श्रद्धाञ्जली !!!

२०७६, १३ आश्विन सोमबार ०६:५७ ई-रातो खबर

प्रतिकृया दिनुहोस्