विमर्श उप्रेती
गोकुल श्रेष्ठ
अध्यक्ष, दमक उद्योग वाणिज्य संघ
महंगी अचाक्ली बढेको छ । त्यसकारण सामान किनिसक्नु छैन । विशेष गरी न्यून आय भएका परिवार महंगीको मारमा छन् । सीमावर्ती भारतीय बजारमा सामान सस्तो पाइन्छ भन्ने आम बुझाई छ । नेपालीको मानसिकता नै यस्तै छ । पारी (भारतीय) का बजारमा सामान सस्तो मूल्यमा पाइने हुँदा उपभोक्ताको भीँड उतै बढेको हो । संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले हरेक वस्तुमा कर बढाएको छ । दोहोरो, तेहरो करको मारमा छन् नेपाली । नेपाली बजारमा पाइने सामान केही महँगो त छँदैछ । अरु बेलै पनि नेपाली उपभोक्ताहरु पायक पर्ने सीमावर्ती बजारबाट सामान खरिद गर्नेगर्छन् । खास गरेर चाडपर्वका बेला दैनिक उपभोग्य सामानको खपत बढ्छ । नेपाली बजारका सामान महँगो लाग्छ यहाँका उपभोक्तालाई । सस्तो पाइने भएकाले नै भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण बढेको हो । स्वदेशी उत्पादन र नेपालमै पाइने उपभोग्य सामानको बजार प्रवद्र्धन गर्न सरकारी नीतिको खाँचो छ । त्यसका लागि सरकार गम्भीर नभई हुँदैन ।
सोमनाथ उप्रेती
वरिष्ठ उपाध्यक्ष, कन्काई उद्योग वाणिज्य संघ
बजारको मुख्य गन्तव्य नै भारत हो भन्ने नेपालीहरुमा भ्रम छ । अर्को कुरा भारतमा सामान सस्तो र नेपालको अलिक महंगो भन्ने मानसिकता छ नेपाली उपभोक्तामा । जसका कारण उपभोक्ताको ध्यान गुणस्तरीस्ताप्रति छैन भन्ने लाग्छ । नेपाल र भारतमा बेचिने सामानको मूल्य लगभग उस्तै पर्ने गर्छ । केही अन्तर मात्रै हो । हामी मोटरसाइकलमा हाल्ने पेट्रोल पम्पकै हाल्छौं, बाहिर बेचिने भरसक हाल्दैनौं । तर, खानेतेल जस्तोसुकै पनि खान्छौं हामी । मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा हामी कहिल्यै गम्भीर बन्न सकेनौं । सरकारले चिनीको आपूर्ति गर्न खाद्य संस्थानलाई भनेको छ । हामी भने सीमा पारीका बजारबाटै चिनी ल्याउँछौँ । सिलिगुडी र पानीट्यांकीको चिनीमा पनि अन्तर छ । भारतीय र नेपाली उपभोक्ताले प्रयोग गर्ने चिनीको गुणस्तर र मूल्य फरक छ । नेपाली उपभोक्ताका लागि भनेर सीमावर्ती बजारमा छुट्टै चिनी विक्री गरिन्छ । त्यहाँ पाइने चिनी सस्तो र गुणस्तरहिन हुन्छन् । जुन भारतीय उपभोक्ताले प्रयोग गर्दैनन् । हामीलाई हेर्दा राम्रो, चिटिक्क परेको र सस्तो भए पुग्छ । गुणस्तरमा हाम्रो चासो छैन । नेपालबाटै निर्यात हुने सामान हामी महंगो मूल्यमा किनेर ल्याउँछौं, दोष हाम्रै हो । हामी आफैँ सजग बन्नुपर्छ ।
नवराज पनेरु
अध्यक्ष, झापा उद्योग वाणिज्य संघ, भद्रपुर
नेपालीको मनोविज्ञान नै छ– ठूलो ठाउँबाट सामान किनेर ल्याउँदा ठूलै भईन्छ भन्ने । त्यहि भएर हामी सिलिगुडी, नक्सलबाडी, पानीट्याँकीलगायत भारतीय बजारबाट सामान ल्याउँछौं । हामीलाई टाढाबाट सामान ल्याउनुछ । सीमा वारी(नेपाल) का बजार सुनसान हुनु र सीमा पारी(भारत) मा कारोबार बढ्नुको अर्को कारण हो कर । नेपालका हरेक वस्तुमा कर बढ्दा सामानको मूल्य बढ्नु स्वभाविक हो ।आन्तरिक बजारलाई प्रवद्र्धन गर्ने सरकारको नीति छैन । निजी लगानीमा व्यवसाय थालेका व्यवसायी चौतर्फि कर तिर्न बाध्य छन् । त्यसैले, भारतीय बजारमा सामान सस्तो पाइने भन्दै उपभोक्ता उतै मोडिनु स्वभाविकै जस्तो लाग्छ । कर थेग्न नसकेर उद्योगी, व्यवसायी पलायन हुने अवस्था भइसक्यो । यसमा सरकार गम्भीर छैन । आन्तरिक बजारलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सरकारले ध्यान दिएको छैन । सरकार र व्यवसायी एक रथका दुई पांग्रा हुनुपर्नेमा सरकार भर्सेज व्यवसायीको अवस्था छ यहाँ । व्यापारीलाई कर लगाएपछि उपभोक्ता मारमा पर्छन् भन्ने कुरा ख्याल गरेको छैन सरकारले ।
( विजय डालमिया
पूर्व अध्यक्ष, मेची उद्योग वाणिज्य संघ
नेपाली बजारमा बेचिने सामानको मूल्यमा एकरुपता कायम नभएको भन्ने होइन । यहाँका व्यापारीप्रति उपभोक्ताको अविश्वास पनि होइन । आयात गरिएका सामानमा भन्सार लागेका कारण सामानको मूल्य बढ्न गएको हो । मानौं भारतमा १ सय रुपैयाँमा पाइने सामान भन्सार तिर्दा १ सय ३५ रुपैयाँ पर्छ, केही नाफा त लिनै पर्यो । अनि विक्री मूल्य १ सय ५० रुपैयाँ परिहाल्छ नी । पर्वको छेकमा मात्र नभई अरुबेलै पनि सामान सस्तो पाइने भएकाले भारतीय बजारमा नेपाली उपभोक्ताको भीँड बढ्छ । चाडबाडका लागि आवश्यक पर्ने सामान सस्तो पर्छ, उतैबाट ल्याऔं र घुमफिर पनि गरौं भन्ने मनशायले पनि सीमाका भारतीय बजारमा नेपाली उपभोक्ताको घुईँचो लाग्ने गरेको हुनसक्छ । फेसबुकमा राष्ट्रियताको विषय उठान गरेर मात्र नेपाली राष्ट्रियता मजबुत हुने होईन । नेपाली बजार चिन्न सक्नुपर्छ अनि राज्य मात्र बलियो हुन्छ । राज्यलाई कर तिर्ने परिपाटी बसाल्न जरुरी छ । राज्यले केही दिएन भन्ने अनि सेवा सुविधा मात्र माग्ने चलन तोडिनुपर्छ । घर अगाडिको बाटो भत्कियो भने सरकारले बनाउँछ, घरको शौचालय सफा गर्नुपर्र्यो भने सरकार पर्खिने यो कस्तो परम्परा हो हाम्रो ? हामीले ख्याल गर्ने की नगर्ने ? कर्मचारी, सर्वसाधारण, व्यवसायी सबैले नेपाली बजारमा किनमेल गर्ने परिपाटी हुनुपर्छ ।
(ऋषिराज तिम्सिना
अध्यक्ष, मेची उद्योग वाणिज्य संघ
भारतीय बजारमा पाइने सामान केही सस्तो त छनै । सस्तो मूल्यमा सामान पाइने भएपछि उपभोक्ताको भीँड लाग्नु स्वभाविक छ । नेपाली बजारमा सामानको मूल्य १ सय रुपैयाँ भन्दा महँगो लाग्ने उपभोक्ता भारतमा ६० भन्दा सस्तो ठान्छन् । भन्सार तिरेर ल्याइएका सामानको मूल्य केही बढी पर्छ भन्ने ज्ञान नभएर पनि भारतका बजारमा भीँडभाड बढेको हो । सस्तो पाइन्छ भन्ने हल्लाको पछि दौडिँदा कतिपय उपभोक्ता ठगिने पनि गर्छन् । सस्तोको लोभमा परेर हतारमा सामान किन्दा व्यापारीले गुणस्तरहिन सामान विक्री गर्ने गरेको पनि सुनिन्छ । नेपालीमा राष्ट्रियताको भावना कमजोर भएका कारण पनि यस्तो भएको हुनसक्छ । स्वदेशी उत्पादन र नेपाली बजारको प्रवद्र्धनका लागि सरकारले ध्यान पुर्याउनुपर्छ ।
सूर्यप्रकाश उप्रेती,
पूर्व उपाध्यक्ष, मेची उद्योग वाणिज्य संघ
भारतीय बजारमा नुनदेखि सुनसम्म सस्तोमा पाइन्छ भन्ने नेपालीको मानशपटलमा सदियौंदेखि अमिट छाप बसेको छ । त्यहि सोचका कारण सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको जमघट हुनेगर्छ, यस्तो भीँडभाड अहिले मात्र होईन, उहिल्यैदेखि हुँदै आएको हो । अदुवा, इस्कुस, लसुनलगायत नेपाली उत्पादन यतैबाट गएका हुन् । तर, यहाँका उपभोक्ता पारी गएर त्यहि उत्पादन सस्तो पर्छ भन्दै ल्याउँछन् । कुन वस्तु नेपालमा आयात हुन्छ र कुन भारत निर्यात हुन्छ, त्यो सबैलाई थाहा नहुन पनि सक्छ । भारतीय बजारमा नेपालीको घुईँचो लाग्नुको कारण एउटै छ, त्यो हो जुनसुकै सामान सस्तो पाइन्छ भन्ने । आर्थिक मन्दिका कारण नेपाली बजार सुनसान र भारतमा भीँड बढेको भन्ने होईन । आर्थिक मन्दी हुँदा त उपभोक्ता भारतीय बजारसम्म पुग्दै पुग्दैनन् नी । भन्सार मूल्यांकन बढेकाले नेपालमा वस्तुको मूल्य पनि बढ्न गएको हो भन्ने बुझुनुपर्छ । नेपाली बजारको तुलनामा भारतका बजारमा चाइनिज र भारतीय सामान सस्तो पर्छ । नेपालका खुद्रा व्यापारीले वस्तुको मूल्य बढाए भन्ने सुनिन्छ । त्यो हल्ला भ्रामक हो । भन्सार मूल्यांकन बढ्दा आयातकर्ताले वस्तुको मूल्य बढाएका हुन् । त्यहि भएर नेपाली बजारमा उपभोक्ताको चाप घटेको हो । दुईवर्षयता नेपालमा तयारी पोशाकको मूल्य बढेको छ । उपभोक्ताले अहिले पनि पहिलेकै मूल्यमा किन्न खोज्छन् । के कारण मूल्य बढ्यो, त्यो थाहा नभएर पनि हो ।janasamsadonline