‘समाचार र विचारको
साझा चौतारी’





गर्ने हैन व्यवसायीक कुरिलो खेती, आउनुहोस सजिलो खेती प्रविधिबारे जानकारी लिऔं


कुरिलो कलिलो टुसाको लागी खेती गरीने एक बहुवर्षे तरकारी वाली हो । नेपालमा समुद्री सतह देखी करीव १८०० मी. सम्म कुरिलोको व्यवसायिक उत्पादन हुने गरेको पाइन्छ ।

कुरिलो ज्यादै पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरुलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल सहरि क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ ।

नेपालमा यो बालीको खेती व्यावसायिक रुपमा भर्खरै शुरु भएको पाईन्छ । काठमाण्डौ ,भक्तपुर , ललितपुर ,काभ्रे ,सिन्धुपाल्चोक ,धादिङ्, मोरङ ,सुन्सरी आदि जिल्लाहरुमा व्यवसायीक रुपमा ताजा कुरिलो उत्पादन गर्न थालिएको छ । विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ ।

कुरीलोको महत्व :
अत्यन्त पौष्टिक तत्वले भरिपूर्ण तरकारीको रुपमा रहेको कुरीलोको माग दिनानुदिन वृद्धि भईरहेको छ । काठमाण्डौको बजारमा मात्र दैनिक १५०० देखि २००० के.जी. माग भईरहेको छ । मेहनती कृषकले प्रति रोपनि ७० देखी ८० हजार सम्म आम्दानी गर्न सक्ने देखिन्छ ।

पौष्टिक महत्व :
कुरिलोबाट प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुन्छ । कुरीलोलाई चिल्लो पदार्थ बिहिन ,कोलेस्ट्रोल र सोडियम तत्वरहीन ,शक्तिदायक ,भिटामिन ए तथा सी प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थको रुपमा लिने गरिन्छ । त्यसैले पौष्टिकताले भरिपुर्ण यस तरकारीलाई अन्तराष्ट्रिय क्षेत्रमा तरकारीको राजा मानिएको पाईन्छ । क्यान्सर ,कलेजो तथा रगतका रोगीहरुलाई कुरिलोले औषधिको रुपमा पनि काम गर्दछ । फोलिक एसिडको मुख्य स्रोत भएको यो तरकारी सेवन गर्दा कलेजोको रक्षा गर्ने विश्वास गरिन्छ ।

हावापानि :
कुरिलो न्यानो र समशीतोष्ण हावापानि भएको स्थानमा राम्रो हुन्छ । काठमाण्डौ जस्तो समशितोष्ण हावापानी भएको नेपालको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ । यसको खेती १५–१८ डि.से. औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ ।

बिरुवाको वृद्धिविकासका लागी ३–५ महिना सम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुसुप्त अवस्थामा रहन माटोको तापक्रम १० डि.से.भन्दा कम हुनुपर्दछ । जाडो महिना पछि पनि तुषारो अथवा जाडो रहिरहने ठाउँ छनौेट गर्नु हुदैन । पारिलो वातावरण र लामो बढ्ने सिजन उचित उत्पादनको लागि आवश्यक पर्दछ ।

माटो तथा जग्गा छनौट :
कुरिलो एउटा बहुवर्षे वालि भएकोले प्रशस्त मात्रामा प्राङ्गारीक पदार्थ भएको मलीलो गहिरो , खुकुलो माटो राम्रो हुन्छ । माटोको पि।एच।६ देखि ७.५ सम्म राम्रो मानिन्छ । पानिको निकास नभएको तथा दिनभरी जसो प्रकाश नपर्ने ठाउँ कुरीलोको लागी राम्रो मानिदैन ।

कुरिलो खेतीका लागी बाह्रै महिना सिंचाईको सुविधा भएको बलौटे दोमट माटो ,पारिलो घाम लाग्ने जमीन हुनु आवश्यक छ । वहुवर्षिय झारको प्रकोप बढी भएको ठाउँलाइ पनि छनौट गर्नु हुदैन । नेपालमा समुद्र सतहदेखी १८००सय मीटर सम्मको उचाइमा यसको व्यवसायीक खेती गर्न सकिन्छ ।

खेतीको प्रविधि /नर्सरी व्यवस्थापन :
कुरिलोको वेर्ना तयार गरेर बिरुवा लगाइन्छ, यसका लागि माघ महिना लागेपछि नर्सरी राख्ने तयारी गर्नुपर्दछ ।
तुषारो नपर्ने ठाउँ र तराईजस्तो ठाउँमा माघको अन्त्यमा नर्सरी व्याड वा प्लाष्टिक व्यागमा वीउ रोप्न सकिन्छ ।
चैत्रको अन्तिम वा वैशाख शुरुमा बेर्ना सार्न योग्य हुन्छन् । चैत्र पछाडी नर्सरी राखेमा वीउ रोपेको करीव २ महिनामा वेर्ना सार्न योग्य हुन्छन् । वैशाख जेष्ठ वेर्ना रोप्नको लागी राम्रो मानिन्छ तर असोज सम्म पनि रोप्न सकिन्छ ।
नर्सरीमा १ भाग माटो ,१ भाग बालुवा र १ भाग पाकेको गोबरमल राम्रसंग मिसाउने र बुरबुराउँदो बनाउने ।
१ मिटर चोडाई , आवश्यकता अनुसारको लम्वाई र १५ से.मी. जती उचाई भएको नर्सरी व्याड बनाउने ।
२०–२५ से.मी. को फरकमा लाइन कोर्ने र सोही लाइनमा ५–६ से.मी. को फरकमा र २ से.मी. गहिराइमा पर्ने गरी बीउ खसाल्ने ।
बीउ राखेको कुलेसोलाई सम्म हुने गरी पुर्ने र खर परालले छापो दिने ।
वीउलाई लगाउनु भन्दा २ दिन अघिदेखि मनतातो पानीमा २४–४८ घण्टा जति भिजाउने ।
बीउ लागाएपछि माटोमा आवश्यक चिस्यान सधै कायम राख्ने ।
स्थान अनुसार तराईमा बीउ छरेको २–३ हप्तापछि र पहाडमा ४–५ हप्तामा विरुवा माटोबाट सियोजस्तो देखिने गरी बाहिर निस्कन थाल्दछ । अव छापो हटाउनु पर्दछ ।
हावापानी र भौगोलिक क्षेत्र अनुसार राम्रो स्याहार पुगेमा २–३ महिनामा वेर्ना सार्न लायक हुन्छन् ।
एक रोपनीमा १००० देखि १२०० जति विरुवाको आवश्यकता पर्दछ ।

कुरीलो रोप्ने :
खनजोत गरी वुर्वुराउँदो बनाएको माटोमा सामान्यतया लाईन देखी लाईन ९०–१०० से.मी. र विरुवा देखी विरुवा ५०–६० से.मी.मा कुरिलो लगाइन्छ । उक्त दुरी कायम हुने गरी १ वर्गफिटको खाडल वनाई कुरीलो रोप्नुपर्दछ । वेर्नाको उपलव्धता हेरी चैत्र देखी श्रावण महिनासम्म कुरिलोको वेर्ना रोप्न राम्रो मानिन्छ ।

जातहरु :
नेपालमा कुरिलो खेतीको व्यवसायिकरण पूर्ण रुपमा नभैसकेको कारणले गर्दा धेरै जातहरु प्रयोगमा आएको देखिदैन । कुरीलोको भाले र पोथि बोट अलग अलग हुने हुनाले जातीय विकास कार्य त्यति सजिलो छैन । नेपालमा शुरुमा मेरी वासिङ्टन जात निकै प्रचलित थियो । यसको स्वाद मिठो भएपनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल अली बढि हुने भएकोले यो जातको प्रचलन घट्दै गएको पाइन्छ ।

अमेरीकन जर्सी सिरीजका जातको कुरीलो हाल नेपालमा प्रचलनमा आउन थालेको पाइएको छ । यी जातको स्वाद प्रभावकारी हुनुको साथै १०० ग्राम सम्मको ठुलो टुसा उत्पादन हुन्छ । टुसा दिने समयको अन्तराल पनि छिटो छिटो हुन्छ ।हाल नेपालमा नयाँ हाईब्रिट जातहरु ,जापानि एस्सल,क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, र क्यालिफोर्निया ५०० जातको कुरिलो पाइन्छन् ।

नेपालका आयात भएका अमेरिकन वर्णशंकर भाले जातका कुरिलो मध्ये निम्न जातहरु प्रमुख छन् ।
जर्सि किङ् जर्सि नाइट
जर्सि सुप्रिम जर्सि जाइन्ट
जर्सि जेम वेल कम

वाली हेरचाह एवं व्यवस्थापन :
कुरिलो वहुवर्षिय बाली भएकोले गोडमेल तथा झारपात नियन्त्रण , सिंचाई र मलखाद व्यवस्थापनले महत्वपुर्ण भूमिका राख्दछ । त्यसैले राम्रो आम्दानी गर्न उचित हेरचाह एवं व्यवस्थापन गर्नुपर्दछ ।

गोडमेल तथा झारपात नियन्त्रण :
कुरिलो बहुवर्षीय बाली भएकाले झारपात पनि बहुवर्षे प्रकारका बढि आउँछन् । त्यसैले कुरिलो खेतीको लागि सबै भन्दा ठुलो समस्या भनेको झारपात नियन्त्रण गर्नु हो । त्यसैंले समय –समयमा खनजोत र गोडमेल गरी झारपात नियन्त्रण गर्नु पर्दछ । ३/४ इन्च भन्दा बढी गहीरो खन्नाले जरालाई नोक्सानी पु¥याउन सक्छ । ३/४ सेमी गहीरो मल्च राख्नाले पनि झारपात नियन्त्रण गर्न राम्रो सहयोग पुग्दछ । कार्तिक मंसिरमा पातहरु पहेलिएपछि सतहबाट ५ से.मि. माथी काटिदिनुपर्दछ ।

मलखाद व्यवस्थापन :
कुरिलो प्रशस्त मात्रामा मलखाद चाहिने तरकारी हो । त्यसैले जमिन तयारी गर्ने वेलामा कम्पोष्ट मल कम्तिमा १५०० के.जी. प्रति रोपनि राखेर जमिन तयारी गनुपर्दछ । कुरिलो वेर्ना लगाउने वेलामा पनि १ देखी १.५ स्वायर फिटको परिधि र गहिराइमा करिव ३ के.जी. कम्पोष्ट मल हालेर कुरीलोको विरुवा लगाएत सकिन्छ ।

शुरुमा राखिएको मलले मात्र कुरिलोलाई पुग्दैन । प्रत्येक हिँउदको अन्तिममा वा लाग्दो फागुनतिर कम्पोष्ट मल, कुखुराको मल , गाई भैँसिको धुलो मल करीब २–३ के.जि. प्रतिबोट राख्नुपर्दछ ।

सिजनमा राम्रो उत्पादन दिन नसक्ने विरुवालाई मल थपिरहनु पर्दछ । कुरिलोलाइृ सोडियम तत्वको आवश्यकता पर्ने हुनाले प्रत्येक वर्ष प्रति बोट ५ ग्रामका दरले हाल्नु पर्दछ । कुरिलोको उत्पति समुद्र तटिय क्षेत्रमा भएकोले यसलाई नुनीलो पनि चाहिन्छ ।

सिंचाई :
सिंचाई , मुख्य गरेर माटोको बनोट,किसीम,मौसम र वालीको अवस्थामा भरपर्दछ चिम्ट्याईलो माटोमा कम पानि चाहिन्छ भने हलुका माटोमा पटक – पटक गरी सिंचाइ दिनु पर्दछ । सिंचाइ आवश्यकता अनुसार दिनु पर्दछ । प्रथम सिंचाइ बाली रोपेपछि लगतै दिनुपर्दछ ।बाली लिने बिरुवामा पनि आवश्यकता अनुसार सिंचाइ दिईरहनु पर्दछ । खास गरी फाल्गुण ,चेत्र , बैशाख देखी वर्षा नभएसम्म सिंचाई गर्नु जरुरी पर्दछ ।

अन्तरबाली :
कुरिलो लगाएको पहिलो वर्षमा टुसा उत्पादन नलिइने तथा हिउँदमा ५/६ महिना सम्म टुसा नआउने हँुदा आम्दानि बढाउनको लागि उक्त जग्गामा अन्तरबालीको रुपमा छोटो समयमा हुने साथै अग्लो नहुने तरकारी वालीहरु लगाउन सकिन्छ । अन्तरबालीमा मेथी साग, चम्सुर साग, आदि जस्ता बालीहरु लगाउन सकिन्छ ।

बाली लिने अवस्था :
साधरणतया कुरिलोको गुणस्तरयुक्त मुनाको व्यवसायिक उत्पादन दोश्रो वर्ष देखि हुन थाल्दछ । कुरिलो एक पटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट १५ देखि २० वर्ष सम्म उत्पादन लिन सकिन्छ । बेर्ना सार्नासाथ टुसाहरु पलाउँछन् । तर सुरुमा पलाएका केहि टुसाहरु टिप्नु हुदैँन । त्यसरी छाडिएका टुसाहरुबाट वोटको राम्रो झाङ् फैलनुका साथै क्राउनको समेत पुर्ण विकास भएर अर्को वर्षदेखि वढी टुसा आउने हुन्छ । त्यसैले वेर्ना सारेको दाश्रो वर्षदेखि मात्र वास्तविक रुपमा टुसाहरु टिप्न शुरु गर्नुपर्छ । सामान्यतया टुसा ७–१० ईन्चका भएपछि भाँचेर वा धारिलो चक्कुले माटो मुनिको सेतो भाग १–१.५ ईन्च पर्ने गरी निकाल्नु पर्दछ ।

कमलो सेतो र मोटा टुसा बजारयोग्य हुन्छन् ।जब टुसाहरु फक्रन थाल्दछन् , टुसाको फेदहरु छिप्पिन थाल्दछन् । त्यसैले प्राय : वाली चाँडो लिन उचित हुन्छ । टुसा काटेपछि चाँडै नै यसको गुणस्तरमा ह्रास आउने भएकोले कुरिलोका टुसाहरु संभव भएसम्म चाँडो उपभोग गनुपर्दछ ।

रोग व्यवस्थापन :
कुरिलोको मुख्य रोगहरुमा सिन्दुरे र ओइलाउने रोग हुन् ।
१ कुरिलोको सिन्दुरे रोग
यो रोग ढुसिद्धारा हुन्छ । यसको मुख्य लक्षणमा विरुवाहरु पुरै रातो, खैरो वा सुन्तला रङको थोप्लाहरु देखिनु हो । पछि बढेर कालो धब्वाहरु देखिन्छन् ।साना पातहरु पहेंलो रङमा परिवर्तन हुन्छन् ।

नियन्त्रण :
१. साना पातहरु खस्नु अगाडी डाँठहरुलाई काट्ने । काट्ने काम माथिदेखी तलसम्मनै गर्नृ पर्छ , जसले गर्दा रोगी भागहरु रहन नपाउन् । काटिएका रोगी बोटहरु तुरुन्तै जलाइदिनुपर्छ ।
२. मल बनाउँदा तितेपाती , असुरो ,निम , बकाइनो , आदिको प्रयोग गर्न सके यो रोगको नियन्त्रण गर्न सकिन्छ । गाईको गउँत प्रयोग गर्दा पनि यो रोगको सजिलै नियन्त्रण गर्न सकिन्छ ।
३. रोग नलागेको नर्सरीबाट बेर्ना ल्याउने ।
४. यदि उपलब्ध हुन्छ भने रोग सहन सन्ने जात लगाउने ।

कुरिलो ओइलाउने रोग :
यो रोग फ्युजारीयम भन्ने ढुसीद्धारा हुन्छ । यो रोग माटोबाट सर्छ । यो रोग लागेको विरुवा खैरो , रङ उडेको जस्तो देखिन्छ जुन पछि गएर ओइलाउने र बिरुवा बढ्न नसक्ने हुन्छ ।

नियन्त्रण :
१. यो रोग लागेको ठाउँमा कुरीलो खेती गर्नु हुँदैन ।
२. बेर्ना सारेको १ महिना पछि र खाने कुरीलो उत्पादन नहुँदै पोलिराम भन्ने बिर्षादी १ लि. पानिमा
३. ग्राम राखी छर्नाले रोग लाग्नबाट बचावट हुन्छ । कुरीलो टुसा आएपछि विषादी छर्नु हँुदैन ।

किराव्यवस्थापन :
एफिड
कुरीलोमा ठुलो समस्या नभएपछि कहिले काँही ठुलो संख्यामा देखा पर्दछन् । सावुन पानि छ्यापेर पनि नियन्त्रण गर्न सकिन्छ ।

खपटे किरा
खपटे किराले अङ्कुरणको टुप्पामा फुल पार्छ र पछि अङ्कुरणको पुरा भागमा आक्रमण गरी नोक्सान पु¥याईदिन्छ । यसको नियन्त्रणको लागि झारपात , फोहर , सुकेका बोटहरु हटाएमा सहयोग पुग्दछ ।

झुसिल्कीरा
झुसिल्कीराले विरुवाहरुको हाँगा विँगालाई नोक्सान पु¥याउँछ । यो किरा समयमै रोगोरइन विषादी १ ली पानिमा २मिलि राखी छर्नाले नियन्त्रण हुन्छ । तर कुरीलोको टुसा (मुना ) नआएको बेलामा मात्र छर्नु पर्छ । विषादी छरेपछि १० दिन सम्म कुरीलोको टुसा झिकी खान , बजारमा लगी बिक्री गर्न नहुने , त्यसपछि मात्र टुसा बजारमा लगी बिक्रिबितरण गर्न उपयुक्त हुन्छ ।

स्रोत : कुरिलो खेती प्रविधि २०७२ (केन्द्रिय तरकारी बिउ उत्पादन केन्द्र,खुमलटार ललितपुर )krishipatrika

प्रतिकृया दिनुहोस्