‘समाचार र विचारको
साझा चौतारी’





महरा, ज्ञानेन्द्र, रवि र जनता


दामोदर पौडेल

एकदिन बहसमा जानु थियो। एउटी युवती पासो लगाएर मरिछन्। उनले आफ्ना बाबुआमालाई एउटा केटाले विवाह गर्छु भनेर यौनसम्बन्धसमेत राखेको र पछि विवाह गर्न नमानेकोले आत्महत्या गर्न लागेको बताइछन्। कसै गरेर बाबुआमाले सम्झाएछन्। तर पछि कोही नभएको बेलामा उनी मरिन्।

कहिलेकाहीँ कसैलाई अपराधको सजायबाट बचाउने प्रवृत्ति पनि रोक्नुपर्दछ। कहिले राजनीतिक लक्ष्य पूरा गर्न र ठूलो राजनीतिक फाइदा लिनको लागि पनि अपराध गरिन्छ। अपराध स्वीकार पनि गरिन्छ तर यसले अर्को ठूलो राजनीतिक फाइदा भएको हुन्छ।

विवाह नगरेको कारण मरेकोले विवाह नगर्नेमाथि जाहेरी परेको थियो। बहस पनि मर्ने केटीको अर्थात् उसका बाबुआमाको तर्फबाट गर्नु थियो। सरकारी वकिल बहस गरेर गएपछि मैले बहस गर्न लाग्दा बेन्चबाट धेरै जिज्ञासाहरू आए।

मलाई लागिरेको थियो कि कुनै दिन कसैसँग कसैले पैसा माग्दा नदिएकोले मरेमा पैसा नदिने व्यक्तिले सजाय पाउने कि नपाउने ? नभन्दै केटा थुनियो। मेरो बहसको औचित्य पूरा भयो तर मेरो मनको पीडा भने यथावत् छ। शायद रवि लामिछानेपछिको त्यससम्बन्धी दोस्रो मुद्दा नै मैले बहस गरेको हुन सक्छ।

मलाई लागिरहेको छ कि कानुनमा बदलाव आउनुपर्दछ वा सर्वोच्च अदालतले यससम्बन्धमा मुद्दा पर्दा केही प्रस्ट पार्नुपर्ने हुन्छ।जरुरै यस्ता घटनामा अर्को पक्षलाई फसाउन सधैँ खोजिएको हुँदैन। तर भावनात्मक संवेगले यस्ता विवादमा न्यायले चाहेको भन्दा फरक अवस्थाको सृजना पो गर्दछ कि ?

कहिलेकाहीँ नियोजितरूपमा नै कसैलाई पनि अपराधी देखाउनसकिने अवस्था पनि आउन सक्छ र त्यो अवस्थालाई त रोक्नै पर्दछ।केही दिनपहिला ज्ञानेन्द्र शाहीमाथि आक्रमण भयो। उनी आफ्नो प्रचार अभियानमा चितवन जाँदै थिए। उनी अहिले पनि उपचारमा नै छन्।

उनलाई नेपाल कम्युनिस्ट पार्टीका विशेषतः माओवादी समूहका मानिसहरूले कुटपिट गरेको र मार्न चाहेको भन्ने आरोप छ। हुन पनि उनको त्यही समूहबाहेक अरूसँग ठूलो विवाद देखिएको छैन। यद्यपि बहालवाला मन्त्रीसमेत केहीसँग उनको विवाद भने देखिएको हो।

ज्ञानेन्द्र शाहीलाई त्यो पक्षले आक्रमण गरेको हो भने किन आक्रमण गरियो भन्ने सवाल अहं हुन्छ। उनले केही गलत कार्यहरूको विरोध गर्दै आएका हुन् र उनका समर्थन गर्नेहरू पनि बढिरहेको देखिएको हो। त्यसैले प्रथमतः त्यस आक्रमणवाट उनीहरूले सबैलाई हाम्रो विरोध गरेमा सबैको हालत यही हुन्छ भन्ने सन्देश दिएर त्यो पक्षका गल्तीहरूलाई जनताले विरोध गर्ने साहस नगरुन् भन्ने चेतावनी दिन चाहेको हुन सक्छ।

आफ्ना प्रायोजित मानिसबाट विरोध गर्नेलाई मार्न लगाउने र सजाय भए पनि प्रहार भएको मानिस बाँचेमा जनतामा दिने सन्देश र त्यसबाट आफूलाई पर्ने असरभन्दा मारेर आफ्ना कार्यकर्ता जेलमा जानु तुलनात्मकरूपमा धेरै फाइदाजनक हुन सक्छ।

बारम्बार यसै कारणले जनप्रिय आवाजहरूलाई कित कुनै कारण देखाएर गलत साबित गर्न प्रयास गर्ने, मुख बन्द गर्ने, उसको नियोजितरूपमा चरित्र हत्या गर्ने र अरू माध्यमबाट लक्ष्य पूरा नभए हत्यासमेत गर्ने गरिन्छ। त्यसै आधारमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको हुन सक्ने प्राविधिक आधार पनि छ भनिन्छ।

हत्या भएमा वा हुन नसकेमा पनि जनतालाई हामी राम्रा हौं तर हाम्रोदलमा रहेकाहरूकेहीले गलत गरे,त्यसैले त्यस कार्यमा हाम्रो विमति छ भन्ने पनि गरिन्छ। ज्ञानेन्द्र शाहीका सम्बन्धमा दिल साहनी मगर र पुण्य गौतमले सक्रिय भूमिका खेलेको पाइन्छ। दुवै जना माओवादी खेमाका देखिएका छन्।

उनीहरूले अपराधीलाई सजाय हुनुपर्दछ, हामी वाक स्वतन्त्रता र नागरिक अधिकारलाई सम्मान गर्दछौं, ज्ञानेन्द्र शाहीको सुरक्षा हुनुपर्दछ आदि भनेर राजनीतिकरूपमा जनतालाई आफूहरूप्रति वितृष्णा नहुनका लागि काम गरेका छन्। अर्थात् मैले लिएको विचार सर्वश्रेष्ठ तर मेरा सँगै रहनेहरूले गल्ती गरे भन्ने सन्देश दिइएको छ।

यो कार्यले जनता भ्रमित हुन सक्छन् र गलत गर्नेले वैचारिक राहत पाउने हुन्छ। त्यस्ता कार्य दलभित्रैका विरोधी र कहिलेकाहीँ समर्थकहरू बढी लोकप्रिय भएमा त्यस्तालाई विस्थापित गर्न पनि गरिन्छ। चीनमा माओको समयमा राष्ट्रपति भएका मानिसलाई समेत प्लेन नै खसालेर मारियो।

प्रधानमन्त्री भइसकेकालाई समेत तियानमेन चोकमा भएको घटनामा क्षमा मागेको कारणले उपचारसमेत नगरेर मारियो। रुसमा स्टालिनका समर्थक जनप्रिय नेता तथा मस्कोका मेयरको हत्या भयो तर उनको हत्याको सम्बन्धमा राम्रो छानबिन नै भएन।

यसले के देखाउँछ भने राजनीति जनतालाई राम्रो गर्नको लागि भनेर देखाइने र आफ्नो सत्ता वा पद जोगाउने कसरत पनि हो।ज्ञानेन्द्र शाही मात्र नभई रवि लामिछाने पनि त्यस लक्ष्यको सिकार भएका हुन् भन्न सकिएला। यो क्रम बढेमा सत्ता साह्रै हिंस्रक बन्छ। जनताका आकांक्षाहरू सीमित हुन जान्छन्।

राज्यको कोष सत्ता जोगाउनको लागि उनीहरूका नजिकका बाठा र बलियाहरूलाई बाँडेर बाँकी रहेकोमात्र जनतामा जान सक्छ। कुनै समयमा त राज्यबाट कुनै प्रकारले ‘आफूहरूको असुरक्षा नहोस्, बस् पुग्यो’ भन्ने अवस्थामा पनि जनता पुग्छन्। उनीहरू राज्यबाट त्यति बढी डराउँछन् कि बाँच्न मात्र पाए पुग्छ भन्ने हुन्छ।

अर्को पाटो पनि छ। त्यो हो, सत्तामा रहनेहरूले जे पनि गर्ने र सत्ताबाहिर रहनेहरूले पनि जे आरोप पनि लगाउने। सत्तामा रहनेहरूले आफ्ना गल्तीहरूलाई छोप्न डर, धाक, लोभ आदि देखाउने पनि गरिन्छ। अहिले सभामुख कृष्णबहादुर महरा त्यसको उदाहरणजस्तो देखिनुभएको छ।

धर्मप्रति अनास्था गर्ने कम्युनिस्ट विचारधारा लिने महरा कृश्चियन धर्मका आस्था राख्ने मात्र नभई त्यसको प्रचारकसमेत भएको आरोप छ। हुन त त्यस्तो आरोप अरूमा पनि लाग्ने गरेको छ। त्यसका उदाहरणमा बाबुराम भट्टराईले हिन्दू धर्मको खुलेरै विरोध गरिरहेका छन्। भन्ने एउटा र गर्ने अर्कोको उदाहरण यस्तै हुन्छन्।

महराले बलात्कार गरेको आरोप लागेको छ। उनैको मातहतमा काम गर्ने कर्मचारीले उनलाई बलात्कारको आरोप लगाइन्। अहिले उनले नै महराले त्यस्तो केही नगरेको र भेटसमेत नभएको बताएकी छन्। तर यस्ता घटनामा पीडित, पीडक र साक्षीहरूभन्दा पनि तथ्य बोलेकोलाई महत्व दिइन्छ।

जस्तै– उक्त दिनमा कृष्णबहादुर महरा त्यता गए वा नगएको सम्बन्धमा सीसी क्यामराले बोल्छ र त्यहाँ किन जानुपरेको थियो भन्ने तथ्य पत्ता लगाउन सकिन्छ। महराको चश्माको एउटा भागसमेत त्यहीँ भएको पीडित भनिएकीले बताएकी थिइन्।

महराको जुत्ताको तलुवासमेत छुटेको उनको भनाइ थियो र त्यो भिडियोमा आएको समेत भन्ने छ। ती तथ्यहरू सुरक्षित भएमा महराको गल्ती थियो वा थिएन भन्ने प्रस्ट आधार तयार हुन्छ। महरा र पीडित भनिएकी बीच नै कुरा बाझिएको छ।

पीडित भनिएकीले अहिले आएर महरासँग भेट नै नभएको बताएकी छन् भने महराले सँगै बसेर रक्सी पिएको र अरू केही नगरेको बताएको भन्ने समेत आएको छ। यी विरोधाभासपूर्ण भनाइले घटनालाई अझै पेचिलो बनाएको छ।

पीडितले जे भने पनि राज्यले चाहेको अवस्थामा जबर्जस्ती करणी राज्य र समाजविरुद्धको अपराध भएकोले त्यसमा पीडितपीडकसँग मिल्नुले अपराधको परिणाममा कुनै असर पर्दैन,बरु अपराध प्रमाणित भएमा सजायमा केही कम–बेसी मात्र हुने हो।

यसले गर्दा अर्को पनि सवाल खडा भएको छ कि विभिन्न माध्यमबाट पीडितलाईआफ्नो पक्षमा लिएर पनि अपराधलाई लुकाउन सकिन्छ कि ?

तर सरकारवादी मुद्दामा त्यसले ठूलो अर्थराख्दैन।अर्को पनि सवाल उठ्छ कि जबर्जस्ती करणीको अपराधको आरोप कतिपय अवस्थामा महिलाले झुटोरूपामा वा ब्ल्याक मेलिङको रूपमा पनि प्रयोग गर्न सक्ने हतियार पो बन्छ कि !

राज्यले उमेर पुगेका महिलाले आरोप लगाउँदा जबर्जस्ती करणीमा तथ्यलाई नै बढी ध्यान दिनुपर्ने आधारहरू तयार हुँदैछन्। पीडितको विमति र प्रभावका प्रस्ट आधारको मूल्यांकनको बारेमा कानुन र न्यायालय सचेत हुनुपर्ने पनि देखिन्छ।

कहिलेपीडक बच्ने र कुनै अवस्थामा गल्ती नगर्नेले पनि पीडकको रूपमा सजाय पाउने अवस्था आउनुहुँदैन। त्यस्तो प्रस्ट अवस्था दखिएमा महराले पनि शंकाको सुविधा पाउनुपर्दछ।कहिलेकाहीँ कसैलाई अपराधको सजायबाट बचाउने प्रवृत्ति पनि रोक्नुपर्दछ।

कहिले राजनीतिक लक्ष्य पूरा गर्न र ठूलो राजनीतिक फाइदा लिनको लागि पनि अपराध गरिन्छ। अपराध स्वीकार पनि गरिन्छ तर यसले अर्को ठूलो राजनीतिक फाइदा भएको हुन्छ।रवि र ज्ञानेन्द्रप्रति गरिएका कार्यले राजनीतिक विरोध रोकिने मात्र हैन,बरु विरोध नगर, सरकारका हात धेरै लामा हुन्छन् भन्ने सन्देश दिन खोजिएको हुन सक्छ।

पाकिस्तानपिपुल्स पार्टीकी नेतृ बेनजिर भुट्टोलाई राष्ट्रपति जियाउल हकले घुमाउरो तरिकाले यसै भनेका थिए। बेनजिरका पिता जुल्फिकार अली भुट्टोलाई उनैले मृत्यु दण्ड दिएका थिए। यो तथ्य र व्यवहार बुझ्ने र जनसमक्ष लग्ने पनि सचेत वर्गले नै हो।

‘प्रतीक्षा गर…, समयले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ’ भन्ने भनाइले त्यति महान् कुनै पनि मानिस हुनअसम्भव छ,जुन हदसम्म मानिस स्वभावैले महान् हुन सक्दैन भन्ने सन्देश त दिइरहेको छैन ?
(लेखक पौडेल अधिवक्ता हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्