‘समाचार र विचारको
साझा चौतारी’





सुगर र प्रेसरका बिरामीका लागि चाडबाड टिप्स- के गर्ने, के नगर्ने?


ऋषिराम शर्मा

हिन्दू धर्मावलम्वीहरुको सबैभन्दा ठूलो र महान चाड दसैं र तिहार हो भने नेपालको पूर्वी तराईमा मनाइने पर्व हो छठ। खेतबारीमा बाली लगाई गोडमेल समेत सकेर मौसमको बदलावसँगै आउने दसैं–तिहार र छठ पर्व धेरै हिन्दू धर्मालवलम्वीहरुले धुमधामसँग मनाउने गर्दछन्।

दसैं, तिहार र छठ पर्व मनाउँदै गर्दा अधिकांश मानिसले आफ्नो स्वास्थ्य अवस्थाको ख्याल भने गरेको पाइँदैन। फलस्वरुप यो सिजनमा अस्पताल र स्वास्थ्य संस्थाहरुको अंतरङ्ग तथा इमर्जेन्सीहरुमा मधुमेह (सुगर) तथा उच्च रक्तचाप (प्रेसर)का रोगीहरु बढी आउनु स्वभाविक हो।

विश्वमा प्रतिवर्ष ५६ मिलियन (पाँच करोड ६० लाख) व्यक्तिको मृत्यु हुने गरेको छ, जसमा ३८ मिलियन (तीन करोड आठ लाख) व्यक्तिको मृत्युको कारण नसर्ने रोगहरु रहेका छन् भने त्यसमा २८ मिलियन (दुई करोड आठ लाख) व्यक्तिहरुको मृत्यु विकासशील तथा विकासोन्मुख राष्ट्रहरुमा हुने गरेको तथ्याङ्क छ।

किन हुन्छ उच्च रक्तचाप तथा मधुमेह?
हाम्रो शरीरका रक्तनलीहरुमा रगतको प्रवाह भइरहेको हुन्छ। रक्त प्रवाहको चापलाई दुई किसिमबाट मापन गर्न सकिन्छ। सिस्टोलिक रक्तचाप र डाइस्टोलिक रक्तचाप। सिस्टोलिक रक्तचाप ९०–१४० एमएमएचजी हुनुपर्छ। त्यस्तै डाइस्टोलिक रक्तचाप ६०-९० एमएमएचजी हुनुपर्छ। अर्थात् सामान्यतया १२० एमएमएचजी सिस्टोलिक र ८० एमएमएचजी डाइस्टोलिक रक्तचाप हुनुपर्छ। शरीरले १२०/८० एमएमएचजी रक्तचाप कायम गर्न सके शरीरका अन्य अंगहरुले राम्रो र प्रभावकारी तरिकाले काम गर्न सक्छन्, अन्यथा शरीरका अन्य विशिष्ट अंगहरुले पनि प्रभावकारी तरिकाले काम गर्न सक्दैनन्। त्यसकारण अन्य विशिष्ट अंगहरुको क्रियामा पनि ठूलो असर पर्छ।

उच्च रक्तचाप, मुटुरोग, मधुमेह रोग तथा मिर्गौला रोग निकै अन्तरसम्बन्धित रोगहरु हुन्। उच्च रक्तचाप गराउने प्राथमिक कारण ९५ प्रतिशत हुन्छ, जसको कारण पत्ता लगाउन सकिँदैन भने द्वितीय कारण जम्मा प्रतिशत हुन्छ, त्यसमा मिर्गौला रोग प्रमुख कारण हो भने अन्य कारणहरू थाइरोइड, मधुमेह, मोटोपना, धूमपान, मध्यपान, वंशाणुगत कारण, तनाव, नूनको अधिक प्रयोग, परिवार नियोजन साधानको अस्थायी दैनिक खाने चक्की जसलाई पिल्स पनि भनिन्छ (३५ वर्ष नाघेको महिलाले खाँदा उच्च रक्तचाप हुन सक्छ) आदि हुन्।

असरहरु
धेरै व्यक्तिहरुले आफूलाई उच्च रक्तचाप भएको पत्ता लगाउन सकिरहेका हुँदैनन्। विश्वमा रक्तचाप भएकामध्ये जम्मा ५० प्रतिशतले मात्र आफूलाई रक्तचाप भएको थाहा पाएका हुन्छन् भने त्यसको ५० प्रतिशत व्याक्तिहरू मात्र सचेत रहेका हुन्छन्। त्यस्तै त्यसको पनि जम्मा ५० प्रतिशतले मात्र उपचार गराइरहेका हुन्छन्। त्यसकारण धेरै व्यक्तिहरु आफ्नो शरीरका धेरै अंगहरु बिग्रिसकेपछि मात्र अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अन्तरंग तथा इमर्जेन्सी सेवामा आउने गर्छन्।

उच्च रक्तचापका कारण शरीरको रक्तसंचार प्रणालीमा रहेका मसिना रक्तनलीहरु फुट्ने, आँखाका रक्तनलीहरु फुट्ने, दिमागमा भएका रक्तनलीहरु फुट्ने र मस्तिष्कघात भई आउने त्यस्तै मुटु, फोक्सो र कलेजोमा भारी असर भएपछि मात्र उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा आउने गर्छन्।

त्यस्तै दसैं, तिहार तथा छठ पर्वहरुमा उच्च रक्तचापका अलावा मधुमेहका (सुगरका) रोगीहरु पनि उच्च जोखिममा पर्ने गर्छन्। मधुमेहका रोगीहरु दसैं, तिहार तथा छठ पर्वमा मात्र बढी हुन्छन् भन्ने त होइन तर यी पर्वहरुमा मधुमेहका रोगीहरुको प्रकोप दर अली बढी हुन्छ भन्ने मात्र हो। किनकि दसैं, तिहार तथा छठ पर्वहरुमा अनियन्त्रित तरिकाले धेरै परिकारका खानाहरुको सेवनले गर्दा बिरामीको प्रकोप दर बढ्ने गर्छ।

हाम्रो शरीरले कार्वोहाइट्रेड, प्रोटिन, फ्याट, भिटामिन र मिनरलहरुको सन्तुलनमा राम्रो काम गरिरहेको हुन्छ, दसैं, तिहार र छठ पर्वहरुमा अधिक मात्रामा प्रोटिन, फ्याट र कार्वोहाइट्रेडहरु तथा मिठाइको धेरै प्रयोगले गर्दा शरीरको कार्यप्रणालीमा असन्तुलन हुन गई चिनी, बोसो, युरिक एसिड तथा अन्य बिकारयुक्त चिजहरूको मात्रा बढ्ने गर्छ। दसैं, तिहारमा खसी, च्याङ्ग्रा, कुखुरा, राँगा, सुँगुर, बंगुरहरुको मासु अत्यधिक प्रयोग हुने हुँदा उच्च रक्तचापका साथै मधुमेह रोगको प्रकोप बढी हुन्छ। मासुजन्य खाद्यवस्तुमा प्रयोग गरिने घिउ तथा तेलले पनि झन जोखिम बढाइरहेको हुन्छ। यसको प्रयोग स्वास्थ्यका लागि घातकसिद्ध हुने गर्छ। त्यस्तै दसैं, तिहारमा अनियन्त्रित तवरबाट सेवन गरिने मासु, चिल्लो, मिठाइका साथसाथै रक्सीले शरीर अस्वस्थ हुनका लागि झन् मलजल गरिरहेको हुन्छ।

असरहरु
मधुमेह अर्थात् चिनीको मात्रा शरीरमा बढ्नाले शरीरमा रहेका मसिना रक्तनलीहरु नष्ट हुने, हृदयघात गराउन सक्ने, बेहोस हुने, दिमागबाट आँखामा आउने नसा बिग्रने, मिर्गौला, कलेजो तथा मुटुमा समस्या देखिने, काटेको घाउहरु निको नहुने लगायतका थुप्रै स्वास्थ्य समस्याहरु देखिन सक्दन्। मधुमेह भइसकेपछि अन्य निरोगी व्यक्तिहरुको तुलनामा मधुमेहका रोगीहरुको मृत्युदर १.५ देखि २.५ सम्म बढी हुन्छ।

दसैं, तिहार तथा छठ पर्वमा उच्च रक्तचाप तथा मधुमेहका रोगीले के गर्ने, के नगर्ने?
– उच्च रक्तचाप तथा मधुमेहका रोगीहरुले मासुजन्य खाद्य पदार्थको सेवन धेरै कम गर्ने।
– मध्यपान तथा धूमपान र सूर्तिको प्रयोग नगर्ने।
– मिठाइका परिकारहरुको प्रयोग धेरै कम गर्ने।
– शरीरलाई आवश्यक मात्रामा मात्र खाद्य पदार्थको सेवन गर्ने।
– विषाधीरहित हरियो सागपात तथा रेशादार भएका तरकारी तथा फलफूलहरुको सेवन बढी गर्नुपर्छ।
– पहेला फलफूल, गेडागुडी, मासु अन्नबालीका खानाहरु र हरियो तरकारी तथा पानीको सन्तुलन मिलाएर मात्र खाद्यान्नको सेवन गर्नुपर्छ।
– पानीको सेवन २ देखि ३ लिटरसम्म गर्नुपर्छ।
– शारीरिक व्यायम गरिराख्नुपर्छ। यसले शरीरमा अनावश्यक रुपमा रहेका विकारयुक्त चिजहरु निष्कासनमा मद्दत गर्छ।
– एक अञ्जुली भातको सेवन गर्नुहुन्छ भने दुई अञ्जुली हरियो रेशादार भएको तरकारीको सेवन गर्नु र मौसमी अमिलो खालका फलफूलहरु सेवन गर्नु स्वास्थ्यका लागि फलदायी हुन्छ।
– नियमित समय–समयमा रगतमा चिनीको मात्रा, युरिक एसिडको मात्रा र मिर्गौलाको कार्यक्षमताको जाँच गराइराख्नुपर्छ।
– नुन, घिउ तथा तेलको मात्रा धेरै कम सेवन गर्नुपर्छ।
– मानव शरीरका लागि २४ घण्टामा नुन जम्मा ५ ग्राम आवश्यक हुन्छ, तर हाम्रो भान्सामा १२ देखि १५ ग्रामसम्म प्रति व्यक्ति प्रयोग भइरहेको छ।
– त्यस्तै मानव शरीरका लागि मध्यपानको आवश्यकता पर्दैन, शरीरलाई चाहिने अल्कोहल (रक्सी) शरीर आफैंले उत्पादन गर्छ।
– चाडपर्वहरुमा रक्सीको (अल्कोहल) मात्रा बढी प्रयोग भएको हुन्छ। यसको नियन्त्रण गर्नु आवश्यक छ।
– उच्च रक्तचाप तथा मधुमेहका रोगीहरुले सेवन गरिरहेको औषधि नियमित रुपमा एउटै समयमा सेवन गर्नुपर्छ।swsthyakhabarpatrika/from

प्रतिकृया दिनुहोस्