‘समाचार र विचारको
साझा चौतारी’





अमेरिका भासिएकी नन्दिता भन्छिन्, ‘फिल्ममा कमब्याक हुन्छ’


एक समय नेपाली फिल्ममा अभिनेत्री नन्दिता केसीको राम्रो डिमान्ड थियो । पर्दामा जीवन्त अभिनय गर्न सिपालु उनको सुन्दरताको अझै पनि चर्चा हुन्छ । तर, फ्लप फिल्मको संख्यामा पूर्णविराम नलागेपछि उनी अन्य अभिनेत्रीझैँ पलायन भइन्, सपनाको देश अमेरिका । नेपाल फर्किएर फिल्म गर्ने वाचा गर्दै उनी एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै अमेरिका उडेकी थिइन् । तर, उनलाई त्यहाँको चमकधमकले नेपाल फर्काएन । उतै बसोबास गर्न थालिन् ।

उनको पछिल्लो रिलिज फिल्म ‘कैफियत’ हो । जुन बक्सअफिसमा डिजास्टर साबित भएको थियो । उनले अमेरिकामा रहँदा ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक फिल्ममा पनि काम गरेकी थिइन् । तर, यो फिल्म हलमा रिलिज नभएर सिधै यूट्युबमा सार्वजनिक भयो । काँचको पर्दाबाट दूरी बनाए पनि उनले सामाजिक सञ्जालमा भने आफ्ना आकर्षक तस्बिरहरु साझेदार गरिरहेकी हुन्छिन् । तस्बिरको कमेन्टमा धेरैले उनलाई फिल्ममा फर्किन आग्रह गर्ने गरेका छन् ।

केही हप्ता अगाडि यसपालीको दशैं मनाउन नेपाल आएकी उनी हालै राजधानीमा सम्पन्न एक सम्मान कार्यक्रममा देखिइन् । वर्षौपछि फिल्म क्षेत्रका आफ्ना समकालिन अभिनेत्रीसँग भेट्दा उनको अनुहारमा बेग्लै चमक देखिन्थ्यो । त्यहाँ मिडियासँग पनि उनको सामिप्यता देखियो । उनले केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै आफू ढिलो चाँडै फिल्ममा फर्किने प्रतिवद्धता व्यक्त गरिन् । नन्दिताले आफू अभिनेत्रीको रुपमा भन्दा पनि मेकरको रुपमा आउनसक्ने संकेत गरेकी छन् ।

‘मैले जीवनमा कहिल्यै अभिनेत्री बन्छु भनेर सोचेको थिइनँ । संयोगबस फिल्मसँग जोडिन पुगेँ । फिल्म गर्दै जाँदा दर्शक र फिल्मकर्मीबाट नसोचेको माया र सहयोग पाएँ’, उनले आफू अमेरिका भासिनुको कारणबारे भनिन्, ‘म अमेरिका नै बस्छु भनेर गएको थिइनँ । सन् २०१५ मा एक कार्यक्रमका लागि भनेर गएको थिएँ । उक्त कार्यक्रमको शिलशिलामा म २ महिना जति बसेँ । र, नेपाल फर्किएँ । २०१६ मा फेरि अमेरिका गएँ । त्यसपछि मलाई उतै रमाइलो लाग्यो ।’

आफूले प्लानिङ गरेरै अमेरिका भने नबसेको उनको भनाई छ । नन्दिताले आफू अमेरिका बसे पनि नेपाली फिल्म नियमित रुपमा हेर्ने गरेको बताइन् । अमेरिका बस्दा आफूले फिल्ममा काम गर्दा विताएका रमाइला पलहरु एकदमै याद आउने गरेको उनी बताउँछिन् । फिल्म ‘द युगदेखि युगसम्म’ मा अभिनेता राजेश हमालसँग गरेको ‘किस सिन’ ले उनलाई विवादमा पनि ल्याएको थियो । त्यसबेला उनले यसलाई सामान्य भनिन् । तर, अहिले उनी यस विषयमा बोल्न चाहन्नन् ।

नयाँ छिमलका अभिनेतामध्ये अनमोल केसी, प्रदीप खड्का, आयुष्मान देशराज जोशी, सुशील श्रेष्ठ र पल शाह मनपर्ने उनलाई अभिनेत्रीमा साम्राज्ञी आरएल शाह, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, वर्षा राउत र जसिता गुरुङ मनपर्दो रहेछ । पर्दामा भने अनमोलको जोडी बन्ने उनको इच्छा छ । समझदार केटा पाए चाँडै बिहे गर्ने योजनामा रहेकी उनी भन्छिन्, ‘बिहेको प्रस्तावहरु धेरै आउँछन् । र, कुरा पनि गरिरहेको हुन्छ । तर, अहिलेसम्म लगन जुर्न सकेको छैन । चाँडै जुर्ला कि ! ’flimikhabar/from

प्रतिकृया दिनुहोस्