‘समाचार र विचारको
साझा चौतारी’





राजनीतिको सम्बन्धमा नेपाली ख्रीष्टियन जगतमा फैलाइएको भ्रम र तिनको चिरफार


भ्रम १:
अरू दलहरूले अरू सबैका आवाज सुन्छन्, तर ख्रीष्टियानहरूको सुन्दैनन् । त्यसैले हामीलाई हाम्रो आफ्नै पार्टी आवश्यक छ ।

वास्तविकता:
यो कुरामा आंशिक सत्यता छ । नेपालका ख्रीष्टियानहरू सदियौंदेखि हेपिंदै र पेलिंदै आएका छन् । राजनीतिक दलहरूले हाम्रा आवाजहरू सुनेकै छैनन्, सुने पनि उनीहरू यी कुराहरूमा कहिल्यै गम्भीर भएका नै छैनन् । यो सबै हुनुको दोष अरूलाई मात्रै लगाएर हामी उम्कन सक्दैनौं । ती पार्टीहरूको केन्द्रीय नेतृत्वमा दलित छन्, मुसलमान छन्, मधेसी छन्, आदिवासी जनजाति छन् र पो त्यहाँ उनीहरूको आवाज निरन्तर उठिरहन पाएको छ । पार्टीभित्र निरन्तर उठिरहने आवाजलाई उक्त पार्टीले नजरअन्दाज गर्न सक्दैन र ती मागहरू धेरै हदसम्म सम्बोधन हुन्छन् ।

हाम्रो हकमा अवस्था त्यस्तो छैन । धेरैजसो ठूला पार्टीका केन्द्रीय नेतृत्वमा हाम्रो उपस्थिति शुन्यप्राय: छ । यदि पार्टी खोल्नुको सट्टा राजनीतिमा चासो भएका हाम्रा मानिसहरू विभिन्न पार्टीहरूमा छरिएर आफ्नो पहिचान स्थापित गराउँदै अघि बढेको भए त्यहाँ हाम्रो आवाज पुग्ने थियो । यसरी हाम्रो आवाज सुन्न ती पार्टीहरू बाध्य हुने थिए ।

अरू पार्टीहरूले हाम्रो आवाज सुनेनन् त्यसैले हामीले आफ्नै पार्टी खोल्नुपर्ने भयो भन्ने तर्क झुठो तर्क हो । बरु हामीले दशकौंसम्म राजनीतिको ‘र’ पनि सुन्न चाहेनौं, राजनीतिक पार्टीहरूमा आफ्नो स्थान बनाएनौं, अनि आजकल आएर आफ्नै पार्टी खोलेर हिड्यौं, त्यसैले हाम्रा माग त्यहाँ पुग्नसमेत् पाएनन् भनेर भन्नुचाहिँ उचित हुन्छ ।

भ्रम २:
चुनाव जितेर संसद र सरकारमार्फत आफ्ना मागहरू पूरा गराउँछौं ।

वास्तविकता:
यी दिनहरूमा नेपाली ख्रीष्टियनहरूको मुद्दा यति साह्रै पेचिलो बन्दै गइरहेको छ कि अब यहाँ एक-दुईजनाको संसद प्रतिनिधित्वले माखा मार्नेवाला छैन । हामीले ठूला दलहरूलाई ख्रीष्टियनहरू पनि यो देशका सम्मानित नागरिकहरू हुन् भनेर महसूस गराउनु आवश्यक छ । एकपटक सोच्नुहोस्, आफूसँग त्यत्तिका सिट भएको प्रमुख प्रतिपक्षी दललाई त आफ्ना कुरा संसदमा राखेर पारित गराउन हम्मेहम्मे पर्छ भने बढीमा १ सिट जितेर नेपाली ख्रीष्टियानहरूको यति गहिरा मुद्धाहरूलाई सम्बोधन गराउँछु भन्नु दिवास्वप्नबाहेक अरू के हुन सक्छ? एकदुई जनाको संसद प्रतिनिधित्वले केही नहुने रहेछ भन्ने कुरा त हामीले विगत वर्षहरूमा देखेकै हौँ ।

“केटाकेटी आए गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश” शैलीका पार्टीहरू खोलेर अघि बढ्नुको सट्टा सबै राजनीतिक दलहरूलाई एउटै मन्चमा उभ्याएर “लौ, आफ्ना कुरा हाम्रा सामु राख्नुहोस् र हामीसँग भोट माग्नुहोस् ।” भनेर ख्रीष्टियानहरूले चुनौति दिन सक्नुपर्छ ।

भ्रम ३:
हामी राजनीतिमा स्थापित भएर ख्रीष्टियान समुदायलाई झन् बलियो बनाउँछौं ।

वास्तविकता:
राजनीतिमा स्थापित भएर ख्रीष्टियान समुदायलाई बलियो बनाउनु असल कुरा हो तर त्यो काम आफ्नो छुट्टै पार्टी खोलेर सम्भव हुँदैन । ख्रीष्टियानहरूको छुट्टै पार्टी खोल्ने हो भने अरू राजनीतिक दलहरूले ख्रीष्टियान समुदायबाट भोटको आशा गर्न सक्दैनन् । यसै त बेलाबखतमा समाजबाट छुट्टिएको आरोप लाग्ने ख्रीष्टियनहरू त्यति बेला चाहिँ साँच्चिकै सबैको आँखाको तारो बन्न सक्छन् । मानिसहरूले भोलिदेखि चर्चलाई धार्मिक स्थल नभएर राजनीतिक दलको कार्यालय देख्न थाल्छन् । हामी हाम्रा मागहरू लिएर अरू दलका ढोकासम्म जानुपर्ने अवस्था आयो भने त्यतिबेला हामीले “आफ्नै पार्टीलाई भन्” शैलीको जवाफ सुन्नुपर्ने हुनसक्छ । यता ख्रीष्टियानहरूको पार्टी नराम्ररी हार्ने, उता अरू राजनीतिक दलहरूको त्यस्तो जवाफ आउने भयो भने त्यतिबेला हामी कुहिरोमा हराएको कागझैं बन्नेछौं ।

भ्रम ४:
हामीले पदका निम्ति राजनीति गरेकै होइनौं, काम गर्नका निम्ति हो ।

वास्तविकता:
“बिहानले दिनको संकेत गर्छ ” भनेझैं राजनीतिमा लागेका हाम्रा अगुवाजनहरूलाई देखेरै यो प्रष्ट हुन्छ कि उनीहरू कामका निम्ति राजनीति गर्दै छैनन् ।

मेरो नजरमा ख्रीष्टियानहरूले छुट्टै राजनीतिक पार्टी खोल्नु गल्ती थियो । पार्टीमाथि पार्टी थप्नु महागल्ती थियो । केही गरी एक सिट जितिहालियो भने माननीय बनिन्थ्यो भन्ने सोचबाहेक अरू सोच बोकेको यहाँ कोही पनि देखिएन ।

दशकौंसम्म राजनीति गरेर पनि प्रधानमन्त्री नभई मरेका लौहपुरुष गणेशमान सिंहबाट कसैले सिकोस् । २०४६ सालको जनआन्दोलनको सफल नेतृत्व गरेका सिंहले जनआन्दोलनपश्चात प्रधानमन्त्री बन्नका निम्ति राजा बीरेन्द्रले गरेको आग्रहलाई अस्वीकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए । राजनीति भनेको “तातै खाउँ, जल्दै मरौं” को खेल होइन ।

देशको राजनीतिमा हाम्रो भूमिका:

पछिल्लो निर्वाचनको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये करिब ५० क्षेत्रमा पहिलो हुने र दोश्रो हुने उम्मेदवारबिचको मतान्तर दुई हजार भन्दा कम थियो । यसको मतलव ती ५० क्षेत्रमध्येका अधिकांश क्षेत्रको नतिजा उल्ट्याउने क्षमता स्थानीय ख्रीष्टियान समुदायसँग थियो । हरेक निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै रणनीति बनाएर अघि बढ्ने हो भने ठूला भनिएका राजनीतिक दलहरूलाई पनि हामी प्रभावमा पार्न सक्छौं । कयौं क्षेत्रबाट जितेर आएका सांसदहरू उनीहरूको निर्वाचन क्षेत्रका ख्रीष्टियानहरूप्रति उत्तरदायी हुन सक्छन् । समग्रमा भन्दा यसरी देशको राजनीतिमाथि हाम्रो स्पष्ट पहुँच पुग्न सक्छ ।

पछिल्लो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा पहिलो भएको तात्कालिन नेकपा एमालेले समानुपातिक तर्फ ल्याएको भोट र दोश्रो भएको नेपाली कांग्रेसले समानुपातिक तर्फ ल्याएको भोट अन्तर जम्मा ४५ हजार जति थियो । यसको मतलव के हो भने नेपालका ख्रीष्टियनहरूले चाहने हो भने देशभरिको नतिजालाई सजिलै उल्ट्याउन पनि सक्ने ताकत राख्छन् । अवस्था त्यस्तै आयो भने पहिलो हुनेलाई दोश्रो र दोश्रो हुनेलाई पहिलो बनाउन सक्ने सम्मको क्षमता नेपालका ख्रीष्टियनहरूमा छ ।

हामीसँग अपार सामर्थ्य छ । यही सामर्थ्यलाई प्रयोग गरेर हामी हाम्रो देशको सम्पूर्ण राजनीतिलाई शुद्ध पार्न सक्छौं । ख्रीष्टियानहरू हो ! विभिन्न राजनीतिक दलहरूमा छरिनुहोस् । आफ्नो पहिचान स्थापित गर्दै जानुहोस् । स्थानीय स्तरबाटै राजनीतिक दलहरूलाई ख्रीष्टियानहरू पनि यो देशका नागरिकहरू हुन् भन्ने छाप पार्नुहोस् । तर आफ्नै पार्टी खोली मुस्किलले एउटा सिट जितेर ठूलो प्रभाव पारौँला भनेर कदापि नसोच्नुहोस् । ख्रीष्टियानहरूको छुट्टै पार्टी हाम्रो आजको आवश्यकता होइन ।

प्रतिकृया दिनुहोस्