‘समाचार र विचारको
साझा चौतारी’





भारतीय बिस्तारवादको काममा होइन नेपालप्रति नियतनै खराब छ


जी एन शर्मा


उसको हेपाहा र मिचाहा प्रवृति नेपालको भौगौलिक क्षेत्रमा मात्र होइन समग्र क्षेत्रमा बिगतदेखि वर्तमान सम्म चल्दै आएकोछ । कसैले कुन काम गर्दा नियत खराब गरेर गर्छ कि उसको काम गर्दागर्दै गल्ति हुन्छ । हामीले हरेक समस्यालाई अध्ययन गर्दा यो पाटोलाई हेर्नु उचित हुन्छ । नेपाल र भारतबीच युगौँदेखिको सम्बन्ध छ । धेरै जसो एउटा कुरामा जोड दिने गरिन्छ त्यो हो रोटी र बेटीको सम्बन्ध अनि दुबै देशकाबीचको साँस्कृतिक सम्बन्धका बारेमा कुरा उठाईन्छ तर ईतिहाँसको बिगतदेखि वर्तमान सम्मका आयामहरुलाई हेर्ने हो भने भारत ( राज्य प्रशासन ) जहिले पनि नेपाललाई राम्रो नियतले हेर्ने गरेको पाईदैन ।
मुखले ठिक्क पार्ने बेलामा रोटी र बेटीको कुरा गरेपनि काममा भने उसले नेपालप्रति हेपाहा र मिचाहा प्रवृतिलाई निरन्तरता दिदै आएकोछ । गएको शनिबार उसले तयार पारेर सार्वजनिक गरेको भारतको राजनैतिक नक्सामा खुलेआम नेपाली भूभागलाई आफ्नो पारेकोछ । यो बिस्तारवादी चरित्र अहिलेको मात्र होइन आज पनि करिब ८१ स्थानमा भारतले नेपाली सीमा भूभागमा आफ्नै बिस्तारबादी चरित्र प्रकट गरेकोछ । हामीले केवल सीमा विवादलाई मात्र हेरेर र यो मुद्दामा मात्र केन्द्रीत भएर यो समस्याको हल हुनेवालाछैन। यो समस्याका बारेमा सूक्ष्म रुपमा हेर्दा उसले समग्र नेपाललाई हेर्ने दृष्टिकोणनै हो ।
नेपालका हरेक क्षेत्रमा भारतीय बिस्तारवाद आफ्नो उपस्थिति प्रत्यक्ष र अप्रत्यक्षरुपमा चाहान्छ भन्ने कुरालाई हामीले भुल्न हुदैन । आफ्नो स्वार्थ अनूकुल काम भएन भने नाकाबन्दी समेत गर्न उ पछि परेको छैन भन्ने तथ्य हामीले समय समयमा भोगी सकेकाछौँ ।एउटा स्वतनत्र र सार्वभौम राष्ट्रको भूभागलाई एकलौटी हिसाबले आफ्नो होे भनेर दाबी गर्नु भनेको कति सम्मको हेपाहा र मिचाहा प्रवृति हो यसलाई सजिलै बुझ्न सकिन्छ । हामीले लिपुलेक र कालापानीमा मात्र होइन यस्ता उसका रवैया दजनौँ स्थानमा देख्न सक्छौँ । नेपाललाई जे गर्दा र भन्दा पनि हुन्छ भन्ने बिस्तारवादी र सामा्रज्यवादी चिन्तनबाट विगतदेखि वर्तमान सम्म भारतको प्रशासनिक सयन्त्र मुक्त हुन सकेकोछैन र समस्या सीमानाको मात्र होइन उसको नाङ्गो हस्तक्षेप हाम्रा अरु धेरै पाटामा समेत भएकाले उसले नेपालमाथि बिस्तारवादी हस्तक्षेप गर्दै आएको हो ।
भारतको यो खालको नाङ्गो हस्तक्षेप सदाका लागि रोक्न सबै भन्दा पहिले हामीले हाम्रो सरकार र यहाँका राजनीतिकदलको देशभक्तिको एकता जागोस भनेर कामना गर्नु पर्दछ ।नेपालका हरेक परिवर्तनमा भारमतको साथ र सहयोगछ भनेर कुर्लनु भन्दा उसले हामी माथि गरेको ठाडो हस्तक्षेपका बारेमा समिक्षा गर्न जरुरीछ । यहाँका हरेक राजनीतिक परिवर्तनका जोदाहा भनेका नेपाली जनताहुन् , शहीद र घाईते नेपालीहुन् , जेलनेल भोग्ने नेपाली हुन् तर भन्ने गरिन्छ कि यहाँको परिवर्तनका लागि मित्र राष्ट्र भारतको ठूलो हात रहेकोछ । के सरोकार भारतलाई हाम्रो अधिकारको आन्दोलन र आन्तरिक मामलामा ? कस्तो निणार्यक शक्ति हो भारत हाम्रो देश भित्रको स्वतन्त्रताको आन्दोलनको हिसाबमा ? तर भन्न गरिन्छ भारतले यसो ग¥यो र उसो ग¥यो भनेर अर्थात हामी हाम्रा हरेक हिस्सामा भारतलाई गास्ने गर्दछौँ । र, कतैन कतैबाट उसको तथास्तु थाप्ने गर्दछौँ , हो यही कारणले पनि भारत हामीलाई हेप्न , थिच्न र मिच्न पल्किएको हो । दोस्रो कुरा यहाँका राजनीतिकदल नेपाली जनता भन्दा दिल्लीको भरमा आफ्नो सत्ता र राजनीतिलाई भरोसा मान्दछन्, मानौँ कि मालिकको आर्शीवाद थापेन भने पवित्र भईदिैन भन्ने दास प्रवृतिको भ्रम दशकौँदेखि आज सम्म पनि निरन्तर जारी रहेकोछ ।
नेपालका हरेक परिवर्तनका ईतिहाँसमा भारतले आफ्नो घुमाउरो स्वार्थलाई जस्केलाबाट छिराएको हुन्छ र उसले आफु अनूकुल काम गरेको हुन्छ । भारतीय राज्य प्रशासनको हेपाह प्रवृति उसको नेपालप्रतिको हैकमबादी चरित्र त हो त्यसमा पनि यहाँका सत्ता संचालक र राजनीतिक दलको कुर्सीमोहको कारण उसले हामी माथि एक क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा अतिक्रमण र हस्तक्षेप गर्दै आएकोछ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको सवालमा पहिलादेखिनै यहाँका राजनीतिक दल र सत्ताका संचालकबीच एउटै भावधाराको विचार रहन्थ्यो भने नेपालको भूगोलमा मात्र होइन अरु क्षेत्रमा समेत आफु अनूकुल स्वार्थ पुरा गर्न भारतले सोच्नु पर्ने थियो । तर, आफ्नो दुनो सिधा पार्न आफन्तलाई बिरानो र पराईलाई परममित्र बनाउने दल भित्रका माउतेहरुका कारण पटकपटक नेपालले आफ्नो भूभाग मात्र होइन धेरै आफ्ना अहम् आन्तरिक सवालमा समेत छिमेकीको थिचोमिचो र हस्तक्षेप सहन गर्नु परेको हो ।
अहिले देखिएको लिपुलेक र कालापानीको समस्या मात्र होइन , नेपाल र भारतबीच भएका असमान सन्धीहरु खारेज गरिनु पर्छ, कुटनैतिक क्षेत्रलाई समेत सक्रिय र सवल बनाउन सक्नु पर्छ । एउटा सार्वभौम राष्ट्रको रुपमा नेपाल र नेपालीको शीरलाई उच्च राख्न र कुनैपनि छिमेकी वा मित्र राष्ट्रको हेपाहा प्रवृतिलाई तत्काल प्रतिवाद गर्न सरकारले सक्नु पर्छ । समस्या सीमानाको मात्र होइन समस्या शदियौँ देखिको असमान सन्धिको हो भन्ने कुरालाई केन्द्रमा राखेर सबैखाले हस्तक्षेप र बिस्तारबादी र साम्राज्यवादी पात्र र प्रवृतिसँग प्रतिरोध गर्ने सहास सरकारसँग हुन पर्छ । तर, ईतिहासको त्यो पाटोदेखि यो पाटो सम्मको समिक्षा गर्ने हो भने जनस्तरबाट भारतको यसखाल दादागिरीको बिरोध हुने गरेको छ र यो सरकार मात्र होइन अरु सरकारकापालमा पनि उसले गरेका यस्ता खालका हर्कतको सरकारले दरोगरि प्रतिकृया समेत दिन सकेको पाईदैन । भारत नेपालमाथि यस्ता हस्तक्षेप गर्न बानी परिसकेकोछ , उसलाई थाहाछ उसको यो बिस्तारबादी चरित्रको नेपाली जनताले कडा बिरोध जनाउँछन् भन्ने अनि उसलाई यो पनि थाहाछ सरकार झारा टार्ने काम गरेर पसिन्छ भन्ने , त्यसलै उसले यो हर्कत पहिलादेखिनै जारी राख्दै आएको हो । राष्ट्रीयताको सवालमा भारत आफु कति एकताको सुत्रमा बाधीएको छ हामीले समेत देखेकाछौँ । तर, हाम्रा राजनीतिक दल र सरकारको यो मतो किन मिल्न सक्दैन ? नेपाली भूभाग र नेपालका विविध क्षेत्रमा भारतको ठाडो हस्तक्षेप हुदा किन यहाँको सरकार र दलहरुले संयुक्तरुपमा प्रतिवाद गर्न डराउँछन् ? अब पहिला नागरिकले खबरदारी गर्ने बेला भएकोछ ।
एउटा बक्तब्य जारी गरेर यो समस्याको समाधान हुदैन , सरकारका कुनै जिम्मेवार मान्छेले एउटा प्रतिकृया जारी गरेर पनि यो समस्याको हल हुदैन । यदि भारतीय राज्य प्रशासनको यो खाले रवैया र हेपाहा प्रवृतिको अन्त्य गर्ने हो भने , नेपाल र नेपालीको स्वाभिमानका लागि सबै दलहरुको संयुक्त बक्तब्य जारी हुनु पर्दछ र सरकारले यथाशिघ्र सबै असमान सन्धिहरुका विषयमा कुटनैतिक पहलबाट यसको दीर्घकालिन समाधानका लागि बाटो खोल्न जरुरीछ । सबै भन्दा धेरै राष्ट्रियता, जनतन्त्रको वकालत गर्ने कम्युनिष्टको यो सरकारले भारतीय बिस्तारवादको यो मिचाह र हेपाहा प्रवृत्तिलाई कसरी लिने हो अब हेर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्