‘समाचार र विचारको
साझा चौतारी’





दिनेश राउत र अनमोलबीच टिमअपको सम्भावना कति ?


फिल्मीखबर, काठमाण्डौ,
अभिनेता अनमोल केसी वर्षमा एक वा दुईभन्दा बढी फिल्म गर्दैनन् । स्क्रिप्ट चित्त नबुझे उनी साइन गरेको फिल्म समेत छाड्न पछाडि पर्दैनन् । ‘ब्याचलर बन्टी’ र ‘धुपौरे’ यसका उदाहरण हुन् । अभिनयको आलोचना हुने गरेको भएता पनि उनी फिल्म छनोटमा भने सम्यमता अपनाउने गर्दछन् । फरक भूमिका गर्न रुचाउने उनको पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर ३’ हो ।

यो फिल्मले उनको खस्किँदो स्टारडम उत्कर्षमा मात्र पुर्‍याएन, माग पनि चुल्यायो । अहिले उनको पारिश्रमिक पनि उस्तै महँगो भएको छ । गएको एक महिना अगाडि उनले साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ ५० लाखमा साइन गरेका थिए । तर, स्क्रिप्ट चित्त नबुझेको भन्दै उनले यो फिल्म छाडेको चर्चा फिल्मवृतमा छ । यद्यपि, यस विषयमा निर्माण टिमले अहिलेसम्म मुख खोलेको छैन ।

‘धुपौरे’ छाडेको खबर बाहिरिएसँगै फेरि उनलाई फिल्ममा लिन निर्माताबीच तानातान सुरु भएको छ । अब, अनमोलले फिल्म ‘ए मेरो हजुर ४’ लाई समय दिने आशमा छिन्, निर्देशक झरना थापा । फिल्म ‘पारस’ बाट निर्देशनमा डेब्यू गर्न लागेको माधव वाग्लेको पनि उनीमाथि नै आँखा छ । उनलाई कुर्ने निर्मातामा रोहित अधिकारी पनि पर्छन्, जो ‘गाजलु’ र ‘छ माया छपक्कै’ का निर्माता हुन् ।

उनी अहिले तेस्रो फिल्मको तयारीमा छन् । मनछुने लभस्टोरी फिल्म बनाउन सिपालु मानिने दिनेश राउतसँग नयाँ प्रोजेक्टका लागि उनको टाइअप भएको छ । यो फिल्ममा निर्माता अधिकारी कुनै हालतमा अनमोललाई खेलाउने पक्षमा छन् । उनी भन्छन्, ‘हो, फिल्मलाई लिएर अनमोलसँग कुराकानी भइरहेको छ । स्क्रिप्ट पनि सुनाइसक्यौं । तर, अहिलेसम्म गर्ने/नगर्ने निधो भएको छैन ।’

अनमोल अब आफ्नै होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ गर्ने तयारीमा छन् । यो फिल्मपछि उनले ‘ए मेरो हजुर ४’ गर्ने सम्भावना छ । यसपछि उनले आफ्नो फिल्मलाई समय दिने विश्वासमा निर्माता अधिकारी छन् । फिल्ममा अनमोललाई लिने सर्तमा निर्देशक राउतले निर्माता अधिकारीसँग सहकार्य गरेको चर्चा छ । तर, यसमा कुनै सत्यता नभएको निर्देशक राउत बताउँछन् ।

फिल्मीखबरसँग कुराकानी गर्दै उनले भने- ‘म आर्टिस्टका कारण नभइ स्क्रिप्ट कन्भेन्सिङ लागेपछि मात्र फिल्म गर्छु । म स्क्रिप्टमा रेडी भएँ । निर्माता अधिकारीलाई पनि फिल्मको कन्सेप्ट मनपर्‍यो र हामीबीच सहकार्य भएको हो । अनमोल भए मात्र गर्छु भनेर फिल्म साइन गरेको होइनँ।’ उनले यसअघि पनि अनमोलसँग सहकार्यको प्रयास भएको तर स्क्रिप्ट चित्त नबुझेपछि आफूले नगरेको बताए ।

स्क्रिप्टमा छलफल हुँदा निर्माता अधिकारीले नै अभिनेतामा अनमोलको नाम सिफारिस गरेको उनी बताउँछन् । ‘मैले उहाँ (रोहित अधिकारी) लाई ‘अनमोल भए मात्र फिल्म बनाउने हो’ भनेर सोधेको थिएँ । उहाँले जो भए पनि फिल्म गर्ने बाचा गरेपछि म राजी भएको हुँ’, उनले भने । फिल्ममा कलाकार नभइ कन्टेन्ट ‘स्टार’ हुनुपर्ने तर्क राख्ने निर्देशक राउतको पछिल्लो रिलिज फिल्म ‘प्रसाद’ हो ।

प्रतिकृया दिनुहोस्