‘समाचार र विचारको
साझा चौतारी’





दीपकको ह्याट्रिक सहित ६ विकेटसँगै भारत विजयी


एजेन्सी – युवा तीब्र गतिका बलर दीपक चाहरले आफ्नो करिअरकै सर्वोउत्कृष्ट प्रर्दशन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि बंगलादेशसँगको तीन टि ट्वान्टी सिरिज घरेलु टोली भारतले २–१ ले जितेको छ ।

आइतबार राती तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा बंगलादेशलाई ३० रनले हराउँदै भारतले सिरिज जितेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १९.४ ओभरमा अल आउट हुदै १ सय ४४ रनमा समेटियो । दीपकले १८ औं ओभरको अन्तिम बलमा शफीउल इस्लाम, २० ओभरको पहिलो बलमा मुस्ताफिजुर रहमान र दोस्रो बलमा अमीनुल इस्लामलाई आउट गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

बंगलादेशका लागि युवा खेलाडी मोहम्मद नइमले सर्वाधिक ८१ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । १६ ओभरको तेस्रो बलमा शिवम दुबेले बोल्ड आउट गर्नुअघि नइमले ४८ बलमा १० चौका र २ छक्का प्रहार गरे । दीपक चाहरले तेस्रो ओभरको चौथो बलमा लिटन दासलाई ९ र पाँचौ बलमा सौम्य सरकारलाई शून्यमा आउट गर्दै बंगलादेशलाई दबाबमा राखेका थिए ।

तेस्रो विकेटका लागि मोहम्मद मिथुन र मोहम्मद नइमले ९८ रनको महत्वपूर्ण साझेदारी गरेपनि बंगलादेशको हार टर्न सकेन । १३ ओभरको अन्तिम बलमा दीपक चाहरले कप्तान रोहित शर्माबाट मिथुनलाई लङअफमा क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । मिथुनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान महमुमुल्लाह ८ र अफिफ हुसेन डक आउट भए ।

दीपक चाहरले ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिए । शिवम दुबेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।

त्यसअघि नागपुरमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतका लागि युवा ब्याट्सम्यान श्रेयस ऐरले ६२ रनको योगदान दिए । १७ ओभरको पाँचौ बलमा सौम्य सरकारले लिटन दासबाट क्याच आउट हुनुअघि ऐरले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ऐरको यो टि ट्वान्टी आई अरिअरको पहिलो अर्धशतक हो ।

त्यस्तै लोकेश राहुलले ३५ बलमा ७ चौका सहित ५२ रनको योगदान दिए । कप्तान रोहित शर्माले २ रन मात्र जोड्न सके । शिखर धवन पनि १६ बलमा १९ रन जोड्दै क्याच आउट भए । ऋषभ पन्त ६ रनमा बोल्ड भए । मनिष पान्डेले नटआउट २२ र शिवम दुबेले ९ रन जोडे । मनिषले १३ बलको सामना गर्दै ३ चौका प्रहार गरेका थिए ।

बंगलादेशका शफीउल इस्लाम र सौम्य सरकारले समान २ विकेट लिए । अल अमीन हुसैनले १ विकेट लिए । पहिलो खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा भने बंगलादेश भारतसँग ८ विकेटले पराजित हुन पुगेको थियो ।hamrokhelkud

प्रतिकृया दिनुहोस्