भिडियो चौतारीसृजनाको चौतारी

हामी हराए के होला !

कविता

जी एन शर्मा

हरायो , दाम्लो हरायो , किलो हरायो
ओखल र मुस्ली हरायो, मानो हरायो पाथी हरायो
हर्पे र ठेकी हरायो,
आग्लो हरायो, बलो हरायो ,हरायो कोदालो र कुटे हरायो
अनौ हरायो, हरिस हरायो , ढिकी र जाँतो हरायो
हरायो, दियो हरायो, धिप्री हरायो , भड्डु र कसुडी हरायो
सनासो हरायो, हसियाँ हरायो, खुर्पा र बञ्चरो हरायो
हर्पे हरायो, हुचिल हरायो, डाँफे र मयुर हरायो
त्यो मन हरायो, त्यो बन हरायो , मनमिलाउने मननै हरायो
बाँकी छ हामी हराउन
हामी हराए अब के रहला !

मकै हरायो, भटमास हरायो
हरायो, सिन्की र गुन्द्रुक हरायो
ढकने र चाम्रे हरायो, कुराउनी हरायो , बालन हरायो , नौमती र सारङ्गी हरायो
दुना हरायो , टपरी हरायो , टुङ्ना र मादल हरायो
कुवा हरायो , पधेरो हरायो, हरायो रत्यौली र मितेरी हरायो
सोल्टी हरायो , सनाइ हरायो च्याब्रुङ्ग र मुर्चुङ्गा हरायो
बिनायो हरायो, बेठी हरायो
हरायो , पटुकी हरायो , फरिया हरायो
हरायो मन जोड्ने मननै हरायो
हराउन त अब हामी बाँकी छ
हामीनै हराए अब को रहला !

झ्याली हरायो, धमाह हरायो , हरायो डम्फु र मैच्याङ्ग हरायो
च्याङ्वा हरायो , हर्के हरायो , सान्नानी र सोल्टीको साइनो हरायो
मदानी हरायो , ठेकी हरायो,
दौरा र सुरवाल हरायो
करुवा हरायो, कुलेसो हरायो , संयता र धैयर्ता हरायो
तोरी हरायो , फेरी हरायो , हरायो आफ्नो पन हरायो
आफन्त चिन्ने त्यो पुरानो हाम्रो सबैको अहिले मन हरायो
हराउन बाँकी त अब हामीनै हौँ
हामीनै हराए कसले खोज्ला र !

बुकी हरायो , चमेली हरायो , हरायो सुनाखरी र गुराँस हरायो
कोइली हरायो , देउराली हरायो , चौतारी र भञ्ज्याङ्ग हरायो
पर्म हरायो, कर्म हरायो , दया र उपकार पनि हरायो
प्रेम हरायो, आदर हरायो सम्मानसँगै सत्कार हरायो

बिगौती हरायो, बिलाउनी हरायो, सोल्लर र सिस्नो हरायो
ढिडो हरायो, मुरी हराया, धार्नी र बिसौली हरायो
कोरी हरायो, सेवारो हरायो, जोजोलोपा र नमस्ते हरायो
हराउँदै हराउँदै घरघरबाट अतिथिदेवो भव हरायो
सबै त हाम्रो हराएर गयो
अब बाँकी छ हामी हराउन
हामी हराए को रहला र !

थपडी हरायो, ताली हरायो, हरायो टेम्कोको ताल हरायो
आसपास हरायो, डण्डीबियो हरायो, आँगन र मारुनीसाथै हरायो
खर्पन हरायो, दर्शन हरायो , आस्था र विचार हरायो
सस्कार हरायो, सद्भाव हरायो ,हरायो हाम्रो पननै हरायो
हराउन पालो अब हाम्रो छ
हामीनै हराएपछि त के रहला र !

यहाँ त हराएको हरायै छ
नाम्लो हरायो, पाखी हरायो , हरायो अगेनो र मान्द्रो हरायो
थुन्चे हरायो, दाबीलो हरायो, ओदान र बुलाकी हरायो
ढुङ्ग्री हरायो, तबेला हरायो, हरायो टाट्नो र गोठ हरायो
हरायो, दाम्लो हरायो, ग्वाली हरायो ,हरायो मन थाम्नै मननै हरायो

भोटो हरायो, खोटो हरायो , हरायो फूली र शीरबन्दी हरायो
कागुनो हरायो, काफल हरायो , हरायो खागो र खर्पन हरायो
कति हरायो हरायो , अरु धेरै कति हो कति हरायो
कसले लुकायो , कसले छिपायो ,क कसले कता कता के के लुकायो
मन बाँड्ने हाम्रो मननै हरायो
मायाँ बाड्ने हाम्रो मायाँनै हरायो
दया बाड्ने हाम्रो दयानै हरायो
अब ,हराउन र बिलाउन त हामीनै बाँकी छौँ ,
हामी हराए, हामी बिलाए
के रहने हो
हामीनै बिलाए
के रहला र !

भालेको डाक हरायो, चरीको चिर्रबिर्र हरायो
स्यालको हुँ हरायो, कोइलीको कुहू हरायो
हरायो धेरै हरायो, नहराउने जति सबै हरायो
ठेवाको जोजोलोपा हरायो, जोगीको फेरि हरायो
आरान हरायो, चरन हरायो , बेली र चमेली हरायो
के के हो, के के हरायो
हराउँदा हराउँदै सबैनै हरायो
अब हराउन बाँकी भनेका त हामीनै छौँ
हामी हराएपछि सबैनै हराउने भो !
हामीनै हराएपछि के नै पो बाँकी रहने भो !

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button