‘समाचार र विचारको
साझा चौतारी’





स्रष्टाहरूले भने छोड्, हाम्रो भूमि छोड्


काठमाडौँ : भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेत समावेश गरेपछि नेपालमा प्रत्येक दिन त्यसको विरोध भइरहेको छ । सीमा अतिक्रमणका विरुद्ध हरेक दिन कुनै न कुनै प्रकारका विरोधहरू भइरहेका छन् । जनपक्षीय सञ्चारमाध्यमहरुमा राष्ट्रियता रक्षाका विषयमा सिर्जनाहरु प्रकाशित–प्रसारित भइरहेका छन् । शासकहरूबाहेक मुलुकको सिङ्गो जनमत राष्ट्रिय रक्षाका लागि उभिएको छ ।
यसै सन्दर्भमा काठमाडौँमा केही स्रष्टाले सडकमा उभिएर राष्ट्रवादी कविता र गीत वाचन गरेका छन् । स्रष्टाहरूले गीत र कविताको माध्यमबाट सीमा अतिक्रमणको विरोध गरेका हुन् । काठमाडौँको रत्नपार्कमा जम्मा भएर स्रष्टाहरूले भने ः
छोड् हाम्रो भूमि छोड्,
नालापानी छोड्
हाम्रो लिम्पियाधुरा छोड्
सुस्ता पनि छोड्
हाम्रो सबै भूमि छोड्
स्रष्टाहरूले गीत÷कविताको माध्यमबाट भारतीय साम्राज्यवादी अतिक्रमणको विरोध गरेका छन् । उनीहरूले हाम्रो देशको सीमा एक इन्च पनि कसैले मिच्न नपाइने बताए । स्रष्टाहरूले इतिहासमा सधैँ स्वाधीन रहेको मुलुक स्वाधीतना र राष्ट्रियताको रक्षाका लागि सदैव लड्न तयार छ भन्ने सन्देश दिए । कार्यक्रममा कवि विमल निभा, स्नेह सायमी, सीता शर्मा, नन्दु उप्रेती, शोभा दुलाललगायतले कविता सुनाएका थिए भने कर्ण परियारलगायतले गीत सुनाए ।
स्रष्टाहरूको उक्त विरोध कार्यक्रममा सीमाविद् हिरण्यलाल श्रेष्ठले अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना तत्काल हटाउन माग गरे । स्वाधीन र सार्वभौम मुलुकमा भारतीय हस्तक्षेप स्वीकार्य नहुने भन्दै श्रेष्ठले भारतले हस्तक्षेप बन्द गर्नुपर्ने बताए । स्रष्टाहरूले अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना फिर्ता नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताए ।२०७६, २ मंसिर सोमबार ०९:३४ ई-रातो खबर

प्रतिकृया दिनुहोस्