‘समाचार र विचारको
साझा चौतारी’





साम्राज्यवादी हस्तक्षेपविरुद्ध सिर्जनामा अभिव्यक्त विद्रोही आवाजहरू


– अशोक सुवेदी

मैले मेरो महान् राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद भन्न किन नपाउनू ?
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध
मुट्ठी उठाएर मुर्दावाद भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए ! मेरै देशका शिखण्डीहरू हो
तिम्रो पाखण्डीपनका विरुद्ध
मैले तिमीलाई घृणाले धिक्कार गर्न किन नपाउनू ?
– इच्छुक
जबजब मुलुकमाथि सङ्कट आइलाग्छ, शासकहरूबाट जनतामाथि विपद् थोपरिन थाल्छ, साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणहरू हुन थाल्छ क्रान्तिकारी र देशभक्त जनता सडकमा उत्रिन्छन् । विद्रोहमा सामेल हुन्छन् । आन्दोलन उठाउँछन् र क्रान्ति आरम्भ गर्छन् । यस्तो अवस्थामा विद्रोही स्रष्टाहरू झन्झन् आफूभित्रको देशभक्तिपूर्ण र क्रान्तिकारी विचार र भावना सिर्जनाका माध्यमबाट व्यक्त गर्न थाल्छन् । उनीहरूभित्रको देशभक्तिको अहम् अझ जाग्छ र उनीहरू सशरीर सङ्घर्षमा होमिन सुरु गर्छन् । देश, जनता र मुक्तिभन्दा प्यारो उनीहरूका लागि आफ्नो जीवन पनि हुँदैन । त्यसैले उनीहरू स्वाधीनता र मुक्तिका लागि बलिदान गर्न तयार हुन्छन् । गर्छन् । सहिद बन्छन् । महान् सांस्कृतिक योद्धा कृष्ण सेन ‘इच्छुक’ मुलुकमाथि देशभित्रैका शासकहरूको उत्पीडन र विस्तारवादी–साम्राज्यवादी हस्तक्षेपविरुद्ध सिर्जनाका माध्यमबाट विस्फोटित भएको अवस्थाको सिर्जना हो यो । नेपालका झन्डै दुई सय स्रष्टा÷संस्कृतिकर्मीहरूले राष्ट्रियता, जनतन्त्र, जनजीविका, स्वतन्त्रता र मुक्तिको आन्दोलनमा सिर्जनाबाट मात्र नभएर इच्छुकले झैँ सशरीर सहभागी भएर बलिदानसमेत गरिसकेको गौरवशाली इतिहास हाम्रासामु छ ।
आज फेरि भारतीय साम्राज्यवादले नेपाली भूमिमाथि हस्तक्षेप गरिरहेको छ । अमेरिकी साम्राज्यवाद नेपाल र नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्ककारी करार गरेर हस्तक्षेप गरिरहेको छ । यस्तो अवस्थामा स्वाभिमानी स्रष्टाहरूको हृदय, भावना र विचार फेरि जागृत भएको छ । देशभक्त तथा वामपन्थी स्रष्टा डा. रामप्रसाद ज्ञवालीले आफ्नो जन्मूमिलाई हृदयमा राखेर लेखेका छन् :
लुक्दै सेता परेवा छन्, ढुक्दै खुङ्खार बाज छ !
छिमेकी भैदिँदा दुष्ट आतङ्कमा समाज छ !
सधैँ–सधैँ परेवामा बाजकै डरत्रास छ !
ब्युँझ हे ए परेवा हो ! नयाँ नेपाल आज छ !

बाज हे ! क्रूरता तेरो सधैँ–सधैँ सहन्नँ म !
सधैँ रुन्चे, सधैँ लाछी, सधैँ काँतर हुन्नँ म !
अब तेरो इसारामा पानी बन्दै बहन्नँ म !
मेरो जीवनमा तेरो हस्तक्षेप सहन्नँ म !

मेरो भूमि, नदीनाला तँलाई टेक्न दिन्नँ म !
मै लेख्छु जिन्दगी मेरो तँलाई लेख्न दिन्नँ म !
नयाँ नेपालको यात्रा तँलाई रोक्न दिन्नँ म !
कानमा गीत गाएर गालामा टोक्न दिन्नँ म !

मिच्दै जमिन यो मेरो ¥याल काढेर बाँच्दछस् !
सीमास्तम्भ उखेलेर बन्दै राक्षस हाँस्दछस् !
तेरो सोच तथा हाँसो असाध्यै अपवित्र छ !
नछो नेपालको माटो यो असाध्यै पवित्र छ !

तेरो सेतो लुगाभन्दा सेतो मेरो हिमाल छ !
तेरो चौडा जिमीभन्दा मेरो छाती विशाल छ !
नटेक् यो वीरको भूमि क्रान्तिका बीज छन् यहाँ !
नछो यो बुद्धको भूमि शान्तिका दीप छन् यहाँ !

नठानेस् दास तेरो हुँ जे गरे नि सहन्छु म !
आफ्नो अस्तित्वका निम्ति युगौँ लडिरहन्छु म !
हार्छ नेपाल ठान्दो होस् वीरता हार्छ पो कहाँ ?
कसरी हार्छ यो राष्ट्र म ज्युँदै छु अझै यहाँ !

तँलाई देशमा मेरो साँढेझैँ चर्न दिन्नँ म !
ईष्र्या, विद्वेषकादेशका निम्तिमा मर्ने भक्त बाँकी रहेतक
नेपाल राष्ट्र यो मेरो रहनेछ सुरक्षित
यो देशका सबै शत्रु हुनेछन् क्षत–विक्षत ।
एउटा स्वाभिमानी स्रष्टाले आफ्नै आँखाअगाडि आफ्नो मातृभूमिलाई दुष्टहरूले बलात्कार गरेको कसरी सहन सक्छ ? आफ्नो सीमा मिचिएको टुलुटुलु हेरेर कसरी बस्न सक्छ ऊ ? यस्तो सङ्कटको घडीमा स्रष्टाभित्रको स्वाभिमान ब्युझिन्छ र विस्फोटित हुन्छ । देश र जनता लुछिएको यस्तै सङ्कटको घडीमा स्रष्टा सहिद इच्छुकले लेखेका थिए :
सोझै क्रूर गोलीले उडाऊ
या हुरहुर जिउँदै आगोमा जलाऊ
काटेर टुक्राटुक्रा पार
या ताछेर मासुको अम्बार लगाऊ
शुष्क हाडहरूको पहाड ठड्याऊ
या रक्तको नदी बगाऊ
नयाँ प्रभातका उज्याला प्रकाशहरूलाई
बेपत्ता पारेर जतिसुकै लुकाऊ
नरसंहारको ताण्डव नृत्य नाच
या बीभत्स मृत्यु–उत्सव मनाऊ
कतै मन्द सास पनि तुफान बन्ला
मुटुका धड्कनहरूलाई धुलीसात तुल्याऊ
तर पनि मर्दैन कहिल्यै हाम्रो आस्थाको अजम्मरी सपना ।

सुतेको समयमा त जसले पनि सपना देख्छ, सम्भव–असम्भव, उचित–अनुचित सपना । सच्चा सपना त्यो हो जुन विपनामै देखिन्छ, देख्नुपर्छ, देखिन्छ । असल क्रान्तिकारीहरूले मात्र विपनामा सपना देख्न सक्छन् । देखिरहेका छन् । आफ्नै मुटुमा चोट लाग्दा पनि नदुख्ने हृदयलाई कसरी जीवित भन्न सकिन्छ ? त्यो त ज्यूँदो लास मात्र हो जो मातृभूमिमाथि साम्राज्यवादको अतिक्रमण र बलात्कार देखेर पनि सत्ता र कुर्सीको लोभमा मौन रहन्छ वा आँखा चिम्लिन्छ । यस्तै आहत क्षणलाई सम्बोधन गर्दै इच्छुकले लेखेका थिए :
म त चाहिरहेछु फगत
मेरो देशको छातीमा
अन्तिम गोली थाप्ने पछिल्लो सिपाही बन्न
म त चाहन्छु
मेरो लाभका निम्ति
देशमा ब्रह्मलुट मच्चाउने छुट
मैले पाउनु हँुदैन
म त चाहन्छु
मेरो स्वार्थका खातिर
देश बन्धकी राख्ने छुट
मैले पाउनु हँुदैन
मेरो सुखसयलका निम्ति
अरू कसैले नर्कको दुःख पाउनु हुँदैन ।
कवि रणबहादुर विकभित्रको विद्रोहको ज्वालामुखी पनि यसरी नै विस्फोट भएको छ भारतीय साम्राज्यवादको अतिक्रमणसँगै । उनी लेख्छन् :
कालापानी लिपुलेक, खोइ हाम्रो लिम्पियाधुरा
परराष्ट्रको लाचार विज्ञप्ति, के होला राष्ट्रियता पूरा ?
यहाँ ठूलाठूला कुरा, भागबण्डा मात्र
नेपाल र नेपालीको मुटुमा, रोपिँदैछ छुरा ।
आमा रोइन् साम्राज्यवादले छातीमा टेक्दा
ऐयाऽ बाबू दुख्यो, कति छन् कति सपना अधुरा ।

मेरो कोख रित्तो पार, राष्ट्रियता गुम्न नदेऊ
बरु बुहारी फुकाल्लिन् हातका चुरा ।
विजयको झन्डा बोकी मात्र घर फर्के है
फेरि पनि बाँकी नहून् सपना अधुरा ।

देशको सपना, क्रान्तिको सपना, सार्वभौमसत्ता रक्षाको सपना पूरा गर्न बरु मर्न तयार हुनुपर्छ, झुक्नु हुँदैन भन्ने भावको रणबहादुरको यो कविताले वर्तमानको यथार्थबा्ध मात्र होइन, विद्रोहको आवश्यकताबोध गराएको छ । राष्ट्रियता सङ्कटमा परेको र साम्राज्यवादी हस्तक्षेपका कारण मातृभूमि पुकार गर्दै रोएको सन्दर्भ उल्लेख गर्दै मातृभूमिको रक्षाका लागि एकजुट हुनुपर्ने कवि बीपी विद्रोहीको मत छ । उनी लेख्छन् :
कालापानीमा किलो रोएको छ आमा
मर्चरी र सुस्तामा पिलो रोएको छ आमा
यतिबेला गुलियो मुस्कान नखोज्नु मेरो ओठमा
आँखाको भित्र आँसु नुनिलो रोएको छ आमा ।
पश्चिम महाकालीको तीरमा धुलो हाँसिरहेछ
सप्तकोसीको किनारमा हिलो रोएको छ आमा
ओखती खोज्न बा सहरतिर निस्कनुभो
पाखाबारीको छेउमा रुदिलो रोएको छ आमा
किन निन्याउरो छ त्यो आगो हेर्नुस् त गहिरिएर
तातो त्यो भुङ्ग्रोभित्र फिलो रोएको छ आमा ।
हो, यतिबेला संवेदनशील हृदयहरू रोएका मात्र छैनन्, आक्रोशित पनि बनिरहेका छन् र सडकमा, सिर्जनामा, बस्तीमा जताततै आवाज बनेर घन्की पनि रहेका छन् । मेची उठेको छ, महाकाली उठेको छ । बस्तीहरू ब्युझेका छिन् । राष्ट्रियता जुर्मुराएको छ । देशभक्ति उचालिएको छ । जनता आफ्नो राष्ट्र रक्षाका लागि पहरेदार बनेर सीमामा उत्रिन तयार छन् तर शासक साम्राज्यवादसामु लम्पसार परेको छ । कवि कल्पना पौडेल ‘जिज्ञासु’ लेख्छिन् ः
सङ्कटमा छ देश हाम्रो पार लाउनुपर्छ हामीले
भारतीय सेनालाई समातेर मार लाउनुपर्छ हामीले
स्वाभिमान उच्च राख्दै जोगाउन त्यो मातृभूमि
सिमानाका चार किल्लामा बार लाउनुपर्छ हामीले ।

हो, यतिबेला साम्राज्यवादी भारत र नेपालका बीचमा बार लगाउनुपर्ने आवाज पनि उठिरहेको छ । नेपालका कालापानीलगायत क्षेत्रमा अड्डा जमाएका साम्राज्यवादी सैनिकहरूको मार लगाउनुपर्ने आवाज पनि उठिरहेको छ । कवि आस्था घिमिरेले पनि यस्तै भावको कवितांश पोस्ट गरेकी छिन् सामाजिक सञ्जालमा :
जङ्गे पिलर उखेलेर फाल्न मन लाग्यो
बारुदमा आगो झोसी बाल्न मन लाग्यो
हाम्रो देशको भूमिमा आँखा गाड्नेलाई
खुकुरीले घाँटी छिनाई ढाल्न मन लाग्यो ।
आफ्नो जन्मभूमिमाथि नाङ्गो हस्तक्षेप भएको देखीदेखी शासकहरू आँखा चिम्लिन्छन् भने, साम्राज्यवादद्वारा दिनदहाडै सीमा मिचिँदा पनि शासकहरू देखेको नदेख्यै गरी उल्टै साम्राज्यवादकै भक्ति गर्छन् र देशरक्षाका लागि आन्दोलन र सङ्घर्षमा उत्रिनेहरूमाथि नै जाइलाग्छन् भने पुराना जङ्गेपिलरहरू फालेर नयाँ जङ्गेपिलरहरू गाड्न बारुदमा आगो झोसेर बाल्न मन लाग्छ सचेत र विद्रोहीहरूलाई तर यो शब्दमा मात्र नभएर कर्ममै गरेर देखाउनुपर्ने विषय हो । कवि युवराज नास्तिक मुलुकमाथिको साम्राज्यवादी हस्तक्षेपप्रति व्यङ्ग्य गर्दै लेख्छन् ः
सीमा गायब छ, माटो गायब छ
नक्सा जनाउने टाटो गायब छ
लिपुलेक छ, कालापानी र सुस्ता छ
माटो बचाउने नायक गायब छ ।
लिम्पिया, काली नाघ्यो हेपाहाले साह्रै नाघ्यो
मिच्दामिच्दै जङ्गेपिलर र दसगजा गायब छ
बस्ती छ, बास छ, धमिलो लकिर छ
लालपुर्जा चिनाउने जमिन गायब छ
झारा टार्न एउटा विज्ञप्ति पनि छ
हाम्रा हजूरहरूको सर्जमिन गायब छ

सीमा गायब छ, माटो गायब छ
नक्साजस्तो टाटो गायब छ
गजब त यहाँ माटो बचाउने नायक गायब छ…
देशलाई सङ्कट परेको बेला जनता देश बचाउन नायक खोजिरहेका छन् । नायकहरूलाई गिरफ्तार गर्दै हिरासतमा कोचेर शासकहरू रात्रीभोज मनाइरहेका छन् । अन्तिमभोज गरिरहेका छन् । यो असह्य छ । अमान्य छ । यो खारेजयोग्य छ । आफ्नो मातृभूमि बचाउन अब जनताले कोरियाली भूमिका महान् जनताको शक्ति देखाउनु आवश्यक छ । भियतनामी, चिनियाँ जनताको हिम्मत र शौर्य देखाउनु जरुरी छ । नेपाल रक्षाका लागि अङ्ग्रेज साम्राज्यसँग अहोरात्र लड्ने र भोकै, प्यासै, अनिद्रै लडेर साम्राज्यवादलाई हायलकायल पार्ने नेपाली पुर्खाहरूको वीरता दोहो¥याउनु अत्यावश्यक छ । ‘लिम्पियाधुरा जो रोइरहन्छ’ शीर्षक कवितामा रसुवाली कवि भन्छन् :
सीमामा आगो बलिरहेछ
डेढेलोले पोलिरहेछ लिम्पिधुराको छाती
अविरल बगिरहेछ
मान्छेको आँसु बोकेर महाकाली नदी

लिपुलेक हाम्रो हो
कालापानी हाम्रो हो
लिम्पियाधुरा हाम्रो हो
एउटा शोकधुनजस्तो
गीत गुन्जिरहेछ काठमाडौँमा

यता
पिलर सरिरहेछ
छिमेकीले परेड खेलिरहेछ
महाकालीमा रगत बगिरहेछ
लिपुलेकमा हिउँ परिरहेछ
राष्ट्रियतालाई घाउ लागिरहेछ

मन्त्रीज्यू भारतीय होटेलमा
बजाइरहनुभएको छ मदिरा
‘डान्सिङ सङ’ शिलाको जवानीमा
मर्काइरहनुभएको छ कम्मर

सिंहदरबारमा बनिरहन्छ देश बिक्रीको योजना
यता लिपुको छाती जलिरहेछ
देशलाई घाउ लागिरहेछ
देशभर गुन्जिरहेछ शोकधुन

अब सीमामा मान्छे नै पिल्लर बन्न
ढिला भैरहेछ ।
आफैँलाई परेपछि, भोक, अपमान र पीडा असह्य भएपछि लाटासुधा पनि बोल्न थाल्छन् क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल र युद्धप्रसाद मिश्रले भनेझैँ । कवि अग्निराज पौडेल ‘अराप’ भित्रको राष्ट्रवादी चेतना पनि यहाँ जब्बर ढङ्गले मुखरित भएको छ ‘ मित्र छिमेकी’ शीर्षक कविताका माध्यमबाट :
चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !
देखाउँछौ अभिनय आत्मीय मित्रको तिमी !

पीडालाई मित्रको ठाने आफ्नै चोट शरीरको
मुक्त गर्न दासताबाट क्रूर ती फिरङ्गीको
जुटेथे काँधमा काँध मिलाई लालाबाला मेरै कोखको ।

अर्को छिमेकीले तिमीमाथि गर्दा प्रहार बुटको
मेरा सन्तानले पनि दिएथे आहुति जीवनको ।

सानालाई दास ठान्छौ, बन्छौ दास ठूला दलालको
फकाई–फकाई लुटीखाने बानी तिम्रो छ अचम्मको ।

चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !
देखाउँछौ अभिनय आत्मीय मित्रको तिमी !

फिरङ्गीका साथ लागी त्यो गैरीखेतै लुट्यौ
फूल रोप्ने बहानामा फूलबारी नै कब्जा ग¥यौ
कुलो खनिदिने बहानामा जलसम्पदा पनि लुट्यौ ।
महेशपुर, सुस्ता, ठोरी सबै आफ्नो ठान्यौ
लिम्पियाधुरा र कालापानीमा आफ्नै किलो गाड्यौ
अर्काे छिमेकी उचालेर लिपुलेक पनि माड्न थाल्यौ ।

चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !
देखाउँछौ अभिनय आत्मीय मित्रको तिमी !

मेरा यी हातगोडामा बिसैला नङ्ग्रा कति गाड्यौ
सुमसुम्याएजस्तो गर्दै पिठ्युँमा छुरा पनि रोप्यौ
सोझोपनको फाइदा लिई पटकपटक मुटुमा सियो पनि रोप्यौ
अझै मेरा कुसन्तानलाई भड्काउँछौ बेलाबेलामा
कोही कपूत फसेका छन् तिम्रो धूत्र्याइँ र मीठो षड्यन्त्रमा
पारेका छौ डलर, भारु र कुर्सीको लालचमा ।

तर पनि
चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !
देखाउँछौ अभिनय आत्मीय मित्रको तिमी !

ठूलो भूमि, धेरै सन्तान दम्भ छ ठूलै शरीरको
आफूलाई बाघ ठानी गर्छाै हुइयाँ स्यालको
चिनिसकेँ तिम्रो हुइयाँ र ब्वाँसाको जस्तो चाल त्यो

छिःछिः गर्छन् छिमेकीले तिम्रो अहम् र दम्भको
नगरे हुन्छ चियोचर्चो तिमीले छिमेकीको
बेस हुन्छ टाल्दा भित्ता आफ्नै घर, गोठ र कटेराको ।

तर यतिचाहिँ बुझिराख
फरक हुन्छ साँच्चिकै मोटाउनु र सुन्निनुमा
हात्ती देख्दा ठूलै हुन्छ, शरीर पनि अजङ्गको
कमिलैले ढालिदिन्छ प्वालमा पसेपछि सुँडको ।
कमिलैले ढालिदिन्छ प्वालमा पसेपछि सुँडको ।

यसरी आज सिङ्गो स्राष्टा जनमत राष्ट्रियताको रक्षामा चिन्तित छ र ऊ आफ्ना सिर्जनाका माध्यमबाट राष्ट्रियता रक्षाका लागि लडिरहेको छ । यो कालापानी रक्षाको लडाइँ, लिपुलेक र लिम्पियाधुराको रक्षाको हुँकार विद्रोहको ज्वालामुखी बनेर आततायी, राष्ट्रघाती, जनघाती सत्ता र व्यवस्थाकै विरुद्ध शक्तिशाली खम्बा भएर नालापानीमा झैँ उभिने सम्भावना बढिरहेको छ र त्यो आवश्यक पनि छ ।२०७६, २ मंसिर सोमबार ०९:१६ ई-रातो खबर

प्रतिकृया दिनुहोस्