‘समाचार र विचारको
साझा चौतारी’




झापामा भूमि अतिक्रमण


शम्भु दाहाल

झापा / भारतसँग सिमा जोडिएको झापा जिल्लाको १ सय १८ किलोमिटर सिमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भुभाग भारतले अतिक्रमण गरेको तथ्य फेला परेको छ ।
भारतले अहिले झापाका ती क्षेत्र आफ्नो ‘गुगल म्याप’ मा समावेश गरे सँगै यो तथ्य बाहिर आएको हो । भारतले पूर्वको सिमाना मेचीनदीको विभिन्न ८ तटीय क्षेत्र, मेचीपारिको गाउँ, कचनकवलको पाठामारी, साबिक महेशपुर, लगायतका स्थानहरुमा नेपाली भुभाग मिचिएको स्थानीय तथा सिमाविद्हरुले बताएका छन् । कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीपारिको सन्थालवस्तीको ७ घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भूभाग २०५२ सालअघि नेपालमै थियो । तर भारतीय प्रशासन, सुरक्षा फौजले विभिन्न बहानामा नेपाली भुभाग आफ्नो भएको दाबी गर्ने गरेको भद्रपुर–३, मेचीपारी गाउँका स्थानीय श्रीप्रसाद महत्तोले बताए ।
१०४ र १०५ नम्बर सीमा पिलरले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर भी आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ । २०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भूभागबाट मेची नदी बगेको इतिहास छ । १०४ नम्बर पिलर नजिकै भारतको सन्थालबस्ती छ । पहिला त्यो बस्ती नेपालमा थियो । नेपालको धनिपूर्जा भएका स्थानीय २० वर्षपछि भारतीय नागरिक भएको भारतीय नागरिक सम र्मुर्मु बताउँछन् ।


भारतमा ब्रिटीस शासन भएको बेला नेपाल भारत बीच भएको सुगौली सन्धि बमोजिम दुवै देशको सीमा जंङगे पिलरले छुट्याइएको थियो । जङगे पिलरलाई सीमा पिलर मानेर सीमावर्ती आसपासका क्षेत्रमा बर्षौदेखि नेपाली बसोबास गर्दै आइरहेका थिए । पूर्वको सिमाना मेचीनदीको वहाव परिवर्तन र बाढीका कारण सिमास्तम्भ बगाउदा भारतले २०४३ सालतिर सीमा मिच्न सुरु गरेको स्थानीयहरु बताउँछन् । २०५२ सालमा आफुले भोगचलन गर्दै आएको नेपाली भूमीको धनीपुर्जा बनाउन खोज्दा पुरै भूमि भारततर्फ परेपछि उक्त क्षेत्रका स्थानीय समस्यामा परेको प्राध्यापक तथा सिमाविद् चिन्तामणी दाहालले बताए ।
पटक पटक भारतीयले दादागिरी शैलीमा बर्षौंदेखी नेपाली भूमि कब्जा गरिरहँदा पनि स्थानीय प्रशासन र सरकारले खासै चासो नदिएकोमा सिमावर्ती क्षेत्रका नागरिकको गुनासो छ । नेपालतर्फ दशगजा क्षेत्रको सुरक्षा प्रभावकारी नभएकाले सिमामा भारतीयको दबदबा बर्षौंदेखी रहेको उनीहरुको भनाई छ । नेपाल–भारत सीमामा रहेको मेची नदीबाट नेपाली किसानहरुले पानी ल्याउन समेत भारतीय एसएसबीले अवरोध गरेका कयौँ घटनाहरु छन् । त्यतिमात्र होइन उनीहरु कानुनविपरित ढंगबाट नेपाली भुमिमा हातहतियारसहित पस्ने गरेका घटनाले पनि सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरु त्रासपूर्ण रुपमा बस्न बाध्य छन् ।janasamsadonline

प्रतिकृया दिनुहोस्