‘समाचार र विचारको
साझा चौतारी’





हरायो



जी एन शर्मा

ढोक्सा हरायो , पेरुङ्गो हरायो
हरायो फालि र कनकर्नो हरायो
मस्याम हरायो , मस्यौरा हरायो, जुनेलो अनि सिलाम हरायो
थाक्रो हरायो, भरसेली हरायो, मतान र तगारो हरायो
जोतारो हरायो , अनौ हरायो, धिमे अनि खैजडी पनि हरायो
यहाँ हराउँदै छ, हराएको हरायै छ

झ्याम्टा हरायो, पालम हरायो , हरायो गजरा र गुन्द्री हरायो
चुलेसी हरायो , बलेसी हरायो मान्द्रो र भकारी हरायो
मुरली हरायो, तबेला हरायो, ढिकी र जोतारो हरायो
खरानी हरायो,, मस्को हरायो, हनबेर्नो र हसिँया हरायो
हराउनेक्रम जारी छ, बाँकी केही छ भने हराउन
अब ,हामी मात्रै छौँ
पालो छ अब हामी हराउन
हरायो, ढाकरे हरायो, हली हरायो, जुठूल्नो र जुठे हराए
कमेरो हरायो, भँगेरो हरायो, पुतली र परेवा हराए
गुलेली हरायो , सुशेली हरायो, चौँरी र चौर हराए

चरन हरायो, सरम हरायो, आत्मियता र आफ्नो हरायो
साँध हरायो, सिमना हरायो, सिउँडी र शितल हरायो
मन हरायो, पन हरायो आशा र सपना हरायो
हराउन त अब हाम्रो पालो छ
हामीनै हराएपछि त के पो रहला र ?
हामीनै बिलाएपछि त के पो रहला र !

प्रतिकृया दिनुहोस्