‘समाचार र विचारको
साझा चौतारी’





दासविद्रोह र दासप्रथाको पतन


– अनुवाद : भेषराज भुसाल

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो। दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गथ्र्याे । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो । धातुका औजारहरूको प्रयोगका साथै कृषि, पशुपालन र दस्तकारी उद्योग तीव्रताका साथ विकसित भए । कृषि राष्ट्रिय अर्थव्यवस्थाको सबभन्दा महत्वपूर्ण घटक बन्न गयो । घोडा, भैँसी, भेडा, कुखुरा, कुकुर र सँगुरलाई घरपालुवा बनाइयो ।

चीनमा दास समाजका समयको फूलकाशाबाट बनेको एउटा आनुष्ठानिक पात्र भेटिएको छ । ११० सेन्टिमिटर अग्लो र १४०० केजी तौल भएको यस पात्रलाई धेरै नै दस्तकारहरूको मिलीजुली प्रयासहरूबाट मसिनो अत्यन्त सुन्दर डिजाइनसहित साँचामा ढालेर बनाइएको थियो । यसबाट अनुमान लगाउन सकिन्छ– त्यस समयमा उत्पादन कौशल र दस्तकारी कति उच्च स्तरसम्म पुगेको थियो ।

दास समाजका उत्पादन सम्बन्धहरूले उत्पादक शक्तिहरूको विकासलाई एक हदसम्म अगाडि बढायो । परन्तु यी उत्पादन सम्बन्धहरूमा उत्पादक शक्तिहरूको विकासका निम्ति अन्तरविरोधहरू अन्तरनिहित थिए । उत्पादक शक्तिहरूको विकास हुनुसँगै ती अन्तरविरोधहरू अझ पेचिला हुन गए । दासहरूको ठूलो आवादीले दासमालिकका क्रूर शोषण–दमनलाई अब अरू सहन सक्दैनथे । उनीहरूले आफ्नो काम ढिलो गरिदिन्थे । धेरै दासहरू एकसाथ भाग्ने गर्थे र जानीबुझीकन उत्पादनका औजारहरू नष्ट गर्दथे । एकातर्फ दासमालिकले उसको दमनलाई तीव्र गरिदिए जसबाट धेरै ठूलो सङ्ख्यामा दासहरूको अकालमै मृत्यु हुन थाल्यो र अर्कोतर्फ उनीहरूले ठूलाठूला औजारहरू ल्याए जसलाई सजिलै नोक्सान पुर्याउन सकिँदैनथ्यो । यद्यपि यसबाट शक्तिहरूको विकास अवरुद्ध हुनुको एउटा कारण व्यवस्थाद्वारा शारीरिक श्रमप्रति गरिएको तिरस्कारपूर्ण दृष्टिकोण पनि थियो । दामासाही हुन पुगेका साना उत्पादक शारीरिक श्रममा लाग्नुभन्दा यताउता लखरिन मन पराउने गर्दथे । यी सम्पूर्ण चीजहरूले के देखाउँथ्यो भने दास समाजका उत्पादन सम्बन्ध उत्पादक शक्तिहरूको विकासका अनुकूल रहन गएका थिएनन् । यसको अन्त्य त्यत्तिकै अपरिहार्य थियो जत्तिको यसको अविर्भाव ।

दास समाजको अन्तिम समयमा सामन्ती उत्पादन सम्बन्ध अगाडि आउन लागे । दास राज्यद्वारा भूमिको स्वामित्व दास समाजमा उत्पादन सम्बन्धहरूको आधार थियो । चीनमा यिनचाउ कालमा भूमिमाथि राज्यको स्वामित्व चिङ्तियनको सीमामा आउने समस्त भूमि ‘सामुदायिक’ भूमि भन्ने गरिन्थ्यो । यो ‘स्वर्गपुत्रद्वारा नियुक्त’ राजकीय अधिकारीहरूको कब्जामा थियो । उत्पादक शक्तिहरूको विकाससँगै केही दास मालिकहरूले ठूलो मात्रामा ‘निजी भूमि’ मा दासहरूद्वारा खेती गराउनका निम्ति भरपूर कोसिस गरे ताकि अरू धेरै अतिरिक्त श्रमको शोषण गर्न सकियोस् । ‘ निजी भूमि’ को विस्तारसँगै ‘सामुदायिक भूमि’ को व्यवस्था कमजोर हुँदै गयो । त्यसै समयमा भूस्वामी वर्ग अगाडि आयो । उनीहरूले चिङ तियनको अन्त्य र खेतहरूको बीचबाट मेडआली हटाउनका निम्ति जोडदार रूपमा वकालत गरे । दास सुस्तसुस्त भूदास बन्दै गए । सामन्ती उत्पादन सम्बन्धहरूका मुनाहरू फक्रन थाले ।

दास समाजका आधारभूत वर्ग दास मालिक वर्ग र दास थिए । यी दुई वर्गका अतिरिक्त स्वतन्त्र किसान र दस्तकार थिए । दास सामाजिक समूहका सबभन्दा तल्लो पाउदानमा थिए र दास मालिकको क्रूरतम् शोषण–उत्पीडनका सिकार थिए । दास समाजको पूर्ण अवधिमा दासहरू र दास मालिकहरूका बीचमा हिंसात्मक सङ्घर्ष चलिरह्यो । चीनमा ‘वसन्त र शिशिर’ का अवधि दासप्रथाबाट सामन्तवादमा सङ्क्रमणको अवधि थियो । चीन नामक एउटा दासको नेतृत्वमा करिब ९००० दासहरूले देशभर सामन्ती प्रमुखहरूमाथि आक्रमण गरेर उनीहरूलाई छट्पटी गर्ने बनाइदिए । दास विद्रोहले दास मालिकहरूमाथि गम्भीर चुनौती दियो । दुनियाँका देशहरूमा दासहरूको विद्रोहले अनेक शौर्यपूर्ण गाथाहरूलाई जन्म दियो । उदाहरणका निम्ति रोमन कालमा स्पार्टाकसको नेतृत्वमा सबभन्दा ठूलो विद्रोह भयो जसमा १,२०,००० मानिसहरूले भाग लिए । यस विद्रोहले सम्पूर्ण रोमन साम्राज्यका जरा हल्लाइदियो । हिंश्रक दास विद्रोहहरूले दास मालिकको राजनीतिक सत्तामाथि जबर्जस्ती चोट पुर्यायो र दासप्रथाको पतनलाई तीव्र बनाइदियो । टुट्नु र विखण्डन हुनुसँगै सामन्ती उत्पादन सम्बन्ध सुस्तसुस्त परिपक्व हुँदै गयो । सामन्ती उत्पादन सम्बन्धहरूको प्रतिनिधित्व गर्नेहरूले नयाँ विकसित भएका भूस्वामीहरूले दास मालिकहरूको शासनलाई उखेलेर फाल्नका निमित्त श्रमजीवी जनताको शक्तिलाई प्रयोग गरे र भूस्वामीहरूको शासन स्थापित गरे । सामन्तवादले अन्तिम रूपबाट दासप्रथाको स्थान लियो ।

सामन्तवाद वर्गसङ्घर्षमा आधारित एउटा अर्को शोषक व्यवस्था हो । सामन्ती भूमि स्वामित्व सामन्ती समाजको आर्थिक आधार हो ।

सामन्ती समाजको उत्पादन सम्बन्ध भूस्वामी वर्गद्वारा भूमिको स्वामित्व र भूदासहरूमाथि लगभग पूर्ण नियन्त्रणमा आधारित थियो । भूस्वामी अधिकांश जमिनका मालिक थिए । किसानहरू र भूदासहरूसँग आफ्नो जमिन नाम मात्रको वा छँदै थिएन । जीवनयापनका निम्ति उनीहरू भूस्वामीको जमिनमा खेती गर्न बाध्य थिए । यसरी उनीहरू सामन्ती भूमि व्यवस्थामा बाँधिएका थिए । उनीहरूको व्यक्तिगत स्वतन्त्रता खोसिएको थियो र भूस्वामीहरूका क्रूर शोषण–उत्पीडनका सिकार भएका थिए ।

भूस्वामीहरूद्वारा किसानहरूको शोषणको मुख्य तरिका उनीहरूलाई जोत्न दिइएको जमिनबाट असुल गरिने लगान थियो । सामन्ती लगान तीन प्रकारका थिए : श्रमका रूपमा लगान, वस्तुका रूपमा लगान र मुद्रा लगान ।

सामन्ती समाजको प्रारम्भिक अवस्थामा श्रमका रूपमा लगान प्रचलित थियो । यसअन्तर्गत किसानहरूका आफ्ना औजारहरूको प्रयोग गरेर भूस्वामीको जमिनमा निश्चित समयसम्म काम गर्नुपथ्र्यो । किसानले भूस्वामीका निम्ति काम गरिसकेपछि मात्र आफ्नो जमिनमा काम गर्न पाउँथे। यसप्रकारको भूमि लगानअन्तर्गत शोषक र शोषितका बीचको सम्बन्ध एकदम स्पष्ट थियो । किसानहरूको आफ्नो जमिनको बालीनाली उनको आफ्नो हुन्थ्यो । त्यसकारण उनीहरूको रुचि आफ्नो जमिनमा गरिने श्रममा हुने गर्दथ्यो । भूस्वामीको जमिनमा किसानहरूको श्रमबाट हुने कृषि उपजमाथि पूर्ण रूपमा भूस्वामीको हक हुने गर्दथ्यो । स्वाभाविक रूपमा किसानहरूमा त्यस्तो श्रमप्रति कुनै प्रकारको उत्साह हुँदैनथ्यो । भूस्वामी पनि किसानहरूको व्यवहारमा हुने यसप्रकारको अन्तरलाई राम्रोसँग बुट्टझ्थे । आफ्नो जमिनमा किसानहरूलाई कडा मेहनत गराउनका निम्ति धेरैधेरै कारिन्दा राख्थे जसको काम कडा अनुशासन लागू गर्नु हुन्थ्यो । यसप्रकार यस्तो लगान व्यवस्थामा उत्पीडक र उत्पीडित, शासक र शासितको सम्बन्ध एकदम स्पष्ट थियो । सामन्तवादको सुरुको अवस्थामा उत्पादक शक्तिहरू धेरै कमजोर थिए । भूस्वामीले प्रत्यक्ष जोरजबर्जस्तीको सहारा नलिईकन किसानहरूको अतिरिक्त श्रम हडप्न सक्दैनथ्यो । यसप्रकारको सामन्ती लगानलाई किसानहरूले हिंसात्मक प्रतिरोध गरे ।

त्यसपछि उत्पादक शक्तिहरूको विकासको संवेगका कारण तथा आफ्नो त्यस इच्छाका कारण कि शोषण त अरू बढ्यो तर शोषणको नियम लुकाइराखे । भूस्वामी वर्गले श्रम लगानको स्थानमा वस्तुका रूपमा लगान अपनाए । वस्तुका रूपमा लगानअन्तर्गत किसानहरूलाई भूस्वामीको रेखदेखमा काम गर्नु पर्दैनथ्यो । किसानको आफ्नो सम्पूर्ण श्रममाथि आफ्नै नियन्त्रण थियो । यद्यपि उनीहरूले निश्चित समयमा आफ्नो अतिरिक्त कृषिउपज भूस्वामीलाई बुझाउनु पर्दथ्यो । श्रम लगानको तुलनामा वस्तुका रूपमा लगान कृषिको प्रविधिको जानकारी र श्रमको उत्पादकतामा केही हदसम्म सुधार गर्नका लागि सहायक थियो । यद्यपि वस्तुका रूपमा लगान प्रायजसो किसानहरको कृषि उपजको ५० प्रतिशत वा कहाँसम्म भने ७० देखि ८० प्रतिशत हुने गर्दथ्यो । जीवनयापनको न्यूनतम् स्तर बनाइराख्नका निम्ति किसानहरूलाई कामको घन्टा बढाउनु पर्दथ्यो र ढाड भाँचिने गरी मेहनत गर्नु पर्दथ्यो । यस्तो गर्दा पनि किसान भयङ्कर गरिबीको जीवनबाट माथि उठ्न सक्दैनथे ।

मुद्रा लगान सामन्ती समाजको उत्तराद्र्धको समयतिर अस्तित्वमा आयो । त्यस समयमा उत्पादक शक्तिहरू पहिलेभन्दा कैयौँ धेरै उन्नत थिए । मुद्रा र मालको सम्बन्ध व्यापक रूपबाट विकसित भइसकेका थिए । आफ्नो विलासीपूर्ण र इज्जत– प्रतिष्ठासहितको जीवनका निम्ति भूस्वामीलाई अझ धेरै धनको आवश्यकता रहने गर्दथ्यो । यस्तो परिस्थितिमा मुद्रा लगान अगाडि आयो । मुद्रा लगानअन्तर्गत किसानहरूले आफ्नो कृषि उपज मुद्राको बदलामा बजारमा बिक्री गर्दथे र त्यसबाट लगान भुक्तानी गर्दथे । जब कृषि उपज राम्रो हुन्थ्यो तब व्यापारीले मूल्य घटाएर किसानहरूको रगतपसिनाका एकएक थोपा निचोर्ने गर्दथे । यस्तो हुँदै जाँदा किसानहरूको जिन्दगी अझै दयनीय हुन गयो र उनीहरू प्रायः गरिबीको डिलमा रहने गर्दथे ।

सामन्ती समाजमा किसानहरूको धेरै जनसङ्ख्यालाई सामन्ती लगानद्वारा शोषण हुने गर्दथ्यो । उनीहरूले सामन्ती राज्यको धेरै करको बोझ पनि भुक्तान गर्नु पर्दथ्यो र सुदखोरहरूको सिकार पनि बन्नु पर्दथ्यो । भूस्वामीले नोकरशाहहरू र सेनाका साथ मिलेर किसानहरूको खेतीपाती लुट्ने गर्दथे, उनीहरूको जायजेथा हडप्ने गर्दथे र उनीहरूबाट बलजफ्ती बेठीबेगार गराउँथे । किसानहरूको धेरै ठूलो आवादी हरेक प्रकारका आर्थिक शोषणका सिकार भएका थिए । किसान विद्रोह सामन्ती समाजमा निरन्तर पेचिलो बन्दै गएको वर्गअन्तरविरोधहरूको प्रतिबिम्ब थियो।

दास समाजको स्थानमा सामन्ती समाज आउनु इतिहासमा अगाडिको एउटा पाइला थियो । सामन्ती उत्पादन सम्बन्ध सामन्ती समाजको आरम्भिक अवस्थामा उत्पादक शक्तिहरूलाई अगाडि बढाउनका निम्ति अनुकूल थिए । कृषि उत्पादनका प्रविधिहरू उन्नत भए र उपकरणहरूमा सुधार भयो । उत्पादनमा फलामका उपकरणहरूको प्रयोगमा विस्तार भयो । कृषि बालीनालीको विविधता र मात्रा दुबै बढे । साथै कालीगढी उद्योग धेरै फुल्यो–फल्यो । चीनमा युद्धरत राज्यहरूमा पानी जम्मा गर्ने ठूलाठूला परियोजनाहरू बनाइयो जस्तो कि सेचुवान प्रान्तको तुचियाङ तटबन्ध आज पनि उपयोगमा आइरहेको छ । नुन बनाउनु, धातु विज्ञान, रेसमी कपडा, कवाई बुनाई, चिनियाँ माटो र माटोका भाँडावर्तन, कसिदाकारीका कार्य चिनियाँ सामन्ती समाजमा धेरै विकसित थिए । कुनुबनुमा, बारुद, कागज र ब्लाकबाट छपाइको आविष्कार धेरै पहिले गरिसकिएको थियो ।

परन्तु सामन्ती उत्पादन सम्बन्धहरूको मातहत उत्पादन मूलतः घरपरिवारका आधारमा हुने साना परिमाणका उत्पादन नै थिए । थोरै परिमाणका यी उत्पादन शक्तिहरूको अझ विकासका निम्ति भने अनुकूल थिएनन् । सामन्ती उत्पादन सम्बन्धहरूका मातहत कवास गरेर किसानहरूको ठूलो आवदि क्रूर शोषण उत्पीडनका सिकार थिए र उत्पादनको विकासका सम्भावनाहरू धेरै कम थिए । सामन्ती उत्पादन सम्बन्धहरू र उत्पादक शक्तिहरूका बीचका अन्तरविरोध भूस्वामी र किसानका बीच वर्गअन्तरविरोधका रूपमा प्रतिबिम्बित भयो । यो सामन्ती समाजको प्रमुख अन्तरविरोध थियो । अन्तरविरोधको सर्वोच्च अभिव्यक्ति थिए भूस्वामीको शासनको प्रतिरोधका निम्ति किसानहरूको विशाल आवादीको हतियारबन्द विद्रोह । यस्ता विद्रोह र सङ्घर्ष सामन्तवादको पूरै अवधिका एकलाक्षणिक विशेषता थिए । करिव २०० इशापूर्ण चिन शिह– हुआङद्वारा चीनलाई एकीकरण गर्ने र पहिलो सामन्ती तानाशाहीको स्थापनाको केही समयपछि चीनको इतिहासको पहिलो महान् किसान विद्रोह भड्कियो । त्यसका नेता थिए चेन सेङ र कुआङ । त्यसपछि उन्नाईसौँ शताब्दीको मध्यममा ताइपिङ विद्रोहसम्मका २००० वर्षभन्दा पनि लामो अवधिको समयमा सयौँ सानाठूला किसान विद्रोह र किसानहरूका क्रान्तिकारी युद्धहरूको हवाला मिल्छ । चीनको इतिहासमा किसान विद्रोहहरूका आकार र सङ्ख्या दुनियाँभरभन्दा धेरै रहेका छन् । ‘यी किसान वर्गसङ्घर्ष, किसान विद्रोह र किसान युद्ध नै ऐतिहासिक विकासका वास्तविक प्रेरक शक्ति थिए । रहेक ठूला किसान विद्रोह र किसान युद्धले तत्कालीन शासनमाथि आधर गरेर उनीहरूले सामाजिक उत्पादक शक्तिको विकासलाई केही हदसम्म अगाडि बढाए ।’८ परन्तु चेन पोन्ताजस्ता गद्दारहरूले सामाजिक उत्पादक शक्तिहरूको विकासको श्रेय सामन्ती शासक वर्गद्वारा दिइएको ‘सहुलियत’ लाई दिने गर्छन् । यो कुरा ऐतिहासिक तथ्यहरूको विपरीत हो । इतिहासमा भूस्वामीहरूले कहिल्यै किसान विद्रोहहरूलाई सहुलियत दिएनन् । उनीहरूले सधैँभरि हत्या, दमन, प्रतिरोधपूर्ण आक्रमण र षड्यन्त्रको सहारा लिए तर ‘सहुलियतहरू’ कहिल्यै दिएनन् । ‘सहुलियतहरू’ का बारेमा चेन पोन्ताको सिद्धान्त केवल भूस्वामीहरूको छवि उजिल्याउने एउटा प्रयास थियो ।२०७६, १० मंसिर मंगलवार ०८:३७ ई-रातो खबर

प्रतिकृया दिनुहोस्