‘समाचार र विचारको
साझा चौतारी’





के भिन्नता बाँकी छ काङ्ग्रेस र कम्युनिस्टमा ?


■ देवप्रकाश त्रिपाठी

आँपको विकल्प आँप हुन सक्दैन, विकल्पमा पनि आँप नै ग्रहण गरिनुपर्छ भने त्यो बाध्यता हो । रातोको विकल्प हरियो, नीलो, पहेँलो या अरू जुनसुकै रङ्गलाई मान्न सकिन्छ, तर रातोको विकल्प रातो हुन सक्दैन । ढुङ्गाको विकल्प इँटा हुन सक्ला, तर सेतोको सट्टा कालो ढुङ्गामा चित्त बुझाउनुचाहिँ बाध्यता मात्र हुन्छ । काठको विकल्प आल्मुनियम या फलाम बन्न सक्छ, यदि एउटा काठको सट्टा अर्को काठ प्रयोग गर्नुपऱ्यो भने त्यो विकल्प नभएर बाध्यता हुन्छ ।

कहिलेकाहीँ मानिसलाई रोजाइका यस्ता बाध्यता हुन्छन् कि आफूले चाहेको वस्तु नभेटिएपछि बजारमा फेला परेकामध्ये कुनै एउटाबाट नै काम चलाउनुपर्ने हुन्छ । जब उपलब्ध सामानमध्येबाट काम चलाउनुपर्ने अवस्था आउँछ भने त्यसले उपभोक्तामा सन्तुष्टि पैदा गर्न सक्दैन । खोजेको ‘त्यस्तो’ हो, तर ‘यस्तै’बाट काम चलाउनुपरेको छ भन्दै चित्त बुझाउनु मानिसको खुसी नभई बाध्यता हो । जुन बाध्यात्मक अवस्था केही वर्षदेखि नेपाली जनताले राजनीतिमा समेत झेल्नुपरिरहेको छ ।

जरा भिन्न भएका रूख हाँगा जोडिएपछि उत्पन्न हुने भ्रम र बाध्यताको सिकार नेपालीजनले हुनुपरेको छ । फेद हेरेर अलग रूख भन्न सकिने, तर हाँगाले दुईवटा रूख भन्नै नमिल्ने स्थितिमा मानिस जुन मनोदशाबाट गुज्रनुपर्ने हुन्छ ठीक त्यही अवस्था नेपाली राजनीतिमा पैदा भएको छ । निर्वाचन आयोगमा दर्ता भएका दलहरूको सङ्ख्या जतिसुकै भए पनि नेपाली जनताले चिनेका काङ्ग्रेस, कम्युनिस्ट, जनमोर्चा, राप्रपा र तराईकेन्द्रित समूह मात्र हुन्, यिनै दलहरूबीच पनि नाम र इतिहासबाहेक सिद्धान्त, विचार, व्यवहार र गन्तव्यमा के अन्तर छ भन्ने प्रश्न उठ्यो भने जवाफ खोज्न मुस्किल छ ।

नामबाहेक बाँकी सबै आधार–तत्व एकनास छ सबैको, एउटै दलमा नअटाएर भिन्न–भिन्न दल बनेर बसेजस्ता । देशभक्तिमा को अब्बल, इमानदारीमा को अगाडि, राष्ट्रियता, राष्ट्रिय एकता र देशको इतिहास, सभ्यता एवम् मौलिक धर्म–संस्कृतिप्रति को प्रतिबद्ध र, को चाहिँ ज्यादा भरोसायोग्य छ भन्नेजस्ता प्रश्न अघि सऱ्यो भने जवाफ नदिईकन पछि हट्नुपर्ने अवस्था छ । कोही प्रजातन्त्रका नाममा ठगी गर्दै छन् त कोही समाजवाद त कोही सङ्घीयता त कोही राजा र धर्मका नाममा ठगी गर्दै छन्, ठगीचाहिँ सबैले गरिरहेका छन् र नठगीकन तिनको निर्वाह नचल्ने पनि अब सिद्ध भइसकेको छ ।

कम्युनिस्टहरू भ्रष्ट छन्, काङ्ग्रेस र अरूहरू ज्यादा इमानदार छन् भनौँ भने कसैगरी पनि यो सिद्ध गर्न सकिँदैन । भ्रष्टाचारका कुनै प्रकरण काङ्ग्रेसबाट शुरु भई कम्युनिस्टमा पुगेर टुङ्गिएको हुन्छ त कुनै कम्युनिस्टबाट शुरु भएर काङ्ग्रेससम्म पुगेको भेटिन्छ । भ्रष्टाचार र बेइमानीमा सबैथरी बराबर छन्, भ्रष्ट र बेइमानहरूमध्येबाटै एउटा रोज्नुपर्ने बाध्यतामा जनता छन् । कम्युनिस्टहरू धर्म मान्दैनन् र उनीहरू धर्मनिरपेक्षता तथा इसाईकरण्को पक्षमा छन्, त्यसैले काङ्ग्रेसलाई समर्थन गर्नुपर्छ भनौँ भने काङ्ग्रेस झन् नौ फिट उफ्रिएर धर्मनिरपेक्षता उर्फ इसाईकरणलाई महान् उपलब्धिका रूपमा व्याख्या गर्दै छ । भारतमा नेपाली काङ्ग्रेसको जन्म हुँदा जे–जस्ता मान्यता बनाएको भए पनि २०४७ सम्म आइपुग्दा काङ्ग्रेस पार्टीले वैदिक सनातन हिन्दू राष्ट्रलाई सैद्धान्तिक रूपमै अपनाइसकेको थियो । अहिले नेपाली धर्म–संस्कृतिको संरक्षण गर्ने पक्षमा कुनै पनि दल देखिएका छैनन् ।

काङ्ग्रेस र कम्युनिस्टबीच कुनै प्रकारको भिन्नता नै नभएकोचाहिँ होइन । पहिलो भिन्नता त नामकै छ, दोस्रो भिन्नता नेताहरूको अनुहारको छ। तेस्रो भिन्नता उनीहरूका श्रीमती पनि भिन्नभिन्नै छन् । चौथो, काङ्ग्रेसका नेता एक्लै भ्रष्टाचारमा सामेल हुन्छन् र एक्लै खान्छन्, कम्युनिस्टका नेता मिलेर भ्रष्टाचार गर्छन् र एक्लै भ्रष्टाचारमा सामेल भएको भए पनि मिलेर खान्छन् । पाँचौँ, काङ्ग्रेसका नेता विदेशबाट सीधै नगद ग्रहण गर्छन्, कम्युनिस्टहरू एनजीओमार्फत र सीधै दुवै तरिकाले नगद समेट्छन् । काङ्ग्रेसहरू उदार अर्थनीतिका नाममा लुटपाट गर्छन्, तर कम्युनिस्टहरू समाजवाद र क्रान्तिका नाममा लुट मच्चाउँछन्, यसलाई छैटौँ भिन्नता मान्न सकिन्छ । कम्युनिस्टहरू आफैँ हिंसात्मक क्रियाकलापमा संलग्न हुन्छन्, काङ्ग्रेसचाहिँ हिंसात्मक क्रियाकलाप गर्नेहरूलाई संरक्षण गर्ने र सत्तामा पुऱ्याउनेहरूसम्मका कार्य गर्छ ।

भोट प्राप्तिका लागि गरिने भाषण या लेखिने दस्तावेजका आधारमा कुनै पनि राजनीतिक दल मौलिक धर्म–संस्कृतिको रक्षा र धर्मसापेक्षताको पक्षमा रहेको विश्वास गर्न सकिँदैन । कम्युनिस्टहरू सार्वभौमिकता विभाजनको पक्षमा गए, काङ्ग्रेस एकीकृत सार्वभौमिकताको पक्षमा छ भनौँ भने त्यो पनि होइन । देशको विखण्डन/विभाजनलाई काङ्ग्रेसले पनि महान् उपलब्धि भनिरहेकै छ । जनमोर्चा नामको एउटा समूहलाई एकात्मकताको पक्षमा र सङ्घीयताको विपक्षमा रहेको ठानिन्थ्यो, देशविरुद्ध जारी संविधानमा ल्याप्चे लगाउन पुगेपछि जनमोर्चाका थोत्रा वाणी पनि जनता भुलाउने जाल मात्र भएको पुष्टि भइसकेको छ । काङ्ग्रेसले त नेपाललाई एक होइन दुई राष्ट्र मुलुक घोषणा गर्न मात्र बाँकी राखेको छ । कुनै पनि दिन काङ्ग्रेसको नेताका माइकबाट नेपाल दुई राष्ट्र मुलुक भएको घोषणा गरियो भने आश्चर्य मान्नुपर्दैन ।

कम्युनिस्टहरूजस्तो जातीयतावादी सोच काङ्ग्रेसमा छैन भन्न पनि काङ्ग्रेसका शुभचिन्तकहरूले पाएका छैनन् । ठ्याक्कै कम्युनिस्टको बोलीमा लोली मिलाउँदै काङ्ग्रेसका नेता जातिवादका कट्टर हिमायती भूमिकामा देखापरेका छन् । मुलुकलाई स्थायी ढङ्गमा जातीय विभाजन गराउन लागू गरिएको जातीय आरक्षणको अवधारणालाई पनि काङ्ग्रेसले महान् उपलब्धिका रूपमा चित्रण गरिरहेकै छ । कम्युनिस्टहरू अधिनायकवादी चरित्रका हुन्छन् काङ्ग्रेस नेतृत्वको सोच–व्यवहार प्रजातान्त्रिक छ भनौँ भने त्यो झन् गलत हुनेछ । कुनै समय काङ्ग्रेसका नेताहरू प्रजातन्त्रसम्मत व्यवहारमा देखिन्थे भने पनि अहिले त्यो एकादेशको कथाजस्तो भइसकेको छ । काङ्ग्रेसका नेताहरूमा प्रजातान्त्रिक व्यवहार भेटिन मुस्किल छ । चुनिने शेरबहदाुर चलाउने आरजु भएपछि त झन् काङ्ग्रेसमा निरङ्कुशता र आत्मकेन्द्रित संस्कारले मजबुत पकड नै कायम गरेको छ । प्रजातन्त्रको डिङ जतिसुकै हाँके पनि काङ्ग्रेस नेतृत्वको सोच र शैली कम्युनिस्टहरूको भन्दा कुनै पनि अर्थमा भिन्न देखिँदैन ।

समाजवादउन्मुख, वामपन्थी निरङ्कुशताको पक्षधर, राष्ट्रिय एकता र धर्मसंस्कृतिविरुद्धमा ल्याइएको संविधान र त्यसको अन्तर्वस्तुमा काङ्ग्रेस आँखा चिम्लिएर समर्थन गर्दै छ । वामपन्थी कम्युनिस्ट अधिनायकवाद संस्थागत गर्न जारी संविधानलाई उपलब्धि ठान्नेहरू, यस्तो संविधान ल्याउन बल गर्नेहरू, यो संविधानको रक्षा गरिनुपर्छ भन्नेहरूको रूप फरक–फरक देखिएको भए पनि उनीहरू ‘एउटै ड्याङका मूला’ हुन्, भिन्न देख्नु केवल देख्नेको भ्रम मात्र हो । तराईकेन्द्रित समूहभन्दा ज्यादा क्षेत्रीयतावादको वकालत गर्ने, वामपन्थीभन्दा ज्यादा धर्म र धर्मसापेक्षताको विरुद्ध प्रस्तुत हुने, कम्युनिस्टभन्दा सात हात बढी अग्रसर भएर इसाईकरणलाई सघाउने, सार्वभौमिकता विभाजनको वकालत गर्ने र राप्रपाभन्दा ज्यादा अवसरवादी व्यवहार प्रस्तुत गर्ने काङ्ग्रेस पार्टीले कम्युनिस्टको विकल्प दाबी गर्नु भनेको कालो बिरालोले सेतो बिरालो देखाउँदै आफू बेग्लै प्राणी भएको दाबी गर्नुजस्तै हो ।

यसको अर्थ काङ्ग्रेस र कम्युनिस्टबीच कुनै प्रकारको भिन्नता नै नभएकोचाहिँ होइन । पहिलो भिन्नता त नामकै छ, दोस्रो भिन्नता नेताहरूको अनुहारको छ । तेस्रो भिन्नता उनीहरूका श्रीमती पनि भिन्नभिन्नै छन् । चौथो, काङ्ग्रेसका नेता एक्लै भ्रष्टाचारमा सामेल हुन्छन् र एक्लै खान्छन्, कम्युनिस्टका नेता मिलेर भ्रष्टाचार गर्छन् र एक्लै भ्रष्टाचारमा सामेल भएको भए पनि मिलेर खान्छन् । पाँचौँ, काङ्ग्रेसका नेता विदेशबाट सीधै नगद ग्रहण गर्छन्, कम्युनिस्टहरू एनजीओमार्फत र सीधै दुवै तरिकाले नगद समेट्छन् । काङ्ग्रेसहरू उदार अर्थनीतिका नाममा लुटपाट गर्छन्, तर कम्युनिस्टहरू समाजवाद र क्रान्तिका नाममा लुट मच्चाउँछन्, यसलाई छैटौँ भिन्नता मान्न सकिन्छ । कम्युनिस्टहरू आफैँ हिंसात्मक क्रियाकलापमा संलग्न हुन्छन्, काङ्ग्रेसचाहिँ हिंसात्मक क्रियाकलाप गर्नेहरूलाई संरक्षण गर्ने र सत्तामा पुऱ्याउनेहरूसम्मका कार्य गर्छ ।

काङ्ग्रेसकाहरू दक्षिण र पश्चिमले भिराइदिएको झोला कोटभन्दा बाहिर झुन्डयाउँछन्, कम्युनिस्टहरू चिनियाँकोटले छोपेर मात्र दक्षिण र पश्चिमका झोला भिर्छन्, तर निकै बलियोसँग भिर्छन् ।

निर्दोष नागरिकका घाँटी रेट्ने बाबुराम–प्रचण्डहरूदेखि जिउँदो मानिसलाई इँटाभट्टामा हालेर जलाउने अफ्ताबसम्मका व्यक्तिका पक्षमा उभिएर काङ्ग्रेसले आफैँ हिंसात्मक क्रियाकलापमा सामेल नभए पनि हुनेहरूलाई संरक्षण गर्न प्रतिबद्ध रहेको सन्देश दिएको छ । कतै कुनै सुवर्ण अवसर उपलब्ध गराउँदा काङ्ग्रेसकाहरू आफ्नो श्रीमती र प्रेमिकासम्ममा सीमित हुन्छन्, विशेष अवस्थामा सासूसम्म पुग्छन्, तर कम्युनिस्टहरू नातासम्बन्धका हरेकलाई गच्छेअनुसारको अवसर उपलब्ध गराइदिन्छन् । काङ्ग्रेसकाहरू कार्यकर्ताको पूरै उपेक्षा गर्छन्, कम्युनिस्टहरू कार्यकर्तालाई हदैसम्म उपयोग गर्ने गर्दछन् र यदाकदा महत्व दिएझैँ पनि गर्छन् । काङ्ग्रेसकाहरू दक्षिण र पश्चिमले भिराइदिएको झोला कोटभन्दा बाहिर झुन्डयाउँछन्, कम्युनिस्टहरू चिनियाँकोटले छोपेर मात्र दक्षिण र पश्चिमका झोला भिर्छन्, तर निकै बलियोसँग भिर्छन् । यसप्रकारका अनेकौँ भिन्नता काङ्ग्रेस र कम्युनिस्टका बीचमा अहिले कायम हुन आएको छ ।

तर, इतिहासमा कुनै बेला काङ्ग्रेस र कम्युनिस्टबीच आकाश र जमिनजस्तै अन्तर देखिन्थ्यो । काङ्ग्रेस संवैधानिक राजतन्त्रसहित बहुदलीय संसदीय प्रजातन्त्रका पक्षमा उभिएको थियो, कम्युनिस्टहरू जनवादी गणतन्त्र आफ्नो अभीष्ट भएको बताउँथे । कम्युनिस्टहरू धर्म, संस्कृति र परम्पराका विरोधी थिए र विरोधी भएको सगौरव घोषणा गर्थे । तर, काङ्ग्रेसले धर्म, संस्कृति र परम्परा संरक्षणमा पनि ध्यान दिने गर्दथ्यो । उदार अर्थनीतिसहितको समाजवादी आर्थिक कार्यक्रमको पक्षमा काङ्ग्रेस थियो भने कम्युनिस्टहरू राज्य नियन्त्रित अर्थतन्त्रसहितको समाजवादी राजनीतिक प्रणालीका पक्षमा थिए । काङ्ग्रेस आमजनताको अधिकारको कुरा गर्थ्यो भने कम्युनिस्टहरू वर्गीय अधिकारमा मात्र जोड दिने गर्दथे । काङ्ग्रेसहरू पृथ्वीमा देशहरूको अस्तित्व स्वीकार गर्दै राष्ट्रियता र राष्ट्रिय एकताको रक्षाका निम्ति क्रियाशील हुन्थे भने कम्युुनिस्टहरू आफूलाई अन्तर्राष्ट्रियवादी भन्दै संसारबाट देश (राज्य)हरू उन्मूलन गरिनुपर्छ भन्ने गर्दथे । राज्य देशभित्रका सबै नागरिकको सेवा र सुविधाका निम्ति खडा भएको संयन्त्र या निकाय हो भन्ने मान्यता काङ्ग्रेसको थियो भने कम्युनिस्टहरू राज्यलाई शोषणको साधन ठान्ने गर्दथे । यसप्रकारका कैयन मौलिक अन्तर थिए काङ्ग्रेस र कम्युनिस्टका बीचमा, त्यसैले आममानिसलाई बुझ्न सजिलो थियो ।

वि.सं. २०६३ को प्रायोजित परिवर्तनसँगै काङ्ग्रेस–कम्युनिस्टबीचको आधारभूत अन्तरको अन्त्य भई केही रमाइला भिन्नताहरू मात्र बाँकी रहेका छन् । त्यसैले काङ्ग्रेसले आफूलाई कम्युनिस्टको विकल्प दाबी गर्ने हक गुमाइसकेको छ भनेर बुझ्नुपर्ने हुन्छ । राँगोबाट गाडा तान्ने कि गोरुबाट भन्ने स्थिति अहिले नेपाली राजनीतिमा छैन, कालो गोरुबाट गाडा तान्ने या माले गोरुबाट भनी रोज्न पाउने स्तरको राजनीति यतिबेला नेपालमा चलिरहेको छ । जुन रङको गोरुले गाडा ताने पनि परिणाम एउटै हो भन्नेचाहिँ हामीले अझै बुझ्न सकेका छैनौँ ।घटना र विचार,

 

प्रतिकृया दिनुहोस्