‘समाचार र विचारको
साझा चौतारी’





धरानमा काँग्रेसलाई प्रचण्डको सुझाव



जी एन शर्मा
उप निवार्चनको प्रचार प्रसारको दौरानमा बुधवार नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको भानुचौकबाट नेपाली काँग्रेसलाई मञ्चबाट सुझाव दिए । मंसीर १४ गते हुने उप निर्वाचनको प्रचारको क्रममा धरान आएका प्रचण्डले आफ्नो मन्तब्यको धेरै भाग नेपाली काँग्रेसलाई सुझाव दिएर सकेका थिए । उनले ने क पा भित्र खेल्न सकिन्छ कि भनेर आफु र अर्का अध्यक्ष के पी ओलीलाई राजनीतिक भाषामा हल्लाउन सकिन्छ कि भनेर जोडबल गरे पनि नेपाल र नेपाली जनताको वर्तमानको आबाश्यकता नेपालमा कम्युनिष्ट धुब्रीकरण र कम्युनिष्टको सरकारको अपरिहार्यताले ने क पा अझ सशक्त बन्दै गरेको जिकीर समेत गरेका थिए । आफ्नो मन्तब्यका क्रममा प्रचण्डले एउटा गुप्त कुरो खुलासा गरेको भन्दै भने ‘ मलाई एमालेसँग एकता नगरे पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने सम्मको अफर थियो तर देश र जनताको मागले मैले त्यसलाई गौण संझे र एमालेसँग हाम्रो एकता भयो ’ । उनले नेपाली काँग्रेसले आफु र अर्का अध्यक्ष के पी ओली बीच काँग्रेस नचाहिने टिका टिप्पणीको हल्ला चलाएको समेत बताए ।
प्रचण्डले आफ्नो भाषणको अवधिमा देशनै कम्युनिष्टमय भएको बताउँदै काँग्रेसलाई आफुले मायाँ गरेको किनकी लोकतन्त्रमा सबल प्रतिपक्ष चाहिने भएको उनको भनाई थियो । तर, काँग्रेस नचाहिने र भा्रमक प्रचारमा मात्र लागेकाले उसको यस्तै चालमाल हो भने भोलीका दिनमा काँग्रेसलाई खोज्न र बुझ्न म्यूजियमानै जानु पर्न सक्ने प्रचण्डको कथन थियो । आफ्नो मन्तब्यमा निक्कै हौसिएका प्रचण्डले नेपाली काँग्रेसप्रति घुमाउरो ब्यङ्ग कसेर आफ्नो पार्टी र सरकारको सहर्ष बचाउ समेत गरेका थिए ।प्रचण्डको भाषण सुन्दा लाग्थ्यो देश समृद्ध नेपालको बाटो हतार गरेर कुदेको कुदै छ अनि नेपाली जनता सुखी नेपालीको यात्रामा तछाडमछाड गरेर दौडिरहेकाछन् ।
प्रचण्डले आफु र अर्का अध्यक्ष ओलीबीचको सुमधुर सम्बन्धलाई घुमाउरो शैलीमा ब्यक्त समेत गर्न भ्याएका थिए । प्रचण्डको भाषण सुन्दा सालाखाल उत्तमनै थियो किनकी उनका मन्तब्यमा प्रतिपक्षप्रति सुझाव र देशबिकासको भरपुर मात्रा थियो ।तर, के प्रचण्डले भने अनुसारनै उनी नेतृत्वको पार्टी साच्चै कम्युनिष्ट जस्तो र सरकार पनि कम्युनिष्टकै हो भनेर यकिन गर्न सकिने खालको छ त ? सरकारको यो गतिविधि र प्रचण्ड नेतृत्वको ने क पा अहिले नेपालमा साच्चैको कम्युनिष्ट पथमा बढेको छ त यो कुरा त आउने दिनले समेत बताउला तर भर्खरै मन्त्री मण्डलमा भएको हेरफेर र ने क पा भित्र देखिएको अहिलेको कम्युनिष्ट स्कूलिङलाई हेर्दा यो पार्टी र सरकार संसदीय चक्र भन्दा बाहिर उति धेरै निस्किए जस्तो लाग्दैन । कार्यकर्ता माझ देखिएको एक प्रकारको भुत्ते जस्तो देखिने उत्सुकता र सरकारमा देखिएको संसदीय फेरोको अभ्यासले अहिलेनै ने क पा र ने क पाको सरकारलाई कम्युनिष्टको पक्का हो भनिहाल्न भने सकिने अवस्था छैन । प्रचण्डले बुधबार धरानमा काँग्रेसले सुध्रिएर जनमुखी काम गर्ने हो भने, नचाहिदो भ्रमको खेती गर्न छाडेर सत्य तथ्यको राजनीतिमा लाग्ने हो भने आउने दिनमा जनताले काँग्रेसलाईनै रोज्न सक्ने सदाशयता भनिरहदा प्रचण्डले आफ्नो पार्टी र सरकारको कार्यशैलीलाई भुले या जे गरकाछौँ ठिक गरेकाछौँ भनेर सरकार र पार्टीका कुरामा कतै पनि खोट देखेनन् त्यो प्रचण्डनै जानुन् । तर, नजिककै कुरा गर्दा मन्त्री मण्डलमा भएको हेरफेरले के प्रष्ट पारेको छ भने ने क पा पार्टी र सरकार अहिले पनि हाम्रा भन्ने कुरामा लोभको मन बोक्न छाडेको छैन रहेछ र पार्टी अनि सरकारमा गुट र शक्तिको खेलोफड्को हराएको रहेनछ भन्ने कुरा गोकर्ण बिष्टहरुको हविगतले छर्लङ्ग पारेको छ ।
राम्रो गर्ने जो हुन् या कमजोरी गर्ने जो हुन् , सरकारलाई जनमुखि र जनप्रिय बनाउन यस्ता कुरामा तेरो , मेरो र उसको भन्ने तुष राख्न हुदैन थियो तर चलखेल हटेन यसले पनि काँग्रेसलाई सुझाव दिन भन्दा पनि आफ्नो पार्टी र सरकारको कार्यशैलीलाई पनि नागरिकले तिखा आँखाले हेरिरहेकाछन् भन्ने कुरा कमरेड प्रचण्डले अब पनि संझनु पर्छ ।
प्रचण्डले आफ्नो मन्तब्यका क्रममा आफ्नो ने क पाको चिन्ता नगर्न काँग्रेसलाई भनिरहँदा उनले सरकार सफेद छ भन्ने उनको जिकिर थियो होला तर प्रचण्डले पनि प्रतिपक्षलाई सल्लाह दिइरहदा आफ्नो पार्टी कस्तो पार्टी हुदैछ र कम्युनिष्टको सरकारको चालमाल देखेर सरकारप्रति आशा र चिन्ता गर्ने नेपाली जनताले के बिचार गर्दै होलान् भन्ने पनि संझन योग्यनै हुन्छ ।
पछिल्लो समयमा स्वयम् प्रचण्ड अधिकार सहितको अध्यक्षको जिम्मेवारी सम्हाल्न आउनु भएको छ । यो सुखद पक्ष पनि हो तर यो प्रचण्डका लागि अवसरसँगै चुनौती पनि हो । मैले जाने र बुझे सम्म कम्युनिष्टको सरकार पार्टी नियन्त्रमा रहन्छ भलै सरकारको आफ्नो कार्य क्षेत्र र अधिकार त हुन्छनै तर यसको मेरुदण्डको रुपमा पार्टीनै रहेको हुन्छ । अब प्रचण्डको एउटा काँधमा पार्टीलाई कम्युनिष्ट पार्टीको रुपमा संगठित र संचालनको अभिभारा रहेको छ भने अर्कोतिर जनमुखि कार्यमा सरकारको यात्रा समेत अघि बढाउने जिम्मेवारी रहेको छ । नागरिकको मात्र होइन पार्टी भित्रका पनि कटिबद्ध र प्रतिबद्ध कार्यकर्ता र शुभचिन्तकको गुनासो भनेको सरकारले बिकासका काम त गर्दै छ तर तल्लो तहका जनताका आधारभूत आबाश्यकतामा उति ध्यान दिएन भन्नेनै हो । अहिले पनि पार्टी र सरकारको छेउको घेरामा वाकपटुकहरुको हालीमुहाली छ, चतुरे र चंखेहरुको बोलवाला छ झण्डालाई प्राण जस्तो ठान्नेहरु गुमनामको अवस्थामाछन् यो गहन बिषयलाई प्रचण्डले अब कसरी आत्मसात गर्ने हो त्यो हेर्न बाँकी छ । बेलाबेलामा प्रतिपक्षलाई असल सुझाव दिन पनि लोकतन्त्रको एउटा सदाशयतााको सुन्दरपाटोनै हो तर पहिला आफ्ना खोटहरुलाई नियाल्न र त्यसको निराकरण गर्न पनि उत्तिकै जरुरी हुन्छ होला । यसको अर्थ यो होइन कि ने क पा कम्युनिष्ट पार्टी होइन र यो सरकार कम्युनिष्टको सरकारको होइन भन्ने तर प्रश्न यो हो कि ने क पा साच्चैनै कम्युनिष्ट पार्टीनै हो अनि यो सरकारपनि साच्चैको कम्युनिष्टकोनै सरकार हो ? भन्ने मेरो आशय हो । किनभने अहिले ने क पा पार्टीमा देखिएको वैचारिक र सैद्धान्तिक पक्षको उचाईलाई अलि पुड्को देख्नु मेरो दृष्टि भ्रम पनि हुन सक्छ र सरकारको नारा र कार्यशैलीको सुस्तता र लक्षित समूहको पहुँचलाई हेर्दा मेरो संर्किण चिन्तन पनि हुन सक्छ । तर, राजनीतिमा संभावना भन्ने कहिल्यै अन्तिम हुदैन यसर्थलाई ने क पाले आफुलाई नेपाली मन र पन सुहाउँदो साच्चैको पार्टी र सरकारले पनि जनताको मन जित्ने काम गर्ने समय र अवसर दुबै बाँकीनै छन् यसर्थ नयाँ उत्साहर र जोशले पार्टीको मुख्य भुमिकामा आउनु भएको प्रचण्डको वास्तविक नेतृत्वको क्षमता र कौशलताको मापन हुनेक्रम पनि शुरु भएको छ ।

प्रतिकृया दिनुहोस्