‘समाचार र विचारको
साझा चौतारी’




क्रिकेटमा सेमिफाइनल खेल्ने माल्दिभ्सको लक्ष्य


काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्स राष्ट्रिय क्रिकेट टोलीका कप्तान मोहम्मद मोहफूजले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सको पहिलो लक्ष्य सेमिफाइनल पुग्ने बताएका छन् ।

बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल ए सँगको अभ्यास खेलको क्रममा हाम्रो खेलकुदसँग कुरा गर्दै महफूजले यस्तो बताएका हुन् । ‘अभ्यास खेल मिलाइदिएकोमा सर्वप्रथम नेपाल क्रिकेटलाई धन्यावाद । आजको खेलमा ब्याटिङ अलि कमजोर रहयो तर पनि हामीले राम्रो अनुभव बटुल्यौं । बलिङ र फिल्डिङमा हामीले राम्रो गर्यौ’, महफूजले भने, ‘बाँकी दुई अभ्यास खेलमा राम्रो गर्ने छौं । नेपाल हामी भन्दा धेरै माथिल्लो स्तरको टोली हो । अनुभवदेखि हरेक कुराले हामी नेपालभन्दा धेरै पछि छौं ।’

‘सागमा सबै टोलीलाई राम्रो प्रतिसपर्धा दिने छौं । सेमिफाइनल पुग्ने पहिलो लक्ष्य हो, त्यसपछि मात्र मेडलको लागि सोच्ने छौं । त्यसको लागि कम्तीमा हामीले एक खेल जित्नुपर्ने हुन्छ’, उनले भने ।

‘उनले टोलीको ब्याटिङ भन्दा फिल्डिङ र बलिङ राम्रो भएको बताए । पछिल्ला खेल मलेसिया र थाईल्यान्डलाई कडा प्रतिस्पर्धा दिएका थियौं । हामीले हरेक दिन क्रिकेट सिकिरहेका छौं । साग हाम्रो लागि ठूलो अवसर हो’, महफुजले भने ।

बिहीबार अभ्यास खेलमा नेपाल ए सँग माल्दिभ्स ४९ रनले पराजित भएको थियो । माल्दिभ्सले शुक्रबार पनि नेपाल ए सँग अभ्यास खेल्ने छ । नेपाल ए को कप्तानी शरद भेषावकरले गरेका छन् । सागको राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई नेपाल ए मा समेटिएको छ ।

साग मंसिर १५ देखी २४ सम्म चल्ने छ । साग पुरुषमा नेपाल सहित माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंकाको यू२३ टोली रहेका छन् । खेल लिगको आधारमा हुने छ । शीर्ष दुई टोली स्वर्णको लागि प्रतिसपर्धा गर्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि भिड्ने छन्।

प्रतिकृया दिनुहोस्