‘समाचार र विचारको
साझा चौतारी’





पर्दामा सुमीको ‘सरौतो’ र यशको ‘लभ यू हमेशा’


फिल्मीखबर, काठमाडौं,
गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार पूरै सुस्ताएको छ । आशा गरिएका फिल्मले समेत बक्सअफिसमा आफ्नो जादू देखाउन सकेका छैनन् । जसले गर्दा फेरि एकपटक नेपाली निर्माता फिल्म निर्माण र प्रदर्शन गर्न तर्सिन थालेका छन् । चिसो मौसमलाई कारण नेपाली फिल्मले गतिलो व्यापार गर्न नसकेको कतिपयको विश्लेषण छ ।
यसबीच, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सरौतो’ ले सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा लिइएको छ । थुप्रै पटक दर्शन मिति फेरबदल भएका कारण रिलिज अगाडि खासै राम्रो हाइप निर्माण गर्न नसकेको यो फिल्मले दर्शक हलसम्म तान्न सफल हुनेमा फिल्मकर्मी आशावादी छन् । फिल्मलाई चर्चित छायाँकार हरि हुमागाईंले निर्देशन गरेका हुन् ।

नेपालमा एक्सन जनरामा महिला केन्द्रित फिल्म निकै कम बन्ने गरेका छन् । किनकि, यो जनरा नेपालमा असफल मानिन्छ । ‘सरौतो’ ले भने त्यो जोखिम उठाएको छ । फिल्ममा अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । बदलाको कथामा निर्माण भएको फिल्मका लागि उनले डेढ वर्ष मार्सल आर्ट तालिम र सात महिना सांकेतिक भाषा सिकेकी थिइन् ।

शुक्रबारबाट देशभरका सिंगल थिएटर र मल्टीप्लेक्स हलहरुमा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले व्यापारिक रुपमा सफलता हात पारेको खण्डमा एकपटक नेपालमा यस प्रकारका फिल्मको बाढी लाग्ने निश्चित छ । कमसल कन्टेन्टका कारण नेपाली फिल्म हलमा टाँट पल्टिरहेको अवस्थामा ‘सरौतो’ को ट्रेलर हेरेपछि धेरैले बलियो कन्टेन्टमा फिल्म बनेको हुनसक्ने आँकलन गरेका छन् ।

फिल्ममा सुमीले अभिनेता सन्नी सिंहसँग रोमान्स गरेकी छन् । भने, पिताको भूमिकामा कलाकार विजय लामा छन् । लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाहलगायतको पनि फिल्ममा अभिनय छ । राघव कृष्ण गौतमको कथा रहेको फिल्मलाई उत्तम हुमागाईंले खिचेका हुन् । निर्देशक हुमागाईंले पहिलो पटक निर्देशन गरेको फिल्म हो यो ।

‘सरौतो’ सँगै शुक्रबारबाट फिल्म ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ पनि देशव्यापी प्रदर्शनमा आएका छन् । यी दुई फिल्म बिना प्रचार-प्रसार प्रदर्शनमा उत्रिएका हुन् । भाष्कर प्रधान निर्देशित फिल्म ‘लभ यू हमेशा’ मा यशराज गरच र ऋचा थापाको प्रमुख भूमिका छ भने राजु गिरी निर्देशित फिल्म ‘मखमली मखमली’ मा जय किशन बस्नेत र शुभेक्क्षा थापाको मुख्य अभिनय छ ।

प्रतिकृया दिनुहोस्