‘समाचार र विचारको
साझा चौतारी’





छैटौँ पार्टी पुनर्गठन दिवसका अवसरमा विशेष अन्तर्वार्ता


श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न पनि तयार छौँ !

सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा अर्को लुटेरालाई, एउटा ठगको ठाउँमा अर्को ठगलाई, एउटा हत्याराको सट्टा अर्को हत्यारालाई, एउटा दलालको सट्टा अर्को दलाललाई, एउटा चोरका ठाउँमा अर्को डाँकालाई सत्तामा विराजमान गराउन होइन नि । सामन्तवाद गएर जनगणतन्त्र स्थापना गर्ने भनेकोमा दलाल पुँजीवादी गणतन्त्र खडा भएपछि यो गणतन्त्र श्रमिक जनताको रक्षा र समृद्धि गर्ने गणतन्त्र भएन, दलाल पुँजीपति वर्गको रक्षा र समृद्धि गर्ने गणतन्त्र भयो। यो सङ्घीयता उत्पीडित समुदायको सङ्घीयता नभएर दलाल पुँजीपतिहरूको सङ्घीयता भयो । सयौँ वर्षदेखि दबिएका र शोषित भएका श्रमिक जनता त अहिले पनि शोषित, उत्पीडित नै छन् ।

महासचिव कमरेड, नेपाल कम्युनिस्ट पार्टीको छैटौँ पुनर्गठन दिवसको ऐतिहासिक अवसरमा छौँ, कस्तो महसुस गरिरहनुभएको  ?

सही भन्नुभयो । हामी यसबेला हाम्रो जनप्रिय एवम् गौरवशाली नेपाल कम्युनिस्ट पार्टीको छैटौँ पुनर्गठन दिवसको सुखद अवसरमा जुटेका छौँ । यस ऐतिहासिक क्षणमा सर्वप्रथमतः श्रमिक जनता, आदरणीय सहिद तथा बेपत्ता परिवार, घाइते, बन्दी कमरेडहरू, पार्टीका नेता एवम् कार्यकर्ता, जनसेना, देशभक्त एवम् लोकतन्त्रिक मित्रहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । क्रान्ति, बलिदान, विजय र सफलताका अवसरमा सबैसँग जनप्रिय एवम् गौरवशाली पार्टी पुनर्गठन दिवस उमङ्गका साथ मनाउन चाहन्छु । साथै एकीकृत जनक्रान्तिलाई सफल पारिछोड्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।

पार्टी पुनर्गठन दिवस मनाउँदै हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा यसको के महत्व छ ? प्रस्ट पारिदिनुहुन्छ कि ?

ऐतिहासिक आवश्यकता, पहल र सन्दर्भहरूले राजनीतिक महत्वका दिवसहरूलाई जन्म दिन्छन् । माओवादी जनयुद्धले जनयुद्ध दिवस दियो। आत्मसमर्पणवादी, विसर्जनवादी र पुँजीवादीहरूको हमलामा परेर माओवादी पार्टी लगभग विसर्जन भयो । पुँजीवादी, दलाल पुँजीवादी, विसर्जनवादी, आत्मसमर्पणवादीहरूले क्रान्तिको घाँटी निमोठेको, क्रान्तिकारी कम्युनिस्ट पार्टी समाप्त पारेको, नेपाललाई दलाल पुँजीवादभित्र थुन्न सफल भएको कल्पना गरेका थिए तर हामीले त्यो परिकल्पनालाई कल्पनामै समाप्त पारिदियौँ ।

हामीले माओवादीको खरानीबाट ६ वर्ष अगाडि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गर्यौँ । जनताले आफ्नो मुक्ति, देशको स्वाधीनता र वैज्ञानिक समाजवादी सभ्यताको नेतृत्व गर्ने नेतृत्व, साधन र दस्ता प्राप्त गरे । संयोगले हामीले यसको नेतृत्व गर्ने अवसर प्राप्त गर्यौँ । अहिले यसैको नेतृत्वमा एकीकृत जनक्रान्ति अगाडि बढेको छ । वैज्ञानिक समाजवादी व्यवस्थालाई कसैले पनि रोक्न सक्ने छैनन् । यो वास्तवमै ऐतिहासिक महत्वको क्षण हो ।

केपी वली सरकारले ने.क.पा. माथि प्रतिबन्ध लगाएको वर्तमान अवस्थामा पार्टी पुनर्गठन दिवस कसरी मनाइरहनुभएको छ ?

ठीक भन्नुभयो । यसपटकको पुनर्गठन दिवस क्रान्तिको मोर्चाभित्र, दमन र विद्रोह, प्रतिबन्ध र प्रतिरोध, प्रतिरोध र बलिदान, क्षति र उपलब्धिहरूबीच मनाउँदैछौँ । हामीले यो पार्टी पुनर्गठन गरेर एकीकृत जनक्रान्ति अगाडि बढाएपछि कमरेड कुमार पौडेल, कमरेड नीरकुमार, कमरेड महानसहित एक दर्जन नेता, कार्यकर्ता, कमान्डर र सदस्यहरू सहिद हुनुभएको छ । कमरेड सुदर्शन, कमरेड वीरजङ्गसहित सयौँजना कमरेडहरू जेल–हिरासतमा बन्दी हुनुहुन्छ । दर्जनौँ कमरेडहरू घाइते हुनुहुन्छ । हजारौँलाई मुद्दा लगाइएको छ । यस्तो नयाँ परिवेशमा यो दिवस मनाउँदैछौँ । त्यसैले हाम्रो आठौँ पूर्ण बैठकले विगतमा भन्दा अरू सशक्त प्रकारले मनाउने निर्णय गरेको छ । मङ्सिर ५ गतेदेखि ८ गते (चार दिनसम्म) प्रचारप्रसार, सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट, बन्दी कमरेडहरूसँगको भेटघाट, जनतासँग अन्तरक्रिया, खेलकुद र खुसीयाली साटासाट गर्दै मनाउँदैछौँ । म सबै नागरिकहरूलाई यो उत्सवमा सहभागी बन्न आग्रह गर्दछु ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले निकै महत्वपूर्ण निर्णय लिएको जानकारी प्रेसविज्ञप्तिमा उल्लेख गर्नुभएको छ । वक्तव्यले तरङ्ग पनि ल्यायो । यहाँ पनि केपी सरकार र देशको अवस्थाबारे छोटोमा विश्लेषण राखिदिनुस् न ।

हो, रातो खबरमार्फत नै हामीले ऐतिहासिक बैठकका निर्णयहरू सार्वजनिक गरिसकेका छौँ । फेरि पनि उल्लेख गर्नु पर्दा कम्युनिस्ट नामधारी केपी सरकार बनेपछि देश निरन्तर ओरालोतिर झरिरहेको छ । नागरिकहरू सारा क्षेत्रमा असन्तुष्ट र आक्रोशित बन्दै गएका छन् । देशले एकपछि अर्को सङ्कट भोग्नु परेको छ ।

जस्तो कि राजनीतिक क्षेत्रमा केपी सरकार अकल्पनीय रूपले फासिस्ट, निरङ्कुश, दमनकारी, सर्वसत्तावादी, हत्यारो बन्दै गएको छ । जनता र देशको अधिकारका पक्षमा लड्ने राजनीतिक स्वतन्त्रतालाई हरण गर्दै तस्कर, ठग, भ्रष्ट, दलाल, बलात्कारीहरूको रक्षाका लागि हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपर्न पुगेको छ । जुलुससमेत गर्न नपाउने मूढी, मूर्ख निर्णय गरेको छ । आर्थिक क्षेत्रमा केपीकै मान्छेहरू प्रधानमन्त्री कार्यालयको जग्गा बेचेर खानेमा पुगेका छन् । देशभरि उनका मान्छेहरूकोे लुट चलेको छ । सारा अराजकता, भ्रष्टाचारमा केपीकै मान्छेहरू डुबेका छन् । सांस्कृतिक क्षेत्र त अश्लीलता र छाडा क्रियाकलापले छोपिएको छ । केपीका मान्छे वेश्यालय खोलेर पैसा कमाउने प्रस्ताव गर्दै हिँडेका छन् । युवापिँढी लागूपदार्थको व्यापार र सेवनबाट ध्वस्त हुँदै गएको छ । देशको स्वाधीनतामाथि भारतीय साम्राज्यवादले खुलेआम अतिक्रमण गरेको छ । अमेरिकाले एकपछि अर्को हस्तक्षेप बढाउँदै लगेको छ । खुलेआम तिब्बतका पक्षमा बोलेर होस्, हिन्द–प्रशान्त रणनीति लादेर होस् वा भरखरै आतङ्कवादबारे देशहरूका रिपोर्टमा हाम्रो देश र पार्टीबारे पेस गरेको आपराधिक र झूटो विवरण होस्, अमेरिका नाङ्गो रूपले उत्रिएको छ । युरोपियन युनियनले पनि राजनीतिक, धार्मिक हस्तक्षेप बढाउँदै लगेको छ । तस्कर, ठगलाई कारबाही गर्दा नेपाली सेनालाई प्रयोग गर्न तयार हुने केपी सरकार सिमाना मिचिँदा लुगलुग काँपिरहेको छ । समग्रमा केपी सरकारले मुट्ठीभर दलाल पुँजीपति, भ्रष्ट, तस्करहरूको संरक्षण गरेर देशलाई सङ्कटमा हुल्नेबाहेक केही गरेको छैन ।

तपाईंहरूले देशको स्वाधीनतामाथि खतरा बढ्दै गएको विश्लेषण गरिरहेकै बेला भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई गाभेर नक्सा प्रकाशित ग¥यो । देश नै त्यसका विरुद्ध उत्रियो । केपी सरकारले पनि विरोध ग¥यो । केही सङ्घर्ष पनि गर्नुभयो । अब के होला ? के गर्नुपर्ला ? कसरी सोच्नुभएको छ ?

सही विषय उठाउनुभयो । हामीले लगातार बताउँदै आएका छौँ नेपालको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था भारतका पोष्यपुत्रजस्तै हुन्। उसकै दबाब र तजबीजमा यो सत्ता र व्यवस्था चल्दै आएका छन् । यसको जन्म नै माथिल्लो कर्णाली, अरुण तीन सुम्पिँदै र नक्कली नागरिकता वितरण गर्दै भएको छ । कोसी उच्चबाँध पनि लादिने निश्चितजस्तै छ । यसले क्रमशः आफ्नो कुर्सीस्वार्थ र पदका लागि देशलाई सुम्पिँदै जाने निश्चित छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा गाभ्नु यसको पछिल्लो कदम मात्र हो । भारतीय साम्राज्यवादले हाम्रो भूगोलमाथि गरेको अतिक्रमणलाई अहिले नक्सामा राखेर जाँच मात्र गरेको हो ।

नक्सा बाहिर आएपछि नेपाली जनतामा राष्ट्रप्रेम र स्वाभिमान छचल्कियो । रातारात युवा, विद्यार्थी, बुद्धिजीवी, देशभक्त नागरिक सङ्घर्षमा उत्रिए । हाम्रो पार्टीले एकहप्ते सङ्घर्षका कार्यक्रम सञ्चालन ग¥यो । कार्यक्रमहरू निकै प्रभावकारी भए । विडम्बना, केपी सरकारले हाम्रा विद्यार्थी, युवा, बुद्धिजीवीहरूलाई ज्ञापनपत्र बुझाउन, विरोध प्रदर्शन गर्न, जुलुस लगाउन र सभा गर्न पनि दिएन । सयौँजना साथीहरूलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाएको छ । के यो केपीको दलाल चरित्र होइन ! यसले त केपी सरकारले बाहिर भारतको विरोध गरेको जस्तो गरेर जनताको आक्रोशलाई मत्थर पार्ने र भित्रबाट भारतकै स्वार्थ पूरा गरिदिने दलाली काम गरेको प्रस्ट हुन्छ । यसको हामी कडा रूपमा भत्र्सना गर्दछौँ ।

नेपाल कम्युनिस्ट पार्टीले पनि एक झमट सङ्घर्ष गर्यो तर निरन्तता भएन भन्ने गुनासो छ नि ?

होइन, एक चरणको सङ्घर्षपछि सबैसँग सल्लाह–सुझाव लिँदैछौँ । पार्टी पुनर्गठन दिवसपछि छिट्टै दोस्रो चरणमा जान्छौँ ।

भारतीय साम्राज्यवादी अतिक्रमणविरुद्ध संयुक्त कार्यक्रमको पहल कसरी गरिहनुभएको छ ?

हाम्रो पार्टीले पहिलेदेखि नै देशको स्वाधीनताका पक्षमा सहमत हुनेजति सबै कम्युनिस्ट, देशभक्त, लोकतन्त्रवादी, बुद्धिजीवी मित्रहरूसँग संयुक्त सङ्घर्ष गर्ने नीतिमा जोड दिँदै आएको छ । कतिपय अवस्थामा सफल पनि भइएको छ । अहिले पनि त्यसको राम्रो सम्भावना छ । कमरेड ऋषि कट्टेलले नेतृत्व गर्नुभएको नेकपा, नेकपा (माओवादी केन्द्र), वैैज्ञानिक समाजवादी पार्टी, नेकपा (क्रामा) सहितका पार्टीहरूसँग छलफल गरेर सयुक्त सङ्घर्ष गर्नुपर्छ भन्नेमा छौँ ।

संसद्वादी पार्टीहरूले त कूटनीतिक र राजनीतिक पहलबाट भारतसँगका सीमा समस्या हल गर्नुपर्छ भन्ने मत राखिरहेका छन् । के त्यसरी हल हुने देख्नुहुन्छ ? अथवा कसरी हल हुन्छ भन्ने ठान्नुहुन्छ ?

निश्चय नै राज्यले कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ तर हाम्रो विचारमा भारतीय साम्राज्यवादी अतिक्रमण यत्तिले मात्र हल हुन्छ भन्ने देखिँदैन । यो कुनै अन्जान वा विवादित इलाका, भूगोल भएको भए यस्तो पहलबाट हुनसक्थ्यो तर यो त नेपालको भूमि जानाजान भारतले अतिक्रमण गरेको क्षेत्र हो । नेपाली काङ्ग्रेसका कतिपय नेताहरूले लिपुलेकलाई त्रिदेशीय सिमाना पनि भन्ने गरेका छन् । यो पनि एकदमै गलत, भारतपरस्त एवम् भ्रामक भनाइ हो । लिपुलेक त्रिदेशीय क्षेत्र पनि होइन, प्रस्टतः नेपालको हो । हाम्रा सीमाविद्हरूले यथेष्ट प्रमाणसहित प्रमाणित गरिसकेकाले भारत पनि यो भूभाग नेपालको हो भन्नेमा त सहमत नै होला, उसले त कब्जा गरेको न हो, उसले कब्जाकै रूपमा बुझेको छ ।

कब्जा गर्दाको पनि कस्तो अनौठो तर्क छ हेर्नुस् न, कालापानी, लिपुलेक, लिम्पियाधुरा सामरिक महत्व भएकाले अर्थात चीनलाई परसम्म हेर्न सकिने भएकाले उसलाई चाहियो रे ! हेपाइको पनि सीमा हुन्छ ! भारत र चीनको सीमा हजारौँ किलेमिटरमा छ । चीनले भारतलाई लखेट्दा यहाँबाट भन्दा अन्यत्रबाट लखेटेको थियो अनि यही नेपाली चुच्चोबाट चीनलाई हेर्नुपर्छ ? पुँजीवादी–साम्राज्यवादीको चरित्र जन्मजात हिंश्रक हुन्छ । चीनले सीमा मिच्यो भनेर दिनरात कराउने भारतले हाम्रो सीमा लाजै पचाएर किन मिच्ने ? भारतले अतिक्रमित भूमिबाट आफ्नो सेना फर्काउँदैन भने नेपाली सेनालाई सीमारक्षामा खटाउनुपर्छ । तर केपी सरकारको बुताभित्र यो छैन । हामीले भनेका छौँ नि देशको स्वाधीनताको रक्षाका लागि पनि वैज्ञानिक समाजवाद आवश्यक छ ।

अमेरिकी रणनीतिमा पनि केपी सरकार जिम्मेवार छ भन्ने टिप्पणीप्रति यहाँको धारणा ?

सही टिप्पणी हो । अमेरिकाले केपी–प्रचण्ड, प्रदीप ज्ञावली सायद शेरबहादुर सबैलाई भेटेर बुझेपछि यो रणनीति सार्वजनिक गरेको छ । पहिले प्रशान्त क्षेत्रीय रणनीतिबाट काम गरिरहेको अमेरिकाले पछिल्लो समयमा चीनको प्रभावलाई दक्षिणएसियाबाट कमजोर बनाउन अझै सानो घेरामा जोड दिन हिन्द–प्रशान्त रणनीति ल्याएको छ । यसको उद्देश्य चीनलाई घेर्ने, भारतलाई दबाबमा राख्ने र नेपाललाई सैन्य अखडा बनाउनेसँग सम्बन्धित छ । नेपाली नागरिकहरूले समयमै यसको भन्डाफोर र प्रतिवाद नगर्ने हो भने अमेरिकी अतिक्रमण हुने निश्चित छ । यसप्रति हाम्रो धारणा अमेरिकी नीतिको भन्डाफोर गर्ने र देशमा अमेरिकी अतिक्रमण हुन नदिने छ ।

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मूल्याङ्कन कसरी गर्नुभएको छ ?

चीनका राष्ट्रपति सीको भ्रमण राज्यबीचको मामिला हो । यद्यपि यसको सम्बन्ध राष्ट्रका नागरिकसँग पनि हुन्छ । लामो समयपछि चिनियाँ राष्ट्रपतिको भ्रमण भयो । यो नेपालका लागि खुसीकै कुरा हो । अध्यक्ष माओको समयमा निकै सौहार्दपूर्ण रहेको चीन–नेपाल सम्बन्ध त्यही रूपमा रहोस् र नेपालको स्वाधीनताप्रति चीन सहयोगी बनोस् भन्ने नेपाली जनताको अपेक्षा छ । चीनको नीति र व्यवहार अहिले पनि अहस्तक्षेपकारी एवम् मैत्रीपूर्ण छ भन्नेमा नेपाली नागरिक खुसी छन् ।

के नेपाल विश्वशक्ति राष्ट्रहरूको खेलमैदान बन्न लागेको हो ?

यसका केही सङ्केत देखिन्छन् । अमेरिका र चीनबीचको शक्तिसङ्घर्ष, चीन र भारतबीचको सङ्घर्ष, नेपाली दलाल पुँजीपति वर्गको आत्मसमर्पणवादी चरित्र र विश्वव्यापी देखा परिरहेका बहुध्रुवीय सङ्घर्षका कारण यस्तो अवस्था पैदा भएको छ । तर नेपाली जनताको स्वाधीनताप्रेमी प्रवृत्ति र क्रान्तिकारी कम्युनिस्टहरूको प्रभावका कारण यो सजिलो छैन । हाम्रो पार्टीले निरन्तर यो चुनौतीका बारेमा जनतालाई सूचित गर्दै आएको छ ।

हालै ‘आतङ्कवादबारे देशहरूका रिपोर्टहरू २०१८’ मा अमेरिकी गुप्तचर ब्युरोले नेकपालाई आतङ्कवादी गतिविधि गरेको विवरण उल्लेख गरेको छ । यसबारे पार्टीको धारणा के छ ?

हो, हामीले केही दिनपहिले अमेरिकाको गुप्तचर ब्युरोले निकालेको अत्यन्त भ्रामक, दुर्नियतपूर्ण, झूटो र षड्यन्त्रकारी रिपोर्ट हेर्यौँ । त्यसको प्रतिवाद पनि हामीले गरिसकेका छौँ । फेरि पनि अमेरिकाले जसरी नेपाल राष्ट्र र हाम्रो जनप्रिय पार्टीमाथि जस्तो गम्भीर, खतरनाक र षड्यन्त्रपूर्ण विवरण विश्वजनसमुदायमा सम्प्रेषण गरेको छ, त्यो अत्यन्त निन्दनीय, घृणित, तिरस्कारयोग्य र असैह्य छ । यो नेपालको सार्वभौमिकता, स्वाधीनता र राजनीतिक पार्टीको राजनीतिक स्वतन्त्रतामाथिको अतिक्रमण हो । न हाम्रो देश अमेरिकाले भनेजस्तो अन्तर्राष्ट्रिय आतङ्कवादको अड्डा र प्रवेशद्वार हो, न त हाम्रो पार्टी नै आतङ्कवादमाथि विश्वास राख्ने शक्ति हो । हाम्रो देश स्वतन्त्र एवम् सार्वभौमिक राष्ट्र हुन चाहन्छ भने हाम्रो पार्टी विश्व कम्युनिस्ट आन्दोलनको नेपाली प्रतिनिधि हो । यसले कुनै आतङ्कवादमाथि विश्वास गर्दैन भने कुनै देशको प्रभुत्व र अतिक्रमण पनि सहन गर्दैन । श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न पनि तयार छ ।
वास्तवमा अमेरिका नै विश्वशान्ति, सद्भाव, एकता, स्वाधीनता, स्वतन्त्रता, संमृद्धिको अवरोधक हो । ऊ नै संसारभर चलिरहेका हिंसा, हत्या, युद्ध, आतङ्क र विध्वंसको स्रोत, सञ्चालक र संरक्षक हो । जहिलेसम्म संसारमा अमेरिकाले हैकम कायम राखिराख्नेछ त्यही बेलासम्म विश्वले शान्तिको सास फेर्न पाउनेछैन । त्यसैले विश्व पुँजीवादलाई संसारबाट बिदा दिन आवश्यक छ ।

विश्व भूमण्डलीकरण भैरहेको अवस्थामा तपाईंहरूले क्रान्तिको कुरा गरिरहनुभएको छ, अन्तर्राष्ट्रिय मित्रहरूसँग तपाईंको केकस्तो सम्बन्ध रहेको छ ? अन्तर्राष्ट्रिय सहयोगबिना नेपालमा क्रान्ति सम्भव छ त ?

कुरा ठीकै हो तर एकीकृत जनक्रान्ति नै यो प्रश्नको जबाफ हो । प्रचण्ड–बाबुराम, पहिले एमाले सबैले यही प्रश्नको उत्तर नकारात्मक दिएर पुँजीवाद र दलाल पुँजीवादसामु आत्मसमर्पण गर्न पुगेका हुन् । मोहनविक्रमलगायत कैयौँ मित्रहरू पनि रणनीतिक रूपले क्रान्तिको कुरा गरे पनि कार्यनीतिक रूपले संसदीय व्यवस्थाको घेराभन्दा बाहिर निस्किन नसकेका हुन् । परन्तु हामीले भन्यौँ– हरेक अन्तर्विरोधहरूको समाधान सम्भव छ । हरेक नयाँ विकास र प्रवृत्तिहरूको समाधान सम्भव छ । तर पुरानै तरिकाले होइन । वस्तुको विकास जहाँनेर भएको छ सोहीअनुरूपको साधन र प्रणाली विकास गरेर समाधान गर्नुपर्छ ।

जस्तो कि विश्व भूमण्डलीकृत भएको छ । हामीले उत्तरसाम्राज्यवादी चरित्र भनेका छौँ । यसमा कैयौँ राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राविधिक चरित्रहरू नयाँ विकास भएका छन् । हामीले पनि सोहीअनुरूपको विचार र प्रणाली विकास गर्यौँ भने समाधान गर्न सकिन्छ । हामीले गरेका पनि छौँ ।

आज विश्वमा एक प्रतिशतको हातमा उनान्सय प्रतिशतको बराबर सम्पत्ति थुप्रिन जानु र त्यही कारणले जनता र विश्वपुँजीवादका बीचमा सङ्घर्ष बढनु् नै हाम्रो क्रान्तिका मित्रहरू बढ्नु हो । देख्नु भएन केपीले हामीलाई प्रतिबन्ध लगाएपछि ठूलो जनमत प्रतिबन्धका विरुद्ध देखाप¥यो । जहाँसम्म क्रान्तिलाई अन्तर्राष्ट्रिय सहयोगको कुरा छ त्यो पनि सम्भव हुने कुरा हो । एक हदसम्म त भइरहेको छ भने पनि हुन्छ ।

अलिकति देशतिर फर्कौं, नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धपछि ठूला क्षतिहरू भोगेको भन्ने प्रचार छ । पछिल्लोपटक दाङबाट कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित दुई दर्जन नेता–कार्यकर्ता साथै बाजुराबाट सीसीएम आदर्शसहित सोह्रजनाको गिरफ्तारीपछि यस्तो प्रचार छ । पार्टी जीवनमा वास्तविकता के हो ?

हो, दमन र प्रतिरोध चलिरहँदा पार्टीले सङ्गठनका क्षेत्रमा केही ठूलाखालका क्षतिहरू बेहोरेको छ । यी क्षतिमा प्रायः पार्टीभित्र घुसेका गद्दारहरूको हात छ भने आफ्नै कमजोर कार्यशैलीको समस्या पनि छ । हामीले यी घटनाहरूलाई गम्भीर ढङ्गले समीक्षा गरेका छौँ र रोकथाम गर्ने उपायहरू पनि अगाडि बढाएका छौँ । तर बाहिर भनेजस्तो नेतृत्वलाई क्रान्ति अगाडि बढाउन प्रतिकूल हुने तहमा समस्या आयो भन्ने सत्य होइन । पार्टी एकीकृत जनक्रान्ति हाँक्न सक्षम छ ।

हामीलाई थाहा छ क्रान्ति भनेको सोझो, सपाट, सरल र सजिलै बढ्ने यात्रा होइन । यो अनेकौँ प्राकृतिक र कृत्रिम अवरोधहरूसँग पाइलापाइलामा जुधेर सफल हुन्छ । कम वा बेसी, माथिबाट वा तलबाट, पहिले वा पछि केही त्याग, क्षति र बलिदान नचुकाएर क्रान्तिमा विजय हासिल गर्न सकिँदैन । क्रान्तिका मूल्य भनेका नै त्याग, क्षति र बलिदानहरू हुन् । हामी ती मूल्य चुकाउन तयार भएर नै एकीकृत जनक्रान्तिको यात्रा तय गर्न अगाडि सरेका हौँ । यसो भनेर बलिदानप्रति सचेत र संवेदनशील छैनौँ भन्ने होइन । हामी वास्तवमै गम्भीर छौँ । आउँदा दिनमा यसलाई हल गर्दै गइनेछ ।

समग्रमा देशभरि पार्टीको अवस्था के छ ? जनता र मित्रहरूको बुझाइ कस्तो पाउनुभएको छ ?

एकदमै राम्रो प्रश्न, हामी केन्द्रीय समितिको आठौँ पूर्ण बैठकमा बस्दै गर्दा पार्टीको अवस्था निकै राम्रो ङ्ंगले बढिरहेको पाएका छौँ । पार्टी दिन–प्रतिदिन श्रमिक जनतामाझ विस्तार हुँदै गएको छ । एकीकृत जनक्रान्तिमा आबद्ध हुन आउने जनता निकै बढेका छन् । केपी सरकारले त फागुनमा प्रतिबन्ध लगाएर चैतभित्र नेताहरूलाई समातिसक्ने, सीके राउत बनाउने वा दमन गरेर सक्ने भन्ने घोषणा गरेको थियो तर के भयो तपाईंहरूले पनि बुझ्नुभएकै छ । उसले पछिल्लो समयमा सर्वदलीय सहमति गरेर हामीमाथि दमन गर्ने चाल अगाडि सारेको छ तर यो पनि काम लागेको छैन । जनताले केपीका सबै दम्भ र घमण्डलाई हावामा उडाइदिए । हामीलाई भने जनताले आफ्नो काखमा राखेर आफ्नो सन्तानलाई जसरी संरक्षण गरिरहेका छन् । जनताको काखको माया पाउने सन्तानलाई कसैले पनि हराउन सक्दैन । हामीलाई हराउन केपीले पितापुर्खादेखिका भूतप्रेत जगाएर पनि सक्ने छैनन् ।

केपी सरकारले निःशस्त्र नेता–कार्यकर्तालाई गोली हानेर हत्या गर्दासमेत पार्टीले ठूला कारबाही र प्रतिरोध गरेन । कतिले नसकेर हो भन्ने चर्चा गर्छन् भने कतिले पार्टीले बुद्धि पुर्याएर काम गर्दैछ भन्छन् । वास्तविकता के होला ?

यसमा भ्रमित हुनुपर्ने कुनै कुरा छैन । हामीले क्रान्ति गर्ने हो, केपी सरकारले जस्तो आतङ्कको राज फैलाउने होइन । क्रान्ति भनेको जनताको माग, चाहना र भावनाअनुरूप गर्नुपर्छ । जनताले एनसेललाई कारबाही गर भनेर माग गरे, हामीले गर्यौँ । जनताले भ्रष्ट, तस्कर, ठग, दलाललाई कारबाही गर भनिरहेका छन्, हामीले जनताको भावनाअनुरूप नै सङ्घर्ष गरिरहेका छौँ । केही लुकेर बचिरहेका छन्, तिनको पनि पालो आइहाल्छ । यतिबेला हत्याराहरूलाई कारबाही गर भन्ने आवाज आइरहेको छ । पुलिसका केही मान्छेहरूले बढी गरे प्रतिरोध होस् भन्दैछन्, आवश्यकताअनुसार यो हुँदै जानेछ । जनताले नै माग गरे भने पार्टीले मागअनुसार क्रान्तिलाई माथि उठाउनेछ र अन्ततः दलाल पुँजीवादी सत्तालाई नै परिवर्तन गर्नेछ ।

सरकारले यही मङ्सिर १४ मा ५२ ठाउँका केन्द्र, प्रदेश र स्थानीय तहहरूमा उपनिर्वाचन गर्दैछ । पार्टीले सशक्त बहिष्कार गर्ने भनेको छ । सरकारी नेकपाका कार्यक्रमहरूलाई प्रतिबन्ध पनि भनेको छ । यो कस्तो बहिष्कार हो ?

ठीक भन्नुभयो, हामीले जनयुद्ध र श्रमिक जनतालाई धोकामा धकेलेर लादेका संसदीय चुनावहरूलाई पहिलेदेखि खारेज, बहिष्कार गर्दै आएका छौँ । यसपटक घोषणा गरिएका उपचुनावहरूलाई पनि बहिष्कार गर्ने निर्णय गरेका छौँ । हाम्रो जानकारीमा आएसम्म यो चुनावमा जनताको रुचि र आकर्षण कुनै छैन । जनता कथित जनप्रतिनिधि भन्नेहरूको थिचोमिचो र भ्रष्टाचारबाट वाक्क भएका छन् । पहिलेभन्दा बहिष्कार सशक्त हुन्छ । जहाँसम्म सरकारी वा संशोधनवादी नेकपालाई निषेध गर्ने विषय हो, यो हामीले घोषणा गरेका छौँ । उसले हामीविरुद्ध प्रतिबन्ध सही ठान्छ भने जनता र देशका विरुद्ध अनेकौँ अपराध गर्ने केपी सरकार र उसको पार्टीलाई प्रतिबन्ध किन नगर्ने ? हामी गर्छौं ।

सरकारले त यहाँहरूको वार्तासम्बन्धी धारणालाई ठाडै अस्वीकार गर्यो नि ?

होइन, केपी सरकारले गरेको आत्मसमर्पणकारी वार्तालाई हामीले पूर्णतः अस्वीकार गरेका छौँ । उसले राजनीतिक वार्तालाई अस्वीकार गरेको छ । को सही भोलि प्रस्ट हुँदै जानेछ ।

यतिबेला देशका वामपन्थी, देशभक्त, बुद्धिजीवी, लेखक, साहित्यकारहरूको धारणा कस्तो पाउनुभएको छ ?

हामी निकै उत्साहित छौँ । हाम्रो प्रत्यक्ष भेट र अन्तरक्रिया हुन नपाए पनि सारा देशभक्त, वामपन्थी, बुद्धिजीवी, लेखक, साहित्यकार, कलाकार, पत्रकार, मानवअधिकारवादी, कानुनविद्हरूको आत्मीय सद्भाव पार्टीप्रति पाएका छौँ । उहाँहरू सबैको प्रतिनिधिका रूपमा काम गरिरहेको जस्तो महसुस हुन्छ । उहाँहरूको सद्भाव र मायाप्रति हामी धेरै आभारी छौँ । पार्टीबाट जनता र देशका लागि जे अपेक्षा गर्नुभएको छ, त्यसमा कुनै घात नगर्ने विश्वास दिलाउन चाहन्छौँ ।

क्रान्तिकारी धु्रवीकरणको पाटोमा के भइरहेको छ नि ?

धु्रवीकरणबारे हामीले क्रान्तिकारी शक्तिहरूबाट सकारात्मक धारणा पाएका छौँ । केही पार्टीका पत्र प्राप्त भएका छन् भने केहीसँग छलफल चलिरहेका छन् । धु्रवीकरणबारे हामीले तीन विकल्प अघि सारेका छौँ : एउटै पार्टी बनाउने, संयुक्त मोर्चा बनउने र कार्यगत एकता गर्ने । कार्यगत एकता त भइरहेकै छ । अन्य विषयमा केही मेहनत गर्नुपर्ने छ तर असम्भव छैन ।

दैनिक समस्याका विषयमा जनसङ्घर्ष पुगेन भन्ने पनि गुनासो सुनिन्छ । यसबारे कसरी सोचिरहनुभएको छ ?

होइन, देशमा सबैभन्दा धेरै मुद्दा उठाउने र हरसम्भव जनसङ्घर्ष गर्नेमा हामी नै हौँला । केही बेला त नेपाल वन्द र सङ्घर्षहरू बढी भए भन्ने सुझाव पनि आउँछन् । एनसेल, ठूलो जहाज काण्ड, निर्मला बलात्कार तथा हत्याकाण्ड, ललिता निवासकाण्ड, बूढीगण्डकी, अरुण तीन, माथिल्लो कर्णाली, विराटनगरमा अवैध भारतीय कार्यालय, महँगी, भ्रष्टाचार, कालापानीलगायत सारा विषयमा हाम्रो सङ्घर्ष नै सबैभन्दा धेरै छन्। अहिले पनि मेडिकल कलेजको समस्या, शिक्षा, स्वास्थ्य, महँगी, भ्रष्टाचार, लागूपदार्थ, वेश्यावृत्तिविरुद्ध हाम्रा विद्यार्थी, युवा, बुद्धिजीवी, कलाकारहरूले सङ्घर्ष गरिरहनुभएको छ । यद्यपि सुझावलाई मनन गर्ने कुरा सही छ ।

नयाँ प्रसङ्ग भनौँ, पूर्वसभामुख कृष्णबहादुर महरा र सांसद मोहमद अफ्ताव आलमका विरुद्ध भएको कारबाहीलाई कसरी लिनुभएको छ ?

यो अलि फरक र संवेदनशील विषय छ । महराले निजी जीवनमा गरेका कमजोरी के हुन्, महिलाले नै भनेपछि अरूले धेरै बोल्ने कुरा भएन तर म ठोकेर भन्छु महरा मामिला केवल नैतिक र महिलाको मामिला मात्र भएन । सम्भोगलाई राजनीतिक मामिला बनाएको जस्तो लाग्छ । पुँजीवादी पार्टीहरूभित्र यस्ता सम्बन्ध नहुने कमै होलान् ! राष्ट्रपति सीको भ्रमणको बेलामा नै यसलाई उठाउनु, वलीले अमेरिकी कार्यक्रम एमसीसी रोक्ने महरा नै हो र गल्ती गरेका छन् भन्नु, प्रचण्डले अदालतमा रहेको मुद्दाबारे महराले नै गल्ती गरेका हुन् भनेर ठोकुवा गर्नु, यूएन, युरोपियन युनियनलगायतले वत्तःव्य दिएर कारबाहीको माग गर्नु यसका दृष्टान्त हुन् ।

आलमका विरुद्धको कारबाही एउटा क्रूर घटनामा प्रतिशोधी चाल मिसिएजस्तो लाग्छ । बाँकी त बुझ्दै जान सकिन्छ ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, जनताको सरकार सबै आए । कसका विरुद्ध लड्ने भन्ने प्रश्न पनि उठाइन्छ नि ?

हो, यो प्रचार गरिन्छ । हामीले उल्लिखित परिवर्तन भएका छैनन् भनेर कहाँ भनेका छौँ र ? हामीले भनेको त सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा अर्को लुटेरालाई, एउटा ठगको ठाउँमा अर्को ठगलाई, एउटा हत्याराको सट्टा अर्को हत्यारालाई, एउटा दलालको सट्टा अर्को दलाललाई, एउटा चोरका ठाउँमा अर्को डाँकालाई सत्तामा विराजमान गराउन होइन नि । सामन्तवाद गएर जनगणतन्त्र स्थापना गर्ने भनेकोमा दलाल पुँजीवादी गणतन्त्र खडा भएपछि यो गणतन्त्र श्रमिक जनताको रक्षा र समृद्धि गर्ने गणतन्त्र भएन, दलाल पुँजीपति वर्गको रक्षा र समृद्धि गर्ने गणतन्त्र भयो । यो सङ्घीयता उत्पीडित समुदायको सङ्घीयता नभएर दलाल पुँजीपतिहरूको सङ्घीयता भयो । सयौँ वर्षदेखि दबिएका र शोषित भएका श्रमिक जनता त अहिले पनि शोषित, उत्पीडित नै छन् । धर्मजस्तो जनविरोधी, अन्धविश्वासी, असत्य विषयको चर्चै नगरौँ । धर्म भनेका सबै श्रमिक जनतालाई अन्धो बनाउने र अन्धकारमै थुनिराख्ने मन्त्र हुन् । धर्मको अन्धोराज जहिलेसम्म चल्छ उत्पीडित जनताले जीवनमा उज्यालो कहिल्यै भेट्टाउन पाउने छैनन् ।

पार्टी पुनर्गठन दिवसको सुखद अवसरमा थप केही भन्नुहुन्छ कि ?

हाम्रो पार्टी पुनर्गठन सङ्घर्ष र सचेत पहलको प्रतिफल हो । महान् सफलताका लागि महान् सङ्घर्ष, महान् सङ्घर्षमा महान् त्याग र बलिदानहरू अनिवार्य हुन्छन् । ई-रातो खबर

प्रतिकृया दिनुहोस्