‘समाचार र विचारको
साझा चौतारी’





 प्याज खेती कुन ठाउँमा कहिले र कसरी गर्ने ? (सम्पूर्ण जानकारीसहित)


काठमाडौं । प्याज गाना हुने विरुवा हो र यसलाई हरियो अवस्थामा वा सुकेको गाना तरकारी वा खानाका विभिन्न परिकारमा प्रयोग गरिन्छ । प्याज खेती उच्च पहाडी क्षेत्रमा फागुन–चैत्र महिनामा बीउ छर्ने तथा बैशाख–जेठ महिनामा बेर्ना सारी वर्षमा एकपटक मात्र खेती गरिन्छ । मध्य पहाडी क्षेत्र, बेसी तथा तराई क्षेत्रमा असोज–कार्तिक महिनामा बीउ छर्ने तथा मंसिर–पौष महिनामा बेर्ना सारी खेती शुरु गरिन्छ तथा जेष्ठ महिनामा बाली तयार हुन्छ ।

हावापानी : प्याज खेती गर्ने ठाउँ बिहानैदेखि घाम लाग्ने पारिलो हुनुपर्छ । प्याजको बोट बृद्धि १३ डि. से. देखि २४ डि. से. तापक्रममा राम्रो हुन्छ ।

माटो : मलिलो, पानीको राम्रो निकास भएको, हलुका दोमट माटोको पी.एच.मान ६.० देखि ६.८ सम्म हुनुपर्दछ ।

जातहरु : १. नसिक ५३ २. रेड क्रियोल ३. सुपरेकस ४. टी.आई. १७२ ५. कास ६. भेनस ७. विन्टर सिल्भर

खेती गर्ने तरिका : प्याजको तीन प्रकारले खेती गरिन्छ ।

१) सोझै पातलो बीउ छरेर

२) बेर्ना उमार्ने तथा उचित दूरीमा बेर्ना सरेर तथा

३) पहिले प्याजका साना दानाको सेट तयार गरी उक्त सेटबाट प्याजको खेती गर्ने ।

बाली लगाउने समय :

 उच्च पहाडी क्षेत्रमा फागुन–चैत्र महिनामा बीउ छर्ने तथा बैशाख–जेठ महिनामा बेर्ना सारी वर्षमा एकपटक मात्र खेती गरिन्छ ।

 मध्य पहाडी क्षेत्र, बेसी तथा तराई क्षेत्रमा असोज–कार्तिक महिनामा बीउ छर्ने तथा मंसिर–पौष महिनामा बेर्ना सारी खेती शुरु गरिन्छ तथा जेष्ठ महिनामा बाली तयार हुन्छ ।

जग्गाको तयारी : प्याज खेतीको लागि डयाङ्ग बनाउँदा १ मिटर चौडाइ तथा आवश्यकतानुसारको (साधारणतया ३ मिटर) लम्बाई भएको हुनुपर्छ । दुई डयाङ्गको बीचमा करिब ८ इन्च जतिको खाली ठाउँ राख्नुपर्छ । मलखाद प्रांगारिक तथा रासायनिक मलखादहरु (युरिया तथा हर्मोनहरु बाहेक) जमिन तयार गर्ने समयमा प्रति रोपनीका दरले प्रयोग गर्नु पर्छ ।

 प्रांगारिक र गोबर मल – करिब २ टन

 पिना – २० के. जी.

 डी. ए. पी. – १५ के. जी.

 युरिया – १० के. जी. (टप ड्रेसिंगका लागि)

 म्युरेट ओफ पोटास – १० के. जी.

 जिङ्क सल्फेट – १ के. जी.

 बोरेकस – १ के. जी.

 बायोजाम – १ के. जी.

 हर्मोनहरु – प्राविधिकको सल्लाह बमोजिम

बीउ दर : ५००–६०० ग्राम बीउ प्रति रोपनी । बेर्ना उत्पादन स्गुणस्तरीय उच्च उमार शक्ति भएको बीउ छान्नुपर्दछ । प्याजको जात हेरी बोटदेखि बोटको दूरी १० से. मि. तथा हार देखि हारको दूरी १५ से. मि. भएमा एक रोपनी क्षेत्रफलमा करिब २५००० देखि ३०००० प्याजको बिरुवा आवश्यक पर्दछ । एक रोपनी क्षेत्रफल ढाक्नका लागि करिब १० वर्ग मिटर क्षेत्रफलको ब्याडको आवश्यकता पर्दछ । प्याजको नर्सरी पारिलो ठाउँमा राख्नुपर्छ ।

बेर्ना सार्ने : प्याजको बीउ छरेको एक महिनामा गर्मी महिनामा तथा २महिनामा जाडो महिनामा बेर्ना सार्न लायक हुन्छ । दह्रा, मोटा तथा स्वस्थ बिरुवा मात्र छनोट गरी रोप्नुपर्छ । प्याजको बेर्ना उखेल्नुभन्दा १–२ दिन अघि नै क्रिनोक्सिल गोल्ड नामक ढुसीनाशक बिषादी २ ग्राम प्रतिलिटर पानीका दरले मिसाई ब्याडमा माटो समेत भिज्ने गरी छर्नुपर्छ । रोप्नका लागि छानिएको बेर्नाको जरालाई रोप्नुभन्दा पहिले एच. बी. १०१ दुई थोपा वा एटोनिक दुई थोपा प्रतिलिटर पानीमा आधा घण्टासम्म उपचार गरेपछि मात्र रोप्नुपर्छ । बेर्ना रोपिसके पछि नसरुन्जेलसम्म माटाको चिस्यान हेरी आवश्यकतानुसार दिनको दुई पटक ५ दिनसम्म पानी हाल्नुपर्छ ।

बिषादीको प्रयोग : जग्गाको तयारी गर्दाको समयमा हालिएको मलखाद बाहेक बिरुवा राम्ररी सरेपछि पहिलो पटक ३० देखि ४० दिनभित्र मल्टिप्लेक्स वा जीङ्गोप्लेक्स वा एग्रोमिन २ एम. एल. प्रतिलिटर पानीमा मिसाई १५-१५ दिनको फरक्मा ४ पटक छर्नुपर्छ । बिरुवालाई रोग तथा किराबाट बचाउन तथा राम्ररी हुर्काउन वेभिस्टिन २ ग्राम र रोगर १ एम. एल. प्रतिलिटर पानीका दरले बेर्ना तथा माटो समेत राम्ररी भिज्ने गरी छर्नुपर्छ ।

टप ड्रेसिंग : ५ किलो युरिया बेर्ना रोपेको २० देखि २५ दिनमा र दोश्रो ५ किलो युरिया बेर्ना रोपेको ४० देखि ४५ दिनभित्र लाइनमा छरी टप ड्रेसिंग गर्नुपर्छ । टप ड्रेसिंग गर्दा दुई हारको बिचमा ५ से. मि. गहिरो कुलेसो बनाई युरिया राखी माटोले पुरी सिचाई दिनुपर्छ । त्यस्तै १ भाग जिवातु झोल मलमा ३ भाग पानी मिसाई साताको दुई पटक ३–४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा धेरै राम्रो हुन्छ ।

गोडमेल : साधारणतया ३ देखि ५ पटक झारपात उखेल्नुपर्छ ।

सिंचाई : प्याज रोपेको आधा जीवन चक्रसम्म प्रशस्त चिस्यानको आवश्यकता पर्दछ । त्यसपछि पानीको मात्रा कम गर्दै लैजानु पर्दछ र अन्त्यमा (थन्क्याउने बेला) सुख्खा राख्नुपर्दछ । प्याजलाई सुरुको २,३ महिना प्रशस्त मात्रामा चिस्यानको आवश्यकता पर्दछ जसका लागि उचित सिचाईको व्यवस्था मिलाउनुपर्दछ ।

किराहरु : थ्रिप्सले आक्रमण गरेमा पातमा सेतो तथा हल्का पहेलो धब्बाहरु देखिन्छन तथा पात केहि खुम्चने टुप्पा खैरो हुने तथा मर्ने हुन्छन् । यस बाहेक प्याजमा उफ्रने, खप्ते, लाही, सुलसुले आदिले पनि दुःख दिन्छन् । प्याजका सम्पूर्ण किरा तथा सुलसुले नियन्त्रण गर्न मलाथियन, रोगर, थयोडान, नुभान आदि कुनै पनि एक किटनाशक बिषादी २ एम. एल. प्रतिलिटर पानीका दरले ७ – ७ दिनको फरकमा २–३ पटक छरेमा सजिलैसंग नियन्त्रण गर्न सकिन्छ । यसैगरी प्रांगारिक तवरबाट कीरा नियन्त्रण गर्न शुरुदेखि नै निरन्तर रुपमा १ भाग जिबातु झोल मलमा ३ भाग पानी मिसाई साताको २ पटक ३–४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा पनि कीराको आक्रमण कम गर्न सकिन्छ ।

रोगहरु : बैजनी धब्बा, कालो पोके, डाउनि मिल्डू, डढुवा आदि प्याजमा लाग्ने मुख्य रोगहरु हुन्भने एन्थ्रक्नोज बैजनी जरा फेद कुहिने आदि रोगहरुले पनि प्याजमा आक्रमण गर्दछन् ।

बाली तयारी : प्याज रोपेको १३० देखि १५० दिनमा दोस्रो गानोका रुपमा बाली तयार हुन्छ । हरियो प्याजका रूपमा ११० देखि १२० दिनमा तयार हुन्छ । प्याजको सेट रोपेको ६० देखि ७० दिनभित्र गानु उखेल्न सकिन्छ ।

प्याजका रोगहरुबाट सजिलैसंग छुटकारा पाउन निम्न कार्य गर्नुपर्छ :

 अन्नबालीसंग घुम्ति बाली लगाउने । रोगमुक्त स्वस्थ बीउ रोप्ने र खेतबारी सफा राख्ने ।

 थ्रिराम वा क्याप्टान ३ ग्राम प्रतिकिलो बीउका दरले प्याजको बीउ छर्नुभन्दा पहिले उपचार गर्ने ।

 नर्सरीमा १ लिटर फर्मलडि़हाईड़ (४०%) ६० लिटर पानीमा हाली एक लिटर प्रति वर्गमिटर माटो भिज्ने गरी माटोको उपचार गर्ने ।

 डाइथेन एम–४५, क्याप्टान, बेमिस्टिन वा क्रिनोकिसल गोल्ड २ ग्राम प्रतिलिटर पानीका दरले मिसाई ७ देखि १० दिनको फरकमा ३ पटक छर्ने ।

बाली थन्क्याउने : हरियो तरकारीका लागि खेती गरिएको प्याज कलिलो अवस्थामा नै उखेलिन्छ । हरियो प्याज बेर्ना रोपेको ३–५ महिनामा तयार हुन्छ । गाना तयार भएको संकेत डाँठहरु भाचिएर भुइमा हुन्छन् र पातहरु पहेला हुन्छन् । गाना निकालेपछि ३ दिन छायामा सुकाउनु पर्दछ । प्याज थन्क्याउने बेलामा मौसम न्यानो र सुख्खा हुनुपर्दछ ।

प्याजको उत्पादन : प्याजको जात हेरी उन्नत तरिकाबाट खेती गरिएमा १५०० – २००० किलोग्रामसम्म प्रति रोपनी उत्पादन हुन्छ ।

प्याज सुकाउने (Curing) : प्याज खन्ने बितिकै केही दिनसम्म हावादार, छाँयादार तथा सुख्खा स्थानमा सुकाइन्छ । ३ देखि ४ साता भित्र प्याज राम्ररी क्यूरिङ्ग भइसक्छ ।

भण्डारण : प्याजलाई भण्डारण गर्न शुन्य डि. से. तापक्रम तथा ६० देखि ६५ प्रतिशत आद्र्रता उपयुक्त हुन्छ ।

स्रोत कृषि व्यवस्थापन सूचना प्रणाली,हलोखबर

 

प्रतिकृया दिनुहोस्