‘समाचार र विचारको
साझा चौतारी’





सिटीको उपाधि यात्रा कमजोर, टोटेनहमको लगातार तेस्रो जित


एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले खेलमा दुईपटक अग्रता लिएर न्युक्यासल युनाइटेडसँग बराबरीको नतिजा निकालेको छ । सिटी घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।

बराबरीसँगै सिटी उपाधि यात्रा कमजोर बनेको छ । सिटीको १४ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिन सफल भएपनि शीर्षस्थमानको लिभरपुलभन्दा ११ अंकले पछि परेको छ । एक खेल कम खेलेको लेस्टर सिटीको पनि २९ अंक छ । लेस्टरले आज एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ  यो खेलमा जित या बराबरीको नतिजाले लेस्टर पुनः दोस्रो स्थानमा फर्कनेछ । बर्नमाउथ १६ अंक जोडेर १२औं स्थानमा छ ।

जेम्स पार्क न्यु क्यासलमा भएको खेलको २२औं मिनेटमा रहिम स्ट्रलिङले कप्तान डेभिड सिल्भाको पासमा गोल गर्दै पाहुना टोली सिटीलाई अग्रता दिलाएका थिए । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन । २५औं मिनेटमा जेट्रो विलेम्सले बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ८२औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । त्यो अग्रत पनि लामो समय टिकेन । ८८औं मिनेटमा लिभरपुलका पूर्व खेलाडी जोन्जो सेल्भेले बराबरी गोल फर्काउदै सिटीसँग अंक खोस्न सफल भए ।

यता, जोसे मोउरिन्होको प्रशिक्षणमा टोटेनहम हस्टपरले लगातार तेस्रो जित निकाल्दा बर्नमाउथमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्यो । यसअघि टोटेनहमले प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडलाई ३–२ ले तथा च्याम्पियन्स लिगमा ओलम्पियाकोसमाथि ४–२ को जित निकालेको थियो ।
टोटेनहमका डेल अलीले दुई तथा मोउसा सिसोकोले एक गोल गरे । बर्नमाउथका ह्यारी विल्सनले दुवै गोल गरेपनि जितको लागि पर्याप्त बनेन । जितसँगै टोटेनहम १४ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ अंकसहित १२औं स्थानमा छ ।

यता, लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ । अघिल्लो खेलम म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको चेल्सी शनिबार राति वेस्टह्यासँग १–० ले स्तब्ध बनेको हो । दोस्रो हाफमा आरोन क्रेसवेलले गरेको गोल नै चेल्सीको हारमा पर्याप्त बन्यो । हारपछि चेल्सी १४ खेलबाट २६ अंक जोडेर चौथो स्थानमा यथावत छ । वेस्टह्याम १६ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ ।

 

प्रतिकृया दिनुहोस्