‘समाचार र विचारको
साझा चौतारी’





‘झिँगेदाउ’ : आँचलको पिठ्युमा डोको र सिउँदोमा सिन्दुर


फिल्मीखबर, काठमाण्डौ,
‘नाईं नभन्नू ल ४’ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री आँचल शर्माले अहिलेसम्म दर्शकलाई चक्मा दिने खालको भूमिका निभाएकी छैनन्। पछिल्लो रिलिज फिल्म ‘दाल भात तरकारी’ सम्म आइपुग्दा अभिनयमा पनि निखारता ल्याउन नसकेकी उनी प्रायः शहरिया युवतीको भूमिकामा देखिँदै आएकी छन् । तर, फिल्म ‘झिँगेदाउ’ मा भने उनी विल्कुलै फरक भूमिकामा छिन् ।

यसमा उनले गाउँले भूमिका निभाएकी छन् । आइतबार निर्माण टिमले अभिनेत्री आँचलको लुक्स सार्वजनिक गरेको छ । जसमा उनलाई निकै फरक गेटअपमा देख्न सकिन्छ । सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, सातो रंगको साडी र गुन्यू चोलीमा देखिएकी उनले कम्मरमा पटुकी बाँधेकी छन् । त्यस्तै, हातमा हँसिया र गाईवस्तुका लागि पिठ्युमा घाँसले भरिएको डोको बोकेकी छन् ।

उनको यो गेटअपले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्ने देखिन्छ । फिल्ममा उनले विवाहित महिलाको भूमिका निभाएकी छन्, जो विकट गाउँमा बस्छिन् । पहिलो पटक फरक भूमिका निर्वाहा गर्न पाएकी उनी आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् । फिल्ममा उनको जोडी ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निभाएका मुकुन्द भुषालसँग बाँधिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’ को अहिले भकुन्डेवेसीमा छायांकन भैरहेको छ । त्यहाँ इनडोर छायांकनका लागि सेट निर्माण गरिएको छ । खोटाङको हलेसीमा छायांकन सकेर निर्माण टिम भकुन्डेवेसी झरेको हो । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । फिल्मका निर्माता निर्देशक देउजा स्वयं हुन् ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् । निर्देशक देउजाले यसअघि ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्