विचार

मातृभूमिमा भारतीय सेनाको परेड : भारतीय भूमिमै मन चसक्क !

नेपाली राष्ट्रियता बलियो बनाउन र नेपालको विकासमा संधै संधै साथ दिइरहनुहुने विश्वका पंचम् मूल जगदगुरु श्री कृपालुजी महाराजको आह्वानमा हुने लोक एवं जनहितकारी कार्यमा सेवा गर्न नेपाली स्वयम्सेवकहरूका साथमा म अहिले श्री राधाकृष्णको दिव्यधाम वृन्दा वनमा छु । आफ्नो आत्माको कल्याणका लागि र अन्तस्करण शुद्ध पार्न तनसेवा गर्न आएको मेरो मन भने यतिखेर मातृभूमिको पश्चिम सिमाना लिपुलेक र लिम्पियाधुरातर्फ केन्द्रित छ ।

अनि चसक्क चस्किन्छ मुटु मेरो सिमानातिर भारतीय सेनाको परेड चलेको अनि लिम्पियाधुरा लिपुलेक मिचिएको छ भनेको सुन्दा । हो… धर्मको बोर्डर हुँदैन यसैले भगवान भन्दा पनि सद्गुरु देव श्रेष्ठ हुन्छन् भन्ने मान्यता बोकेको म जस्तो एक अकिंचन आफ्ना आराध्यदेवको सेवामा भारत आएको छु । मेरो भारत बसाई र सेवा गराई न त भारतको सेवा हो न भारतीय सरकारकै समर्थन का लागि हो, कदापि हैन । यदि श्री कृपालु गुरुदेवको प्राकट्य नेपालमा भएको भए म नेपालमै बसेर भक्ति गर्दथें भने गुरु चाईनातिर हुनुभएको भए उतै गइन्थ्यो ।

गुरु सेवा अनि भक्ति आत्मकल्याणका लागि गरिन्छ भने राष्ट्र भक्ति वा देशको सेवा शरीरका साथ समाज कल्याणका लागि गरिन्छ । तर, आत्मकल्याणरूपी हरि गुरु भक्ति गर्दा राष्ट्रिय अखन्डता एवं अस्मिता प्रतिकूल गएर हैन अनुकूल तवरले हुनुपर्छ । जगदगुरू श्री कृपालुजी महाराजद्वारा प्रतिपादित सिद्धान्तको मूल मर्म पनि यही हो । अझ श्री महाराजजी कै शब्दमा ऋषिमुनि सन्त महापुरुषको तपोभूमि, सुन्दर हिमालयको काखमा अवस्थित गौतम बुद्ध र जानकी मैयाँको लीलाभूमि नेपाल संधै सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्ने रहेकाले नेपाली राष्ट्रियतालाई मायाँ गर्ने गुरुको सेवाकासाथ भगवान श्री कृष्णको धाम बृन्दा वन जब टेकियो तब पो तातियो !

नेपाल भारत सीमा कलह । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नेपालको भू–भागमा पर्ने महाकाली नदी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नक्शा नै आफ्नो भूभागतिर पारेर सैनिक क्याम्प विगतदेखि राख्दै आएकौ छिमेकी मुलुक भारतको पछिल्लो हर्कत कोही पनि स्वाभिमानी नेपालीलाई मान्य छैन र हुनेछैन । जहाँसम्म सत्तारुढ भारतीय जनता पार्टीको हिन्दू सनातनवादी सिद्धान्त छ भनिन्छ र आज उसैको बहुमत प्राप्त मोदी सरकारले आफ्नो छिमेकी मुलुक जो सनातन धर्मको हिमायती छ उसको भूभाग मिचेर सोहै्र आना गल्ती गरेको देखिन्छ । हिन्दूत्वको आडमा साना छिमेकी मुलुकहरूसंग कटुतापूर्ण सम्बन्ध वनाउने चेष्टा गरिरहेको भारतको सरकार होस् वा सत्तारुढ बीजेपी यी दुवै असलीरूपमा सनातन वैदिक धर्मका विरोधी कित्तामा उभिएकाले उनीहरूबाट हाम्रो देश सनातन, धर्म कदापि बच्दैन ।

हिन्दूहरूको सर्वमान्य मानिने गौमाताको मासु बेचेर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने एजेन्डा बोकेको भारत सरकारले जसरी वेदको सहारा लिंदै बिफ निकासी गर्छ हाम्रो द्वैदेशीय सिमानामा पनि यस्तै चरित्र देखाएको छ । एकातिर समान धर्म, संस्कृति भन्ने अर्कोतिर सिमाना मिच्दै जाने कुराले आज नेपालमा जति नेपाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग रुष्ट बनेका छन् भने नेपाल भित्रका नेपाली मात्र हैन भारतभित्र रहेका नेपालीहरूको आवाज समेत साउथ ब्लकमा पु¥याउने कार्य गरिएन त्यसैगरी भारतीय गोर्खा राईफल्सहरूको चुनौती मातृभूमिको पक्षमा भारततर्फ भइदिएको खण्डमा लिम्पियाधुरा सुस्ता र कालापानीको लिपुलेकबाट भारत अवश्य व्याक हुनेछ । अनि हामी पनि बारम्बार गुरुधाम, र बृन्दा वन आइरहँदा मातृभूमिको अस्मिता लुटियो भनेर चिन्तित बन्नुपर्ने छैन ।

त्यसैले कूटनीतिक मर्यादा कायम राखेर कालापानी क्षेत्रको सीमा समाधान खोज्ने बताइरहेको नेपालको वर्तमान ओली सरकारले सबैभन्दा पहिले आफ्ना नागरिक सम्मिलित भारतीय सेनाको गोर्खा बटालियनसंग सम्वन्ध अगाडि बढाएर भारतलाई गोर्खा राईफल्स ओकल्नु न निल्नु बनाउन सके नेपालीभूमिको संरक्षण अवश्य हुनेछ । यतातिर लागोस् ओली सरकार हार्दिक शुभकामना छ ।
जय मातृभूमि–राधे राधे ।साँघु न्यूज २०७६ मङ्सिर १५ आइतबार 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button