‘समाचार र विचारको
साझा चौतारी’




डाक्टरसा’ब, महिनावारी गडबड हुँदा विवाहबारे प्रश्न किन?


बिरामीको वैवाहिक सम्बन्धसँग के छ साइनो?
सिंधुवासिनी त्रिपाठी

१३–१४ वर्षकी एक किशोरी डाक्टरसामु बसेकी छिन्। डाक्टर सोध्छन्, ‘तिमी विवाहित हो?’

किशोरीले आमातिर जिज्ञासु नजरले हेरिन्। सोचिन्– बिसन्चो हुनुमा यो विवाह कुरा कसरी जोडियो ? उनी ‘छैन’को संकेतमा टाउको हल्लाउँछिन्।

तर, पछिल्लो दुई सातादेखि उनको महिनावारी रोकिएको छ। उनले यो कुरा आफ्नी आमालाई बताएपछि स्वास्थ्य परीक्षण गराउन उनलाई डाक्टरकहाँ लगियो।
भर्खरै हुर्किंदै गरेकी यी किशोरीलाई केही थाहा छैन, महिनावारी रोकिएको कुराले अरु सबैले उनलाई कुन नजरले हेरिरहेका छन्।

उनले आमासँग पटक–पटक सोधिन्, ‘डाक्टरले किन सोधेको म विवाहित हो कि होइन भनेर ?’

जब डाक्टरले सिकाए नैतिकताको पाठ
फरक–फरक विषयमा जागरुकता फैलाउने र सामाजिक परिवर्तनका पक्षमा आवाज उठाउने बेभसाइट चेन्ज डट ओआरजीमा मैले भर्खरै यस्तो पढेकी थिएँ,
म एक अविवाहित केटी हुँ। केही दिनयता मेरो महिनावारी गडबड भएको छ र म जँचाउन डाक्टर कहाँ गएँ। म ढुक्क थिएँ कि डाक्टरले मेरो समस्याको समाधान गर्नेछिन्। मलाई औषधि दिनेछिन् र मेरो सहयोग गर्लिन्। तर, भयो ठीक यसको उल्टो।

उनले मलाई अचम्मलाग्दा प्रश्न सोधिन्। जस्तै– तिम्रो बिहे भयो ? तिम्रो केटा साथी छ कि छैन ? तिमी सेक्स गर्छ्यौ ? तिम्रो बाआमालाई यसबारे थाहा छ कि छैन ?
म डाक्टरको यस्तो रवैया देखेर छक्कै परेँ।

यस्तो घटना पूजाले बेहोरेकी थिइन्। उनी चाहन्छिन् डाक्टरले अविवाहित महिला÷युवतीसँग यस्ता छेउ न टुप्पाका प्रश्न नसोधुन् र नैतिकताको पाठ नपढाउन्।
उनले बेवसाइटमै आग्रह गरेकी छिन् कि यस्ता मामिलामा डाक्टरले पालन गर्नुपर्ने केही गाइडलाइन्स (निर्देशिका) बनाउन आवश्यक छ।

यौन स्वास्थ्यसँग जोडिएका समस्या आउनासाथ अधिकांश डाक्टरहरू वैवाहिक अवस्थासँग जोडिएका प्रश्न सोध्ने गर्छन्। खासमा सोधिनु पथ्र्यो– तिमी यौन क्रियाकलापमा सक्रिय छौ कि छैनौ ?

बिरामीको वैवाहिक सम्बन्धसँग के छ साइनो?
डाक्टर तृप्ति पेसाले स्त्री रोग विशेषज्ञ हुन्। उनी भारतको राजधानी नयाँ दिल्लीको विद्यासागर हेल्थ सेन्टरमा काम गर्छिन्। उनकोमा सहरियाहरूका साथै दिल्लीका ग्रामीण भेगका बिरामी पनि स्वास्थ्य परीक्षण गराउन आउँछन्।

डा तृप्तिका अनुसार डाक्टरले बिरामीको उपचार गर्न उसको यौन जीवन र सक्रियताबारे थाहा पाउन आवश्यक छ।

साथै उनी के पनि ठान्छिन् भने बिरामी विवाहित हो होइन, यौन सम्बन्धमा कति सक्रिय छिन्, यस्ता कुरामा डाक्टरले चासो राख्न भने जरुरी छैन।

बिबिसीसँगको कुराकानीमा उनले भनिन्, ‘मकहाँ आउने केटीहरूलाई म सुरक्षित यौन सम्पर्क गर्ने सल्लाह दिन्छु। एक वयस्क युवतीले विवाह नगरी यौन सम्पर्क गर्ने वा नगर्ने कुराको निर्णय आफैं लिन सक्छिन्।’

उनी अगाडि भन्छिन्, ‘महिलाको महिनावारी गडबड हुनु यौन स्वास्थ्यसँग मात्रै जोडिएको हुँदैन। यसबाहेक पनि अनेकौं कारण हुन सक्छन्, जस्तो कि यौन संक्रमणले फैलिने रोगहरू।’

निजी क्लिनिक र साना अस्पतालका डाक्टरले मात्र यस्तो व्यवहार गर्दैनन्। ठूला र कर्पोरेट अस्पतालमा समेत युवतीले यस्ता वाहियात प्रश्नको सामना गर्नु दिनुपर्छ।

रुढीवादी सोचबाट भइरहेको छ उपचार?
दिल्लीकी २५ वर्षीया अर्शिया धर आफ्नो अनुभव सार्वजनिक गर्दै भन्छिन्, ‘भेजाइनल इन्फेक्सन हुँदा म एक जना गाइनोकोलजिस्टकहाँ जँचाउन पुगेकी थिएँ। मैले उनीसँग सोधें, ‘कहीं यो (यौनरोग) एसटिडी त होइन ?’

डाक्टरले भने, ‘तिमी विवाहित होइनौ भने यौनरोगको त प्रश्नै भएन।’

अर्शिया भन्छिन्, ‘डाक्टर पनि यस्तो ठान्छन् कि केटीले यौन सम्बन्ध त्यतिबेला मात्रै बनाउँछन्, जब उसको विवाह हुन्छ। मलाई उनको यो सोचप्रति असाध्यै रिस उठ्यो र मैले फेसबुकमै यसबारे लेखें पनि।’

आमाबुवालाई भन्न आवश्यक छ?
डाक्टर प्रवीण झाले भारतमा यस्ता धेरै केस हेरेका छन्। अहिले उनी नर्वेमा काम गर्छन्। उनी भन्छन्, ‘गाइडलाइन्सको कुरा गर्ने हो भने सानातिना समस्याका लागि बिरामी बाहेक अरुसँग कुरा गर्न आवश्यक छैन। तर, कुरा गर्भधारणसम्म पुगेको छ भने केटीको साथी वा नजिकको आफन्तलाई भन्न आवश्यक छ।’

उनी भन्छन्, ‘कतिपल्ट गाउँका यस्ता केटीहरू मकहाँ आउँथे जसलाई आफू गर्भवती भएको थाहै थिएन। उनीहरूलाई बस यत्ति थाहा थियो, उनको पेट दुखिरहेको छ।’ यस्तो अवस्थामा उनका आमाबुवासँग कुरा गर्न आवश्यक छ। किनभने कसैलाई नभनी गर्भपतन गराउनु जोखिमपूर्ण हुन्छ। बिरामीको ज्यान तलमाथि पनि पर्न सक्छ।’

कहिलेसम्म इशारामा कुरा गर्लिन् केटी?
‘पुरुष यौन दुर्बलताको उपचार’, ‘यौन रोगका लागि’, ‘जवानीमा भूल भएको छ भने नपछुताउनुहोस्’ जस्ता सांकेतिक वाक्यहरू भित्ताभित्तामा पढ्न पाइन्छ। केटाको यौन दुर्बलता, यौन रोग उपचार हुनुपर्छ र यो सवैले थाहा पाउनुपर्छ भनेजस्तो गरि सार्वजनिक प्रचारप्रसार गरिएजस्तो। तर, जब कुरा केटीको आउँछ, सबै चुप लाग्छन्। कहीँ ठाउँ छैन गोप्य रुपमा उपचार गराउने। त्यसपछि सुरु हुन्छ इशारामा कुरा।

हाम्रा डाक्टर पनि त्यही समाजबाट आउँछन्, जुन समाजमा हामी बाँचिरहेका छौं। मेडिकल साइन्स र विज्ञानको पढाइले उनीहरूलाई दक्ष त बनाउँछ तर उनीहरूको मानसिकता त्यही समाजकै जस्तो हुन्छ। उनीहरू बुझ्दैनन् कि उनीहरूको काम भनेको प्रभावकारी उपचार गर्नु मात्र हो। त्यसभन्दा अघि बढेर यौन सम्पर्कबारे सही गलतको फैसला गर्ने र नैतिकताको लेक्चर दिने काम उनीहरूको होइन।

के हामी यस्तो समाजको परिकल्पना गर्न सक्छौं, जहाँ केटी/युवती/महिलाहरूले सजिलैसँग आफ्ना यौन जीवनसँग जोडिएका समस्याबारे कुराकानी गर्न वा छलफल गर्न पाउन् ? कमसे कम डाक्टरलाई त आफ्ना यौन समस्या खुलस्त बताउन पाउन् ?

(त्रिपाठीले बिबिसी हिन्दीमा लेखेको यो ब्लग स्वास्थ्यखबरकर्मी डिबी खड्काले अनुवाद गरेका हुन्)swsthyakhabarpatrika

 

प्रतिकृया दिनुहोस्