Sunday, January 19

‘समाचार र विचारको
साझा चौतारी’





पण्डित र परोपकार


नारायणप्रसाद पौडेल

परोपकाराहि सतां विभूतयः’ प्रयोग गर्नुपर्ने हो पण्डितजीहरूले सधैँ । तर, परपीडनका माध्यम बन्दा घृणा, निन्दा, तिरस्कारका पात्र बन्दै छन् धेरै । विद्वताको सदुपयोग गरिएको भए त्यस्तो हुन्थेन, दुरुपयोग गर्नाले हुन थालेको हो । धर्मको मर्म बिटुलियो । कर्मलाई विकृत पार्दा आस्थाप्रतिको विश्वास घट्दै गयो । व्यङ्ग्यचित्रमा समेत दलित युवतीद्वारा ‘जवानी चल्ने, पानी नचल्ने पण्डितजी ? भनेर सोधिन थालियो ।
‘परोपकार पुण्याय पापाय परपीडनम्’ भुलेजस्तो लाग्न थालेको छ अचेल । पीत र श्वेत वस्त्र धारण गर्दैमा, बिहान बेलुका गङ्गास्नान, जप र ध्यानमा लागेको देखिँदैमा, मन्दिर धाउँदैमा, पूजा र पाठमा दिन बिताउँदैमा परोपकार गरेको ठहरिने जमाना गयो । स्वर्ग र नर्कका पुराना र थोत्रा कहानीले चल्दैन अब । पुराण पनि कति प्रतिशत काल्पनिक र कति प्रतिशत ऐतिहासिक तथा वास्तविक भनेर अनुसन्धान हुन थालेको छ अचेल । पौराणिक साहित्य रचनाकारका प्रतिभा, शाब्दिक सम्मोहन, लालित्य, पाण्डित्य तथा भय र त्रासको वातावरणले धान्दैन अब । आधारविनाका उदाहरण मान्दैन मान्छेले । प्रमाण खोज्छन् । विकल्प रोज्छन् । पुर्खा र परम्परा, सभ्यता र सँस्कृति समयानुकूल बनाउन थाल्छन् । सामयिक र समाजोपयोगी भए राख्छन्, नत्र फाल्छन् । कर्मकाण्डप्रति वितृष्णा बढ्दै जानुमा पण्डितहरूकै क्रियाकलाप जिम्मेवार छन् बढी । यजमान बढेकोमा खुसी भएर सत्कर्म गर्न छाडेर दलित भन्दै हेलाँ गरेपछि पुलिसको फेला पर्न प¥यो ।
शिवराज नगरपालिका–५, चन्द्रौटा कपिलवस्तुका मिलन विश्वकर्माका घरमा पूजा गराउन गएका पण्डितद्वय यजमानको जात थाहा पाएपछि भागेछन् । मण्डप छाडेर भागेको, श्रद्धा र सम्मानको अपमान गरेको आरोपमा बाणगङ्गा नगरपालिका–८ चप्परगाउँका ६५ वर्षीय पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । अर्का पुजारी फरार छन् । भगौडा दुई पण्डितउपर छुवाछूत तथा अपमानजनक व्यवहार गरेको कसुरमा मुद्दा चलाएको छ प्रहरीले । कसुर प्रमाणित भए तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था छ । जीवनको उत्तराद्र्धमा पुगेका पण्डितलाई त्यस्तो आपत आइलाग्नु शोभनीय हैन, छैन । तथापि, कानुनले वृद्ध पण्डित भन्दैन, जान्दैन । दया गर्दैन । आजसम्म दलितहरूलाई गरेको अपमानको बदला वृद्धावस्थामा त्यसरी चुक्ता गर्न पर्ला भनेर उनले सोचेका पनि थिएनन् होला । तर, परिबन्धमा परे । अरूहरूले सिकून्, बुझून् र आइन्दा त्यस्तो गल्ती नगरून् । समयले दिएको सवक हो यो ।
पण्डितहरू भागेको खबर सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भइसकेपछि सामाजिक सरोकारको विषय बन्यो र मुद्दा चलाउन बाध्य भयो प्रहरी पनि । नत्र वास्तै हुने थिएन, थाहै पाउँदैनथ्यो कसैले पनि । सञ्चारमाध्यम र पत्रकारले सार्वजनिक गरेपछि प्रहरीले पक्रेको जातीय विभेदविरुद्धको उदाहरणीय कदम हो यो । सबै पण्डित र पुजारीले बुझून् र तथाकथित दलित जातिप्रति अछुत व्यवहार पटक्कै नगरून्, हेय दृष्टिले नहेरून् । जसले मान्छे मान्छेमा विभेद गर्छ, जात–पात र उच–नीचको भावना फैलाउँछ, आफू र आफ्नो कुल मात्र उच्च, अरूहरू तुच्छ भन्छ, ब्राह्मण र ब्राह्मणवादको आयु छोट्याउने काम त्यसैले गरेको ठहरिन्छ । त्यस्तै मान्छेका गल्तीले विधर्मीलाई आमन्त्रण गर्छ । प्राचीन हिन्दु दर्शन, जीवनशैली, पद्धति, सभ्यता र संस्कारको अन्त्य गराउन भूमिका खेलेको हुन्छ । त्यसैले ‘यिनै भगुवा नै देशमा क्रिश्चियनिटी बढ्यो भनेर बढी हल्ला गर्ने गर्छन् । थुक्क तिम्रो धर्म !’ भनेर फेसबुकमा लेख्न परेको हो, बुटवलका चर्चित साहित्यकार दीपक विश्वकर्माले । यस्तो लेख्न नपरोस् अब कसैले । ‘भुइँमा सुतेर चिसोका कारणले हजुरबुवा बित्नु भएपछि पण्डितलाई खाट किनेर दान गर्नुपर्ने समाजमा छौँ हामी । धेरै ठूला कुरा नगरौँ’ भनेर रक्षाराम हरिजनजस्ता अभियन्ताले टिप्पणी लेख्ने दिन पनि नआओस् भविष्यमा ।
अचेलका पण्डित (पुजारी)हरूले बुझून्– शास्त्र र पुराणका रचयिता महर्षि नारद दासीपुत्र हुन् । चण्डालीपुत्र हुन् विश्वामित्र । वशिष्ठलाई उर्वशी नामक अप्सराले जन्माएकी थिइन् । मत्स्यगन्धाका सन्तान हुन्– वेदव्यास । परशुराम रेणुका नामकी अप्सराका पुत्र हुन् । कुशिक ऋषि शूद्र माताबाट जन्मेका थिए । कतिपय महर्षिका पिताको पत्तो लाग्दैन । यस्ता उदाहरण पुराणमा मात्रै खोज्न पर्दैन । नेपालका चर्चित स्व. योगी नरहरिनाथ ब्राह्मण कुलमा जन्मेका थिएनन् र थिएनन् डा. स्वामी प्रपन्नाचार्य पनि ब्राह्मण परिवारका सन्तान । कुलमा जन्मदैमा कोही ब्राह्मण हुँदैन र शूद्रको सन्तान पनि सदाचारमा रहे ब्राह्मण हुन सक्छ भनेर शास्त्रले भनेको छ, मानेको छ ।
‘न योनिर्नापि सँस्कारो न श्रुतं नापिसन्ततिः ।
कारणानि द्विजत्वस्य वृत्तमेव तु कारणम् । (महाभारत अनुशासन पर्व १४३÷५०) जन्म, सँस्कार, शास्त्र, कुल आदि कुरा ब्राह्मण बन्ने कारण हुन सक्दैनन् । ब्राह्मण हुने कारण जीवनको सदाचारमात्र हो ।
शूद्रोऽपि शीलसम्पन्ने गुणवान्ब्राह्मणो भवेत् ।
ब्राह्मणोऽपि क्रियाहीनः शूद्रात्प्रत्यवरो भवेत् ।। यदि शूद्र पनि शील र सदाचारका गुणले सम्पन्न भयो भने ब्राह्मण बन्न सक्छ । यदि कुनै ब्राह्मण शील र सदाचारविहीन हुन्छ भने त्यो शूद्रभन्दा पनि तल्लो कोटिको (चण्डालसरह) हुन्छ ।
सत्यं ब्रह्म तपो ब्रह्म ब्रह्म चेन्द्रियनिग्रहः ।
सर्वभूते दया ब्रह्म एतद् ब्राह्मणलक्षणम् ।। सत्य, तपश्या, इन्द्रिय नियन्त्रण र सबै प्राणीहरूमा दया राख्ने कुरालाई नै ब्रह्मकर्म ठानी काम गर्नु नै ब्राह्मणको लक्षण हो ।
निर्ममो निरहङ्कारो निःसङ्गो निस्परिग्रहः ।
रागद्वेषविनिर्मुक्तस्तं देवाः ब्राह्मणं विदुः ।।
जो स्वार्थ, अहङ्कार, आशक्ति दानग्रहण तथा राग द्वेषबाट मुक्त छ, त्यसैलाई देवताहरूले ब्राह्मण भन्दछन् ।’ स्रोत ः बज्रसूची उपनिषद, अनुवादक ः मोदनाथ प्रश्रित ।
यस्ता प्रमाण धेरै दिन सकिन्छन्, आवश्यक परेमा । धर्म, परम्परा र संस्कारका नाममा समाजमा विद्यमान कुप्रथाका विरुद्ध शिक्षित समुदायले सामयिक सुधारको प्रयास नगर्नाले बैरीहरूले फाइदा उठाएका हुन् । कर्मकाण्ड र जातीय विभेदका बदमासी देखाएर हिन्दु सभ्यता र जीवन पद्धतिमाथि प्रहार गर्ने मौका पाएका हुन् । पण्डितहरूले ज्ञानको दुरुपयोग गरी अर्थोपार्जनको माध्यम बनाउँदा बिग्रेको हो । कर्मकाण्डको उपादेयता र उपयोगिता अस्वीकृत हुँदै गएको हो । गौतम बुद्ध र डा. भीमराव अम्बेडकरको महŒव बढदै गएको हो । आचार्य रजनीश (ओशो) र ओम शान्तिका प्रवर्तक दादा लेखराजका अनुयायीले ढाक्दै छन् जताततै । गाउँ–सहरका टोलभित्र छिरेका छन् यतै कतै । सातसमुद्रपारिका बैरीका भरिया र करिया बन्नुभन्दा उनीहरूका अनुयायी बढ्दा आपत्ति मान्न छाडिसके धेरैले । कर, डर र रहरले इसाई र इस्लाम बनेकाहरू पनि ओम शान्तिको राजयोग, पतञ्जलीको योग, बुद्ध धर्मावलम्बीहरूको विपश्यना र ओशोको ध्यान र आयुर्वेदको उपचार विधिप्रति आकर्षित हुन थालेका छन् । त्याग, समर्पण, अहिंसा र परोपकारका प्रभावले तानेको हो तिनीहरूलाई । त्यही काम पण्डितहरूले गर्ने हो भने अपमानित हुन पर्दैन, भाग्ने अवस्था आउँदैन र पक्रँदैन प्रहरीले पनि ।
स्व. पण्डित नारायण पोखरेलले सप्ताह ज्ञान महायज्ञ, श्रीमद्भागवत् कथा एवम् पुराण वाचन र प्रवचनलाई सङ्गीतबद्ध गरी जनचाहनानुसार संयोजन तथा सम्प्रेषण गर्दा अपार सफलता हासिल गरेपछि महायज्ञप्रति मान्छेको रुचि बढेको थियो । त्यही शैली पछ्याउँदै जाने अरू पण्डितहरूले अचेल लगाउने गरेका महायज्ञ पनि परपीडक बन्दै गएको अनुभूति गर्नेको कमी छैन । समाज सुधार एवम् विकास निर्माणका लागि भन्दै रकम असुल्दै जाने जुन चलन बढेर गयो, त्यसपछि बिस्तारै–बिस्तारै व्यापार हुन थाल्यो महायज्ञको । ठेक्कामा चल्ने र चलाउने चलन बढेको छ अचेल । विद्यालय, महाविद्यालय, औषधालय, वाचनालय, पुस्तकालय, समीक्षालय हुँदै प्रतीक्षालय र शौचालय निर्माणका लागि पनि महायज्ञ लगाउन थालिएको छ । दान दिनका लागि आयोजकमार्फत दिइने दबाब थेग्न नसकेर भाग्न परेका भुक्तभोगीका कुरा कम मर्मस्पर्शी हुँदैनन् । पण्डितजीहरूको परोपकार पातलिएर ठेक्कामा चल्न थालेपछि ब्राह्मण र ब्राह्मणवादविरुद्धको आक्रोश बढेको हो । तर, सदाचारप्रतिको सम्मान घटेको छैन समाजमा । उपकारको कदर हुन्छ, अपकार क्षम्य हुन सक्दैन । जातपातका कुरा गरेर समाज चल्दैन, सम्मान पनि मिल्दैन । सम्मान लिन चाहनेले दिन जान्नुपर्छ पहिले । उच्च कुल र जातको अहङ्कार प्रयोग गर्न पाइँदैन, दण्डनीय मानिन्छ अहिले । पण्डितजीहरूले बुझ्ने कहिले ?
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।      गोरखापत्र अनलाइन

 

प्रतिकृया दिनुहोस्