‘समाचार र विचारको
साझा चौतारी’




उपचारले मात्र क्यान्सर निको हुन्छ


स्वरूपा श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, हरिसिद्धिकी निर्देशक, उपचारका लागि सहयोगी हातहरूकी संस्थापक अध्यक्ष, नेपाल क्यान्सर सहयोग समूहकी कार्यकारी सदस्य, रोटरी क्लब अफ यलकी जनसम्पर्क निर्देशक, एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालकी कोषाध्यक्ष हुनुहुन्छ। नेपाल महिला चेम्बरकी सदस्यसमेत रहनुभएकी स्वरूपा विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध मात्रै हैन, निकै सक्रिय पनि हुनुहुन्छ। एक त क्यान्सरका बिरामी, त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका, बालबालिका, महिला, वृद्ध देख्दा अत्यन्तै पीडा महसुस गरी आफैंले उपचारका लागि सहयोगी हातलगायतका संस्थाहरू खोली आर्थिक सहयोग जुटाउने कार्य गरेर सहयोग गर्दै आउनुभएको छ। आर्थिक अवस्था कमजोर भएर समयमै उपचार नपाएर छटपटिइरहेकालाई दाता खोजेर सहयोग जुटाई उपचार गर्न पाउँदा उहाँ ठूलो राहत महसुस गर्नुहुन्छ। क्यान्सरबारे जनचेतना फैलाई समयमै उपचार गर्न सघाउने उद्देश्यले बेलाबखत क्यान्सर सर्भाइभरहरूको र्याम्प, वाकाथुन मात्रै नभई मुलुकका दुर्गम क्षेत्रमा चिकित्सक टोली लगेर निःशुल्क क्यान्सर शिविर सञ्चालन गर्दै आउनुभएकी श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप ः

नेपाल क्यान्सर हस्पिटलको निर्देशक पनि हुनुहुन्छ, उता समाज सेवामा पनि सक्रिय हुनुहुन्छ, समयचाँहि कसरी मिलाउनुभएको छ ?

इच्छाशक्तिमा भरपर्छ। चायो भने समयको व्यवस्थापन गर्न सकिन्छ। पहिलो महवको विषय के छ त्यसलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिरहेकै छु।

नेपाल क्यान्सर सहयोग समूहबाट कस्ता बिरामीलाई सहयोग गरिराख्नुभएको छ ?

धेरैजसो अस्पताल आएर परीक्षण गरिसकेपछि क्यान्सर भयो भन्ने थाहा पाउँछौं, उहाँहरूसँग पैसा हुँदैन। विशेष गरी स्वास्थ्य शिविरमा जाँदा यस्ता समस्या आउँछन्। त्यस्तो अवस्थामा हामीले कति बिरामीलाई गाडी भाडासमेत दिएर अस्पताल पुग्ने र शल्यक्रिया गर्नेसम्मका काम गरेर पठाएका छौं।

अहिलेसम्म कति जनाको पूर्णरूपमा निःशुल्क उपचार गर्नुभयो ?

सानोतिनो सहयोग त धेरैलाई गरेका छौं। अहिलेसम्म २५ जनालाई पूर्णरूपमा निःशुल्क उपचार गरेका छौं। यसका लागि विभिन्न दाताले सहयोग गर्नुभएको छ। उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।

त्यस्ता गरिब बिरामीलाई नेपाल क्यान्सर हस्पिटलका डाक्टरहरूले पनि सहयोग गरिराख्नुभएकोे छ। उहाँहरूले बिरामीबाट लिने शुल्क पनि नलिई निःशुल्क अप्रेसन गरिदिनुभएको छ। कतिपय औषधि पनि अस्पतालबाटै निःशुल्क उपलब्ध गराएका छौं। कुनै–कुनै किन्नुपर्ने औषधि रोटरी क्लब अफ यलसँग मिलेर, बीमा कम्पनीसँग मिलेर र आर्थिक संकलन जुटाएर सहयोग गरिरहेका छांै।

नेपाल क्यान्सर सहयोग समूहसँग क्यान्सरको बिरामीको उपचार सहयोगका लागि कति रकम छ ?

त्यस्तो धेरै रकम भएर सहयोग गरेको हैन। भित्री मनले नै सहयोग गर्ने चाहना राखेकाले जति बेला जस्तो समस्या आउँछ समाधान पनि तत्काल निस्कन्छ। कतिपय बिरामीलाई समस्या हुँदा ४० हजार रुपियाँको हाराहारीमा सहयोग उपलब्ध गराउँदै आएका छौं। यो सहयोग रोटरी क्लब अफ यलले २५ हजार र नेपाल क्यान्सर सोसाइटी ललितपुर शाखाले १५ हजार उपलब्ध गराउँदै आएको छ। बाँकी १ लाख बराबरको सहयोग अस्पताल र डाक्टरबाट गर्दै आएका छौं।

सरकारकारबाट पनि हरेक क्यान्सर बिरामीका लागि १ लाख रुपिया आर्थिक सहयोग आउँछ नि ?

सरकारबाट पाउने रकम सर्जरीका लागि प्रयोग गर्दैनौं। यो रकम अरू विपन्न बिरामीको उपचारका लागि दिँदै आएका छौं। नेपाल क्यान्सर सहयोग समूह र उपचारका लागि सहयोगी हातहरूले गर्ने सहयोग फरक हो। सरकारले दिने रकम रेडियसन दिन प्रयोग हुन्छ भने औषधि किन्न बिरामी स्वयंले खर्च गर्छन्।

ग्रामीण तथा गरिब महिलाहरूमा कस्तो खालको क्यान्सर बढी देखिन्छ ? गरिबीको पहिचान गर्ने आधार के छ ?

विभिन्न ठाउँमा क्यान्सरको शिविर आयोजना गर्दा स्थानीय जनताबाट नै आर्थिक अवस्था कमजोर छ, अस्पताल जान सकिँदैन भन्छन्। कति बिरामीलाई त स्थानीय बासिन्दाले नै उपचारका लागि पैसा उठाएर पठाउँछन्। अरू चाहिने हामीले सपोर्ट गर्छौं। अस्पतालमा पनि बिरामी साँच्चै गरिब हो कि हैन भनेर छानबिन गर्न छनोट कमिटी बनाएका छौं। कतिपय मानिस खानपिन र रमाइलो गर्न बीसौं हजार खर्च गर्छन् तर आफ्नो उपचार गर्न १० हजार पनि खर्च गर्न आनाकानी गर्छन्। कोही–कोही निजी गाडीमा आउँछन् अनि अस्पतालसँग छुट माग्छन्। त्यसैले छानबिन कमिटीले अन्तर्वार्ता लिन थालेपछि यथार्थ गरिब छान्न सजिलो भएको छ। गरिब हो भन्नेलाई दिन सकौं र रोग निको होस् भनेर धेरथोर सहयोग गर्ने गरेका छौं।

कोही–कोही निजी गाडीमा आउँछन् अनि अस्पतालसँग छुट माग्छन्। त्यसैले छानबिन कमिटीले अन्तर्वार्ता लिन थालेपछि यथार्थ गरिब छान्न सजिलो भएको छ। गरिबलाई दिन सकौं र रोग निको होस् भनेर धेरथोर सहयोग गर्ने गरेका छौं।

अन्तर्वार्ता लिँदा कोही त कति गरिबीको चपेटमा परेका हुन्छन् आफू क्यान्सरपीडित, बच्चा विकलांग, श्रीमान्ले काम गर्न नसक्ने हुन्छन् यस्तो देख्दा अत्यन्तै माया लाग्छ। त्यस्तो अवस्था भएका व्यक्तिलाई हामीले पूर्णरूपमा निःशुल्क गर्ने गरेका छांै। मद्दत माग्न आउने सकेसम्म सबैलाई मद्दत गर्छौं।
अहिलेसम्म कति ठाउँमा निःशुल्क क्यान्सर शिविर आयोजना गर्नुभयो ? अहिलेसम्म दुई दर्जनको हाराहारीमा गरिसक्यौं। नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको संयुक्त प्रयासमा गरिएको शिविरबाट २५ हजार जनाभन्दा बढीको क्यान्सर परीक्षण भइसकेको छ। देशका अधिकांश ठाउँमा यस्ता शिविर गर्ने योजना छ।

शिविरमा क्यान्सर पहिचान भएका बिरामीमध्ये कति बिरामी अस्पताल पुग्छन् ?

क्यान्सर भएको प्रमाणित भएपछि हामीले स्थानीय आयोजकलाई घचघच्याएर जुनसुकै अस्पतालमा भए पनि उपचारका लागि पठाउन जोड गर्छौं। तर, पछि सबै हाम्रो सम्पर्कमा भने आउँदैनन्। आधाजसो त पुग्नुहुन्छ होला।

जनचेतना र उपचार दुबैका लागि सहज गराउन शिविर चलाउनुहुन्छ ?

हो, बिरामीको पहिचान र उपचारलाई सहजीकरण गर्नु नै हाम्रो मूल उद्देश्य हो। उपचार नपाई कसैले अकालमा मर्न नपरोस् र समयमै उपचार पाएर दीर्घजीवन पाउन भन्ने हाम्रो कामना हो।

तपाईं त अस्पतालको निर्देशक पनि हुनुहुन्छ अनि समाजसेवी पनि। कमजोर आर्थिक अवस्था भएका बिरामीका लागि कसरी सहयोग जुटाउनुहुन्छ ?
हामी भाग्यमानी छौं। मनकारी साथीभाइ, संघ–संस्था, आफ्नै अस्पतालका चिकित्सक, अन्य अफिसहरूबाट पनि सहयोग पाइरहेका छौं। बिरामीको अवस्था अत्यन्तै गाह्रो छ भने हामीले व्यक्तिगतरूपमै पनि सहयोग गर्ने गरेका छांै।

सहयोग नपाएर कुनै बिरामीको उपचार हुन नसकेको र बिर्सनै नसकेको क्षण कुनै छ कि ?

केही समयअघि मात्र विराटनगरको एक जना महिला बिरामी आउनुभएको थियो। बच्चा विकलांग, श्रीमान् बेरोजगार। ती महिलाको स्तन कुहिएर मान्छे अगाडि पर्न नसक्ने गरी गह्नाइरहेको थियो। यस्तो अवस्थामा एक जना भाइले विराटनगरबाट नेपाल क्यान्सर हस्पिटलमा ल्याइदिनुभयो। उहाँको अप्रेुसन गर्नुअघिको अनुहार र अप्रेसन सफल भएपछि खुसी भएर हाँस्दै भन्नुभयो– ‘तपार्इंहरूले मलाई नयाँ जीवन दिनुभयो। त्यो अनुहार म कहिल्यै बिर्सन सक्दिन्नँ।’ उहाँ र उहाँको श्रीमान्को मुस्कान अनवरत रहिरहोस् हामी बारम्बार फलोअपमा छौं।

त्यसै गरी भैरहवामा शिविर सञ्चालन गर्दा पहिचान भएको बिरामीलाई भैरहवा रोटरी क्लबले आर्थिक सहयोग गरेर पठायो उपचारपछि निको भएर खुसी हुँदै फर्किनुभएको क्षण पनि उत्तिकै स्मरणीय छ।

केटाकेटी, युवायुवती र बूढाबूढीमा कस्ता किसिमको क्यान्सर बढी पाइएको छ ?

बच्चामा बढी ब्लड क्यान्सर भएको पाइएको छ। ब्लड क्यान्सर समयमै उपचार गरे सधैंका लागि निको हुन्छ। तर, नबुझेको परिवारले क्यान्सर लागेपछि मान्छे मरिहाल्छ भनेर उपचारको पहुँचमै नजाने रहेछन्। यस्तो थाहा पाएपछि हामीले ब्लड क्यान्सर उपचार गरेर निको भएका बच्चाहरूको भेला नै गरेर क्यान्सर सर्भाइभरहरूको र्याम्प सो नै आयोजना गर्यौं। यसले जनचेतना फैलाउन ठूलो मद्दत गरेको छ। कतिपय बाबुले बच्चालाई क्यान्सर भएपछि निको हुन्न, देखाउन जानुपर्दैन भन्दा आमाले माइत जान्छु भनेर बच्चालाई उपचारका लागि अस्पताल लिएर आउँछन् र उपचारपछि निको भएको छ।

त्यति मात्र हैन श्रीमतीलाई क्यान्सर भयो भने अब किन तिम्रो उपचार गर्ने तिमी मरिहाल्छौ भन्ने श्रीमान् पनि भेटेका छौं। पैसा खर्च हुने, तिमी मरिहाल्छौ किन उपचार गर्ने भनेका श्रीमतीको पनि उपचारपछि बाँचेर नियमित काममा जुटेका छन्।

कस्ता खालको परिवारले त्यस्तो गरेको पाइन्छ ?

मध्यम वर्गीय परिवार नै हो।

आर्थिक अवस्था कस्तो हुन्छ ?

आर्थिक अवस्था पनि ठीकै भएको पाइन्छ।

त्यस्तो परिवारले उपचारका लागि पहल नै गर्दैनन् ?

एउटा परिवारमा पहिला बच्चाको मृत्यु भएको रहेछ। त्यसपछि श्रीमतीलाई क्यान्सर हुँदा तिमी पनि मर्छौ किन उपचार गर्न जाने भनेर हस्पिटल लगिएन। तर, श्रीमती आफंै हस्पिटल आउनुभयो। उहाँका लागि आर्थिक सहयोगको खाँचो थियो। हामीले सक्दो सहयोग गरेर उपचार गरायौं। उहाँलाई तीनपटकसम्म क्यान्सर दोहोरियो। भाग्यवश अहिले उहाँलाई ठीक छ। क्यान्सर हुन्छ तर समयमै उपचार गरे निको हुन्छ भन्ने उदाहरण हो यो। क्यान्सर देखा पर्यो दोहोरियो भन्दैमा अब मरिहाल्छ भन्ने हुँदैन। नियमित परीक्षण गरेर समयमै उपचार गराउँदा निको हुन्छ।

शिविरमा आउने कुन उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ ?

विशेष गरी २८ देखि ५० वर्षसम्मका महिलामा बढी पाठेघरको क्यान्सर देखिएको छ।

यो उमेर समूहमा बढी पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ र कसरी न्यूनीकरण गर्न सकिन्छ ?

प्रमुख कारण जनचेतनाको कमी, स्वास्थ्य परीक्षण नियमित नगर्नु, सरसफाइमा ध्यान नदिनु, विवाहित महिलाले बच्चा जन्माइसकेपछि ३० वर्ष उमेर कटेपछि वर्षमा एकपटक नियमित परीक्षण गर्नुपर्छ। वंशाणुगत क्यान्सरको समस्या हुनेले पनि समय समयमा परीक्षण गरिरहनुपर्छ।

परिवारको सहयोग र समर्थन नहुँदा बिरामी स्वयंले समस्या बाहिर ल्याउन डराउँछन्। महिलालाई त सबैभन्दा ठूलो डर श्रीमान्ले अर्को श्रीमती विवाह गर्ला भन्ने नै हो। यही डरले पनि रोगका बारेमा बाहिर भन्नै सक्दैनन् र समयमा परीक्षण नै हुँदैन।

यो सामाजिक समस्या नै हो ?

हो सामाजिक समस्या नै हो।

गाउँ–गाउँमा शिविर जान थालेपछि पछिल्लो समय क्यान्सरका बारेमा बिरामीमा जागरुकता देखिएको हो ?

परीक्षण गर्नुपर्छ भन्ने दिमागमा छ तर घर–परिवार र समाजको डरले नगरेको पाइन्छ। जब गाउँमै शिविर हुन्छ एकदम खुसी भएर समय मिलाएर आउँछन्, त्यति बेला सासूहरू पनि आउँछन् र परिवारले पनि केही नभन्ने रहेछन्।

क्यान्सरको परीक्षण अस्पतालमा भन्दा शिविरमा गराउँदा प्रभावकारी र समयमै पत्ता लाग्छ हो ?

हो, स्क्रिनिङ क्याम्पले गर्दा दुर्गम भेगमा बसोबास गर्ने महिलाका लागि जनचेतनाका साथ परीक्षण र उपचार पाउँदा धेरै राम्रो भयो।

शिविरमा रोगको आशंका लागेकालाई उपचारको पहुँचमा कसरी ल्याउनुहुन्छ ?

जो मानिसलाई शंका लागेको छ उसलाई स्थानीय आयोजकलाई घचघच्याएर, बिरामी स्वयंलाई फोन गरी तपाईंलाई यस्तो छ भन्छांै।

अपरझट क्यान्सर लाग्यो भनेर सुन्दा बिरामीलाई कस्तो महसुस हुन्छ ?

पहिला क्यान्सर भन्ने बित्तिक अब म मर्ने भए भन्ने हुन्थ्यो। त्यसैले हामी शिविर गर्नुअगाडि नै क्यान्सर भएर निको भएका बिरामीबाट क्यान्सर समयमै पहिचान गरी उपचार गर्दा निको हुन्छ र हामीलाई निको भयो भनेर बोलेर विश्वास दिलाउँछौं। त्यसपछि कानेखुसी गर्दै बिरामीले क्यान्सर निको हुँदोरहेछ भनेर परीक्षणमा आउँछन् र मनोबल बढाएर उपचार गर्न डराउँदैनन्। त्यसपछिको समय सोच्नै नसकिने हुन्छ।

क्यान्सरका बिरामीलाई के सन्देश दिनुहुन्छ ?

क्यान्सर निको हुने रोग हो। पहिला नेपालमा डाक्टर पनि कम र अस्पताल पनि थिएनन्। त्यस कारण क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता थियो। अहिले नेपालमै क्यान्सरका धेरैवटा अस्पताल बनिसकेका छन्। सबैखाले क्यान्सरको उपचार नेपालमै सम्भव छ।

अब विदेश जाने दुःख गर्नुपर्दैन। विदेशमा गएर महँगो शुल्क तिर्न पर्दैन, नेपालमै उपचार कम खर्चमा हुन्छ। क्यान्सर लाग्यो भन्दैमा आत्तिनु, डराउनुपर्दैन। क्यान्सरको नाम सुन्नासाथ एकैपटक विदेश जानु पनि पर्दैन।

क्यान्सरको उपचार गरेर निको भएका बिरामीको अनुभव सुन्नुस्। त्यसपछि पनि बाहिर जाने चाहना बिरामीमा छ भने एकपटक देखाएर आउनुस् तर उपचार नेपालै गर्नुस् भन्ने सल्लाह दिन्छु।नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस्