Sunday, January 19

‘समाचार र विचारको
साझा चौतारी’





जुरो नभएको संसारकै सानो लुलु गाई पर्यटकीय दृष्टीले महत्वपूर्ण


बासुदेव नाथ/पशु विकास अधिकृत

१) परिचय :

लुलु जातको गाई नेपालमा पाईने स्थानीय जातका सात वटा गाईका प्रजाति मध्ये जुरो नभएको (Hump Less) गाईको प्रजाति हो । यो जातको गाई समुद्रसतहबाट २५९० देखि ४००० मीटर सम्मको उचाईमा पाल्न सकिन्छ । यसले थोरै घासपात र आहारामा पनि राम्रो उत्पादन दिने गर्दछ। यसको संख्या दिन प्रतिदिन घटदै गईरहेको छ । यो दूध, मल , खेत जोत्नको लागि उपयोग गरिन्छ । यस जातको गाईले पहिलो पटक साँढे खोज्ने उमेर ३०—३८ महिना, पहिलो पटक व्याउने उमेर ४०—६० महिना, एक वेतदेखि अर्को वेतको अन्तर
१२ देखि २४ महिना हुन्छ । यस गाईको औसत आयु करिव २० वर्ष हन्छ । भने अन्य रैथाने जातका गाई भन्दा गर्भधारण अवधि कम हुन्छ । यो जातको गाई पर्यटकहरुको लागि आकर्षक भएकोले पर्यटन प्रवर्द्धनको लागि पनि महत्वपूर्ण मानिन्छ ।

२) स्पेसिज : जुरो नभएको (Bos Taurus)

३) उत्पत्ति : यस जातको गाईको उत्पत्ति स्थान मुस्ताङ जिल्लामा भएता पनि मनाङ र डोल्पा जिल्लामा समेत पाईन्छ ।
४) विशेषता : यस गाईको प्रमुख विशेषता हिमली भेगमा पाइने जुरो नभएको ( Hump Less) संसार कै सवैभन्दा सानो गाईको प्रजाती हो । यो सुख्खा, चिसो हावापानीमा हुर्कन सक्ने क्षमत भचएको, छोटो कद, छोटा खुट्टा, लामो पुच्छर र वाक्लो रौं हुन्छन । थोरै र कमसल खालको आहारा खाएर पनि राम्रो उत्पादन दिन्छ ।
५) रंग : यो गाई कालो, खैरो, खरानी, सेतो, सेतो–कालो, टाटेपाटे लगायत अन्य रंगका हुन्छन ।
६) जिवीत शारिरिक तौल : सामान्यतया यस जातको गाईको औसत शारिरिक तौल करिव ६८ देखि १५३ किलोग्राम भए पनि यस जातको वयस्क साँढेको शारिरिक तौल १५०—२२५ के.जी. र माउको शारिरिक तौल १२०—१६० के.जी. सम्म हुन्छ ।
७) दुध उत्पादन : यस गाईको दैनिक औषत दुध उत्पादन १.६ लिटर हुन्छ । (०.६ देखि ३.६५ लीटर दैनिक दूध उत्पादन ) र दूध दिने अवधि १८० देखि २१० दिन रहेको छ ।
८) दुधको गुणस्तर : यस गाईको दुधमा चिल्लो पदार्थ (Fat) ३.६%, चिल्लो रहित ठोस पदार्थ (SNF) १०.९% र प्रोटिन ३.८% रहेको पाईन्छ ।
९) निष्कर्ष : लुलु गाई जुरो नभएको संसारकै सबै भन्दा सानो गाईको प्रजाती हो । कमसल खालको आहारा तथा व्यवस्थापनमा पनि राम्रो दूध उत्पादन हुने गर्दछ । उचित आहारा व्यवस्थापन, गोठ व्यवस्थापन, प्रजनन्व्य वस्थापन, पशु स्वास्थ्य व्यवस्थापन, बजार प्रवर्द्धन र असल पशुपालन अभ्यास (Good Husbandry Practice – GHP) अवलम्वन गर्न सकेमा घट्दै गएको गाई संख्या संरक्षण गर्न मद्दत पुग्दछ ।

यो जातको गाईलाई व्यवसायिक रुपमा आधुनिक प्रविधियुक्त तवरले पालन गर्न सकेमा दूध उत्पादन तथा उत्पादकत्वमा समेत वृद्धि हुन गइ कृषकहरुको जीवन स्तरलाई उकास्न मद्दत पुग्दछ । यो जातको गाई पर्यटकहरुको लागि आकर्षक भएकोले पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण हुनुको साथै कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्न गइ नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार
हुन सहयोग पुग्ने देखिन्छ ।

लेखक हाल राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय, हरिहरभवन, ललितपुर कार्यरत हुनुहुन्छ ।halokhabar

प्रतिकृया दिनुहोस्