सम्पादकीय

रोपिँदै छन् फासीवादका बिउहरु !

आज  प्रकाशित मुख्य दैनिक पत्रिकाले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय युवा ओमप्रकाश महतोको हत्या, तनहुँ हाइड्रोमा भएको ढिलासुस्ती, सरकारी अस्पतालको कमजोर व्यवस्थापन एवं अमेरिका–इरान द्वन्द्वका कारण नेपालमा पर्न सक्ने असरका विषयमा सम्पादकीय लेखेका छन् ।

धनुषाको मिथिला नगरपालिकामा एकजना युवालाई नदीको अत्यधिक दोहन र उत्खनन गरेर वातावरणीय संकट ल्याउन नदिन गरिएको प्रयासका लागि टिपर व्यवसायी या गिटी बालुवा ठेकेदारले टिपरले किचेर मारेको समाचारमाथि आजको नयाँ पत्रिकाले सम्पादकीय लेखेको छ  ‘आफ्नो गलत कामविरुद्ध कसैले आवाज उठायो भने उसको हत्या गर्ने, कुटपिट, अपहरण गर्ने र आफ्नो बाटोबाटै पन्छाउन मानसिकता नै फासिवादको बिउ हो,’ यी ससाना बिउहरु शीर्षकमा देखिएको सम्पादकीयमा भनिएको छ, ‘त्यस्तै सर्लाहीमा हालै पक्राउ परेका रामबाबु यादवबाट पीडितले उनीविरुद्ध उजुरी लेखिदिने कानुन व्यावसायी नै पाएनछन् । यसमा पीडकको आर्थिक आर्थिक र राजनीतिक शक्तिको प्रभाव परेको देखिन्छ । पीडकले नै न्याय दिनुपर्ने निकाय र संस्थालाई समेत प्रभावित गरेर समाजमा दबाब कायम राख्नु भनेको पनि फासिवादकै अर्को अभ्यास र बिउ हो ।’

त्यस्तै कान्तिपुर दैनिकले पनि खोलाको अवैध उत्खनन रोक्न पुगेका एक युवालाई ‘टिपरले किचेर’ हत्या गरिएको घटना सुन्दा पनि जंगली–राजको झल्को दिएको उल्लेख गर्दै ‘हत्याराहरुलाई कारबाही गरियोस्’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘कानुनी शासनमा त यति अकल्पनीय र कलालीलाग्दो घटना हुनै सक्दैन, हुनु हुँदैन पनि,’ सम्पादकीयमा भनिएको छ– यो हृदयविदारक घटनाको छानबिन विस्तृत र बहुकोणबाट हुन आवश्यक छ । यो एउटा सामान्य व्यक्तिको हत्या मात्र होइन, माफिया–राजको विरुद्धमा जनताका साझा मुद्दा बोकेर भिडिरहेको एउटा प्रतिनिधि पात्रलाई खतम गरिएको घटना हो, जुन पकारान्तरले विधिको शासनकै वध हो ।

त्यसैगरी आजको नागरिक दैनिकले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय युवा ओमप्रकाश महतोकै हत्याको विषयमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– प्रत्येक जीवनको मूल्य उत्तिकै महत्वपूर्ण हुन्छ । यस विषयमा सरकार संवेदनशील हुन जरुरी छ । यस्तो आपराधिक क्रियाकलापमा संलग्नहरुलाई कारबाही गर्नमा शून्य सहनशीलता प्रस्तुत गर्नैपर्छ ।

आजको अन्नपूर्ण पोस्ट्ले तनहुँ हाइड्रो निर्माणमा भएको ढिलासुस्तीका विषयमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– तनहुँ हाइड्रो अर्थात् साविकको माथिल्लो सेती (१४० मेगावाट, जलालयशुक्त) आयोजनाले ढिलासुस्तीको नियति भोग्दैछ । विद्युत्प्राधिकरणले २०५९ देखि यसको निर्माणसम्बन्धी चर्चा गर्दै आएको थियो । १७ वर्षसम्म यो आयोजना बनेको छैन । एडीबीका प्रक्रिया र अर्धविराम र पूर्णविरामसमेत किचकिच गर्ने प्रवृत्तिले ढिलासुस्ती हुँदै आएको सर्वत्र महसुस गरिएको हो ।

गोरखापत्रले अपवादका क्षेत्रलाई छाडेर नेपालका सरकारी भन्नेबित्तिकै गुणस्तरहीन वा अस्तव्यस्ताका रुपमा चिनिने गरेको उल्लेख गर्दै ‘अस्पतालको कमजोर व्यवस्थापन’ शीर्षकमा राजधानीका सरकारी अस्पतालको व्यवस्थापनको विषयमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– व्यक्तिगत लाभहानीका मनसायले सरकारी अस्पतालमा उपकरण बिग्रिएका, सञ्चालनमा नल्याइएका जस्ता समाचार सार्वजनिक हुने गरेकाले समस्याहर बहुआयाम बुझ्न सकिन्छ । त्यसैले नियम कानुन, जिम्मेवारी पूरा नगरेपनि सम्पर्क र शक्तिका कारण जागिर खान पाइरहने अवस्था रहेसम्म यस्ता विकृतिको अन्त्य गर्न सम्भव हुँदैन ।

संसार यतिबेला अमेरिका–इरानबीचको द्वन्द्वको कारण उत्पन्न हुने संकटका विषयमा विभिन्न खाले टिप्पणी भइरहेको उल्लेख गर्दै कारोबार दैनिकले ‘अमेरिका–इरान द्वन्द्वको असर’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– विश्वमा हुने शक्तिराष्ट्रहरुको द्वन्द्वले विश्व अर्थतन्त्रलाई नै असर पार्छ भने नेपालले पाउँदै आएको वैदेशिक सहायतामा समेत कमी आउन सक्ने र वैदेशिक लगानी पनि प्रभावित हुन सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button