कला

‘माया नमार २’ बाट छोरालाई डेब्यू गराउँदै रमित

फिल्मीखबर, काठमाण्डौ,
सन् २००२ मा प्रदर्शनमा आएको मदन घिमिरे निर्देशित फिल्म ‘माया नमार’ बाट अभिनय करिअर सुरुवात गरेका अभिनेता रमित ढुंगानाले यही फिल्मको सिक्वेलबाट आफ्नो छोरालाई अभिनेतामा लञ्च गर्ने भएका छन् । आइतवार आफ्नो जन्मदिन मनाउने क्रममा उनले यो कुराको खुलासा गरेका हुन् । तर, फिल्मको निर्माण हुन भने अझै ४ देखि ५ वर्ष लाग्ने उनले बताएका छन् ।

उनका छोरा ओजश्वी गएको १५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । कम्प्यूटर इन्जिनियरिङ विषयमा अध्ययन गरिरहेका उनले फिल्ममा अभिनय गर्ने इच्छा देखाएपछि ‘माया नमार २’ बाट डेब्यू गर्ने तयारी गरेको रमितले बताए । उनले भने, ‘मेरो दबाबमा ओजश्वीले फिल्ममा अभिनय गर्न लागेको होइन । ऊ आफैंले इच्छा देखाएपछि फिल्ममा डेब्यूको तयारी गरेका हौं ।’

फिल्म ‘माया नमार’ अभिनेता रमितका दाई अमित ढुंगानाले निर्माण गरेका थिए । यसमा उनको पनि अभिनय थियो । यो फिल्मको दोस्रो श्रृंखलाबाट अमितले आफ्नो छोरा अमिरलाई डेब्यू गर्न लागेका थिए । तर, उनले फिल्ममा अभिनय गर्ने इच्छा नदेखाएपछि रमितका छोरालाई डेब्यू गर्न लागिएको हो । केही महिनायता रमितका छोरा फिल्मका लागि तौल घटाइरहेका छन् ।

आइतवार पिताको जन्मदिन सेलिब्रेसन कार्यक्रममा उपस्थित भएका ओजश्वीले फिल्ममा डेब्यू गर्ने विषयमा भने, ‘मलाई सानैदेखि फिल्ममा अभिनय गर्ने इच्छा थियो । त्यो इच्छा अब चाँडै पूरा हुँदैछ ।’ उनले अमेरिकाबाट ४ वर्षमा आफू अभिनेता बन्न योग्य भएर फर्किने बताए । अभिनेता रमित र निर्माता अमित ‘माया नमार २’ बाट आफ्नो भान्जालाई पनि डेब्यू गर्ने तयारीमा छन् ।

पछिल्लो पटक फिल्म ‘बुद्ध वर्न इन नेपाल’ मा देखिएका अभिनेता रमित ढुंगाना चाँडै फिल्म ‘राजा साहेब’ को छायांकनमा व्यस्त हुँदैछन् । निर्माताबीच मनमुटाव हुँदा निर्धारित समयमा छायांकन सुरु हुन नसकेको फिल्मको माघ पहिलो साताबाट छायांकन सुरु हुँदैछ । यो फिल्मका लागि रमितले १८ लाख पारिश्रमिक लिएको चर्चा छ । बिचल किराँतीले फिल्मले निर्देशन गर्दैछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button