Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





हिउँको बर्सात् सम्झेर


– खोमा तरामु मगर

बिहान केहीबेरमा घुम्टेको डाँडा हिउँको सप्को ओढेर ढाकियो । हावाको चिसो स्पर्शसँगै क्षितिज खुलेको छ परपरसम्म । अनन्त क्षितिजसम्म त होइन तर पाखापखेरामा हिउँ फुल्नु कम रोचक छैन । वातावरण चिसो तर निकै मोहक छ । हिउँको वर्षा गुराँसका पातमा फुरुरु झर्दा सुनिने त्यो साङ्गीतिक आवाज, बुट्यानहरूमा गुन्जिरहने कर्णप्रिय स्वर अर्थात् चराहरूको आदिम धुन र ऋतुपिच्छेका पहाडी रङहरू साँच्चिकै प्रिय लागिरहेछन् । पाखापखेराहरू नौला लय र स्वप्न च्यापेर हल्लिरहेका छन् बतासको स्पर्शले । गुराँस र खस्र्युका बोटहरू हिउँले टल्किर हेछन् आफ्नै सौन्दर्यमा । पट्ट्यारलाग्दो उकालोमा सम्मोहनका नयाँ–नयाँ दृश्यहरू छन् ।

बुटवल सहरको हल्लाखोरबाट निस्किएर पुसको अधिक चिसो र कष्टकर मौसममा म घुम्टेको कोखमा उभिएको छु । हटियाबजारको सडकछेउनेर उत्तर फर्केको चियापसलमा बसेर हेरिरहेछु– घुम्टेको लेक र हिउँफूलका डाँडाकाँडाहरू । आकाशमा चराहरू उडिरहेछन् । तिनका पखेटाले हावाभरि पानीका थोपा छचल्किन्छन् र गाउँबस्तीको सन्नाटा तोडिदिन्छन् । समयको लामो कालखण्डमा देशले जति क्रन्दन र चित्कार गर्यो, हिमाली यी बस्तीहरूले पनि रोगभोक, घामपानी, हिउँतुसारोको कष्टकर समय भोगिरहेका छन् । देशले जति हिक्का छोड्यो, उति नै यी बस्तीहरू भक्कानिए । बस्तीहरूले धेरैका सपना हुर्काए । यी बस्तीहरूका छातीभित्र धेरैका वेदनाका मुस्लो छ, विवशताका सुसाउँदा नागबेली छहराहरू छन् । आँगनभरि दुःखकष्टका असङ्ख्य वृक्ष हल्लिएका छन् । समयले हिमाली गाउँको पोल्टामा पारिदिएको यथार्थ यही हो ।

सिमसिम पानी परिरहेको छ । प्रहरी चौकी नजिकै छ । हामी हटिया बजारदेखि दुस्मनले थाहा नपाउने गरी उत्तरको हिमाली गाउँतिर हान्नियौँ । धौलागिरि र गण्डकका गरी हाम्रो बगाल करिब दुई दर्जन छ । चारैतिर डाँडाकाँडामा सेताम्मे हिउँ फुलिर हेछन् । मेलापात जानेहरू सुसेली हाल्दै घर फर्किर हेछन् । हामी जनताका कष्टदायी पीडा र हृदय छाम्दै हिउँका चिप्लेटीहरूमा अविश्राम यात्रा गरिर हेछौँ । हाम्रा सपनाहरूलाई बहुसङ्ख्यक सपनासँग मिलाएर त्यसलाई पूरा गर्न भरजीवन प्रयत्न गरिर हेछौँ । बनजङ्गल र बुट्यानहरूले हिउँ ओढेका छन् र सङ्गीतमग्न भएर बगेका खोल्साहरूले गीत गाइर हेछन् । हृदयभित्र एउटा उत्सुकता थियो, उत्सुकता । विश्वास र अठोट थियो हिमाल नाघ्ने । सपना थियो माथि शिखरमा पुग्ने र आकाशजस्तै फैलिएर हेर्ने चारैतिर । भावना, विश्वास, उत्साह र सपनाले भरिएका थियौँ हामी चुलीचुली बनेर थुप्रिएका, दाग नलागेका सेता हिउँजस्तै ।

हामी हिउँका चिप्लेटीहरूमा खेल्दै झिसमिसे साँझमा हिउँले पुरिएको एउटा अनकन्टार बस्तीमा पुगेर बास बस्यौँ । नयाँ भूगोल, जनतासँगको नयाँ अनुभूतिसहित दुस्मनलाई छल्दै बिहानको मिर्मिरेमा नै त्यो गाउँ छोड्यौँ । हिउँमा लड्दै खुबै हिँड्नुपर्यो । जति उचाइमा गयो, उति बाक्लो हिउँ र पहाडको सडक तन्केको तन्क्यै । कहालीलाग्दो बाटो । पाइताला सुस्तिए पनि धैर्य भने गुमेको छैन । अजङ्गको पहाड पार नगर्दै थकानले गालिसकेको थिए गोडा । प्यासले सुकेका थिए छाती । भोकले दाम्रिएका थिए पेट । हामी हिँडिरह्यौँ । हिँड्ने बाटाहरू सबैतिर सजिला हुँदैनन् । अर्थात् नयाँ ठाउँमा हिँड्नेहरूले पुरानै बाटो खोजेर हुँदैन । आफैँ बाटो बनाउँदै हिँडिरहनुपर्छ र अझ नयाँ सपना देख्नेहरू नहिँडी सुखै छैन । कमरेड भीआई लेनिनले भन्नुभएझैँ कुनै पनि क्रान्तिको बाटो सुरुमा नै पूरापूर देख्न सकिँदैन, अनेकपटक अँध्यारोमा छामछाम– छुमछुम गर्नुपर्ने हुन्छ तर अघि बढ्ने तरिकाचाहिँ यही नै हो । यो हिँडाइमा म चिलीका क्रान्तिकारी कवि पाब्लो नेरुदाको कविता खुब सम्झिरहेको छु–

म माया गर्छु–
तिम्रो पाइतालालाई
किनभने ती धर्तीमा हिँड्छन्
ती आकाशमा हिँड्छन्
ती हिउँतुसारोमा हिँड्छन्
र लक्ष्यलाई नभेटेसम्म
ती पाइतालाहरू हिँडिरहन्छन् ।
–(तिम्रो पाइताला)

हिउँका चिसो स्याँठले हातखुट्टाका औँलाहरू निर्जीव भएका छन् । चिमोट्दा दुख्न छाडेको छ छाला । यात्रामा उत्साह, उमङ्ग, अत्यास सबैखाले अनुभव भएको छ । तर पनि हाम्रो आँखामा टाँसिएको छ सहिदको तस्बिर । मनभरि थुप्रिएको छ सपनाको कोलाज । छातीमा छोइएको छ हिउँको स्पर्श । मुटुमा सजिएको छ प्रियजनको माया । समयका दुस्वप्न कुइनेटाहरूविरुद्ध ऊध्र्वगामी जीवनका पक्षमा हिँड्नु आफैँमा चुनौतीपूर्ण छँदैछ । तर हज्जारौँ सहिद, घाइते तथा बेपत्ता योद्धाहरूको करङको भर्याङ चढेर सपनाहरू लिलाम गर्ने अधर्मीहरूलाई दुत्कार्दै हामी करिब पाँच घण्टाको अविश्राम यात्रापछि लिखेगाउँको आँगननेर उक्लियौँ ।

लिखेगाउँ करिब तीन हजार अग्लो धुरीमा छ जहाँ चारैतिर हिउँले ढाकेको छ । आकाशबाट हिउँ बर्सिरहेको छ । त्यहाँ मगर र दलित समुदायको सघन बस्ती छ जो राज्यबाट अनकन्टार र दूरदराजमा रहेको छ । गरिबी र अभावको दुर्दिन बाँचिरहेको छ । हामीलाई लिखेगाउँमा पुग्नुको बेग्लै आनन्द आइरहेको छ । सारा थकान, ग्लानि, चिन्ताको विश्रामस्थल । हिउँको सिरक ओढेर बसेको बस्ती । अर्थात् हिउँ ओढेर बाँचिरहेका जनता । लिखेगाउँले सुदूर कथा बोकेको छ । अर्थात् प्रत्येक गाउँको जीवन आफैँमा एउटा कथा हो । गाउँमा मान्छेका ससाना घटना अझ सुन्दर कथा हुन् । जनताको हृदयभित्र सपना छ । सपनासँगै उर्लंदो बाढी छ र आँधीबेहरी छ । भोकका विरुद्ध मान्छेसँगै लड्नु परेको जीवन्त कथा छ । जीवन छ, यसकारण उनीहरूका सपनाहरू जीवित छन् । सपना छ, यसकारण जीवनमा कुइनेटाहरू छन् र कुइनेटाहरू छन्, यसकारण अप्ठ्याराहरू छन् । जीवनका ती अप्ठ्यारा, घुम्ती र कुइनेटाहरूसँग लिखेगाउँले अविश्राम सङ्घर्ष गरिरहेको छ र यही सङ्घर्षले उसलाई बाँचेको प्रमाण दिइरहेको छ । यही असङ्ख्य कथाहरू बोकेर बाँचिरहेको बस्ती हो लिखेगाउँ । त्यसकारण लिखेगाउँको अनेक कहानी छन् । बस्ती वा घरका संरचनाहरू पुरानिए तर सुगन्ध अझै उडेको छैन, मनमोहक छ । समयको दाँतीले उसको सानसौकत खोस्रियो । वरिपरिका स्वरूप बदलिए तर पुरानो सत्ताविरुद्ध गुन्जिएको उसको हृदयले ऊ आफू बाँचिरहेको प्रमाण पेस गरिरहेको छ । अनि त लिखेगाउँ अनुपम श्रम, सङ्घर्ष र सौन्दर्यको खानी हो । हेरुन्जेल मात्रै होइन, सदासदाका लागी स्मरणमा आइरहने बस्ती हो ।

लिखेगाउँको मौसमी रङसँगै मान्छेको जिन्दगी पनि बदलिएको छ । केहीका सपनाहरू पूरा भए होलान् तर धेरैका बाँकी छन् । लिखेगाउँमा घाम झुल्केपछि र अस्ताएपछि समय बदलिन्छ । लिखेगाउँमा हिउँ फुलेपछि वा बादलको घुम्टो ओढेपछि समय गुज्रेको आभास दिइरहेजस्तो लाग्छ । हिउँकै मझेरीमा बसेर कयौँ सालैजो, यानीमया, सुनीमाया जन्मिए । नौमती बाजाले गाउँबस्तीका पखेराहरू गुन्जिए । लिखेगाउँले देख्दादेख्दै नयाँनयाँ पिँढी उदाउँदै र अस्ताउँदै गए । देशले धेरै शासन व्यवस्था फेर्यो तर बस्तीको अवस्था उही दुर्दान्त छ । यो गाउँले पञ्चायत भोग्यो, बहुदल र गणतन्त्र भोग्यो तर जनताको अवस्था उस्तै बेहाल छ । लिखेगाउँले आफ्नै अनुहारमा बर्सिएको हिउँमा प्रतिबिम्ब हेर्दै धेरैपटक आफ्नो जवानी सुमसुम्यायो र हेर्यो अन्त्यहीन दुःखका वेगले दौडिरहेका मान्छेहरूको जीवन । हामी जनताका यही दुःखका जराहरू छाम्दै लिखेगाउँ पुग्यौँ । आखिर देश बुझ्न जनतामाझ नपुगी धरै छैन ।

लिखेगाउँलाई कष्टदायी पीडा र सुख दुवै अनुभव छ । कुनैबेला दूधदही, गोरसले तङ्ग्रिने गाउँमा अहिले चुरोटका धुवाँ, कोकाकोला र ह्विस्कीका बोतलहरू असरल्ल छन् । सुनीमाया, यानीमायाले झुम्मिने गाउँ अहिले हिन्दी र अङ्ग्रेजी र्याप र सिरियलमा मस्त छ । कोकाकोला संस्कृति सहरबाट गाउँतिर पसेको छ । कोकाकोला संस्कृति साम्राज्यवादी संस्कृति हो । सांस्कृतिक साम्राज्यवादको आतङ्क जताततै भयावह छ। आजको उत्तरआधुनिकतावादी चिन्तन र बजार संस्कृतिले लिखेगाउँको त्यो अर्गानिक इतिहासलाई अतिक्रमण गरेको छ । अर्थात् इतिहासलाई सुमसुम्याउन चाहँदैन आजको उपभोक्तावादी पुस्ता । मान्छेको हातमा मोबाइल छ र मोबाइलमा गफिनेका कुरा सुनिनसक्नुछ । फेसबुके चिन्तन र उपभोक्तावादको दलदलले बस्तीहरूलाई खोक्रो र जीर्ण बनाएको छ । बजारले रुचिहरूको निर्माण गरेर मान्छेलाई उपभोक्तावादी बनाएको छ । यो सांस्कृतिक प्रदूषणविरुद्ध लड्ने वैचारिक हतियार भनेको मालेमावाद हो र मालेमावाद निरन्तर क्रान्तिको सिद्धान्त हो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिका मूल्यहरूलाई अगाडि राखेर आजको पुस्ताले क्रान्तिलाई दह्रोसित आत्मसात गर्न जरुरी छ ।

सहरका भट्टीहरूमा पाइने थरीथरीका भोजनालय लिखेगाउँमा पाइँदैन । वर्षमा एक खेती मात्रै मुस्किलले उब्जनी हुन्छ तर हिउँतुसारो र असिनाको प्रकोपले त्यो पनि स्याहार्ने निश्चित छैन । गाउँ नै मिलेर जनश्रममा जसोतसो मोटरबाटो र बिजुली पुर्याएका छन् । लिखेगाउँले पश्चिमतिरको जलजला लेकलाई दौँतरी बनाएको छ । अनि हेरिरहेछ हिउँले ढाकिएको दुरुह बस्ती र जीर्ण भोक र हेरिरहेछ हिउँतुसारोले खाएर कुर्कुच्चा फुटेका कलिला बालबालिकादेखि वृद्धवृद्धाहरूको कर्कश ध्वनि । महान् जनयुद्धको साक्षी बसेको लिखेगाउँको मानसपटलमा सुखद इतिहास पनि बाँकी छ । अर्थात् गर्व गर्न लायक छ त्यो इतिहास । जनयुद्धको गौरवशाली दिनमा लिखेगाउँले जनमुक्ति सेनालाई गासबाँस दियो । घाइते योद्धाहरूको स्याहारसुसार गर्यो । बेनी आक्रमणको बेला जनमुक्ति सेनाको ठूलो टिमलाई बिदाइ गरेको सम्झना उसको मनमा अझै ताजै छ । तर जनयुद्धमा जनताले गरेको बलिदान र रगतको अवमूल्यन हुँदा ऊ असाध्यै क्रुद्ध छ । जनयुद्धप्रति गरिएको गद्दारीले उसको मन बेचैन छ । तर जनयुद्धको सपना पूरा गर्नुपर्नेमा ऊ प्रतिबद्ध छ । उसले संसदीय चुनावताका विकासको रुमानी सपना देखाएर भोट माग्ने बेसरम जग्गा दलाल र ठेकेदारहरूको तमासा देख्यो । विचारमा कुपोषण लागेर मरेका लासहरू र अवैध धन्दाका ठेकेदारहरूको तडकभडक देख्यो। संसदीय नेतादेखि कार्यकर्तासम्मको नौरङ्गी भाषण, पञ्चायतदेखि गणतन्त्रसम्मको शोषणकारी लुटेराहरूको शासन व्यवस्था, के देखेन उसले ? समृद्धिको नाउँमा चारैतिर भ्रष्टाचार, महँगी र दुराचार संसदीय गणतन्त्रको पीडा भोग्यो । ‘जनप्रतिनिधि’ नाउँको डोजरेहरूले बस्ती उठीबास पारेको दुर्दान्त समयको साक्षी बस्यो । सबैभन्दा धेरै उसले कुनै व्यवस्थाले नफेरिएको आफ्नै पसिनाको रङ देखेर भुक्तभोगी भयो । हिउँतुसारोले थिचिएर बाङ्गिएको आफ्नै सारङ्गी करङ भोग्यो । लिखेगाउँले के भोगेन ?

लिखेगाउँ सत्ताको कुनै दास, चाकरी वा भरिया होइन । ऊ एउटा इतिहास हो । इतिहासका पन्नाहरूभित्र चिच्याहट छ आँसुको नदी । चिच्चाहट छ भोकको कर्कश ध्वनि र दलालहरूको पिरामिड ध्वस्त पार्न उसको हृदयमा गुन्जिरहेछ क्रान्तिको समयगीत । लिखेगाउँ निरन्तर क्रान्तिका पक्षमा छ । अर्थात् ऊ विद्रोही हो ।२०७६, ७ माघ मंगलवार ०७:३१ ई-रातो खबर

प्रतिकृया दिनुहोस्