Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





पोस्टरमा यस्तो छ सौगात र दीयाको ‘मन्त्र’


फिल्मीखबर

एक समय पोस्टरमा कलाकारको टाउको राखेपछि दर्शकमा फिल्मप्रति उत्सुकता बढ्ने सोचाइ व्याप्त थियो । त्यो सोचाइ अझै कायमै छ । तर, केही फिल्मकर्मी भने फिल्मको पोस्टर भिन्न शैलीमा तयार गर्ने गर्दछन्, जसमा कलाकारलाई स्थान दिइँदैन । हालै सार्वजनिक भएको फिल्म ‘षट्कोण’ मा कर्मा शाक्य जस्ता नाम चलेका कलाकार हुँदा पनि पोस्टरमा कसैलाई स्थान दिइएन ।

यसबाट फिल्मको पोस्टरमा कलाकारको टाउको राख्नै पर्छ भन्ने मान्यता विस्थापित हुँदै गएको भान हुन्छ । यसबीच, अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । यो फिल्मको पोस्टरमा पनि निर्माण टिमले कुनै कलाकारलाई स्थान दिएको छैन । बरु, सामान बोकेर यात्रामा निस्किएका हिमाली क्षेत्रमा पाइने याकलाई फिचर्ड गरिएको छ ।

‘अ हिमालयन लभ स्टोरी’ उपशिर्षक दिइएको फिल्ममा सौगातका अलावा बुद्दि तामाङ, दिया पुन, नमिता घिसिङ्ग, विर बहादुर लामालगायतका कलाकारहरुको अभिनय रहेको छ । पोस्टर हेर्दा फिल्मले हिमाली क्षेत्रमा बसोबास गर्ने युवा-युवतीको प्रेम कथा वाचन गर्ने अनुमान गर्न सकिन्छ । फिल्ममा सौगात र दीयाको जोडी बाँधिएको छ । यी दुईले पहिलो पटक सगै काम गरेका हुन् ।

खिल बहादुर गुरुङ निर्देशित फिल्ममा शम्भुजित बास्कोटा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन र मित्र डि.गुरुङको सम्पादन रहेको छ । फिल्मको निर्माता मनोज राजभण्डारी हुन् । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् । फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।

प्रतिकृया दिनुहोस्