‘समाचार र विचारको
साझा चौतारी’




‘फास्ट ट्रयाकबाट प्रदेशभर शुद्ध पिउने पानी पुर्याउँछौं’: मन्त्री गुरुङ


डम्बर बराल

धुलाबारी / १ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य मन्त्री अमिरबहादुर गुरुङले प्रदेश नम्बर १ लाई देशकै नमूना प्रदेश निर्माण गर्ने योजना अघि सारिएको बताएका छन् ।

धुलाबारी खानेपानी उपभोक्ता समितिको १९ ओै वार्षिक साधारण सभालाई सोमबार सम्बोधन गर्दै उनले त्यसका लागि प्रदेश सरकारले विकास निर्माण सम्बन्धी कार्यक्रम अघि बढाएको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुरुङले फास्ट ट्रयाकबाट प्रदेशका सबै क्षेत्रका जनतालाई दुई वर्षभित्र शुद्ध पिउने पानी पुर्याउने लक्ष्यसहित सरकार अघि बढेको बताए । उनले जनप्रतिनिधि, प्रदेश प्रतिनिधि र राजनीतिक दलको सहकार्यमा विकास निर्माणको डिपिआर तयार गरेर योजना पेश गर्न आग्रह समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले पछिल्लोसमय चुरे दोहन बढेको भन्दै चिन्ता व्यक्त गरे । अवैध उत्खनन्का कारण पानीको श्रोत सुक्दै गएको बताउँदै उनले यो प्रक्रिया नरोकिए १० वर्षमै पिउने पानीको अभाव हुने बताए ।

चुरे दोहनका कारण काकाकुल निम्तिन सक्ने भन्दै सांसद् बुढाथोकीले अवैध उत्खनन् गर्नेलाई कानुन निर्माण गरेर कडा कारवाही गर्नुपर्ने बताए । भरपर्दाे कानुनको अभावमा नदीजन्य पदार्थको उत्खनन् गर्नेहरुले कानुनको धज्जी उडाउँदै शक्तिको आडमा उत्खनन्लाई निरन्तरता दिएका उनको भनाई थियो । विकास निर्माणका धेरै पाटा रहेको बताउँदै उनले सडक र पुल निर्माण मात्र विकास नभएको भन्दै मानिसको स्वास्थ्य, शिक्षा तथा पिउने पानीको क्षेत्रमा स्थानीय तथा प्रदेश सरकारले गभ्भीरताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरे । सो अवसरमा मेचीनगर उपप्रमुख मीना उप्रेतीले नगरमा तीनवटा खानेपानी आयोजनाले जनतालाई पिउने पानी वितरण गरिरहेपनि त्यो पर्याप्त नभएकाले स्थानीय सरकारले तीनवटै खानेपानी संस्थासँग समन्वय गरेर बृहत् खानेपानी योजनाका लागि कार्यक्रम ल्याउने बताईन् ।

चुरे दोहन रोक्न स्थानीय सरकार र जिल्ला समन्वय समिति क्रियाशील रहेपनि नियन्त्रण प्रभावकारी हुन नसकेको बताईन् । उपप्रमुख उप्रेतीले त्यसका लागि प्रदेश सरकारसँग समेत आवश्यक समन्वय गर्ने बताईन् । अखाद्य वस्तु तथा विषादीको प्रयोगका कारण मानव स्वास्थ्य भयावह बन्दै गएकोप्रति नगरपालिका गम्भीर बनेको उनको भनाई थियो । उनले विषादी नियन्त्रण गर्दै कृषि क्षेत्रमा लगानी बढाउने बताईन् । सो अवसरमा नेकपाका क्षेत्रीय सचिव प्रकाश भण्डारी, नेपाली कांग्रेसका नगर सभापति इन्द्रबहादुर बुढाथोकी, समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपा नेपालका नगर अध्यक्ष सुशील आचार्य, डिभिजन खानेपानी कार्यालय भद्रपुरका प्रमुख धर्मेन्द्रकुमार केशरी, अग्रज पत्रकार चन्द्र भण्डारी, धुलाबारी खानेपानीका संस्थापक अध्यक्ष राम कट्टेल, काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष हर्क फ्याक, धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेललगायतले बोलेका थिए ।

समितिका अध्यक्ष अजय घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष घिमिरेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाका बारेका जानकारी गराएका थिए । समितिका उपाध्यक्ष चेतन विष्टले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव कञ्चन तामाङले गरेका थिए ।janasamsaddaily

प्रतिकृया दिनुहोस्