Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





यस्तो छ ‘आमा’ चल्ने आधार


फिल्मीखबर, काठमाडौंi
नेपालमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’ नाम सापटी लिएर निर्देशक दीपेन्द्र के. खनालले नयाँ कथामा फिल्म बनाएका छन् । जुन फिल्म आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपेन्द्र तिनै निर्देशक हुन्, जसले ‘पशुपति प्रसाद’ को कथा लेखन र निर्देशन गरेका थिए । यसकारण पनि ‘आमा’ प्रति दर्शकको अपेक्षा धेरै छ । यो फिल्मको कथा पनि निर्देशक खनालकै हो ।

फिल्मको ट्रेलरले दर्शकमा एक प्रकारको हुटहुटी पैदा गरिसकेको छ । तर, ‘आमा’ लाई बक्सअफिसमा लामो रेसको घोडा बन्न बलियो ‘वर्ड अफ माउथ’ को आवश्यकता पर्नेछ । किनकि, फिल्ममा आफ्नो नामले हलमा दर्शक तान्न सक्ने कलाकार छैनन् । यसकारण फिल्मको इनिसियल व्यापार आक्रामक नहुन सक्छ । तर, ‘वर्ड अफ माउथ’ बलियो भए फिल्मले ‘पिकअप’ लिनेछ ।

फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्त आमा-छोरीको भूमिकामा छन् । ट्रेलर हेरेपछि यी दुईको अभिनयले दर्शकलाई छुने विश्वास गर्न सकिन्छ । तर, हलसम्म पुगिसकेपछि मात्र दर्शकले यसको महशुश गर्न पाउनेछन् । ‘पशुपति प्रसाद’ पछि कथित बजारु मसलाको पछाडि दौडिँदा आफ्नो लय विगारेका निर्देशक खनाल ‘आमा’ बाट पुरानै लयमा फर्किएको ट्रेलर हेर्दा भान हुन्छ ।

निर्देशक दीपेन्द्र आफैंले पनि फिल्म ‘पशुपति प्रसाद’ हेरेर तृप्त बनेका दर्शकका लागि ‘आमा’ अर्को मनछुने फिल्म हुने बताउँदै आएका छन् । यसैले पनि ‘आमा’ को कथा र दीपेन्द्रको निर्देशनमाथि भरोसा गर्ने आधार निर्माण भएको छ । नेपाली फिल्मले मौलिक कथा र कथावाचन रोज्न नसकेको अवस्थामा ‘आमा’ ले दर्शकलाई आफ्नोपन आभाष गराउने विश्वास गरिएको छ ।

फिल्ममा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, अश्मिता खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । शर्मिला पाण्डेको लगानीमा बनेको यो फिल्ममा सन्तोष अधिकारी सह–निर्माताको रुपमा छन् । फिल्ममा दिर्घ खड्काको सम्पादन छ । फिल्मको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो ।

प्रतिकृया दिनुहोस्