‘समाचार र विचारको
साझा चौतारी’




निरङ्कुश राणाशासकलाई दुत्कार्ने सहिद गङ्गालाल श्रेष्ठ


सन्दर्भ : गङ्गालाल जन्मशताब्दी तथा सहिद दिवस माघ १६

– अशोक सुवेदी

जेता–नेतादि सबले मर्नु साझा सबैको ।
सब शव गई बस्तछन् एक दिन काखमा चिताको ।।
किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको ।
हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।।
सहिद गङ्गालाल श्रेष्ठ

विषय परिचय

इतिहास निर्माणमाविरलै मात्र यस्ता पात्र वा व्यक्तित्वहरूको योगदान रहेको हुन्छ जसको जीवन नै ऊर्जाशील र प्रेरणादायी हुन्छ । उनीहरूको जीवनी नै गौरवशाली पनि हुन्छ । नेपालको राजनीतिक इतिहास निर्माण गर्ने महान् यात्रामा गङ्गालाल श्रेष्ठको योगदान त्यस्तो त्यागमय, ऊर्जाशील र प्रेरणादायी रहेको छ ।

नेपालमा माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने गरिएको छ यद्यपि तत्कालीन नेकपा (माओवादी) को आह्वानमा जनयुद्ध आरम्भ भएपछि तत्कालीन नेकपा (माओवादी) ले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको इतिहास छ । हाल यसलाई नेपाल कम्युनिस्ट पार्टीले अघि बढाइरहेको छ । माघ १६ राणा शासनका विरुद्ध सङ्घर्ष गर्ने योद्धाहरूगङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाले बलिदान गरेको साताको सन्दर्भ हो । त्यस्तै फागुन १४ जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले बलिदान गरेको दिन हो भने फागुन २१ पञ्च शासकहरूले झापा विद्रोहका योद्धाहरूलाई जेल सार्ने बहानामा सुखानी जङ्गलमा लगेर हत्या गरेको दिन हो । यो २०७५ साल भने अमर सहिद गङ्गालाल श्रेष्ठको जन्मशताब्दी वर्ष पनि हो ।

१९९७ साल माघको दोस्रो साता गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई राणा शासकहरूले मृत्युदण्ड दिएका थिए। यद्यपि राणाशासनविरुद्ध मकैको खेती पुस्तक लेखेर विद्रोह बोलेका सुब्बा कृष्णलाल अधिकारीले जेलमै बलिदानको बाटो रोजेर निरङ्कुश शासनलाई चुनौती दिइसकेका थिए । त्यसअघि जङ्गबहादुर राणालाई चुनौती दिने लखन थापालाई हत्या गरिइसकेको थियो । लखनलाई नेपालका प्रथम सहिद मानिन्छ । यसअघि पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानका क्रममा र राज्यविस्तारपछि पनि विद्रोहीहरूको हत्या गरिएका अभिलेखहरू पाइन्छन् । मल्लकालमा पनि कयौँ विद्रोहीहरूले निरंकुश सत्ताको विरोध गर्दै बलिदानको बाटो रोजेका थिए । नेपालमा राणाशासनदेखि वर्तमान संसदीय व्यवस्थाविरुद्ध सङ्घर्षका क्रममा मात्र दस हजारभन्दा बढी जनताले बलिदान गरिसकेका छन् । यद्यपि राज्यले सबै विद्रोही र बलिदान गर्ने योद्धाहरूलाई सहिद घोषणा गरेको छैन । सत्ता नबदलिएको र सरकारहरू मात्र फेरिएको अवस्थामा यस्तो हुनु अन्यथा पनि होइन तर यो योद्धा र न्यायप्रेमीहरूमाथिको अन्याय भने हो । यो आलेखमा राणाविरोधी सङ्घर्ष र बलिदानीको केन्द्रमा गङ्गालालको बलिदानलाई समेट्ने प्रयास गरिएको छ । यो आलेख तयार पार्न सिद्धिचरण श्रेष्ठ, भुवनलाल प्रधान, डा. राजेश गौतम, शिवकुमार डाँगीलगायत अध्येता र स्रष्टाहरूका पुस्तकहरूको सहयोग लिइएको छ र त्यसमा पनि गङ्गालाल–पुष्पलाल जन्मिएको थलो र तीन लालको भूमि नामले परिचित रामेछाप जिल्लाको यात्रा गर्ने स्रष्टाहरूका अनुभूतिहरू उद्धरण गरिएको छ ।

आरम्भ

जीवनी र सङ्क्षिप्त परिचय

अध्येता भुवनलाल प्रधानले लेखेका छन्, ‘यी युवक सहिद गङ्गालालको जन्म तत्कालीन पूर्व २ नं. रामेछापमा वि. सं. १९७५ साल फागुन पूर्णिमाको दिन भएको थियो । यिनी भक्तलाल श्रेष्ठ र तुलसीदेवीका जेठा छोरा थिए । त्यसबेला भक्तलाल रामेछापको माल अड्डाका हाकिम खरदार थिए ।’

भुवनलाल प्रधान, सहिद परिचय, गङ्गालाल, काठमाडौँ नगर पञ्चायत २०४३, पृ.१८

पाँच वर्षको उमेरमा गङ्गालालले रामेछापको भाषा पाठशालामा कखहरा सुरु गरेका थिए तर विसं १९८१ सामै बाबु भक्तलाल ओखलढुङ्गा खटिएकाले गङ्गालाल पनि बाबुसँगै जान बाध्य भए । उनलाई केही वर्षपछि अङ्ग्रेजी पढाउन भनेर काठमाडौँ ल्याइएको थियो । भुवनलालका अनुसार कलकत्तामा डाक्टरी पढ्न जाने उनका काका शङ्करलालले गङ्गालाललाई पनि सँगै लिएर गए । त्यहाँ दुई–तीन वर्ष पढेपछि गङ्गालाल काठमाडौँ नै फर्किए ।त्यसपछि गङ्गालालको पढाइ दरबार हाईस्कुलमा सुरु भयो । चौथो श्रेणीमा भर्ना भएर गङ्गालालले १९९५ सालमा पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

जहानियाँ एकतन्त्रीय राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने महान् उद्देश्यका लागि सङ्कल्पबद्धगङ्गालाल श्रेष्ठले१९९५ सालमा दरबार हाईस्कुलबाट प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । उनले बाल्यावस्थादेखि नै बुबासँग देशका विभिन्न भागमा पुग्ने क्रममा नेपाली जनताको दयनीय र चिन्ताजनक अवस्थाको जानकारी लिने अवसर पाएका थिए । गङ्गालालले काकाशङ्करलालसँग केही वर्ष कलकत्तामा बस्दा अङ्ग्रेज साम्राज्यवादका विरुद्ध भारतीय जनआन्दोलनको उभार देख्ने मौकासमेत प्राप्त गरेका थिए । नेपाली जनतामाथि राणाहरूको उत्पीडन र भारतीय जनताले अङ्ग्रेज उत्पीडनका विरुद्ध गरेको प्रतिरोध युद्ध दुवैको प्रेरणाले गङ्गालाललाई क्रान्तिकारी बाटोतर्फ मार्गनिर्देशित गरेको इतिहास पाइन्छ ।

गङ्गालाल श्रेष्ठले निरङ्कुश राणा शासनको अन्त्य र जनतन्त्र स्थापनाका लागि बलिदान गरेको ७९ वर्ष लागेको छ । यो गङ्गालालको जन्मशताब्दी वर्ष पनि हो । राणा शासनको विरोधमा राजनीति गरेको अभियोग लगाएर १९९७ सालमा गङ्गालाललगायत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो । गङ्गालाललाई नेपालका प्रथम विद्यार्थी सहिद मानिन्छ । राजनीतिक यात्रा : साहसको पर्यायवाची नाम

१९९४ सालमा नेपाली जनताको मुक्ति र प्रजातन्त्र स्थापनाका लागि नेपाल नागरिक अधिकार समिति गठन भएको थियो । युवा गङ्गालाल यस समितिको गतिविधिमा सक्रिय थिए । जनजागरण अभियान समितिले १९९७ साल कात्तिकमा काठमाडौँस्थित इन्द्रचोकमा आमसभा आयोजना गरेको थियो । उक्त सभामा गङ्गालालले पनि सम्बोधन गरेका थिए । त्रिचन्द्र क्याम्पसमा आईएस्सीमा अध्ययनरत होनहार युवा विद्यार्थी गङ्गालालको जोसिलो भाषणबाट आत्तिएका राणाहरूले उनलाई क्रूर पञ्जामा लिए । राणाहरूले गङ्गालाललाई माफी मगाउन कोसिस गरेका थिए तर स्वाभिमानी गङ्गालालले माफी मागेनन् । माफी मगाउन नसकेपछि १९९७ साल माघ १२ गते राति दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट निकाली विष्णुमतीको किनारमा लगेर राणाशासकहरूले २२ बर्से गङ्गालालको छातीमा गोली हानेर क्रूरतापूर्वक हत्या गरे । उनले नेपालको प्रथम विद्यार्थी सहिदमा नाम लेखाए ।

त्यतिबेला भारतमा अङ्ग्रेज शासनको बन्धनबाट मुक्त हुन सञ्चालित आन्दोलनको प्रभाव बालक गङ्गालालमा परेको हुनसक्ने अनुमान इतिहासकारहरूले गरेका छन् । नेपाल फर्किएपछि गङ्गालालका कविता, प्रवचन र कुराकानीमा परिवर्तनको पक्षधरता पाइन थालेको थियो । यसै सिलसिलामा गङ्गालालले नागरिक अधिकार समितिको आयोजनामा काठमाडौँको इन्द्रचोकमा भएको कार्यक्रममा जोडदार र क्रान्तिकारी भाषण गरे । २० बर्से लक्का जवान गङ्गालालको विद्रोही चेतनाको वास्तविक अभिव्यक्ति थियो त्यो भाषण । उनले इन्द्रचोकमा भाषण गर्नु केही दिनअघि काठमाडौँ असनमा पुराण अवसान गरेको अवसरमा पनि क्रान्तिकारी लिखित भाषण गरेका थिए । उनका यी दुवै भाषण वैचारिक थिए र निरङ्कुश राणाशासनविरुद्ध केन्द्रित थिए ।

साहसी विद्यार्थी गङ्गालाल राणाहरूका अगाडि झुक्नुभन्दा गोली खाएर जीवन बलिदान गर्न तयार भए । त्रिचन्द्रमा अध्ययनरत युवा विद्यार्थी गङ्गालालको यो साहसिक बलिदानले नेपालीलाई विद्रोहमा उत्रिन प्रेरणा दियो । फलस्वरूपनिरङ्कुश राणाशासनका विरुद्ध विद्रोहको भुसको आगो दन्कियो र २००७ सालमा राणाशासन नै समाप्त भयो । यद्यपि राणाशासनको अन्त्यपछि आजसम्म पनि नेपाली जनताका सुखका दिन आएका छैनन् र जनताले विद्रोह र क्रान्तिमा लामबद्ध हुनुपर्ने अवस्था विद्यमान नै छ ।

त्याग, शौर्य र बलिदानको नमुना

१९९० को आरम्भमै शुक्रराज शास्त्री नागरिक अधिकार समितिमा आबद्ध भइसकेका थिए । उनीलगायत प्रजापरिषद्का दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई सर्वस्वहरणसहित फाँसीको सजाय दिइएको थियो । कलिलै उमेर भएकाले गङ्गालाललाई माफी मागे आजन्म काराबास हुने सजाय सुनाइएको थियो तर उनले कसैले बकस दिएको जीवन बाँच्नुभन्दा सङ्घर्षमा नझुकी मर्नु नै उचित ठान्दै फाँसीको सजाय रोजे । राणाशासकहरूले प्रजापरिषद्का अन्य सदस्यहरूमध्ये टङ्कप्रसाद आचार्यलाई मुडीदामल गरी सर्वस्वसहित जन्मकैद, चन्द्रमान सैँजू, गोविन्दप्रसाद उपाध्याय, बनबहादुर पाण्डे, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । प्रजापरिषद्का अरू सदस्यले पनि कठोर सजाय पाएका थिए ।

सजायस्वरूप १९९७ साल माघ ९ गते टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर सुँगुरको पाठा बोकाईटुँडिखेलमा घुमाइएको थियो शुक्रराज शास्त्रीलाई १९९७ साल माघ ११ गते पचली त्रिपुरेश्वरमा झुन्ड्याई मारिएको थियो भने धर्मभक्त माथेमालाई माघ १३ गते राति सिफलमा झुन्ड्याएर मारिएको थियो । गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १४ गते राति सामाखुसी र विष्णुमतीको दोभानमा गोली हानी मारिएको थियो।

बलिदानको कारण क्रान्तिकारी राजनीति

नेपालमा क्रान्तिकारी आन्दोलनमा लामबद्ध भएर बलिदान गर्नेहरूको गौरवशाली इतिहास छ । अङ्ग्रेज शासकका विरुद्ध हजारौँ नेपालीले वीरतापूर्ण र बलिदानीपूर्ण सङ्घर्ष गरेका थिए । राष्ट्रियता, जनतन्त्र र जनजीविका तीनवटै आन्दोलनमा नेपाली जनताले इतिहासदेखि नै निर्भयपूर्वक लडेर बलिदान गरेका छन् । नालापानीदेखि सिन्धुलीगढीसम्मका लडाइँहरू चर्चित छन् । राजनीतिक रूपमा सङ्गठित भएर देशी– विदेशी अन्याय, शोषण र दमनका विरुद्ध सङ्घर्ष गर्ने र बलिदान गर्ने गौरवशाली इतिहासको आरम्भ भने गङ्गालाल श्रेष्ठहरूले नै सुरु गरेका हुन् । २००६ सालमा पुष्पलालको अग्रसरतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि भने आन्दोलन, सङ्घर्ष, विद्रोह, युद्ध र क्रान्तिको सङ्गठित ज्वारभाटा नै उठेको पाइन्छ । २०२८ सालको झापा विद्रोह र २०५३ सालदेखि सञ्चालित र २०६३ मा विसर्जित जनयुद्ध यसै शृङ्खलाका उत्कर्षहरू हुन् । यद्यपि अहिले पनि नेकपाको नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति सञ्चालनमा छ ।

विसं १९९० माशुक्रराज शास्त्रीको नेतृत्वमा केदारमान व्यथित, गङ्गालाल श्रेष्ठ, मुरलीधर शर्मा, आनन्दरामलगायत एक्काईसजना व्यक्ति मिली नेपाल नागरिक अधिकार समिति स्थापना गरेका थिए । शुक्रराज शास्त्रीले भारतीय स्वतन्त्रता सङ्ग्रामका नेता महात्मा गान्धी र सुवासचन्द्र बोससँग भेटघाट गरेका थिए । यसैकारण राणा सरकारले शुक्रराज शास्त्रीलाई नजरबन्दमा राखेको थियो । नागरिक अधिकार समितिले १९९५ साल मङ्सिर महिनामा इन्द्रचोकमा राखेको सभामा शुक्रराज शास्त्रीले नजरबन्द तोडेर भाषण गरे । त्यस सभामा गङ्गालाल श्रेष्ठले पनि जनताले अधिकारका निम्ति लड्नुपर्ने कुरा बोलेका थिए । सभामा देशको राजनीतिक, आर्थिक एवम् सामाजिक अवस्थाको विश्लेषण गर्दै राणाशासनको विरोध गरिएको थियो । यसै कारणले शुक्रराज शास्त्रीलाई तीनबर्से काराबासको सजाय भएको थियो । उक्त सभामा पुराण भनेबापत पण्डित मुरलीधर उपाध्यायलाईसमेत जेल चलान गरिएको थियो ।

राणाशासनको अन्याय, अत्याचार र दमनको सर्वत्र विरोध भइरहेको समयमा निरङ्कुश राणाशासनको अन्त्य गरी सम्पूर्ण अधिकार जनतामा हस्तान्तरण गर्न राजनीतिक पार्टीको आवश्यकता महसुस गरिएको थियो । समाज सुधारका प्रयत्नहरूभन्दा अगाडि बढेर क्रान्तिको शङ्खघोष गर्ने राजनीतिक पार्टीका निम्ति सचेत युवा तथा विद्यार्थी समुदायले त्यतिबेला जोडदार ढङ्गले पहल गरेका थिए । त्यतिखेरका युवाहरू राणाविरोधी भावनाले ओतप्रोत भएका थिए । राणाहरूको अमानवीयता र अत्याचारका कारण व्यापक असन्तुष्टि र विरोध हुन थालेको थियो । विद्यार्थी आन्दोलनले सङ्गठित आन्दोलनका रूपमा नेपाल प्रजापरिषद्को स्थापनादेखि प्रारम्भ भएको देखिन्छ । १९९३ साल जेठ २२ गते धर्मभक्त माथेमाकी फुपूको झोछेँ ओमबहालस्थित घरमा टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा, र जीवराज शर्मा भेला भएर नेपाल प्रजापरिषद् नामक राजनीतिक पार्टी स्थापना गरे । गङ्गालाल यही पार्टीको सदस्य भएका थिए । राणाशासनको अन्त्य गर्नु, प्रजातन्त्र र जनअधिकारको बहाल गर्नु उक्त पार्टीको प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

प्रजापरिषद्लाई तत्कालीन राजा त्रिभुवनबाट पनि सहयोग भएको कुरा उल्लेख भएको पाइन्छ तर प्रजापरिषद्का कार्यकर्ताहरूलाई फाँसी दिँदा राजा त्रिभुवनले कुनै प्रतिक्रिया देखाउनुको सट्टा उल्टै पञ्जापत्र नै गरेका थिए । त्यो एउटा प्रतिक्रियावादी अवसरवाद रहेको प्रगतिशील पक्षधर इतिहासकारहरूले उल्लेख गरेका छन् ।

प्रजापरिषद्को कार्यक्रम हस्तलिखित पर्चाबाटै सुरु भएको थियो । ९ असार १९९७ सालमा नेपाल प्रजापरिषद्का प्रेसिडेन्टका नामबाट जनताका बीचमा छरिएको उक्त पर्चामा लेखिएको थियो :

राणा वर्ग हो ! तिमीहरूलाई थाहा होला कि नेपाल प्रजापरिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको क्रूर पञ्जाबाट आजाद या स्वतन्त्र गराई शुद्ध ज्ञानको शिक्षा दिई आफ्नो जातिको मान, सम्मान, धन र धर्मको उपार्जन र उन्नतिद्वारा संसारका सभ्य जातिहरूमध्ये एक गराई आफ्नो देशको गौरव हजारौँ वर्षसम्म दिशा–दिशामा गुञ्जन गराउने उद्देश्य लिई यो नेपाल प्रजापरिषद् खुलेको हो ।

राणा हो ! तिमीहरूलाई मौकाले ठूलो सत्कर्म गर्ने सौभाग्य दिएको थियो तर तिमीहरूलाई स्वार्थले गुलाम बनायो । प्रजाको उन्नति गराउने सट्टामा प्रजाको रगत चुसी आफ्ना छोरा, नाति धनी गराउने कोसिस ग¥यौ । यहाँभन्दा ठूलो कुकर्म अरू के होला ? आफैँ विचार गर । तिमीहरूलाई स्वार्थले कस्तो अन्धो बनाएको रहेछ ? यस्तो घोर कुकर्मले पनि तिम्रो कलेजोलाई जलाउन सकेन । जुन प्रजाहरूले आफ्नो मान, सम्मान, स्वतन्त्रताको रक्षाको भारत धर्म र जातीय उन्नति तिम्रो हातमा सुम्पेका छन्, तिनकै धन अपहरण गरी तिनैलाई गुलाम (कमारो गराई तिनको अवनतिलाई आफ्नो उन्नति सम्झी तिनको मानसम्मानलाई लातले ठोकेर दिई तिमीहरूले कस्तो घोर कुकर्म गरिरहेका छौ । तिमीहरूको अरू केही ध्येय छैन । येनकेन प्रजालाई अन्धा बनाई तिनको पैसा लुट्नु, तिनका जहानबच्चा एक–एक अन्न अन्नका लागि प्राण दिऊन् । त्यसले उनको रगत र पसिनाले आफ्नो नीच भोग लिप्सा तृप्ति गर्नु ।

राणा हो ! यो आश्चर्यको कुरा हो कि तिमीहरू पशुपति गुह्येश्वरी गई देवतालाई मानिटोपल्दैछौ । होइन, होइन, कदापि होइन । यो तिमीहरूले प्रजाको आँखामा छारो हालेको हो । देवतालाई मान्नेले ईश्वरको डर लिन्छ । खोइ तिमीहरूलाई ईश्वरको डर ? तिमीहरूको क्रूर पञ्जामा परेका प्राणीहरू घोर दरिद्रताको मारले त्राहीत्राही भइरहेका छन् । तैपनि तिम्रो क्रूर पञ्जाले तिनको मुटुबाट रगत नीचोर्न छोडेको छैन । राणा हो ! हाल पनि तिमीहरूले स्वेच्छाचारिताको पूरा नक्सा देखायौ । अङ्ग्रेजको मदतलाई फौज पठायौ । लडाइँमा मद्दत दिनेजस्तो कुरामा तिमीहरूले कोसँग सोध्यौ ? युरोपको लडाइँमा हामीलाई फस्न के नाफा थियो ? १९१४ सालको लडाइँमा अङ्ग्रेजलाई मद्दत दिएर लड्न गएका सिपाहीमा प्रजालाई के नाफा भो ? नाफा तिमीहरूलाई भयो । वर्षको दस लाख बैंकमा जम्मा गर्न पायौ । हाल जर्मनीले पेरिस दखल गरिसक्यो । जर्मनीको जित भएमा आफू त गयौ गयौ । आफ्नो स्वार्थका लागि नेपाली जातिलाई पनि गुलाम और खोक्रो बनायौ र गयौ ।

होइन–होइन, त्यस बखतमा पनि अडौँला र प्रजाको रगत चुसौँला भन्ने तिमीहरूको आशा होला । दुष्ट हो ! तिमीहरूको दुष्टताको वर्णन ब्रह्माको चार मुखले गर्न सक्तैन ।

राणा हो ! यो नठान कि पापको पोल खुल्दैन र तिमीहरूले क्रूरताको फल पाउनेछैनौ । यो ईश्वरको कानुन हो । तिमीहरूले जुन भयंकरतामा क्रूर कर्म गरेका छौ, उही भयंकरतामा, त्यसको फल पाउनेछौ । प्रजाको आँखा मात्र खुलोस्, तिमीहरूका तरबारको बदजस्तो मुखले फुकेको बतासले आकाशको बादललाई हटाउने कोसिस गरी केही काम लाग्दैन, तिम्रो पनि त्यस्तै गरी विफल हुनेछ । झ पनि दश दान गर्ने समय छ, आशा छ मौका चुक्नेछैन ।

शिवकुमार डाँगी, सङ्घर्षका साठी वर्ष, पृ. १६७– १६८, ऐ ।

इतिहासमा उल्लेख भएअनुसार प्रजापरिषद्ले अन्तर्राष्ट्रिय क्षेत्र र विशेषगरी भारतसँग पनि सम्पर्क गरेको थियो । रुसमा लेनिनको नेतृत्वमा भएको बोल्सेभिक क्रान्ति तथा साम्यवादी विचारधाराबाट प्रभावित दशरथ चन्दले भारतसँग सम्पर्क गरेका थिए । उनका लेखहरू भरतबाट प्रकाशित हुने पत्रपत्रिकामा सेवक सिंहको नामबाट प्रकाशित भएका थिए । पछि हातहतियारका लागि सम्पर्क गर्न टङ्कप्रसाद आचार्य आफैँ भारत गए । १९९७ साल असार ९ गते प्रजापरिषद्ले उक्त पर्चा छर्ने काम ग¥यो । काठमाडौँ उपत्यकाको कुनाकुनामा चारैतिर राणाविरोधी सङ्घर्षको आह्वान गर्दै छरिएका पर्चाहरू देखेर राणाहरू अत्तालिन पुगे । त्यसपछि १९९७ साल असार ३० गते पनि सो पार्टीले राणाशाहीलाई चेतावनी दिँदै अर्को पर्चा छर्ने काम ग¥यो । यसका साथसाथै प्रजापरिषद्ले राणाविरोधी सङ्घर्षका निम्ति जनतालाई सङ्गठित गर्ने प्रयास पनि ग¥यो । यी सबै कुराहरू राणाहरूले हेरिरहेका थिए । राणाहरू प्रजापरिषद्का कार्यकर्ताहरूलाई एकएक गरेर व्यापक रूपमा खोजतलाससमेत गर्न थाले । विरोधीहरूलाई सखाप पार्न उनीहरू ज्यान छोडेर खोजीमा निस्किए । १९९७ साल साउन ११ गते इस्तिहार जारी गरेर प्रजापरिषद्का कुनै पनि सदस्यलाई सुराक दिने वा गिरफ्तार गराउने व्यक्तिलाई पाँच हजार इनाम दिने घोषणा ग¥यो । यसै समयमा गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह हरिकृष्ण र रामहरि शर्मा पनि यस पार्टीका सदस्य बनिसकेका थिए ।

डाँगीको पुस्तकमा लेखिएको छ, ‘प्रजापरिषद् पनि राणाशाहीको अन्त्य गर्ने शपथ खाएर लडाइँको मैदानमा उत्रिएको राजनीतिक पार्टी थियो । यस कुराको घोषणा भएको ६ दिनपछि उक्त इस्तिहारलाई चुनौती दिँदै अर्को पर्चा छर्ने काम भयो । यसबाट जनतामा राणाशासनविरुद्ध बोल्ने र अभिव्यक्ति प्रकट गर्नेखालको वातावरण त बन्यो तर राणाहरू भने त्यसबाट अत्यन्त आक्रोशित बने । उनीहरूले जथाभाबी धरपकड गर्ने र जेलसजाय दिन थाले । दुर्भाग्यवश प्रजापरिषद्का तीनजना सदस्यहरूले राणाहरूलाई सुराक दिएकाले १९९७ साल कात्तिक २ गते दुईजना सदस्यबाहेक प्रजापरिषद्का सम्पूर्ण सदस्यहरू गिरफ्तार भए । उनीहरू सबैलाई जेल, सिक्री र हथकडी लगाएर सिंहदरबारमा दाखिल गराई अत्यन्त निर्ममतापूर्वक यातना दिइयो । शङ्करशमशेरको अध्यक्षतामा राणाहरूले एक विशेष अदालत गठन गरी कठोर दण्डसजाय दिए ।’

जेलमा राखिएकै समयमा गङ्गालालले बाबु भक्तलाललाई क्रान्तिकारी भावना र देशभक्तिपूर्ण चेतनाले ओतप्रो एक पत्र लेखे । त्यस पत्रमा लेखिएको थियो :

पिताका नाममा गङ्गालालको चिठी

बा !
तपाईंको आज्ञापालन गरेर शान्तिसित बसौँला भन्ने लागेको थियो । सक्तै सकिनँ । म सक्तिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु । सम्झिनुपर्ने पाठचाहिँ मैले बिर्सनै आँटेछु । आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूको पहेला सुखसित डराएर आँखा चिम्लिन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । आन्तस्करणबाट आगो रुमलिएर आयो । के के असह्य भयो । अब म सहन असमर्थ छु जताततै कोलाहलको ज्वाला देख्छु । आफैँ सल्कन लागेको छ ।मलाई त्यो निभाएर मर्न दिनोस् ।

तपाईं मेरो पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्तिनँ । म तपाईंको आज्ञाले चूपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ । अब मेरो माया मारिदिनोस् । मेरो अरू भाइहरू छँदैछन् । एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।

बालक पुत्र गङ्गालालको दण्डवत् सेवा ।… अब मेरो माया मारिदिनोस् । मेरो अरू भाइहरू छँदैछन् । एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गङ्गालालको दण्डवत् सेवा !

यो चिठी १९९७ सालमा गङ्गालाल पक्राउ भएपछि उनको घरमा खानतलासी भएर सिंहदरबारमा थुपारेको कागजबाट बालकृष्ण समले पाउनुभएको हो । गङ्गालालले ‘अबदेखि राजनीतिमा काम गर्दिनँ, सिधा सोझो भएर पढेर कुनै रोजगार गर्छु’ भनेपछि केही साता अघि मात्र जागिरे भएर पहाडी क्षेत्रमा गइरहेका आफ्ना पितालाई अब मैले सहन सकिनँ भनेर उनले चिठी लेखेका थिए ।

‘सिद्धिचरणका जेल संस्मरण’ पुस्तकबाट
हसिनादेवीको शालीन आक्रोश
सहिदका तस्बिरमा अबिरमाला गरेर मात्र सहिदको सम्मान हुँदैन

गङ्गालालको बलिदानको ६८ वर्षपछि गङ्गालालकी जीवनसँगिनी हसिनादेवीले भनेकी थिइन् ः इतिहास र इतिहास निर्माताहरूको आत्मिक सम्मान हुन नसक्दा देशले दुर्गति बेहोर्नु परिरहेको वास्तविकता हाम्रासामु छ । बलिदानपूर्ण विगतलाई बिर्सेर अगाडि बढ्न खोज्ने शासकीय प्रवृत्तिले गर्दा नै मुलुकले नयाँ निकास पाउन नसकेको हो । मैले मेरो जीवनलाई एक्लो अनुभूति गर्नु परे पनि देशले मुहार फेर्ने आशा गरेकी थिएँ । ६७ वर्ष बितिसक्दा पनि गङ्गालाल र उहाँहरूजस्ता हजारौँ योद्धाहरूले परिवर्तनका लागि बगाउनुभएको रगतले सम्मान पाएको अनुभूति गर्न नपाउँदा पीडा भएको छ । आशा छ, आगामी आन्दोलनहरूले अपूर्ण प्रक्रियालाई पूर्ण गराउनेछन् र गौरवपूर्ण विगतको सम्मान हुनेछ । सहिदका तस्बिरमा अबिरमाला गरेर मात्र सहिदको सम्मान हुँदैन । उनीहरूको महान् विचारको सम्मान गर्न सके मात्र उनीहरूको रातो रगतले बनाएको इतिहासको वास्तविक सम्मान हुनेछ । यसका लागि अपूर्णतामा लगेर टुंग्याइएका आन्दोलनहरूलाई पूर्णतामा पु¥याउन आवश्यक छ । गौरवपूर्ण परम्परालाई कायम गर्दै यस्तो आन्दोलनको उठान विद्यार्थीहरूले गर्नेछन् विश्वास छ ।

(हसिनादेवी, आन्दोलनको मार्गदर्शन, लेखक : शिवकुमार डाँगी, सङ्घर्षका साठी वर्ष : नेपाली विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास, सम्पादन : अशोक सुवेदी र अरूहरू, प्रकाशक : सरस्वती पोखरेल, २०६४)

हुने बिरुवाको चिल्लो पात

नेपाली जनसमुदायमा चलेको एउटा पुरानो भनाइ छ– हुने बिरुवाको चिल्लो पात । यो भनाइ गङ्गालाल श्रेष्ठमा ठ्याक्कै लागू हुन्छ । पढाइमा मेधावी, तीक्ष्ण मस्तिष्क, बौद्धिक–वैचारिक र दृढ अडानका व्यक्तित्व थिए गङ्गालाल । गङ्गालालको २२ बर्से जीवनको समग्र र सूक्ष्म अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने उनी अदम्य साहस, आँट, विचार र दूरदृष्टिसहितका क्रान्तिकारी योद्धा थिए । यही आत्मत्यागमय इच्छाशक्तिले नै उनलाई निरङ्कुश राणाशासनका विरुद्ध निर्भीक बनेर लड्न र बलिदान गर्न उत्प्रेरित गरेको थियो ।

जोशिला गङ्गालाल

युवक गङ्गालालको भावना र विचारधारा, उत्साह र उमङ्ग १९९५ साल मार्गमा इन्द्रचोकमा भएको आमसभामा नै प्रदर्शित भएको थियो जुन राजधानीमा नै भएको थियो ।त्यस कार्यक्रममा खुलेआम सरकारको भण्डाफोड गरियो जसमा आफ्नो हक पाउनसरकारसँग सङ्घर्ष गर्न आह्वान गरियो । १९९७ सालमा सहिद भएका वीरहरूमध्ये नौजवान गङ्गालाल उमेरमा त सबभन्दा कान्छा थिए तर राजनैतिक चेतना, देशप्रेम, कुर्वानीको आदर्श आदि गुणमा उनी अरूभन्दा कम थिएनन् ।

भुवनलाल प्रधान, ऐ पृ.१७–१८

१९९३ साल आसपासको समयमै दशरथ चन्द–धर्मभक्त माथेमाहरूले स्थापना गरेको नेपाल प्रजापरिषद्मा गङ्गालालको आबद्धता र यसै वर्ष चिनियाँलाल सिंहले खिलटोलस्थित आफ्नै घरमा स्थापना गरेको महावीर इन्स्टिच्युट नामको पब्लिक स्कुलमा गङ्गालाल शिक्षक बनेर अध्यापन गर्नु, पाठ्यक्रमबाहेक राजनीतिक विषयमा पनि अध्यापन र विचारविमर्शहरू हुनु राणाशासनविरुद्ध युवाहरूको सङ्गठित राजनीतिक–वैचारिक कार्यक्रमहरू थिए । १९९४ सालमा स्थापित नेपाल नागरिक अधिकार समितिमा त गङ्गालाल प्रत्यक्ष रूपमै आबद्ध थिए । यो संस्थाले नियमित रूपमा छलफल, बहस र भाषण कार्यक्रम आयोजना गरेर निरन्तर जनचेतना जगाइरहेको थियो ।

भुवनलाल श्रेष्ठले लेखेका छन्, ‘१९९७ सालको काण्डको सिलसिलामा बाँसमा झुन्ड्याइएर पिटिँदा पनि उनको साहस अदम्य थियो, उनको दिल अडिग थियो । माफी मागे ज्यान बचाइदिने सरकारी आश्वासनको हँसी उडाउनेमा दशरथ चन्दको साथै गङ्गालाल पनि थिए ।’

ऐ. पृ. २०–२१

इतिहासका अध्येता भुवनलालले पनि माघ १५ गते राति गङ्गालाललाई दशरथ चन्दका साथै सेन्ट्रल जेलबाट प्याफलको बाटोबाट विष्णुमती लगिँदा प्याफलको बाटो छेउमै बस्ने उनकी एक दिनकी सुत्केरी पत्नी हसिनादेवीलाई ‘हसिना’ भनेर बोलाएको उल्लेख गरेका छन् । कतिपय सन्दर्भमा इतिहासकार हरूले गङ्गालालले हसिनादेवीलाई छोराको राम्रो हेरचाह गर्न र आफ्नो अनुपस्थितिमा कुनै चिन्ता नलिन सुझाव दिएको चर्चा गरेको पाइन्छ । यो लेखकले २०६४ सालमा शिव डाँगी लिखित सङ्घर्षका साठी वर्ष पुस्तक सम्पादन गर्ने समयमा हसिनादेवीको शुभकामना लिन जाने र सोही वर्ष एबीसी टेलिभिजनको आत्मवृत्तान्त स्तम्भमा अन्तर्वार्ता लिन जाने क्रममा हसिनादेवीले भनेकी थिइन्, ‘फाँसी दिन लगिँदै गरेका गङ्गालालले आफू देशका लागि सहिद हुन लागेकाले कुनै पनि चिन्ता नलिनू भन्नुभएको थियो । आफू राणाशासनबाट उत्पीडित सबै जनता र देशको मुक्तिका लागि सहिद हुन लागेकाले कुनै दिन देश र जनताले त्यसको प्रतिफल प्राप्त गर्ने बताउनुभएको थियो ।’

भेटका क्रममा गङ्गालालकी पत्नी हसिनादेवीले राणाशासकहरूले गोली हान्ने क्रममा पनि गङ्गालालले हाँसीहाँसी छाती थापेको सन्दर्भ उल्लेख गरेकी थिइन् । गोली प्रहार गर्न खटाएको मानिसले गङ्गालालमाथि गोली हान्न डराएपछि नरशमशेर आफैँले गोली प्रहार गरेको तर खुट्टामा गोली लागेपछि गङ्गालालले उसलाई दुत्कार्दै ‘म देश र जनताको मुक्तिका लागि हाँसीहाँसी सहिद बन्न लागेकाले हिम्मत भए छातीमै गोली हान् कायर’ भनेको पनि स्मरण गराएकी थिइन् ।

यो सन्दर्भ भुवनलालले पनि आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘विष्णुमतीको बगरमा बाँसमा हातखुट्टा बाँधिएर सँगसँगै ठडाइए । यस्तो हालतमा पनि उनीहरू झन् निर्भीक र उत्साही बनेका थिए । निक्कै बेरको भनाभनपछि जनरल नरशमशेरले गङ्गालाललाई कुठाउँमा गोली चलाई अन्तिम बार माफी माग्न आग्रह गरे । तर रक्ताम्य भएका गङ्गालालले त्यस सुझाउको झन् कडा शब्दमा तिरस्कार गरे । अनि मात्र उनीमाथि ठाउँमा गोली चलाइयो ।’

ऐ. पृ. २२–२३

डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका’ शीर्षक शोध–पुस्तकको पाँचौँ अध्याय ‘नेपाल प्रजापषिद्का कार्यकर्ताहरूमाथि दमननीति’ शीर्षकको दशरथ चन्द र गङ्गालाल श्रेष्ठको गिरफ्तारी उपशीर्षकमा नेपाल प्रजापरिषद्का संस्थापक, आबद्ध र सहयोगीहरूको गिरफ्तारीको शृङ्खलामा दशरथ चन्द र गङ्गालाल श्रेष्ठको गिरफ्तारीबारे विस्तृत परिचर्चा गरेका छन् ।

उनले १९९७ सालको कात्ति २ गते बिहान ८ बजेतिर वेदबहादुर सिलवाल कृष्णबहादुर थापालाई भिन्दाभिन्दै खड्ग निशाना दिई केही सिपाहीहरू र एउटाएउटा मोटरसहित वेदबहादुर सिलवाललाई प्याफल बस्ने गङ्गालाल श्रेष्ठलाई र कृष्णबहादुर थापालाई पकनाजोल बस्ने दशरथ चन्दलाई समातेर ल्याउन भनी शङ्करशमशेरले आदेश दिएको लेखकसँग वेदबहादुर सिलवालले ०३९ साल माघ ६ गते लिएको अन्तर्वार्ताको स्रोत उल्लेख गर्दै लेखेका छन् ।

(पृष्ठ १२४)

कृष्णबहादुर थापा सिंहदरबारबाट दशरथ चन्द बसेको घर घेर्न र उनलाई गिरफ्तार गर्न पकनाजोल गए तर त्यतिखेर उनी घरमा थिएनन् । कृष्णबहादुर घर घेरेर बसिरहे । केही समयपछि दशरथ चन्द डम्बरकुमारीको खास्टो ओढेर आए । कृष्णबहादुरले उनलाई घरबाहिर समाती उनको कोठामा लगे । सिपाहीहरूले घर खानतलासी गर्न थाले । त्यही समय दशरथ चन्दलाई खाना खाने मौका पनि दिए । उनको कोठामा त्यस्तो कुनै पनि वस्तु र सामानहरू प्राप्त भएन । उनको एउटा ट्रक, बेडिङ र केही किताबहरू मत्र लिई दशरथ चन्दलाई गिरफ्तार गरी सिहंहदरबार पुर्याई सैनिक स्कुलमा राखिएको गौतमले कृष्णबहादुर थापासँग ०३९ साल माघ ६ गते गरेको अन्तर्वार्ताको सन्दर्भ उल्लेख गर्दै पुस्तकमा लेखेका छन् ।

उनका अनुसार दशरथ चन्द गिरफ्तार हुँदा नहडबडाई सबैसँग हँसिलोमुखले अभिवादन गरी गएका थिए । दशरथ चन्दलाई गिरफ्तार गर्दा देख्ने त्यतिखेर करिब १२/१३ वर्ष पुगेका तिलकराज शाहीलाई सोध्दा त्यही कुरा दोहो¥याएको गौतमले उल्लेख गरेका छन् ।

गङ्गालाल श्रेष्ठलाई गिरफ्तार गर्न वेदबहादुर सिलवाल गएका थिए । वेदबहादुर सिलवालले गङ्गालाल श्रेष्ठ बसेको घर प्याफलमा गई घर घेरेका थिए । त्यस समयमा गङ्गालाल पनि घरमा थिएनन् । केही समयपछि कोठामा आएका गङ्गालाललाई वेदबहादुरले समातेका थिए । उनलाई पनि दशरथ चन्दलाई जस्तै खाना खान दिइएको थियो । खाना खान दिएपछि कोठामा ल्याएर कोठाको खानतलासी गरियो । खानतलासीमा धेरै किताब र कलमहरूमात्र प्राप्त भए । गङ्गालाल श्रेष्ठका सबै परिवारलाई तल छिँडीमा सिपाहीहरूको निगरानीमा राखी गङ्गालाललाई सिंहदरबार पु¥याइएको लेखकले वेदबहादुरसँग लिएको अन्तर्वार्ताको सन्दर्भ उल्लेख गर्दै गौतमले लेखेका छन् । बिहान १०–११ बजेतिर समातिएका गङ्गालाललाई सिंहदरबार पु¥याई शङ्करशमशेरलाई बुझाइएको थियो ।

पृ. १२४–१२५

फैसला सहर्ष स्वीकार

नेपाल प्रजापरिषद्का बारेमा सूक्ष्म अध्ययन गरेका गौतमले निरङ्कुश राणा शासनविरुद्ध सङ्घर्ष गरिरहेका प्रजापरिषद्का सदस्यहरूले आफूहरूमाथि सरकारले गरेको फैसला सामान्य रूपमै स्वीकार गरेको उल्लेख गरेका छन् । उनका अनुसार सुब्बा महेन्द्रबहादुर महतले एउटा लामो कागत हेर्दै अभियुक्तहरूले पाएको सजाय सुनाउन थाले । सर्वप्रथम शुक्रराज शास्त्रीलाई सर्वस्वहरणसहित फाँसी (मृत्युदण्ड) को सजाय सुनाइयो । त्यसको प्रत्युत्तरमा शुक्रराज शास्त्रीले ओम शान्ति भनी एक पाइला अगाडि बढी उक्त सजायलाई स्वीकार गरेको दर्साई पुनः पछाडि आफ्नो ठाउँमा फर्के । त्यसपछि दशरथ चन्दलाई अंश सर्वस्वसहित फाँसीको सजाय सुनाइयो । प्रत्युत्तरमा छाती फुलाई ‘ फाँसी क्या चीज है ?’ भनी ठूलो ठूलो स्वरले हाँसी अगाडि बढेर सजाय सुनी पछाडि फर्किए । गङ्गालाल श्रेष्ठलाई अंशसहित फाँसीको सजाय सुनाए तापनि कलिलै उमेरका भएकाले माफी मागे आजन्म काराबास भनेर सजाय सुनाइयो । कसैले बक्स दिएको ज्यानलाई स्वीकार गरेर बाँचिँदैन भन्ने खरो जबाफ दिएर उनी अडिएको जानकारी गौतमले चन्द्रमान सैँजू, टङ्कप्रसाद आचार्य र वेदबहादुर सिलवालसँग गरेको अन्तर्वार्ताका क्रममा लिएका हुन् । तुरुन्तै उनलाई पनि फाँसीकै सजाय सुनाइएको थियो । प्रत्युत्तरमा उनी पनि दशरथ चन्दजस्तै युवाजोस देखाई हाँसेर अघि बढी सजाय स्वीकार गर्दै पछाडि फर्किएका थिए ।

गङ्गालालमाथि चरम यातना

गिरफ्तारीपछि प्रजापरिषद्का सदस्यहरूलाई चरम यातना दिइएको थियो । गङ्गालाल श्रेष्ठलाई दिइएको यातनाका बारेमा उनका फुपूका छोरा चन्द्रमान श्रेष्ठले आफूसँगको अन्तर्वार्तामा भनेको कुरालाई गौतमले यसरी उद्धरण गरेका छन् :

‘…एक दिन म बहादुरशमशेरसित सिंहदरबारको पुतली बैठकमा रहेको कठघरामा गएको थिएँ । त्यहाँ मैले गङ्गालाल श्रेष्ठलाई पिटिरहेको जुन दृश्य देखेँ त्यो आजसम्म पनि झलझली मेरो आँखाअगाडि आउँछ । उनका दुवै हात पछाडि लगेर बाँधिएको थियो । बाँधिएको हातको बीचबाट एउटा बाँस छिराएर त्यसलाई दुवैतिर २–२ जना सिपाहीहरूले उचालेर बोकेका थिए । जसले गर्दा उनी जमिनबाट एक–एक हात माथि उचालिएका थिए । त्यसरी उचालिएका गङ्गालालका खुट्टा पनि एकआपसमा जोडेर बाँधिएका थिए । सिपाहीहरूले उनको खुट्टाको नलीहाडमा छालाको कोर्राहरूले हानिरहेका थिए । जुन कोर्रा उनको खुट्टामा बेरिन्थ्यो । सिपाहीहरू त्यसलाई एकै झटकमा तान्दथे । त्यसरी तान्दा उनको खुट्टाका मासुहरू खुट्टाको हाडबाट छुट्दथे । मासुहरू फुट्दथे । त्यसमा राणाहरू आइडिन खनाउनु भन्दथे । यसरी उनी कुटाइ खाइरहेका थिए । तर उनी थाकेका थिएनन् । सिपाहीहरू थाक्दथे र पालो फेर्दथे ।’

(पृ. १३५)

गङ्गालाललाई यातना दिएको देख्ने नेपाल प्रजापरिषद्का सदस्य हरिकृष्ण श्रेष्ठको भनाइलाई गौतमले यसरी प्रस्तुत गरेका छन्–

‘…उनको सुरुवाल धुजाधुजा भएर घाउभित्र पसेका थिए । दिनभर कुटेर बेलुकी बाँसबाट ओराल्दा उनी पुर्लुङ्ग ढले जसरी गुलेलीबाट हानेको ढुङ्गा लागी भँगेरा ढल्दछ । म त्यहीँ थिएँ । म गएर उनलाई समातेँ । नरशमशेरले तेरो ज्वाइँ (गङ्गालालकी पत्नी हसिनादेवी हरिकृष्ण श्रेष्ठका मामाकी छोरी थिइन् को के गति भएको छ तेरो पनि त्यही गति हुनेछ, सबै कुरा बता भनेर भने । म चुप लागिरहेँ । गङ्गालाललाई त्यहाँबाट दुईजनाले घिसारेर लगे ।’

‘खतरनाक’ गङ्गालाल

गङ्गालाल उमेरमा कान्छो भए पनि एकदमै निर्भीक र आफ्नो उद्देश्यप्रति प्रतिबद्ध थिए । त्यसैले उनलाई राणाशासकहरूले खतरनाक व्यक्तिका रूपमा लिएका थिए । उनलाई माफी मगाउन सकिए त्यसले अरूलाई पनि क्रान्तिको मार्गबाट फर्काउन सकिन्छ भन्ने भ्रम राणाशासकहरूमा थियो । त्यसैले गिरफ्तारीदेखि फाँसीको समयसम्म पनि उनीमाथि बारम्बार माफी माग्न भनिएको थियो । कहाँसम्म भने दुई गोली हानिसक्दा पनि माफी माग्न भनिएको थियो तर उनले कसैको बक्सिसको जीवन नबाँच्ने, छातीमा गोली थापेरै देश र जनताका लागि सहिद बन्ने प्रतिबद्धता दोहोर्याए । झुन्ड्याएर मारिनुभन्दा गोली खाएर मर्नु ठूलो साहसको काम हुन्छ भनेर दशरथ चन्द र गङ्गालालले सल्लाह गरेरै राणा शासकहरूसँग आफूलाई गोली हानेर मार्न सुझाव दिएका थिए ।

गङ्गालाल श्रेष्ठलाई फाँसीको सजाय सुनाउँदा उनकी पत्नी हसिनादेवी गर्भवती थिइन् । श्रीमती गर्भवती भएको अवस्था देखेर पनि हुनुपर्छ गङ्गालाललाई फाँसीको सजाय सुनाए पनि माफी मागेमा आजन्म काराबासको सजाय दिने भन्ने भित्री निर्णय गरिएको पनि इतिहासकारहरूले कहीँकहीँ उल्लेख गरेका छन् । गौतमका अनुसार गङ्गालालको कलिलो उमेर देखेर सजाय सुनाइसकेपछि बहादुरशमशेरकी छोरी पुकुमैयाँ र अरू घरबेटीहरू मिलेर प्रधानमन्त्री जुद्धशमशेरकहाँ गई गङ्गालाललाई माफी दिन अनुरोध गरेका थिए । उनीहरूले त्यस्तो बालकलाई कसरी मारिसिन्छ भनी जुद्धशमशेरलाई सोध्दा उनले कुनै पनि प्रत्युत्तर नदिएको र फेरि अर्कोपल्ट पनि उनीहरूले अनुरोध गर्दा ‘ तिमीहरू त्यसलाई केटाकेटी भन्छौ, त्यसले कस्तोकस्तो काम गर्यो थाहा छैन ? तिमीहरू नै केटाकेटी छौ, बुझ्दैनौ, जाऊ भनेर गाली गरेर पठाएका थिए । तर जुद्धशमशेरले गङ्गालालले अन्तिम समयसम्म पनि माफी मागेको खण्डमा माफी दिने गोप्य निर्णय गरेका थिए र त्यस्तै निर्देशन पनि दिएका थिए भन्ने कुरा गौतमले ब्रह्मशमशेर, ज्यानबहादुर नेवा, वेदबहादुर सिलवाल र कृष्णबहादुर थापासँग गरेको अन्तर्वार्तामा उल्लेख गरेका छन् । तर गङ्गालाल भिक मागेर ज्यान बचाइमाग्ने पक्षमा थिएनन् । उनले माफी माग्ने कुरा कहिल्यै सोचेनन्, बरु त्यस्तो तुच्छ कार्यलाई घृणा गरिरहे । लोकतन्त्रका नाममा शासन गरिरहेको वर्तमान सरकार क्रान्तिकारीहरूप्रति क्रूर र निरङ्कुश बन्दै गएको सन्दर्भमा पनि नेपाली जनता विद्रोह र क्रान्तिको बाटोमा लामबद्ध छन् । महान् सहिदहरूको त्याग, शौर्य र बलिदान जनताका लागि उत्प्रेरणाको स्रोत बनिरहेको छ ।

राणाहरूले शुक्रराज शास्त्रीलाई मारिसकेपछि दशरथ चन्दले गङ्गालाललाई भनेका थिए, ‘वीरले झैँ गोली खाएर मर्नुपर्छ, झुन्डिएर मर्नु हुँदैन ।’गङ्गालाल पनि झुन्डिएर भन्दा गोली खाएरै बलिदान दिने पक्षमा थिए । उनीहरूले जेलको कर्नेललाई बोलाए‘ हामी झन्डिएर होइन, गोली खाएर मर्न चाहन्छौँ । त्यसैले तिम्रो महाराजालाई हाम्रो सजायमा फाँसी भए पनि गोली हान्ने आदेश दिन अनुरोध गर्न चाहन्छौँ’ भनेको कुरा चन्द्रमान सैँजुले गौतमसँग बताएका थिए । जुद्धशमशेरले दशरथ र गङ्गालालको इच्छाबमोजिम गोली हानेरै मार्नू भन्ने आदेश दिँदा दुवैजना खुसी भएर हाँसेको चन्द्रमान सैँजुले बताएका थिए ।

१९९७ साल माघ ११ गते गङ्गालाल र दशरथ चन्दलाई थुनिएको सिंहदरबारभित्रको एउटा कोठाबाट सदर जेलमा ल्याइएको थियो किनकि त्यस दिन गङ्गालाललाई भेट्न उनका आफन्त आउँदै थिए । गङ्गालाललाई भेट्न गएका चन्द्रमान श्रेष्ठले त्यतिबेलाको कुरा सम्झिँदै भनेका छन्, ‘…भेट्न बोलाएपछि गङ्गालालका पिता भक्तलाल, शम्भुराम, आनन्दरामलगायत म पनि थिएँ । भक्तलाल गङ्गालाललाई देख्नासाथ रोएर फर्के । हामीले भेट्यौँ । उनलाई भेट गराउन ल्याउँदा दुवै हात पछाडि लगेर बाँधिएको र हतकडी लगाइएको थियो । मैले उनकी पत्नी र आमाले माफी मागिरहेको कुरा बताएँ । तर उनले त्यसतर्फ वास्ता गरेनन् र अगाडि रहेको कल्पवृक्षको रूख र जगन्नाथको मन्दिरलाई उदाहरण बनाएर यो रूख पनि पुरानो र बूढो भएपछि आफैँ ढल्छ । त्यस्तै गरी यो मन्दिर पनि पुरानो भएपछि चुहन्छि र भत्किन्छ । हाम्रो जीवन पनि त्यस्तै हो, केही छैन भनी हामीलाई नै सान्त्वना दिन थाले । त्यसपछि भेट्ने समय सकिएकाले गङ्गालाललाई जेलभित्र लगे ।’

पृ. १७९

गङ्गालालसँग आफन्तहरूले करिब आधा घन्टाजति भेटेका थिए । गङ्गालाल जेलभित्र पसेपछि उनीसँग अङ्कमाल गरेर दशरथले चिउँडो समाती टाउको उठाउँदै अनुहारतिर हेरेर गम्किँदै भनेका थिए, ‘स्याबास् मेरो भाइ कहिल्यै रुँदैन ।’ गङ्गालालको आँखामा आँसु थिएन । गङ्गालाल जेलभित्र पसेको केही समयपछि उनलाई भेट्न पुगेकी साथी कामक्षदेवीले भेट र कुराकानीबारे भनेकी छिन्, ‘ दाइ केही भन्नु छ कि भन्नुस् भन्दा मैया बहिनी, मेरो जीवनी दमनराज तुलाधरलाई भनेर, सोधेर लेखाउनू, साथीहरूलाई बनाएको बाटो नभुल्नू भनिदिनू ।’

पृ. १८०

माघ १३ गते गङ्गालालकी पत्नी हसिनादेवीले छोरो जन्माइन् । छोरो जन्मिएको खबर गङ्गालाललाई जेलमा सुनाइयो । छोराको नाम शशि राख्नू भनेर गङ्गालालले घरमा खबर पठाएको चन्द्रमानले बताएका छन् ।

पाशविक, कायरतापूर्ण र क्रूर हत्या

शासकहरू क्रूर हुन्छन् । सत्ताका सामुन्ने तिनीहरू अन्धा हुन पुग्छन् । माघ १४ गते राति जेलबाट सिक्री र नेलसहित निकालेर एउटै गाडीमा विष्णुमती किनार शोभाभगवतीतिर लगिएको थियो । फाँसी दिनुअघि र फाँसी दिँदाको अवस्थाका बारेमा प्रत्यक्षदर्शी वेदबहादुर सिलवालले भनेका छन्, ‘…उनीहरूलाई त्यहाँ पुर्याएपछि नरशमशेरले गङ्गालालको अन्तिम इच्छा सोधे । गङ्गालालले नुहाई केही पाठ गर्ने इच्छा भएको कुरा बताए । उनलाई ती कार्य गर्न अनुमति दिए । त्यसपछि नरशमशेरले दशरथ चन्दलाई उनको अन्तिम इच्छा सोधे । उनले मेरो इच्छा तैँले पु¥याउन सक्छस् ? भनी सोधी राणाशासन खतम भएको हेर्ने इच्छा छ भनी भने । त्यसपछि नरशमशेर रिसाएर उनलाई गाडिएको लठ्ठामा बाँध्ने आदेश दिए । सिपाहीहरूले दशरथ चन्दलाई बाँध्न लागेको देखेर गङ्गालाल ननुहाईकनै त्यहीँ आए । नरशमशेरले उनलाई पनि बाँध्ने आदेश दिए । त्यसरी बाँध्दा दशरथ चन्दलाई उत्तरपट्टि र गङ्गालाललाई पश्चिमपट्टि फर्काएर बाँधिएको थियो । ती दुवैजनालाई बाँधिसकेपछि नरशमशेरले गङ्गालाललाई हेरेर ‘हेर, माफी मागिस् भने अझै पनि तँलाई समय छ’ भनेर भन्दा ‘मैले माफी माग्नुपर्ने काम के नै गरेको छु र ? फेरि म तँजस्तो कसाईजस्तो मानिससित किन माफी माग्छु ? बरु तैँले, तिमीहरूले गरेको अत्याचारका लागि हामीसँग माफी माग’ भनी भनेका थिए ।’

पृ. १८१–१८२

त्यसपछि दशरथ चन्द र गङ्गालालको बीच पहिले को मर्ने भन्ने विषयमा कुराकानी भएको थियो । राणा सरकारले दशरथलाई पहिले गोली हानी मार्ने र गङ्गालाललाई तर्साएर माफी मगाउने भित्री योजना बनाएको थियो । त्यो कुरा दुवैले थाहा पाएका थिए । त्यसैले दशरथ चन्दले पहिले गङ्गालाललाई गोली हान्न अनुरोध गरेका थिए । तर गङ्गालालले दशरथ चन्दको कुरा बुझिसकेका थिए । उनले भने, ‘दाइ, म तपाईंको मनको कुरा बुझ्छु । तपाईं ढुक्क हुनुहोस् म माफी कहिल्यै माग्दिनँ ।’

त्यसपछिको अवस्थाका बारेमा वेदबहादुरले भनेका छन्, ‘यसपछि उनीहरूलाई मार्न भनी त्यहाँ उपस्थित गराइएका दुई पोडेहरू ल्याइयो र पहिलो पोडेलाई दशरथ चन्दको घँुडामा गोली हान्न लगाइयो । उसले नगिचै गएर गोली हान्यो । यसले उनलाई कुनै असर परेन । त्यसपछि त्यही पोडेलाई दोस्रो गोली तिघ्रामा हान्न लगाइयो । उसले फेरि नगिचै गई हान्यो । दशरथ चन्द छटपटाउन थाले । अनि गङ्गालाल रिसाएर सक्छस् भने तेरो बाउलाई एक गोली हानेर मार भनी कराए । नरशमशेर रिसाएर एक गोली स्वयम्ले गङ्गालालको घुँडामा हाने । तर त्यसले उनलाई कुनै असर पारेन । गङ्गालाल नरशमशेरलाई गाली गरिरहे । यही बेला फेरि तेस्रो गोली दशरथको कोखामा हान्न भनियो । उसले नगिचै गएर कोखामा गोली हान्यो । उनी झन् छट्पटाउन थाले । यी सबै दृश्य देखाएर नरशमशेर गङ्गालाललाई माफी मगाउन चाहन्थ्यो तर त्यसले गङ्गालाललाई झन् उत्तेजित र जोशिलो बनायो ।

त्यही समय नरशमशेरले दोस्रो गोली गङ्गालालको तिघ्राभन्दा अलि तल हाने । उनले फेरि नरशमशेरलाई गाली गर्न थाले । त्यतिन्जेलसम्मदशरथ छट्पटाइरहेका नै थिए । नरशमशेरको आदेशमा पहिलो पोडेले अर्को चौथो गोली दशरथ चन्दको छातीमा हान्यो र उनलाई सहिद बनायो । …त्यसपछि नरशमशेरले गाली गरिरहेका गङ्गालालको तिघ्रामा नै तेस्रो गोली हाने । गङ्गालाल छट्पटाउन थाले । त्यो सबै दृश्य दोस्रो पोडेले हेरिरहेको थियो । नरशमशेरले दोस्रो पोडेलाई बोलाई गङ्गालाललाई गोली हान्ने आदेश दिए । तर उसले गोली हान्न अस्वीकार गर्यो र रुन थाल्यो। नरशमशेरले फकाउँदा पनि पोडे गोली हान्न तयार भएन । गोली हान्न तयार नभएको भन्दै उक्त पोडेलाई ६ महिनासम्म सिंहदरबारमै थुनिएको पनि गौतमको पुस्तकमा उल्लेख छ ।

त्यसपछिको अवस्थाबारे प्रत्यक्षदर्शी वेदबहादुर सिलवालले भनेका छन्, ‘यसपछि नरशमशेरले पहिलो पोडेलाई ल्याई गङ्गालाललाई गोली हान्न भने तर यतिखेर उसले पनि नगिचै गएर गोली हान्न नसक्ने र टाढाबाट हानेको गोली पनि लाग्न नसक्ने बताई गोली हान्न अस्वीकार ग¥यो । यतिखेर ऊ पनि कामिरहेको थियो तैपनि नरशमशेरले त्यस पोडेलाई अँगालो हाली फकाउन थाले । टाढैबाट गोली होली हान्न अँगालो हाली पिस्तोल समाउन मद्दत दिए । त्यसप्रकार मद्दत दिँदादिँदै पिस्तोलबाट दुईवटा गोली छुट्यो जुन क्रमशः गङ्गालालको पेट र कोखामा लाग्न गयो । गङ्गालाल पनि सहिद भए ।’

पृ. १८३

गङ्गालाल सहिद हुँदा राति (बिहान) को दुई बजेको थियो । यसरी गङ्गालालले निरङ्कुश राणाशासनको अन्त्य र नेपाली जनताको मुक्तिका लागि आफ्नो ओजस्वी र गौरवशाली मृत्यु वरण गरे । उनलाई नेपालका प्रथम विद्यार्थी सहिद मानिएको छ ।

१९९७ सालको सहिदकाण्डबारे अध्ययन

१९९७ सालको सहिद पर्व र निरङ्कुश राणाशासनकालको इतिहासका विषयमा नेपालका धेरै अध्येताहरूले कलम चलाएका छन् । कयौँ अध्येता र स्रष्टाहरूले त राणाशासनका विरुद्ध लड्दालड्दै सहिद बनेका गङ्गालाल श्रेष्ठ र कृष्णलाल अधिकारी जन्मिएको जिल्ला रामेछाप र सहिदहरूको जन्मथलो भँगेरी र कठजोरको यात्रा गरेरै लेख, संस्मरण, पुस्तक र पत्रिकाहरू लेखेका छन् । प्राडा सुरेन्द्र केसी, नेत्री एवम् स्रष्टा शान्ता श्रेष्ठ, प्रा. राजेन्द्र सुवेदी, डा. रामप्रसाद ज्ञवाली, प्रा. पुष्कर लोहनी, अनिल शर्मा ‘ विरही’, नारायण शर्मा ‘कमलप्रसाद’, सरला रेग्मी, हीरामणि दुःखी, लेखनाथ न्यौपाने, प्राडा जगदीशचन्द्र भण्डारी, अशोक सुवेदी, मधुसूदन पाण्डेय, झपेन्द्र वैद्यलगायतले गङ्गालाल, पुष्पलाल र कृष्णलालको जन्मथलोमै पुगेर अनुभूतिहरू लेखेका छन् । (उनीहरूका लेख/संस्मरण/अनुभूतिका अंशहरू यसै आलेखमा विभिन्न सन्दर्भमा दिइएका छन्– लेखक)

इतिहासका अध्येता राजेश गौतमले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका विषयमा विद्यावारिधि गरेका छन् । यद्यपि निरङ्कुश राणाशासनका विरुद्ध लखन थापाको विद्रोह, सुब्बा कृष्णलाल अधिकारीको मकैको खेती पुस्तक, उनले गरेको साहित्यिक विद्रोह र बलिदानका बारेमा अध्येताहरूले विभिन्न समयमा अध्ययन गरी पुस्तक, लेखरचनाहरू प्रकाशित गरेका छन् । बालचन्द्र शर्माको नेपालको ऐतिहासिक रूपरेखा, जीवराज शर्माको नेपाल प्रजापरिषद्को सङ्क्षिप्त इतिहास, वीणा दैवज्ञको २००७ सालमा राजनीतिक दलहरूको भूमिका, जगतबहादुर सिंहको नेपाल प्रजापरिषद्को सङ्क्षिप्त इतिहास, पुष्पलाल श्रेष्ठको कालकोठरीबाट, धर्मरत्न यमीको नेपालको कुरा, डिल्लीरमण रेग्मीको अ सेन्चुरी अफ फेमेली अटोक्रेसी इन नेपाल, एरिका ल्युस्टाकको विथ ए किङ इन द क्लाउड, भुवनलाल जोशी र लिओ ई रोजको डेमोक्रेटिक इनोभेसन इन नेपाल, भोला चटर्जीको ए स्टडी अफ रिसेन्ट नेपलिज पोलिटिक्स, खड्गमान सिंहको जेलमा बीस वर्ष, चन्द्रकान्ता मल्लको मेरो आत्मकथा, दमनराज तुलाधरको कन्टेम्पोररी नेपाल, श्यामप्रसाद शर्माको थुनुवाको डायरी, डा. हरिराज भट्टराईको सम्पादकत्वको चन्द्रधर उप्रेती स्मृतिग्रन्थ, चन्द्रविक्रम बुढाथोकीको डेमोक्रेटिक मुभमेन्ट इन नेपाल, दुर्गादेवी श्रेष्ठको प्रधानमन्त्री जुद्धशमशेरको शासनकाल ः एक परिचय, भीमबहादुर पाँडेको त्यसबखतको नेपाल, राजेश गौतमको नेपालका प्रजातन्त्रका प्रवर्तक श्री ५ त्रिभुवन, टङ्कप्रसाद आचार्यको प्रजातन्त्र आउन अझै २५ वर्ष लाग्छ (अन्तर्वार्ता, राजेश गौतमकै गङ्गालाललाई गोली कसले हान्यो ?,शान्ता श्रेष्ठको मान्छेभित्रको मान्छे, चन्द्रकान्ता जोशीको…., अशोक सुवेदीको लेखन/सम्पादन र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको प्रकाशनका नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती, नौलो बिहानी वर्ष १, अङ्क १, लालभूमिको यात्रा, लालबस्ती, बन्द कोठादेखि युद्ध–कला सङ्ग्रहालयसम्म, रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद उपाध्याय सुवेदीलगायत पुस्तक, पत्रिकाहरूमा रामेछाप जिल्ला, रामेछापमा जन्मिएका सहिदहरूगङ्गालाल श्रेष्ठ, कृष्णलाल अधिकारी र नेकपाका संस्थापक महासचिव पुष्पलालका बारेमा पर्याप्त चर्चा गरिएको छ ।

निष्कर्ष

गङ्गालाल श्रेष्ठ नेपालको राजनीतिक इतिहासका अत्यन्त इमानदार, होनहार, बौद्धिक व्यक्तित्वका साथै प्रथम विद्यार्थी सहिद हुन् । निरंकुश राणाशासनको अन्याय, अत्याचार, विभेद र दमनका विरुद्ध राजनीतिक सङ्गठन खोलेर सङ्गठित हुँदै विद्रोह बोल्ने गङ्गालाल लखन थापा, योगमाया र कृष्णलाल अधिकारीहरूका उत्तराधिकारी हुन् भने कृष्ण सेन इच्छुक, दिलमाया बम्जनलगायत दसौँ हजार सहिदहरूका विचार, विद्रोह र बलिदानका ऊर्जा हुन् । गङ्गालालले राणा शासनविरुद्ध विद्रोह बलेर बलिदान नगरेका हुन्थे भने पुष्पलाललाई कम्युनिस्ट घोषणापत्र नेपाली भाषामा अनुवाद गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने प्रेरणा जाग्थ्यो कि जाग्दैनथ्यो, भन्न सकिन्न । जसरी लेनिनका दाजु अलेक्ज्यान्डर उल्यानोभले जारशाहीका विरुद्ध बलिदान गरेपछि लेनिन क्रान्तिकारी आन्दोलनमा अग्रपङ्क्तिमा लामबद्ध भएर क्रान्तिको नेतृत्व गर्नुभएको थियो, त्यसैगरी गङ्गालालको बलिदानले पुष्पलाललाई नेकपा स्थापना गर्न र कम्युनिस्ट आन्दोलन सञ्चालन गर्न प्रेरित गरेको थियो । त्यसैले गङ्गालाल सहिद त हुनुहुन्छ नै नेपालका क्रान्तिकारी आन्दोलनका उत्प्रेरक पनि हुनुहुन्छ । सबैखाले शोषण, अन्याय, अत्याचार, विभेद र दासताविरुद्ध विद्रोहको झन्डा उचाल्ने गङ्गालाल श्रेष्ठ नेपाल र नेपालीको मुक्तिका पथप्रदर्शक हुनुहन्छ । उहाँका योगदानहरूको कदर गर्नु, उहाँ हिँडेको बलिदानको बाटो हिँड्नु र कुनै किसिमको डर, धाक, धम्की र लोभलालचमा नफसी निरन्तर देश र जनताका लागि समर्पित हुनु गङ्गालाल बन्नु हो । उहाँको व्यक्तित्व र कीर्तित्वले स्वाभिमानी नेपालीहरूलाई सदा प्रेरित गरिरहेको छ, गरिरहनेछ । गङ्गालालको नाम अमर सहिदका रुपमा स्थापित भए पनि उहाँमाथि जति काम हुनुपथ्र्यो त्यति हुन सकेको छैन । प्रतिष्ठान निर्माण गरी उहाँ र पुष्पलालको जन्मथलो भँगेरीमा सालिक, उद्यान, पुस्तकालय, सङ्ग्रहालय निर्माण गर्नु आवश्यक छ । जति भएको छ त्यो अपुग छ । उहाँहरूका अनुयायी हौँ भन्दै सत्तामा ढलिमली गर्ने, सत्ताको दुरुपयोग गर्ने, उहाँहरूको नाममा सत्ताको दोहन गर्ने गलत संस्कार बढेको छ । त्यसलाई निरुत्साहित गर्दै उहाँहरूका योगदान स्थापित गर्नुपर्छ । उहाँहरूका नाममा विश्वविद्यालय र अनुसन्धान केन्द्रहरू निर्माण हुनुपर्छ ।जनउत्तरदायी वैज्ञानिक समाजवादी सत्ताले मात्र सहिदहरूको लक्ष्य र उद्देश्य पूरा गर्नसक्छ । चेतनशील जनसमुदाय त्यस बाटोतर्फ अग्रसर हुनुपर्छ । अहिलेलाई यत्ति नै ।
१६ माघ, २०७५

सन्दर्भसूची

सिद्धिचरणका जेल संस्मरण
भु वनलाल प्र धान, सहिद परिचय, गङ्गालाल, काठमाडौँ नगर पञ्चायत २०४३ ।
नौलो बिहानी मासिक वर्ष १, अङ्क १, फागु न, २०५४
डा. राजेश गौतम, नेपालको प्र जातान्त्रिक आ¬न्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका, दोस्रो संस्करण, २०६२
शिवकु मार डाँगी, सङ्घर्षका साठी वर्ष : नेपाली विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास, सम्पादन : अशोक सुवेदी र अरूहरू, प्रकाशक : सरस्वती पोखरेल, २०६४)
अशोक सु वेदी, नेपालका प्र थम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती, प्रकाशक : हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, २०६७ ।
लालभूमिको यात्रा, २०६७
रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद उपाध्याय सुवेदी, २०६७
लालबस्ती, २०७१
बन्द कोठादेखि यु द्ध–कला सङ्ग्र हालयसम्म, नौलो बिहानी मासिक, २०७५
हसिनादेवीसँगको अन्तर्वार्ता, २०६४

(साभार : ‘क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ’ पुस्तकमा प्रकाशित लेख)२०७६, २८ माघ मंगलवार ०७:१९ ई-रातो खबर

प्रतिकृया दिनुहोस्