‘समाचार र विचारको
साझा चौतारी’




गाउँको खबर


कविता

– अशोक सुवेदी

सहरमा त बढेकै छ बेथिति
निर्मलाहरू मारिएकै छन् सहरआसपासमै बलात्कृत भएर
तर गाउँमा पनि रोकिएको छैन व्यभिचार
साम्राज्यवादी नङ्ग्रा धसिएका र
मेरो देशको मानचित्रबाट जबर्जस्ती लोप गराइँदै गरेका
मेरा लिपुलेक, लिम्पियाधुरा, सुस्ता र कालापानी
गाउँमै छन्, लेकमै छन् ।
सहर र गाउँ दुवैतिर
देश र जनको आङभरिभरि
उस्तै गरी भयावह समस्या बढिरहेको समयमा
म बस्न सकिनँ ‘सहरिया बाबुसहेब’ भएर
त्यसैले म फर्किएँ
तगेर केही टालाटुली सपना
जडेर मस्तिष्कमा जनक्रान्तिका सहिदका सपना ।

गाउँले नै जन्माएको थियो हिजो–
झापा र रोल्पाबाट विद्रोह बोल्ने
मेरो देशका चे ग्वेभाराहरूलाई
जन्माएको थियो मेरै माटोले–
बलभद्र, भक्ति, अमरसिंह, भीमसेन र लखनहरूलाई
नयाँ युगका बलभद्र बनेर ब्युँतिएका थिए मेरै गाउँबाट
देशको माया गर्दा टाउको कटाइमाग्ने भीमदत्त पन्तहरू
मेरै गाउँले जन्माएको थियो– क्रूर शासक चन्द्रशमशेरलाई
किसानको बारीको मकै खाने गन्धे कीराको उपाधि दिने
र अङ्ग्रेजको कुकुर भनेर ललकार्ने कृष्णलाललाई
जन्माएको थियो मेरै गाउँले
बाईसबर्से लक्का जवानीमा दुत्कार्दै तानाशाहीलाई
झुन्डिनुअघि फाँसीको तख्तामा–
राणाशाहीको अन्त्यको दृश्य हेरेर अन्तिम निःश्वास छोड्न चाहने
जोदाहा गङ्गालाललाई
जन्म दिएको थियो मेरै माटोले–
माक्र्सवाद–लेनिनवाद र माओवाद मात्र
असत्ती, विभेद र शोषणकारी व्यवस्थाको चिहान खन्ने
अचुक अस्त्र हुन् भन्ने घोषणा गर्दै
कम्युनिस्ट घोषणापत्र उल्था गरेर बाँड्ने
र कम्युनिस्टको बिउ रोप्ने पुष्पलाललाई
तर
तर कठै ! रातारात फोहोरका नालीमा मुन्टो गाडेपछि
पुष्पलालको कम्युनिस्ट घोषणापत्रै कण्ठ पारेका
मेरा हिजोका क्रान्तिनायकहरूले
सहन नसकेर यी बीभत्स दृश्यहरू, स्थिति समाल्न
म फर्किएँ ।

हो, फेरि गाउँमै ‘पुनर्जन्म’ लिएका छन्
चन्द्रशमशेर, भोजराज, काजी लेन्डुप र जुडासहरू अर्थात्
नयाँनयाँ अवतारका पीके–केपी अर्थात् नयाँ लेन्डुपहरूले ।
प्रतिक्रान्तिको यो दिक्कलाग्दो कालरात्रीको पुनरागमनपछि
फेरि चन्द्रशमशेरहरू नै भएका छन् गाउँ–सहरका ‘नायक’
र फरमान जारी गरिरहेका छन्–
कृष्णलालहरूलाई जेल पठाऊ
कुमार र रामकुमारहरूको हत्या गर
दिलमायाहरू जन्माऊ ।
लालमुखुन्डोधारी यी जुडासहरू–
खलनायक हुन्, नायक होइनन्
लालबुख्याँचा हुन् भन्न पनि
मैले सहर छोडेर गाउँ फर्किनै पर्ने भयो
त्यसैले म फर्किएँ ।

ज्नताको आशाकेन्द्र क्रान्तिलाई
आतङ्क र राजद्रोह देख्ने किचिला परेका आँखा र
कुहिएको भुस भरिएका मस्तिष्क सफा गर्न
म गाउँमै फर्किएँ
जसरी फर्किएका थियौँ हामी महायुद्धको समयमा
चिरेका थियौँ हिटलरका सन्तानहरूको मायावी
र ख्रुस्चेभका चेलाहरूको मुहारको लालमुखुन्डो ।

फेरि मेरै गाउँमा
हुर्किन थालेका छन् आज पनि नवनायकहरू
र नियाल्दै गाढा गरी
महायुद्धमा रगतले भिजेका योद्धाका टाटेपाटे पोसाकलाई
धिक्कार्न सुरु गरेका छन् जुडासका सन्तानहरूलाई ।

बनाएको छु एउटै पत्थरमा सालिक
जोडेर लालहरूको बलिदान, विचार र बुद्धिमत्तालाई
सँगालेको छु हृदयभरि
महायुद्धमा रगत लतपतिएका टाटेपाङ्ग्रे पोसाक
र ती पोसाकहरूमा औधी सुहाएका चमचम गर्ने खुकुरी
राखेको छु रगत लतपतिएको खुकरीको नजिकै
वीरहरूले बलिदान गर्दागर्दै लेखेका
स्वप्नजडित हस्ताक्षर
र सजाएको छु हृदयभरि
महायुद्धका सहिदहरूका तस्बिरहरू
बनाएको छु ढुकढुकी तिनका महान् वाणीहरूलाई ।

केही मानिसहरू सोध्ने गर्छन्–
काटिसकेपछि जीवनका बाउन्न तुसारे शिशिरहरू
किन दुःख बेसाइस् माइला
दुखियाहरूको बस्ती, गाउँ पसेर ?
म भनिरहेको छु उनीहरूलाई मन्दमन्द शैलीमा–
२५ औँ फागुन १ आउँदैछ महाशय मेरो जीवनमा
मेरो छाप्रोमा, मेरो बस्तीमा
यो त मेरो महान् उत्सव हो
हामी घरघरमा, गाउँगाउँमा
बस्तीबस्ती र टोलटोलहरूमा बालेर हृदयको बत्ती
मनाइरहेछौँ महाउत्सव जनक्रान्तिको ।
पूरा नभएसम्म योद्धा–सहिद र बेपत्ताहरूका सपना
र नसकिएसम्म
ख्रुस्चेभका तुच्छ सन्तानहरूले फैलाएको प्रदूषित हावा
छोड्नेछैन म मेरो माटोलाई
जसले जन्माएको थियो हजारौँ दिलमाया र रक्तिमहरूलाई
तपाईंहरूलाई पनि थाहा छ
नवशासकहरूले विस्मृतिको गर्भमा पु¥याउन लागेको महान् दिन
फागुन १ हो आज ।

२०७६, २९ माघ बुधबार १८:१४ ई-रातो खबर

प्रतिकृया दिनुहोस्