स्वास्थ्य

डाक्टर स्वदेश फर्काउने पाँच सूत्र

डा सुवास प्याकुरेल

नेपालका हजारौं चिकित्सकहरु विदेश पुगेका छन् भन्ने समाचार रेडियोमा ठूलो आवाजमा बज्यो, अनलाइनमा हजारौं सेयर भयो। कतिपयले ‘आम्मै नि’ भन्दै जिब्रो टोके। त्यसैमा आधारित रहेर डाक्टरहरुले मन पगालेर आँखाबाट डिस्प्ले हुने कविताहरु पनि फुराए। आ–आफ्ना कोणहरुबाट तर्क बर्साइए। चिकित्सा समुदायमा यसैलाई इपिसेन्टर बनाएर ठूलै हलचल पैदा भयो।

यो समाचारलाई फेरि एक पटक तर्कको सार्पनरभित्र हालेर तिखो विश्लेषण गर्नु जरुरी देखिएको छ। सर्वप्रथम यस तथ्यलाई निम्न प्रश्नहरुको कसीमा राखेर सरलीकृत गर्नु मनासिव हुन आउँछ। कति गए, कहाँ गए, किन गए, फर्किन्छन् कि फर्किदैनन्, फर्किए भने थप कोसेली के ल्याउँछन्, फर्किनेहरुका लागि र फर्किन चाहिँ नसक्ने तर नेपालका लागि केही योगदान गर्छु भन्नेहरुका लागि जोडिने पुल के के हुन सक्लान्?

कति गए र कहाँ गए भन्ने दुई प्रश्न सिधा तथ्यांकपरक भएकाले स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनमार्फत सम्बन्धित देशका राजदूतावाससँग समन्वय गरेर सजिलै पत्ता लगाउन सकिन्छ। यसका लागि आवश्यक इन्धन भनेको इच्छाशक्ति र यथोचित समन्वय मात्रै हो। माथिका प्रश्नहरुमध्ये झट्ट हेर्दा सहज तर वास्तवमा निकै गहन प्रश्न हो– किन गए? कोही किन विदेशिन्छन्? भन्ने प्रश्नको उत्तरमा आदर्श र व्यावहारिकताको सिधै ‘ह्यान्डसेक’ नहुन पनि सक्छ।

सामान्यतयाः पानी ओरालोतिर लाग्यो भनेर पानीलाई केही भन्ने ठाउँ रहँदैन। यसका पछाडि यहाँको पछाडि यहाँको पुस फ्याक्टर (विकर्षण) वा उता देशको पुल फ्याक्टर(आकर्षण) मध्ये जुन पनि कारण हुन सक्छ वा कतिपय अवस्थामा त दुवै फ्याक्टरहरुको योगफल पनि हुन सक्छ। यस्ता आकर्षण र विकर्षण पक्षहरुबारे पनि छलफल हुँदै जाला र खुलासा पनि हुँदै जाला। कतिपय विषयहरु त पुनः दोहो¥याइरहनु परेन, छर्लङ्गै छ।

बाँकी प्रश्नहरुमध्ये- फर्किन्छन् कि फर्किंदैनन् भन्ने प्रश्नमा डाक्टरैपिच्छेको फरक धारणा हुन सक्ला, उनका अभिभावकहरुका आफ्नै उत्तर होलान्। छोराछोरीको आफ्नै स्वतन्त्र तर्क होला, राज्य र जनताको आफ्नै आदर्शमिश्रित उत्तर होलान्। जस्तैः ‘अरु व्यक्ति विदशिनु र डाक्टर विदेशिनुमा आकाश–पातालको फरक छ’, ‘उनीहरु विदेशीका लागि पढेका हुन् र उतै बस्न?,’ ‘नेपालमा आमाबाबु बिरामी पर्दा विदेशी जाँचिरहेका हुने, कस्तो स्थिति हो यो?।’

अर्को प्रश्न, ‘फर्किए भने कोसेली के ल्याउँछन्? यसको चाहिँ ठोस उत्तर छ– यताको भन्दा एक श्रेणी उच्च सिप, प्रविधि, अनुसन्धानमा आधारित अभ्यास, जवाफदेहिताको अभ्यास, इलेक्ट्रोनिक मेडिकल रेकर्डको आवश्यकताबोध, उपचारमा सेवापक्षलाई महत्व, वैज्ञानिक बीमाको मोडल, स्मार्ट हेल्थ कार्डको अवधारणा, टिम अप्रोच, सेकेन्ड ओपिनियनको सिस्टम जस्ता महत्वपूर्ण कुराहरु र त्यससँगै उनीहरुको बैंैक मौज्दात, विदेशिएका चिकित्सकहरुले नेपाल आउँदा ल्याउन सक्ने बोनस कोसेलीहरु हुन्।

अर्को प्रश्न, ‘फर्किनेहरुका लागि फिटिङ स्टेसन कुन हो?’ पनि उत्तिकै मननीय र संवेदनशील छ। जबसम्म राज्यले उता शिक्षित र प्रशिक्षित डाक्टरहरु स्वदेश फर्किन चाहनेहरुका लागि प्राथमिकताको क्षेत्रहरु तोकी विशेष सम्बोधन गर्दैन र उनीहरुका लागि ढोकाहरु खोल्दैन, हाम्रो तर्क आदर्शको घनचक्करमै परिराख्ने सम्भावना रहिरहन्छ। उनीहरुलाई नेपाल फर्काउने मामलामा राज्य त उदार रहनु पर्छ नै, सम्पूर्ण मेडिकल क्षेत्र नै पनि स्वागतार्थी रहन सक्नुपर्छ।

उनीहरुले यहाँ फर्किंदा कथंकदाचित आफू आइसोलेसन वा क्वारेन्टाइनमा परेको अनुभुति गरे भने ल्यान्ड गरेको एक महिनामै उनीहरुको प्वाँख पुनः सल्बलाउन थाल्छन् र फेरि उडेर उतै फर्किने स्थिति आइपुग्छ। उनीहरु फर्काउने पाँच सूत्र यस्ता हुन सक्छन्ः

पहिलो सूत्रः उताको रेजिडेन्सी प्रोग्राम (विशेषज्ञ तहको पढाइ) र फेलोसिपको इक्विभ्यालेन्ट रजिस्ट्रेसन र त्यसको सहज व्यवस्थापन।

दोस्रो सूत्रः विश्व विद्यालय, स्वास्थ्य अध्ययन प्रतिष्ठान र सरकारी सेवाभित्र विशेष करार कोटा निर्धारण।

तेस्रो सुत्रः उनीहरुले भित्र्याउने तर्कसंगत र कानुनसम्मत नवीन प्रविधि र अवधारणाहरुको स्वागत र फास्ट ट्रयाक अनुमति।

चौथो सूत्रः निजी अस्पतालहरुमा आकर्षक तलब सुविधाको आकर्षण र उनीहरुमार्फत मेडिकल टुरिजमको विकास।

पाँचौं सूत्रः विशेष हेल्थ इन्भेस्टमेन्ट फन्ड वा कन्सोर्टियमको व्यवस्थामार्फत उनीहरुको स्वास्थ्य क्षेत्रका विविध विधाहरुमा लगानीको व्यवस्था।

देशको मायाले नछुने कोही हुन्छन् जस्तो लाग्दैन। धेरै जना विदेश बसेका डाक्टरहरुसँग अन्तरंग कुराकानी गर्दा पनि सपनामा सधैं नेपालकै गाउँठाउँ नाच्ने आसय व्यक्त गर्दै गुनासो गर्छन्, ‘विदेश त मृगतृष्णा शान्त पार्दै जुनी बित्ने ठाउँ हो।’ यसको अर्थ माथि उल्लेखित पुल निर्माण गरी धेरै विदेशिएका डाक्टरहरुलाई छिटोभन्दा छिटो नेपाल फर्काएर ‘ब्रेन ड्रेन’लाई उल्ट्याएर ‘ब्रेन गेन’ गर्न सकिने प्रष्ट देखिन्छ।

र, फर्किन नसके पनि नेपालका लागि केही योगदान गर्छु भन्नेहरुका लागि टेलिकेयर, अनलाइन डिस्कसन, सेकेन्ड ओपिनियन, आवधिक करार सेवा, रिसर्च सपोर्ट, आइडिया एक्सचेन्ज र स्वास्थ्य क्षेत्र लगायत अन्य क्षेत्रमा लगानीको अवसर त सहायक सूत्रहरुका रुपमा सदैव खुला रहन्छन् नै।स्वास्थ्यखबर

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button