Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





राष्ट्रपति रनिङ शिल्डको मेचीनगर छनौट शनिबारबाट


बाहुनडाँगी÷ १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ ।
मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा तीन दिवशीय छनौट प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगिता सञ्चालनका लागि गठित समितिका संयोजक विक्रम क्षेत्रीले नगरस्तरीय छनौटमा नगरका ५२ वटा विद्यालयले भाग लिने जानकारी दिए ।
समितिका सदस्य सचिव तथा मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईंले सोमबार समापन हुने प्रतियोगितामा नगरको प्याब्सनतर्फ २२, एन प्याब्सनतर्फ १४ र सामुदायिक मावितर्फ १६ वटा विद्यालय सहभागी हुने बताए ।
समितिका संयोजक क्षेत्रीका अनुसार नगरस्तरीय छनौट प्रतियोगितामा ट्रयाकतर्फ ९ वटा, फिल्डतर्फ ७ र करातेतर्फ ६ वटा खेलहरु हुनेछन् ।
प्रतियोगितामा ट्रयाकतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरको दौड गराइने छ भने ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटरको रिले दौड हुनेछ । त्यस्तै, ५ हजार मिटरको म्याराथन दौड हुनेछ ।
त्यसैगरी, फिल्डतर्फ हाइजम्प, लङजम्प फाइनल, ट्रिपल जम्प फाइनल, ज्याभलिन थ्रो, सटपुट फाइनल, कबड्डी र भलिबल खेल सञ्चालन गरिनेछ ।
यस्तै, कराते खेल विधाको छात्रातर्फ ४०, ४५ र ५० केजी तौल समूह तथा छात्रतर्फ ४२, ४७ र ५२ केजी तौल समूहमा प्रतिष्पर्धा हुँदैछ ।
उक्त प्रतियोगिता सम्पन्न गर्न मेचीनगर शिक्षा शाखामार्फत् १ लाख रुपैयाँ बजेट विनियोजन भएको समितिले जनाएको छ ।
प्रतियोगिता सञ्चालन समितिका अनुसार मेचीनगर नगरपालिका कार्यालयबाट १ लाख रुपैयाँ प्राप्त हुने र सहभागी प्रत्येक विद्यालयबाट प्रवेश शुल्क बापत २ हजार रुपैयाँ संकलन हुनेछ ।
करिब २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग जुट्ने अपेक्षा लिएको समितिले प्रतियोगिता सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी करिब ५ लाख रुपैयाँ खर्च पूर्वानुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्